site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसीप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले देखाएको उपेक्षाबाट सिंगो मुलुक स्तब्ध बनेको छ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा सत्याग्रह सुरु गरेका डा. केसीको अनशन २३ दिन भइसक्ता पनि सरकारले खासै चासो देखाएको छैन । सरकारका प्रवक्ताले प्रसंगवश अनशन स्थगित गर्न गरेको आग्रह र अनशनको २२ औं दिन शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा अनौपचारिक टोली पठाउनेबाहेक सरकारले माग पूरा गर्नु त परै रहोस् वार्ताको पहलसम्म गरेको छैन । उता डा. केसीको स्वास्थ्य अत्यन्त खराब भइसकेको र कुनै पनि बेला उनको जीवन जोखिममा पर्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । सरकार भने सत्याग्रही डाक्टर केसीलाई ‘‘गलाउने र हराउने’ षड्यन्त्रमा लागेकोे देखिन्छ । सरकारको आपत्तिजनक र रहस्यपूर्ण उपेक्षाले ठूलो अनिष्ट ल्याउनसक्ने देखेर नै पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले डा. केसीको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको हुनुपर्छ । 

यसअघि नै काठमाडौंलगायत विभिन्न सहरमा डा. केसीको समर्थनमा दिनहुँ प्रदर्शन भइरहेको छ । डा. केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन सुरु गर्न दिएको ७२ घन्टाको समय बुधवार सकिँदैछ । यसबीच सरकारले औपचारिक वार्ता टोलीसम्म पनि गठन गरेन । विभिन्न अस्पतालका डाक्टरहरूले अनशनरत डा. केसीसँग वार्ता गरी उनको जीवन रक्षामा सरकारले देखाएको उपेक्षाविरुद्ध आन्दोलन सुरु गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले समेत डा. केसीसँग वार्ता गरेर उनको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गरिसकेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसलगायत अरू विपक्षी दलहरूले त संस्थागतरूपमै डा. केसीका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । विडम्बना, केपी ओली र उनको मन्त्रिपरिषद्का सदस्य भने सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसीको ज्यानै लिन तम्सेजस्ता देखिए । तिनको उपेक्षा सायद सत्ताको अहङ्कार र दम्भको उपज हो ।  

डा. गोविन्द केसीले नयाँ माग राखेका पनि हैनन् । उनीसँग विभिन्न सरकारले पटकपटक गरेका सम्झौता र विशेषगरी प्रधानमन्त्री ओलीकै मन्त्रिपरिषद्ले गत २०७५ सालमा गरेको सम्झौताको कार्यान्वयन नै डा. केसीको मुख्य माग देखिन्छ । डा. केसीमा मागहरू जनहितमा भएको सत्य यसअघि नै नेपाली समाज थाहा पाइसकेकै हो । विवेक भएको कुनै व्यक्तिले डा. केसीप्रति प्रधानमन्त्री केपी ओलीको सरकारले देखाएको उपेक्षाको समर्थन गर्न सक्तैन । यथार्थमा डा. केसीको जीवन रक्षाका सन्दर्भमा बीचमा उभिने ठाउँ पनि देखिँदैन । डाक्टर केसीको जीवन रक्षा सम्भवतः सत्य र न्यायका पक्षधर सबैको पहिलो प्राथमिकता हो । तैपनि, सत्याग्रही डा. केसीले हारून् वा उनको मनोबल कमजोर होस् भन्ने चाहना भने विवेक भएको कुनै व्यक्तिले पनि गर्दैन । डा. केसीको जीवनप्रति यस्तै उपेक्षा देखाइरहेमा सरकारलाई सडकबाटै दबाब दिन ढिला गर्नु हुँदैन । सरकारले अहङ्कार त्यागेर डा. केसीसँग तत्काल वार्ता गरी उनको जीवन रक्षाका लागि हरसम्भव प्रयास गरोस् । सत्याग्रह सम्मान गर्दा सरकारको हार हुँदैन । डा. केसीको सत्याग्रह प्रधानमन्त्री ओलीको विवेकको कसी पनि हो । देशको हितसमेत हेरेर प्रधानमन्त्री ओलीले तत्काल निर्णय गरून् ! 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement