नारायणबहादुर सिंह
यता केही दिनदेखि मैले भैरवजी (उहाँलाई म भैरवजी नै भन्थेँ र उहाँ मलाई माड्साब भन्नुहुन्थ्यो) लाई असाध्यै सम्झन थालेको छु । भैरवजी बित्नुभएको ६ वर्ष भैसक्यो । अहिले उहाँलाई मैले झलझल सम्झनु अकारण हुन सक्तैन तर स्पष्ट कारणचाहिँ म आफैले पनि बुझ्न सकेको छैन । भैरवजी बहुलाउनुभयो भन्ने गरिन्छ । यस कुरामा मलाई चाहिँ ठ्याम्मै एकीन छैन । भैरवजीले १९ गते राति आत्महत्या गर्नुभयो । असोज ९ गते, २०३३ मा उहाँ कार्यालयमा उपस्थित हुनुहुन्थ्यो – स्वस्थ र स्वाभाविक रूपमा ।
भैरवजीको निधनपछि ‘रचना’ले उहाँको स्मृतिमा दुई खण्डमा भैरव अर्याल अङ्क प्रकाशित गरेको छ २०३८ सालमा आएर तर रचना सम्पादक रोचक घिमिरेले २०३४ सालतिरै यी अङ्कहरू प्रकाशित गर्ने काम थालिसक्नुभएको थियोजस्तो लाग्छ । दोस्रो अङ्क भैरव स्मृति खण्डमा केशवराज पिँडालीसमेत २७ जनाले लेखेको संस्मरण छन् । रोचकजीले मलाई पनि केही लेखिदिन भन्नुभएको थियो । लेख्न सकिनँ वा भनौँ लेखेर पूरा गर्न सकिनँ । संयोगको कुरा, यही माघ २७ गते साँझ पुराना फाइलहरू पल्टाउँदा प्रस्तुत अपूरो लेख फेला प¥यो । उहाँका सम्बन्धमा अरूतिर कहीँकतै मैले केही लेखिनँ । कारण म भन्न सक्तिनँ । ‘रचना’का लागि लेख्न थालेको यो लेख पनि अपूरै छ । अपूरै भए पनि एक शब्द पनि फेरफार नगरी यसलाई छाप्न मन लाग्यो । अहिले भैरवजीलाई झलझल सम्झिन्छु । कारण फेरि पनि भन्छु, स्पष्ट छैन । यस लेख (२०३४ सालतिर लेखिएको) को अन्तिम वाक्य छ– ‘हामी त एउटा डुब्न लागेको डुङ्गाका सहयात्रीजस्ता थियौँ ।’ यस वाक्यमा ध्वनित सङ्केत नै सम्भवतः अहिले मैले भैरवजीलाई यसरी सम्झिन थालेको कारण हुन सक्छ । भैरवजी र ममा एउटा अन्तर थियो, छ । उहाँ सबै कुरा आफ्नै मनमा गुम्स्याउनुहुन्थ्यो, म त्यसरी कुनै कुुरा (नितान्त वैयक्तिक कुरासमेत)लाई आफैभित्र गुम्स्याउन्नँ ।
भैरवजी ‘गोरखापत्र का अन्तिम वर्षहरू निश्चय नै सुखकर थिएनन् । त्यत्रो वर्षसम्म लेख रचनाको सम्पादन गर्नुभएका भैरवजीको पछिल्लो हैसियत एउटा नौसिन्दाको जस्तै भएको थियो । उहाँमाथि कुनै ‘हाकिम’ को हैकममा काम गर्नुपर्ने वाध्यता आइपरेको थियो । भैरवजीले धेरैलाई कवि कथाकार बनाउनुभएको थियो, तर पछिल्लो समयमा आएर तिनैमध्ये कतिले ‘छडके’ हान्न थालेका थिए । हाम्राबीच दही चिउरेहरूको कमी छैन । मैले लेखेको प्रस्तुत लेखमा उल्लेख भएका घटनामा ६ वर्षयता आएर खास परिवर्तनहरू भएका छैनन् । उही धरातल हो, उही नियतिहरू हुन् । भोगाइ उस्तै हुन् । भन्न सकिने धेरै कुरा छन्, तर भैहाल्यो । (ले.)
लेखांश प्रस्तुत छ–
आज म भैरवजीलाई सम्झने चेष्टा गर्दै छु ।
वास्तवमा मलाई चेष्टा गर्नुपरेको छ । भैरवजी मर्नुभएपछि म पहिलो पल्ट उहाँका सम्बन्धमा केही लेख्न बसेको छु । हुन त यो कर होइन, अनिवार्यता वा आवश्यकता होइन । बरु यी पङतिकारहरूलाई लेख्नु पनि मात्र एउटा औपचारिकता हो । औपचारिकता बनावटी हुन्छ, बिल्कुल कृत्रिम । यस्तो कृत्रिमतालाई स्वाङ भने पनि हुन्छ । स्वाङमा ढोङ ध्वनित हुन्छ । हामीहरू ढोँगीभन्दा बढ्ता अरू छौँ नै के र !
