महामारीले ल्याएको गाउँ विकासको अवसर

सविता पोखरेल

 महामारीले ल्याएको गाउँ विकासको अवसर

म गाउँमै जन्मेँ, गाउँमै हुर्केँ । धेरैजसो त्यही पढेँ । गाउँ नै सबै थोक थियो मेरा लागि । गाउँ छोडेर उच्च शिक्षाका लागि सहर पसेपछि वर्षमा केहीपटक थोरै समयका लागिमात्र गाउँ जान्थ्यौँ । दसैँ तिहार वा असार–साउनमा । बाध्यताले गाउँ बस्न नपाउँदा कहिलेकाँही आफैँसँग गुनासो रहन्छ । बाँकी जीवन गाउँमै बितोस् भन्ने चाहना छ अझै पनि ।

गाउँ पुग्दा, त्यहाँ रहँदा सहर बस्ने दिनहरूको लागि शक्ति भरेर आए जस्तो मानौ आफ्नो ब्याट्री चार्ज भएजस्तो लाग्थ्यो । म फुर्तिलो हुन्थेँ । हल्का हुन्थेँ । भएका तनावसखाप हुन्थे । वेदना भए बतासिन्थे । कुनै महिला बच्चा जन्माएपछि पूर्ण हुन्छे भन्नेसमेत नचाहिँदो लाग्थ्यो मलाई जब म गाउँमा पाइला टेकेर फर्किरहेकी हुन्थेँ । किनभने आफूलाई पूर्ण अनुभूति गर्न सक्थेँ । कति प्रशन्न हुन्थेँ भने त्यसको मापन कुनै यन्त्रले गर्न सक्दैन थियो । 

सहर रहरले कहिल्यै बसिन । कुनै निश्चित योजना बनाएर चट्टै यहाँको बसाइ छोडेर गाउँ जान पनि सकिन । किनभने सहरले मलाई बाध्यताको भूमरीमा फसायो । धेरथोर कमाइमा भुलायो । जागिरको प्रलोभनमा डुलायो । आर्थिक अभावको उन्मुक्तिमा यतै कुदायो । भौतिक सुख र सम्पन्नताको खोजमा दौडायो । 

सहरबाट कोलाहल र प्रदूषणले वाक्क भएर भाग्दै एकदिन म थाहा पत्तो नभएको गाउँको एक झुपडीमा गएर बास बसेको थिएँ । जहाँ एक दिदी हुनुहन्थ्यो र एक जना बिरामी मान्छे पनि हुनुहुन्थ्यो । भूकम्पले घर भत्काइदिएपछि सहायतामा पाएको जस्ताले टहरो बनाएर बसिरहनुभएको थियो । त्यो अनिश्चित यात्रामा निस्कँदा बोकेको केही फलफूल मैले उहाँहरूसँग बाँडेर खाएको थिएँ र उहाँहरूले बेलुकी बास र गाँसको बन्दोबस्त गरिदिएर ठूलो गुन लगाउनुभएको थियो । उहाँहरूको जीवनशैलीमा गाउँलेपन थियो ।  महल थिएन तर मन विशाल थियो । धन थिएन तर हार्दिकता थियो । सद्भाव र माया थियो । 

भनिन्छ नी मानिस कहिल्यै एक्लो हुदैन । ऊभित्र उसको मित्र हुन्छ जसको शक्तिले मानिस नियन्त्रित हुन्छ । त्यही म भित्रको मित्रले मलाई त्यहाँ पुर्‍याएको थियो । गाउँघरको न्यास्रो वा त्यहाँ पाइला टेक्ने हुटहुटीले पनि त्यो डाडाँसम्म पुर्‍याउन धेरै मात्रामा भूमिका खेलेको थियो । यसरी त्यो नयाँ ठाउँको गाउँमा पाइला टेकेर भए पनि मैले काठमाडौंबाट टाढा अवस्थित मेरो गाउँको न्यास्रो मेटेको थिएँ । 

बर्खामा झमझम परेको झरी गाउँखेतकै झल्को दिलाएर जान्छ । ‘डी’ खोलाको भेल खेतमा पस्थ्यो । म दौडँदै खेतमा पुग्थेँ र भेललाई खोलैखोला पठाउन खेतको आलीमा भएको माटो उप्काउन कोदाली उठाउथेँ । बढ्दो वर्षासँगै खोलाको पानी पनि उत्तेजित भएर बढ्दै जान्थ्यो । माटोका ठूलाठूला चप्काहरू खेत र खोलाको सिमानामा राखेपछि भेल झनै तीव्र गतिले ओरालो लाग्थ्यो । मानौं उसको यात्रा तय भइसकेको छ र उसलाई छिटो गन्तव्यमा पुग्नु छ । सागरदेखी बादलसम्म, बादलदेखी सागरसम्म । 

