के सेनाले आफन्तलाई संक्रमितको शव हेर्न नदिएकै हो ?

प्रवक्ता भन्छन्- परम्पराअनुसार शव व्यवस्थापन

के सेनाले आफन्तलाई संक्रमितको शव हेर्न नदिएकै हो ?

काठमाडौं । कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शव व्यवस्थापनमा नेपाली सेना सक्रिय छ । पछिल्लो समय दैनिक संक्रमितको मृत्यु हुने क्रम जारी छ । कतिपयले सेनाले आफन्तको शव हेर्न नदिएको गुनासो गरेपछि सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले त्यसको खण्डन गरेका छन् ।

बाह्रखरीसँगको कुराकानीमा प्रवक्ता पौडेलले भने, “सेनाले शव हेर्न दिएन भन्ने कुरा गलत हो । संक्रमितको ज्यान गइसकेपछि अस्पतालमा चिकित्सहरुले शव र्‍याप गर्ने बेला आफन्तलाई देखाउँछन् । यसमा सेनाले भूमिका रहँदैन । हामीले शव लगेर व्यवस्थापन गर्ने हो । आफन्तको मन दुखाउन हामीलाई पनि रहर त लाग्दैन नि !”

प्रवक्ता पौडेलले आफूहरुले शव व्यवस्थापन गर्दा परिवारकै राय र धार्मlक परम्पराअनुसार गर्दै आएको बताए । सेनाले सबैभन्दा परिवारकै चाहनाअनुसार १९५ बढी शव खाल्डोमा गाडेको छ भने २१ जनालाई चितामा जलाएको छ । यस्तै १२८ जनलाई पशुपतिस्थित विद्युतीय शव गृहमा जलाइएको छ  भने कतिपयलाई कब्रस्तानमा पनि गाडिएको छ ।

प्रवक्ता पौडेलले भने, “जोखिमका बीच पनि हामीले अन्तिम संस्कारमा धार्मिक मान्यता, मन्त्र सबै विधि पुर्‍याउने गरेका छौं । जोखिमको अवस्थामा सेनालाई पनि सबैको सकारात्मक सहयोग चाहिन्छ ।”

शव व्यवस्थापनका खटिएका कतिपय सैनिकलाई कोरोना संक्रमणसमेत देखिएको छ । सेनामा १६ सय बढी कोरोना संक्रमित छन् । संक्रमितलाई सेनाले सकेसम्म आफ्नै व्यारेकमा उपचार र आइसोलेसनमा राख्दै आएको छ ।

प्रवक्ता पौडेलले भने, “प्रदेश प्रदेशमा सैनिक पृतनाहरु छन् । यसबाहेक सल्लाघारी, पाँचखाललगायत स्थानमा हामीले हाम्रा संक्रमितको व्यवस्थापन गर्छौं । हाम्रो उद्देश्य भनेको सरकारलाई थप दबाब नपरोस् भन्‍ने हो ।”

कोभिड-१९ का कारण मृत्यु भएमा शव व्यवस्थापन गर्ने तरिका

- परिवारका सदस्यालाई शव चलाउन वा छुन दिनु हुँदैन ।

- पीपीई प्रयोग गरेर व्यवस्थापन प्रक्रिया मिलाएर व्यवस्थापन गर्ने ।

- शवलाई ‘बडी ब्याग’ मा राख्‍ने, नभएमा सेतो कपडामा बेर्न सकिन्छ र त्यसपछि प्लास्टिकमा बेर्ने ।

- परिवारका सदस्यले हेर्न चाहे एक मिटर टाढाबाट देखाउन सकिन्छ ।

- शवलाई शव वाहनमा राखेर अन्योष्टि गर्ने स्थानसम्म लैजाने ।

 यस्तो छ कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी कार्यविधि ।

केशवराज जोशी

प्रतिकृया दिनुहोस
ad