के अर्थ ?
म आफैँलाई प्रश्न गर्छु । भैरवजीका सम्बन्धमा यी पङतिहरू लेख्नुको के अर्थ ? जसको कुनै अर्थ हुँदैन, त्यसलाई हामी अर्थहीन भन्छौँ, निरर्थक कुरा । भैरवजीका सम्बन्धमा म सबै सत्य कुरा लेख्न सक्तिनँ । म डराउँछु । मरेको मानिसको निन्दा गर वा स्तुति, उसले प्रतिवाद गर्दैन । तर, भैरवजीका सम्बन्धमा लेख्ता अरू धेरै कुरा, अरू धेरै मानिस तानिन सक्छन् । कति कटु (सत्य भए पनि कटु) कुरा पनि लेख्नुपर्ने हुन्छ । त्यसैले यस्ता सबै कुरा लेख्नुको अर्थ हुन्छ– म धेरैको कोपभाजन हुनेछु । स्वभावतः म डराउँछुु । त्यसो हुँदा असत्य वा अर्धसत्य लेख्नुको के अर्थ हुन सक्छ र ?
यो पहिलो पटक होइन ।
यसअघि पनि ३÷४ पल्ट म लेख्न बसेको हुँ । कुनै बेला केवल शीर्षक लेखेर छाडेको छु । कुनै बेला ८÷१० पंक्ति लेखेर छाडेको छु । किन ? किनभने म सत्य लेख्न सक्तिनँ । वास्तवमा यस्ता कुरामा सत्य पनि के हुन सक्छ र ? सत्य लेख्नुमा पनि कहिलेकाहीँ लेख्नेको अहम्, लेख्नेको दुर्बलता, लेख्नेको हिपोक्रेसीबाहेक अरू केही झल्किँदैन । म पनि के कम हिपोक्र्याट छु र ? मैले पनि पाखण्डको मुकुण्डो भिरेको छु ?
०००
२०३३ साल । असोज २१ गते । कुन बार थियो– अहिले झट्ट सम्झना भएन ।
बिहानको साढे दश एघारको समय थियो । भारतजी (गोरखापत्रका सम्पादक भारतदत्त कोइराला) को कोठा । टेलिफोनको घन्टी बज्छ । म उठाउँछु । वासुदेव लुइँटेल बोल्दै हुनुहुन्थ्यो । पुरुलाई खोज्नुभएको रहेछ । भैरवजीको सम्बन्धमा सोधखोज गर्नुभयो । मेरो सोझो उत्तर थियो– “किन, के भयो र ? ठीकै छ । अहिले रुघा, खोकी, ज्वरो छ रे । दुइचार दिनपछि आउनुहोला ।” जुन घटित भवितव्यको भन्को पाएर वासुदेवजीले फोन गर्नुभएको रहेछ– त्यसको मैले लखसम्म काट्न सकिनँ ।
पन्द्र बीस मिनेटपछि फेरि घन्टी बज्छ । यस पटक भारतजीले फोन उठाउनु भयो । म कुरामा अलमलिएको थिएँ । भारतजीले भन्नुभयो, “भैरवजीको लास फेला परेछ...”
“लास.....! भैरवजी मर्नुभयो ? भैरवजी हुनुहुन्न ।”
“भैरवजी मर्नुभयो । भैरवजी हुनुहुन्न ।”
भक्कानो फुट्छ । धुरुधुरु होइन । म भक्कानो छाडेर रुन्छु ।
कसैले विश्वास गर्छ, गर्दैन– म भन्न सक्तिनँ । मलाई जन्म दिने बाउ मर्दा म रोइनँ । मन रोएको हुँदो हो, तर मेरा आँखामा एक थोपा आँसु थिएन ।
भैरवजी मर्दा मलाई भक्कानो छाडेर रुन मन लाग्यो । म रोएँ ।
आजसम्म मैले धेरै पटक त्यसरी मैले रुनुको अर्थ खोजेको छु ।
म किन रोएँ ? भैरवजीको मायाले, भैरवजीको स्नेहले ?
कथापि होइन । मैले त्यसो भन्नु सबभन्दा झूटो कुरा हुनेछ ।
अनि किन त ?
