काठमाडौं । करिब पाँच वर्षअघि राष्ट्रिय भूकम्प सुरक्षा दिवसको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणको शिलान्यास गरेका थिए । प्रधानमन्त्रीले नै शिलान्यास गरेको मन्दिर अब चाँडै बन्छ भन्ने सबैलाई लागेको थियो । तर, सोचेभन्दा विपरीत भएको छ ।
सरकारले नै काठमाडौंमा काठ आउने क्षेत्रबाट काठ ल्याउन नदिएपछि निर्माण कार्यले गति लिन सकेको छैन । मन्दिर पुनर्निर्माण गर्न विभिन्न आकारका काठ चाहिने भएकाले समस्या परेको जनाइएको छ ।
वि.सं. २०७२ को विनाशकारी भूकम्पमा क्षति भएको मन्दिरको पुनर्निर्माण अहिलेसम्म हुन नसकेको हो । मन्दिर श्रीलंका सरकारको पाँच करोड रुपैयाँ आर्थिक सहयोगमा पुनर्निर्माण गर्ने भनिएको थियो । तर, पुनर्निर्माणमा कसैले पनि चासो देखाएनन् । त्यसपछि ०७७ असार २० गते क्षमापूजा गरेर २२ गते उपभोक्ता समिति र पुरातत्व विभागबीच पुनर्निमाणसम्बन्धी सम्झौता भयो । तीन करोड २१ लाख रुपैयाँमा सम्झौता भएर काम अघि बढेको थियो ।
उपभोक्ता समितिका सचिव मधुकर तुलाधरका अनुसार चार प्रकारका काठ चाहिने भएकाले निर्माण कार्य काम ढिलो भएको छ । उनले भने, ‘‘अहिलेसम्म कताकताबाट काम चलाउँदै आएका छौँ । पुनर्निर्माणमा चाहिने काठ बजारमा पाइरहेको छैन । त्यसैले पुनर्निर्माण ढिलो भइरहेको छ ।’’
उनले अगाडि थपे, ‘‘मन्दिर पुनर्निर्माण गर्न चाहिने ३३ प्रकारका इँटा भेट्टाएका छौँ, अझै एक प्रकारको इँटा खोजिरहेका छौँ । त्यो प्रकारको इँटा नपाए खरिद गरेर पनि प्रयोग गर्नुपर्ने छ । पुरानो मन्दिरको स्वरूप दिन उक्त इँटाको खाँचो छ । इँटा बनाउन धुलो जम्मा गरिँदै छ ।
उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यका अनुसार पुनर्निर्माणको काम ०७८ असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने छ । बजारमा काठको निर्यात नहुँदा अहिले समस्या हुने देखिएको छ । इँटालाई पनि विभिन्न स्वरूपमा बनाउनुपर्छ । झापा, कैलाली, कञ्चनपुरदेखि काठ काठमाडौं आउने हो । तर, अहिले सरकारले काठ उपत्यकामा ल्याउन दिएको छैन ।
उनले भने, ‘‘केही हप्ताअघि मन्दिरमा ३४ फिट ४ इन्चको ४ निदालका साथै २० वटा ढुंगाको थाम हाल्ने काम सकिएको थियो । सो प्रकारको काठ र इँटा प्रयोग गरी मन्दिर पुनर्निर्माण गर्दा भिरालो आफैँ मिल्छ । लामो समयसम्म घाम र पानीले असर गर्न सक्दैन ।’’
उक्त मन्दिरको एकतलाको काम सम्पन्न भइसकेको छ । गारो लगाउने काम ८० प्रतिशत सकिएको छ । अब माथिल्लो तलामा इँटा र बीचबीचमा काठ राख्ने काम बाँकी छ । ‘‘काठ नपाइने हुँदा व्यापारीले जति भन्यो, त्यतिमै ल्याउनुपर्ने बाध्यता छ,’’ उनले दुखेसो पोखे ।
मन्दिर पुनर्निर्माणमा १३ देखि १४ सय वर्ष पुराना मेथ, कार्नेसलगायतका वस्तुको प्रयोग भइरहेको उपभोक्ता समितिले जनाएको छ । अहिले पुनर्निर्माणको काम सुस्त गतिमा छ ।
पाटनको ठूलो महोत्सवका रूपका यहाँ मनाइने रथजात्रा हो । साथै, हिन्दुलगायत बौद्ध धर्मावलम्बीले मनाउने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौं उपत्यकाको सबैभन्दा लामो जात्रा मानिन्छ ।
ललितपुर महानगरपालिका २२ नम्बर वडाका वडाध्यक्ष अम्बिराज शाक्यका अनुसार कोरोना महामारीले पुनर्निर्माणको काम प्रभावित भयो । ‘‘अब मन्दिर पुनर्निर्माण गर्न बजेटको अभाव भए पहल गरिनेछ,’’ उनले भने ।
गएको भदौ २९ गते मच्छिन्द्रनाथलाई पुल्चोकबाट खटमा बोकेर बुङ्मती लगिएको थियो ।
लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा अन्न, वर्षा, सहकाल, लोकेश्वर र बंगद्य अनेकौँ नामले पुकारिने रातो मच्छिन्द्रनाथको नेपाल प्रवेशले सहकाल भएको बुझाइ छ ।
रातो मच्छिन्द्रनाथलाई हाल बुङ्मतीको एक पाटीमा राखिएको छ । मच्छिन्द्रनाथको दैनिक पूजाआजा र रेखदेख गरिरहेका पुजारी मदन शाक्यले यसले सबै जगतको लोककल्याण गरेको बताए ।
‘‘प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वरको रथजात्रा गर्ने परम्परा रहि आएको छ । लगभग एक हजार ५०० वर्षअघि शिखरशैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर हो यो,’’ उनले भने ।
नेपालमा वर्षौँअघिदेखि चल्दै आएको जनश्रुतिअनुसार गुरु गोरखनाथले नवनागलाई आसन बनाएर समाधिमा बसेपछि १२ वर्ष पानी परेन । भोकमरी र सुक्खा परी मानिसको जीवन संकटमा पर्दै गयो । सो समयका राजा, तान्त्रिक बन्द्युदत्त आचार्य र ललित ज्यापुले कठिन परिस्थित सहन बाध्य भए । मच्छिन्द्रनाथलाई बुङ्मती ल्याएर राखेपछि गोरखनाथ आफ्ना गुरुको दर्शन गर्न उठेका थिए । नवनाग फुक्का भएर भागेपछि अतिवृष्टि भएको बुझाइ रहेको उनको भनाइ छ ।
मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा पाटनको तबहाल र दक्षिणायन लाग्दा बुङ्मतीको मन्दिरमा छ/छ महिना राखिने चलन रहेको छ ।