
काठमाडौं । अर्थ मन्त्रालयले करदाताको संख्या बढिरहेको जनाएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल पाँच लाख ७३ हजार ६८२ स्थायी लेखा नम्बर (प्यान) लिएका करदाता थपिएका छन् ।
प्यान नम्बर लिएका करदाताको संख्या बढेर कुल ६७ लाख ९९ हजार ८१५ पुगेको छ । यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बरको अनुपात क्रमशः २९.९, ०.५ र ६९.५ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
यस अवधिसम्म मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता तीन लाख ४५ हजार ९७८ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या एक लाख २४ हजार २६४ पुगेको छ ।
सरकारले राजस्व संकलन बढाउन करको दर भन्दा पनि दायरा बढाउने नीति लिएको छ । दायरा बढाउने नीतिले करदाताको संख्या बढ्दै गएको सरकारी तथ्यांकले देखाउँछ ।
करदाताको संख्या बढे पनि कर असुल भने लक्ष्यअनुसार हुन सकेको छैन । एक दशकको अवधिमा औसत १४ प्रतिशत हाराहारीमा राजस्व संकलन बढेको छ ।
चालु आर्थिक वर्ष सकिन लाग्दा अहिलेसम्म कुल लक्ष्यको ७४.४६ प्रतिशतमात्र कर असुली भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । हालसम्म १० खर्ब ५६ अर्ब ७७ करोड रुपैयाँमात्र राजस्व संकलन भएको छ ।
चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । सरकारले लिएको लक्ष्य पूरा नहुने देखिएको छ । पछिल्ला वर्ष सरकारले राजस्वको लक्ष्य भेट्न सकेको छैन ।