वस्तु विनिमय बजारको लाइसेन्स अन्योलमा, अनलाइन कारोबार गर्नेको संख्या २ लाख नाघ्यो

वस्तु विनिमय बजारको लाइसेन्स अन्योलमा, अनलाइन कारोबार गर्नेको संख्या २ लाख नाघ्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका रुपमा भीष्मराज ढुंगानाले पदभार ग्रहण गरेको पुस २६ गते १ वर्ष पूरा भएको छ । २०७६ असोजमा आफ्नो कार्यकाल पूरा गर्दै डा. रेवतबहादुर कार्की बाहिरिएको तीन महिनापछि ढुंगाना बोर्डको नयाँ अध्यक्ष बनेका थिए ।

ढुंगानाले बोर्ड अध्यक्षको नेतृत्व लिएको केही महिनामै विश्वव्यापी रुपमा फैलिएको कोभिडको प्रभावले गर्दा विश्वसँगै नेपाली अर्थतन्त्रमा नराम्ररी प्रभावित भयो । कोभिडको प्रभावले नेपालको धितोपत्र बजारलाई पनि छाडेन ।

कोभिड नियन्त्रणका लागि सरकारले चैत ११ बाट गरेको लकडाउनले गर्दा तीन महिनाभन्दा बढी समय धितोपत्रको दोस्रो बजार कारोबार अवरुद्ध भयो । तर, यही लकडाउन अवधिमा बोर्ड अध्यक्षका ढुंगानालाई सक्रियता हुने अवसर मिल्यो ।

बैंक इन्टिग्रेसन तथा अनलाइन कारोबार प्रणालीमा भएको सुधारले गर्दा लकडाउन पछि खुलेको बजार लगातार उकालो लाग्दै गयो । सेयरबजार परिसूचक नेप्सेले मंसिर ११ गते ५३ महिना पुरानो १८८१.४५ अंकको रेकर्ड तोड्दै अगाडि बढ्यो । बोर्ड अध्यक्षको सक्रियाताले अहिले धितोपत्रको प्राथमिक र दोस्रो बजारमा उत्साह र आकर्षण बढेको छ ।

पुस २८ गते नेप्से २२५८.३१ को ऐतिहासिक उच्च विन्दुमा पुगेको छ । नेप्से बढ्ने क्रमले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सकिँदा बढ्ने क्रम रोकिएको छैन । हिजोसम्मको बजार पुँजीकरण साढे ३० खर्ब रुपैयाँ नाघेको छ । जुन कुल गार्हस्थ उत्पादनको ८० प्रतिशतभन्दा बढी हो ।

अनलाइन कारोबार प्रणालीमा भएको सुधार र प्रणालीमा बढेको लगानीकर्ताको आकर्षणले गर्दा मंसिर १४ गते एकैदिन अहिलेसम्मकै बढी ९ अर्ब २३ करोड रुपैयाँसम्मको सेयर किनबेच भए । पछिल्लो समय दैनिक औसत कारोबार ५ अर्बमाथि छ । कोभिड १९ ले गर्दा अर्थतन्त्र प्रतिकूल हुँदा पनि बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र घटेको ब्याजदरका कारण सेयर बजारमा लगानीको ओइरो लागेको छ ।

धितोपत्र बजारमा देखिएको उत्साह हितग्राही (डिम्याट) खाता खोल्नेको संख्याले पनि देखाएँछ । ६ महिनामा नै ९ लाख जानले डिम्याट खाता खालेका छन् ।

गत असार मसान्तमा १५ लाख रहेको हितग्राही खाता पुस अन्तिमसम्म २४ लाख पुगेको छ । यस्तै गत वर्षको यही अवधिमा सात लाख रहेको मेरो सेयर प्रयोगकर्ता ११ लाख नाघेको छ । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा आवेदन दिनेको संख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढी अर्थात् पाँच लाखबाट साढे १२ लाख पुगेको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष भएपछि ढुंगानाको नेतृत्वमा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३, (चौथो संशोधन), विशिष्टिकृत लगानी कोष नियमावली, २०७७ को प्रथम संशोधन, सामूहिक लगानी कोष नियमावली, २०७७ मा चौथो संशोधन, धितोपत्रको कारोबार राफसाफ तथा फस्योट विनियमावली, २०६९ संशोधन भएका छन् ।

यस्तै उनकै नेतृत्वमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा बुक बिल्डिङ निर्देशिका लागु भएको छ । सोही व्यवस्थाको आधारमा बुक बिल्डङका लागि योग्य संस्थागत लगानीकर्ताको सूचीसमेत सार्वजनिक भइसकेको छ ।

मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७७ मा संशोधन गर्दै प्रारम्भिक मार्जिन ३० प्रतिशत, सम्भार मार्जिन २० प्रतिशत हुने व्यवस्था गरिएको भएको छ । यस्तै धितोपत्र बजार र व्यवसायीले मार्जिन कारोबारसम्बन्धी कार्यविधि बनाई बोर्डको स्वीकृतिमा लागु गर्नुपर्ने व्यवस्था गरिएको छ । विद्युतीय ग्राहक पहिचान फाराम (ई-केवाईसी) कार्यान्वयमा ल्याउन, आईसीटी अपरेसन म्यानुअल, २०२० लागु गर्न तथा धितोपत्र दलाल व्यवसायीको कमिसनसमेत उनले घटाएर कार्यान्वयनमा ल्याएका छन् ।