गाउँमा मानीसहरू घामपानी नभनी खेतबारीमा काम गरिरहन्छन् । कोही दिनभर खेतमा पानी लगाउँदै घाँस काट्छन् । कोही खेतको पानी र हिलोमा खुट्टा डुबाउँदै दिनभर धान रोप्ने, गोड्ने गरिरहन्छन् । कोही दाउरा चिर्ने, मलको भारी बोक्ने गर्छन् । कोही कोदो रोपिरहन्छन्, खेतबारी जोती रहन्छन, खनी रहन्छन् ।

शारीरिकरूपमा घोटिँदै दिन बितिरहेको हुन्छ । यसरी भविष्यको सुन्दर कल्पनामा गाउँका किसानहरू वर्तमान समय खेतबारीमा श्रम गरेरै रमाइरहेका छन् । यसमा उनीहरूलाई कुनै खेद छैन । हीनताबोध हुँदैन । अरूको कमाइ र परिश्रममा किसानहरू आश्रित हँुदैनन् । यसैले पनि किसानहरू बस्ने ठाउँ गाउँ भएको हो । र त्यो गाउँ प्रायः सबैको सुन्दर ठाउँ भएको हो । अझै जनसंख्याको ठूलो हिस्सा कृषिमा आश्रित भएकोले पनि किसानहरूप्रति सम्मानसहितको सहयोगको भाव जाग्नुपर्छ । अन्य अर्थ नलागेमा सम्माननीय र माननीय अरू कसैलाई नभनेर ती श्रमका पुजारीलाई भन्दा शोभनीय हुन्छ । प्रायः अरूको कमाइ र परिश्रममा आश्रित भएर खानेहरूको ग्यास्ट्रिकले पेट फुलिरहेको हुन्छ भने आफ्नै मेहेनत र परिश्रम गरेर खाने र अरुलाई खुवाउनेको गर्वले छाती फुलेको हुन्छ । 

भौगोलिकरूपमा पनि विशेष हुन्छन् पहाडका गाउँघरहरू । तराईमा बसिरहेको एउटा मानिस पहाडमा एउटा घर अडिएको देख्दा पनि आत्तिन्छ । कसरी जाने त्यहाँ ? कसरी बस्छन् मान्छेहरू ? कसरी अडिइरहेको छ घर ? त्यहाँका मानिसहरूले सामान्य लिइरहँदा ऊ भने अचम्म मानेर हेर्छ । उसलाई उकाली–ओराली हिड्न मुस्किल पर्छ । झरना र भञ्ज्याङ अनौठो लाग्छ ।

यही काठमाडौंमा जन्मिएर हुर्केकाहरूलाई चोभारको डाँडो अत्याधिक रमणीय र सुन्दर लाग्न सक्छ तर हामीजस्ता नौ डाडा काटेर मामाघर जाने गरेकाहरूलाई त्यो दृश्य सामान्य लाग्नु पनि ठीकै हो । त्यसैगरी तराईक्षेत्रका गाउँघर वा सहर वरपर एउटै पहाड नदेख्दा पहाडमा जन्मेहुर्केको मानिसलाई बडो अत्यास लाग्छ । त्यहाँ चल्ने बतासको आवाजले कहाली लाग्छ । भिन्नाभिन्नै वातावरणमा हुर्किएका मानिसले एउटै दृश्य वा वस्तुलाई पनि फरक फरकरूपमा बुझ्छन् । जुन क्षेत्रको भए पनि गाउँले जीवन उत्कृष्ट हुन्छ । स्वस्थ र रोचक हुन्छ । 

जताततै फोहोर थुप्रिएर, धुलो उडेर सास फेर्न पनि गाह्रो भइरहेको सहरको उकुसमुकुसपूर्ण जीवनबाट अत्तालिएर कहिलेकाहीँ म कल्पना गर्ने प्रयास गर्छु — सबै फोहोरहरू छुट्याएर व्यवस्थापन गर्ने यन्त्र बनेको । सबै फोहोर उत्पादकलाई फोहोर व्यवस्थापनमा सहजता मिलेको । फोहोर मोहोर बनेको । 