०००
भैरवजीले आत्महत्याको जुन नियतिलाई अँगाल्नुभयो– त्यसको केही समय अघिदेखि बारम्बार षड्यन्त्रको कुरा गर्न थाल्नुभएको थियो । जहिले पनि एकान्त हुँदा त्यही षड्यन्त्रको कुरा उठाउनुहुन्थ्यो । बारम्बार भन्नुहुन्थ्यो, “माड्साब, यो षड्यन्त्र म र तपाईंका विरुद्ध रचिँदै छ ।”
कुन षड्यन्त्र थियो त्यो, जसले उहाँको मन–मस्तिष्कलाई त्यस्तरी आन्दोलित पारिराखेको थियो । कसले रचेको त्यो षडयन्त्र ? मलाई कहिल्यै स्पष्ट भएन । कारण के पर्यो भने मैले कहिले पनि त्यस कथित षड्यन्त्रबारे जान्ने चेष्टा गरिनँ । तर, षड्यन्त्रको त्यस कुराले मलाई पनि अज्ञात भय र आशङ्काले अवश्य गाँजेको हुनुपर्छ । त्यो षड्यन्त्र मेराविरुद्ध पनि हो भन्ने कुरालाई भैरवजीले धेरै पटक दोहो¥याउनुभएको थियो । त्यसबारे स्पष्ट जानकारी लिन मैले नचाहनुमा स्पष्टतः ती कुरा सुनेर म आफूलाई आत्मपीडाको शिकार पार्न चाहन्नँ थिएँ, जसको अर्थ थियो– त्यस षड्यन्त्रको भयले मलाई पनि सम्पूर्ण निलिसकेको थियो । षड्यन्त्रको त्यस यथार्थ (यो कुनै यथार्थ थियो वा थिएन अझै भन्न सक्तिनँ) को सामना गर्ने सामथ्र्य मैले पनि आफूमा पाउन सकेको थिइनँ ।
०००
एक दिन । कुनै दिन । कुन दिन भनेर ठोकुवा गर्नुको अब त कुनै प्रयोजन पनि छैन । बस् एक दिन । कुनै दिन । अफिसबाट सँगै निस्केका थियौँ । प्रायः सँगै निस्कन्थ्यौँ । पारस होटलनिर आइपुगेपपछि भैरवजीले भन्नुभयो, “एकै छिन ! पाँच मिनेटमा आउँछु ।”
उहाँ बायाँ लाग्नुभयो । संयोगले एक जना परिचितसँग भेट भयो । म कुरामा अलमलिएँ । पाँच, दश, पन्ध्र, बीस मिनेट । भैरवजी आउनुभयो । म आफ्नो परिचितसँग छुट्टिएँ । भैरवजी र म इन्द्रचोक असनतिर लाग्यौँ ।
मैले कुनै अन्तर देखेको थिइनँ । स्पष्ट थिएन । आँखाले केही खोजेका थिए । म भन्छु, “अघि त लुगा अलि मैलै थियो नि !”
भैरवजी मुुसुक्क हाँस्नुभयो । यस्ता बेलामा उहाँको मन मुखमा देखिन्थ्यो । उहाँको त्यो मन शायद मैले कहिल्यै पढ्न सकिनँ । भन्नुभयो, “हो, फेरेर आएको ।”
वास्तवमा उहाँले पसलमै (सफाइ धुलाइ कार्यालय) मैलो लुगा फेरेर धोएको सुकिलो लुगा लगाएर आउनुभएको थियो । भन्नुभयो, “के गर्ने माड्साब, जम्मा दुई जोर लुगा छन् । घरमा धुने र धोएर फेर्ने कुरा गाह्रो छ । त्यसैले लुगा फेरेर मैलो लुगा पसलमै छाडेर आएँ ।”
सहज र स्पष्ट कुरा थियो ।
यी कुराहरू लेखेर मैले मेरा मरिसकेका साथीलाई होच्याउन खोजेको होइन, उहाँलाई नङ्ग्याउन खोजेको होइन । स्वयम् पनि नाङ्गिन चाहन्छु म । भैरवजी एउटा साह्रै साँघुरो संसारमा बाँच्नुभएको थियो– पीपी पापाको संसारमा । भैरवजीले ६ थान छोराछोरी छाडेर जानुभएको छ । कम्तिमा ६ जोड २ = ८ पेट थिए उहाँको । कलम घोटेर बाँच्नेले आठ वटा पेट भरेर बाँच्नुलाई एउटा पुरुषार्थ मानिनुपर्छ । उहाँ अरूका लागि बाँच्नुभएको थियो । वास्तवमा हामी सबै अर्काका लागि बाँचेका छौँ । हामी जस्ताले हामी देशका लागि बाँचेका छौँ, समाजका लागि बाँचेका छौँ भन्नुजस्तो झूट अरू केही हुन सक्तैन । स्वयम्मा हाम्रो अस्तित्व के छ र ? भैरवजी जे जति बाँच्नुभयो र जुन धरातललाई टेकेर उहाँ बाँच्नुभएको थियो– म पनि आज त्यस्तै धरातललाई टेकेर बाँचेको छु । यस्तो धरातललाई टेकेर बाँच्ने आज हामी धेरै छौँ ।