यसबीचमा धितोपत्र व्यवसायीले आफ्नो खुद मुनाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने र सो रकम साक्षरता अभिवृद्धिमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै नागरिक स्टक डिलरले अन्तिम स्वीकृति पाउने क्रममा रहेको छ । बोर्ड यही साता पूर्वाधार अवलोकनसमेत गरेको छ । आफ्नै डिस्प्लेमा कम्पनीले बजार प्रवेश गर्न केही समय लाग्ने अवस्था देखिएपछि कम्पनीले करिब एक महिना अगाडिबाटै दोस्रो बजार कारोबार सुरु गरिसकेको छ ।

आफ्नो एक वर्षे कार्यकाल सम्झँदै बोर्ड अध्यक्ष ढुंगाना भन्छन्, “प्राथमिक बजार मात्रै नभएर दोस्रो बजारमा विस्तार भएको छ । गत असार मसान्तमा १४ हजार लगानीकर्ताले अनलाइन युजर पासवर्ड लिएकामा अनलाइनलाई बैंक इन्टिग्रेसन गराएपछि घरमै बसेर कारोबार गर्न सक्ने भएको छ ।” उनका अनुसार हाल २ लाख २० हजार जनाले घरैमा बसेर सेयर किनबेच गर्न सक्छन् । दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या ४ लाख रहेको उनको तथ्यांक छ ।

धितोपत्रको प्रारम्भिक र दोस्रो बजारमा उल्लेख्य परिर्वतन देखिए पनि नेप्से र सीडीएससीको संरचनात्मक सुधार र गर्नुपर्ने आवश्यकता भने रहेको ढुंगाना स्वीकार्छन् ।

नेप्सेको रणनीतिक साझोदार र वस्तु विनिमय बजारको लाइसेन्स अन्योलमा
अहिले नेप्से र सीडीएससीको संरचनात्मक सुधारका विषयमा छलफल भइरहेको ढुंगाना बताउँछन् । तर, यसका लागि गठन भएको समितिले आफ्नो प्रतिवेदन बुझाएको एक वर्ष बितिसक्दा पनि ठोस उपलब्धि हासिल हुने सकेको छैन । नेप्सेमा रणनीतिक विदेशी साभेदार भित्र्याउने विषमा पनि ठोस पहल भने भएको देखिँदैन ।

सुधारका थप प्रयास के-के हुँदै छन् ?
नेप्सेको नट्समा बैंक खाता र डिम्याट खाताको इन्टिग्रेसन र टीएमएसलाई  प्रभावकारी बनाउने काम भइरहेको ढुंगाना बताउँछन् । धितोपत्रको दोस्रो बजारसम्बन्धी जानकारी र पहुँच देशव्यापी बनाउन धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिलाई प्रमाणीकरण गरी परिचालनका लागि कार्यविधि बनाउने अध्ययन पनि गरिरहेको उनको दाबी छ ।

यस्तै सूचीकृत सरकारी ऋणपत्रको पूर्ण अभौतिकीकरण गरी कारोबार गराउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग छलफल गरिरको उनले बताए ।

अर्कोतर्फ वस्तु विनिमय बजारको अनुमतिका लागि दोस्रोपटक मागेको आवेदनमा पनि बोर्डले लाइसेन्स दिने अथवा नदिने विषय अझै अन्योलमा छ । उक्त विषयमा बोर्डमा छलपलल भइरहेको भए पनि यसअघि दोस्रोपटक मागेको आवेदनबाटै लाइसेन्स दिने कि पुनः आवेदन माग गर्ने भन्ने विषय अन्योलमा रहेको देखिएको हो ।

अध्यक्ष ढुंगाना भने पुन: नयाँ आवेदन माग गर्नुपर्ने पक्षमा छन् । यस्तै विशिष्टिकृत लगानी कोषको रूपमा सञ्चालन हुनका लागि बोर्डमा आवेदन दिने संस्थालाई अनुमति प्रदान गर्ने कार्य अन्तिम चरणमा पुगेको ढुंगानाको दाबी छ ।

ढुंगानाको नेतृत्वमा बोर्डले सूचीकृत संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७७ को मस्यौदा तयार पारेको छ भने ऋणपत्रको दोस्रो बजार कारोबारसम्बन्धी नियमावलीको मस्यौदा तयार भइरहेको छ । भित्री कारोबार निषेधसम्बन्धी नियमावली अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पेस गरिएको छ ।

यस्तै बोर्डको चारवर्षीय रणनीतिक योजनाको मस्यौदामा बोर्डमा छलफल भइरहेकै छ ।

यस्तै, इन्डेक्स फन्ड तथा इक्युटी डेरीभेटिभ्सको कारोबारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । बोर्डको बढ्दो कार्यक्षेत्र र जिम्मेवारीलाई बहन गर्न सक्ने गरी ‘ओएनएम सर्भे’ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाएको छ । बोर्डको भवन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पनि अघि बढेको छ ।

विजय पराजुली

प्रतिकृया दिनुहोस
ad