फोहोर उत्सर्जनको कारण को हो ? “गाउँबाट आएका मानिसहरूले गर्दा यहाँको वातावरण दूषित हुँदै गयो” भन्ने नसुनिएको पनि होइन । कुरा जायजै पनि हो । त्यसैले आफु पनि यसमा एक दोषी भएको आभास बढ्दै जान्छ । अनि निर्दोषी बन्नेतर्फ सोच्नुपर्नेहुन्छ । बढ्दो अनियन्त्रित जनसंख्याले फोहोरमात्र हैन बेरोजगारी, भोकमरी, बजार माग, कालोबजारी जस्ता सबै कुरा बढाउँछ तर देशको समृद्धि चाँहि घटाइरहेको हुन्छ । 

कोभिड –१९ नामक भाइरसको संक्रमणको त्रासपछि भित्रभित्र जनसंख्याले निम्त्याउने कोलाहलहरू कति होलान् तर बाहिर बन्दाबन्दी (लकडाउन)ले शान्त थियो सहर । गाडीहरू कम गुडेका थिए । फोहोरको मात्रा कम भएको थियो । विष्णुमती, मनोहरा, रूद्रमतीहरू कञ्चन बगिरहेका थिए । सडक र नदीहरू तुलनात्मकरूपमा पहिलेभन्दा धेरै सफा देखिन्छन् । मौसम पनि सफा छ । नदेखिने हावा पनि गर्मी हटाउन बहिरहेको छ ।

यसैबीचमा नदेखिने भाइरसको प्रकोप र यसबाट बच्ने क्रममा आइलाग्ने अनेकौं समस्या पनि हामीमाझ ज्युँकात्युँ छ । यही कारणले पनि उच्च शिक्षा, राम्रो कामको अवसर र व्यापार व्यवसायको लागि सहर छिरेकाहरूमात्र हैन विदेशिएकाहरू पनि अहिले गाउँघर सम्झिरहेका छन् । त्यो स्थान जहाँ जीवनको प्रादुर्भाव भएको हो कसको प्रिय नहोला र ? त्यसैले त वृद्धावस्थामा वा जीवनको अन्तिम क्षणमा मानिसहरू आफ्नो गाउँठाउँमा जाने इच्छा गर्छन् । ए, ज्युदाँ जवानहरू हो ! जीवनको अन्तिम क्षण नहुँदै ती गाउँघरमा बसेर उच्चशिक्षा, राम्रो काम र स्थानीय व्यापार व्यवसायको सम्भावनाहरू बढाउने प्रयास गर्ने कि मर्ने बेलामा गाउँमा पाइला टेक्ने रहरले जाने ? यो प्रश्न स्वयं मेरो लागि पनि उठेको छ । 

अहिले देशमा तीन तहको सरकार छ । उनीहरूको दम्भ, आत्मविश्वास र व्यवहारले लाग्छ कोही भन्दा कोही कम छैन । तर, राज्य शक्ति हरेक तहमा विकेन्द्रीकरण भइरहँदा वस्तु तथा सेवाको उत्पादन, वितरण र नियन्त्रणमा सबै अंगहरू आफैँमा सक्षम हुनुपर्ने चुनौती पनि छ । विकासका गतिविधि सबै क्षेत्रमा समानरूपमा अगाडि बढाउनु पर्ने अवस्था  छ ।

केन्द्र सरकारले नियन्त्रणमूखी, सल्लाहकार र समन्वयको भूमिकालाई हेलचेक्र्याइँ नगरी पूरा गर्नु छ । अब स्थानीय र प्रदेश सरकारहरू पनि आफैँमा मजबुत हुने बेला आएको छ । संघीयताको मर्म शक्ति विकेन्द्रीकरण गरी स्थानीय स्रोत साधनको सही परिचालन गर्दै उत्पादन वृद्धि गर्नु हैन र ? नेताहरू याने नेतृत्वकर्ताहरूले यसलाई बुझ्नुपर्ने हैन र ? के छ स्थानीय स्रोत साधन परिचालनका नयाँ योजनाहरू ? के गरी संघ, प्रदेश र स्थानीय सरकारले सम्पूर्ण नागरिकलाई नेपाली हुनुमा गर्वको अनुभूति दिलाउन सक्छन् भन्ने सरकार प्रमुख तथा सम्बन्धित व्यक्तिका भाषण र लोभलाग्दा कार्यक्रमले नभएर व्यवहारले बताउँदै जानेछ ।  आशा गरौँ, गाउँघरका अभावहरू क्रमशः पूरा हुँदै जानेछन् । नयाँनयाँ कृषि क्षेत्रका लागि औजारहरू बन्नेछन् । किसानहरूका माग पूरा हुनेछन् । कृषि क्षेत्रमा क्रान्ति हुनेछ । गाउँघर नै सुन्दर, शान्त र वातावरणमैत्री बन्नेछ । 