भैरवजी एउटा घटनालाई प्रायः सुनाउनुहुन्थ्यो— एक पटक उहाँले मन्त्री (सहायक, राज्य वा पुरैमध्ये एक) नामधारी एक जना (स्त्रीलिङ्गी)का लागि भाषण लेख्नु्भयो । यो भाषण जुन समारोहमा पढिएको थियो, त्यसको रिपोर्ट गर्ने जिम्मा संयोगले उहाँमा नै पर्न गयो । त्यसै भाषणको समाचार उहाँले नै लेख्नुभयो । अर्को दिन समाचार छापियो । त्यस दिन फेरि उहाँलाई नै त्यसै आधारमा सम्पादकीय लेख्नुपर्यो ।
कुनै अपवाद होइन । भैरवजीलाई मात्र भएको अनुभव होइन । हामीजस्ता धेरैलाई यस्ता धेरै अनुभव भएको हुनुपर्दछ ।
बुद्धि र विद्वताको सुक्रिबिक्री हुने हाम्रो जस्तो परिस्थितिमा यस्ता सबै कुरा सम्भव छन् । लेखक बुद्धिजीवीहरू ठगिने, शोषित हुने यस्ता उदाहरणहरू सामान्यजस्तै छन् ।
भैरवजी आज हुनुहुन्न । त्यसैले उहाँलाई कसकसले, कसरी र कुन रूपमा शोषण गरेका थिए भन्ने मैले देखेका र मलाई लागेका कुराहरूलाई यहाँ उधिनेर ती बाँच्नेहरू (जसमध्ये केहीको अनुग्रहको अपेक्षा मलाई पनि रहनेछ) को कोपभाजन हुने आँट म गर्न सक्तिनँ । बाँच्ने उपक्रममा एउटा दुर्बल मानिसले सधैँ आफ्ना स्वाभिमान र आस्थामा टाँस्सिएर बाँच्न सक्तैन, उसलाई त्यसरी बाँच्न पनि दिइँदैन ।
सङ्क्षेपमा भन्छु—
भैरवजीलाई बाँच्न धेरैले आड पनि दिएका थिए । तर, उहाँलाई यस्तो आड दिनेहरूभन्दा निचोर्नेहरू धेरै थिए । उहाँलाई यसरी निचोर्नेहरूमा हामी धेरै छौँ– व्यक्ति, संस्था, समाज सबै पर्छन् यसमा ।
०००
२०१७ साल । अन्तिम महिनातिर हुनुपर्छ ।
गोरखापत्र छापाखानामा तलमाथि गर्दा (पुरानोचाहिँ घरको) तल्लो तलाको बरण्डा हुँदी एक जना सुसेसुसे, दुब्लेदुब्ले तर अग्ले ख्याउटे मानिसलाई अक्सर देख्ने गर्थेँ । मैलोमैलो, खुइलिएकोजस्तो बुसर्ट र प्यान्ट । लुगा न हो, बेलाबेलामा फाट्छ । फेरिन्छ । तर, एउटा कुरालाई भने टड्कारो सम्झन्छु । उसका कस्ताकस्ता, मात लागेका आँखा र उसका बाक्ला बटारिएका आँखीभौँ । यी कुरा– आँखा र आँखीभौँलाई अझै सम्झिन्छु ।
भैरवप्रसाद अर्याल । भैरव अर्याल । भैरवजी ।
भैरवजीले २०१८ सालमा गोरखापत्रमा प्रवेश गर्नुभएको थियो । त्यसपछि आफ्ना र उहाँका अनुपस्थिति (बिदा र विदेशाटनजस्ता) बाहेक चौध वर्ष सँगै काटेका हौँ । चौध वर्षपछि राम वनवासबाट फर्केका थिए । भैरवजी पनि चौध वर्षपछि वनवासबाट फर्किनुभयो, फेरि आउँदै नआउने गरी । संसारमा एक्लो बाँच्नु पनि एक अर्थमा वनवास नै हो । भैरवजी एक्लो बाँच्नुभएको थियो । हामी पनि एक अर्थमा एक्ला एक्लै बाँचेका छौँ ।
०००
भैरवजीसँग मेरो कुनै आत्मीयता थिएन, किनभने यस्तो कुनै आत्मीयता थियो भन्ने दावा गर्ने स्थितिमा म आफूलाई पाउँदिनँ । हामी त एउटा डुब्न लागेका डुङ्गाका सहयात्रीजस्ता थियौँ ।
(भैरव पुरस्कार गुठीद्वारा प्रकाशित तथा रोचक घिमिरेद्वारा सम्पादित ‘शाश्वत व्यङग्यशिल्पी’ पुस्तक बाट ।)