अप्ठ्यारोमा, पीडामा, महामारीमा सम्झने भनेकै आफ्नोलाई हो । आफ्नो गाउँठाउँ सम्झिएर यतिबेला धेरै मानिस विदेशबाट र सहरबाट गाउँगाउँमा पुगेका छन् । आफ्नो प्रिय ठाउँ पुगेका छन् । घरमा जे छ, मीठोमसिनो खाएर भएका खेतबारी, पाखा र कान्लामा कोदालो चलाउन तत्पर छन् । अब भविष्यको बाटोहरु कसरी बनाउने ? केही योजनामा छन् भने अधिकांश अन्योलमा छन् । फलामलाई आकार दिन तातेकै बेला हान्नुपर्छ भने झैँ गाउँहरुको विकास गर्ने पनि अवसर यही हो ।

हाम्रा पुर्खाको नासो हाम्रा सन्ततीलाई कस्तो रुपमा सुम्पने हो ? त्यसको प्रारुप बनाउनुपर्छ । आफ्नोपन र मौलिकतालाई कुनरुपमा विकसित गराउने हो ? अब त सोच्नैपर्छ । अधिकांश युवा गाउँ फर्केका बेला हामी विकासका ठोस कदमहरुको लागि ज्ञान र विवेकसहित सही मार्गमा लाग्नुपर्छ र सबैलाई त्यसमा सहभागी गराउनुपर्छ ।  अब सबै सरकारहरु तात्नुपर्छ, सरकारका मान्छेहरु जाग्नुपर्छ । यसमा गाउँलेहरु पनि लाग्नुपर्छ । गाउँको सरोकार राख्नेहरुलाई झक्झकाउनुपर्छ । हामी सधैँ देश विकास भएनमात्र भन्छौँ । देश विकास हुन त एक एक गर्दै अनेक गाउँहरु पनि त विकास हुनुप¥यो नि । पहिले आआफ्ना गाउँ बनाउँ अनि स्वतः देश विकास हुन्छ । 

यहाँ लेख्न सजिलो भएजस्तो सजिलो छैन देश विकास हुन । देशभित्र धेरै अङ्ग र प्रत्यङ्ग हुन्छन् । ती अनेकौ अङ्गहरुको अवस्था, समस्याबारे अवगत भएर समाधानको लागि आवश्यक कदम चाल्ने को ? हामी अधिकांशको सोच र कर्म एकै हुदैन । यहाँ हरेक नागरिकको मानसिकता र उसको व्यवहारकै संयोजनमा आधारित हुन्छ कुनै पनि गाउँ, सहर वा देशको विकास कति मात्रामा भयो, हुदैछ र हुनेछ भन्ने विषय ।  तथापि राम्रो काम गर्नलाई राम्रो कुरा हामीले सोच्नु त पर्छ नै । 

हाल चर्चित भाइरसबाट संक्रमितको संख्या तुलनात्मकरुपमा सहरमा भन्दा पनि गाउँमा कम देखिएको छ । अझै धेरै हामी त्यो गाउँठाउँ सम्झिरहनेछौँ । गाउँले मन, त्यहाँ बहने पवन र त्यहाँबाट देखिने गगन सम्झिरहनेछौँ । खोला, नाला, झरना, बन पाखा बेसी र बगर पनि अझै कति सम्झिरहनेछौँ । दसैं तिहार र अन्य चाडबाडको रमझम र  हाम्रो बालापन सम्झिरहनेछौँ । हाम्रा घर, खेत, बारी, बूढा हुँदैगएका बाआमा झनै सम्झिरहेका छौँ, सम्झिरहनेछौँ । 

जिउन पाउँ तिम्रो छातिमाथिको माटोमा ।

रम्न पाउँ तिम्रो विकास मार्गको बाटोमा ।।


 

प्रतिकृया दिनुहोस
ad