बीपी, वीरेन्द्र र जनमत संग्रह

जगत नेपाल 

जनमत संग्रह (२०३७) को सरगर्मी ह्वात्तै बढेको थियो । बीपी पुत्र श्रीहर्ष पर्चा, पाम्पलेटसहित बहुदलको प्रचार सामग्री तयार गरी देशका विभिन्न भागमा पठाउने जिम्मेवारीका साथ वनारसमा खटिएका थिए । यस्तैमा एक दिन कम्बोडियाका तत्कालीन विदेश मन्त्री हुन सेन (हाल प्रधानमन्त्री तथा कम्बोडियन पिपल्स पार्टीका अध्यक्ष) ले नेपाली कांग्रेस महामन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्न चाहेको खबर उनीसम्म आइपुग्यो । हिजोआजजस्तो मोबाइल र इन्टरनेटको जमाना थिएन । श्रीहर्षले पटना, फारवेसगन्जलगायतका धेरै स्थानमा फोन गरे । जति प्रयास गर्दा पनि सम्पर्क हुनै सकेन । 

अर्कोतिर जरुरी छ, एक पटक भेटाई दिनुपर्‍यो भन्ने सेनको सन्देश तारन्तार आइरहेको थियो । काठमाडौंमा राजा वीरेन्द्रसँग भेटेर आएका विदेशमन्त्री सेन गिरिजामार्फत बीपीलाई महत्त्वपूर्ण सन्देश दिन चाहन्थे । अन्ततः  हुन सेनले श्रीहर्षलाई नै भेटे र आफूले पाएको सूचना दिए ।  

विसं २०७५ माघ १४ गते विशालनगरस्थित अपार्टमेन्टमा श्रीहर्षले यो घटना लेखकलाई सविस्तार सुनाए ।  

सेन : भर्खरै काठमाडौंमा राजा वीरेन्द्रलाई भेटेर आएको हुँ । एउटा महत्त्वपूर्ण खबर दिनका लागि गिरिजाबाबुलाई खोजेको । 

श्रीहर्ष : सरी ! धेरै प्रयास गरेँ । सम्पर्क हुनै सकेन । 

सेन : हेर्नुस्, अहिलेको अवस्थामा बहुदल ३ लाख ५० हजार मतको अन्तरले हार्दै छ । मेरो यो सन्देश बीपीलाई पुर्‍याई दिनु होला । 

श्रीहर्ष : हामी यत्रो मेहनत गरिरहेका छाैँ । बहुदलको पक्षमा जनलहर छ । कसरी हार्छौँ । 

यति संवाद भएपछि सेनले भने ‘दोभाषेका साथ म राजासँग भेटवार्ता गरिरहेको थिएँ । अचानक बैठक कक्षमा एक महिला र पुरुष आइपुगे । सामान्यतः विदेशी पाहुनासँग राष्ट्राध्यक्षले भेट्दा कोही पनि प्रवेश गर्न मिल्दैन । त्यो (उनीहरू प्रवेश गरेको) देखेर म छक्क परेँ । बुझी हालेँ रानीबाहेक कसैले त्यत्रो हिम्मत गर्नै सक्दैन । त्यसो भए अर्को पुरुष को हुन सक्छ ? मेरो मनमा कुरा खेलिरहेको थियो । एकछिन राजासँग कुरा गरेर दुवै फर्किए । के विषयमा कुरा गरे मैले बुझ्ने कुरा भएन । उनीहरु फर्किएपछि हाम्रो कुराकानी फेरि सुरु भयो ।’

विदेशमन्त्री सेनले श्रीहर्षलाई भने ‘दरबारबाट फर्किने क्रममा मैले आफ्नो दोभाषेलाई सोधेँ । रानीसँग आउने सज्जन को थिए ? उनले प्रधानमन्त्री सूर्यवहादुर थापा भएको बताए । झन् चासो लाग्यो । मैले उनलाई सोधे के विषयमा कुरा भयो त ? उसले राजा र रानीबीचको संवाद सुनायो । यो जानकारी बीपीलाई नदिई कसरी फर्किऊँ भन्ने लाग्यो । त्यसैले गिरिजाबाबुलाई खोजेको हुँ ।’

सेनले श्रीहर्षलाई सुनाएअनुसार त्यस दिन रानी र राजाबीच भएको संवादको सार यस्तो थियो–  

रानी : ‘महाराज एकदमै जरुरी छ । त्यसैले प्रधानमन्त्रीसहित आएकी हुँ । पाँच लाख मतले बहुदल हार्ने करिब करिब निश्चित भयो ।’ 

राजा : मसँग यस विषयमा कुरा नगर । म बोल्दिन । जे गर्नु छ, तिमीहरु आफैँ गर । 

रानी : ‘प्रधानमन्त्री भन्दैछन् पञ्चायत ५ लाखले जित्दैछ । मैले भनेकी छु त्यति मार्जिन नराख ३ लाख ५० हजार जति भए पुग्छ ।’ 

राजा : भयो । जे गर्छौ, तिमीहरु गर । 

रानी : महाराज एकपटक प्रधानमन्त्रीको कुरा त सुनिबक्सियोस् । 

प्रधानमन्त्री : ‘सरकार सबै प्रबन्ध मिलाएको छ । अब पञ्चायत जित्छ ।’ 

राजा : ठीक छ । जाऊ । यस बारे म केही बोल्दिन । 

श्रीहर्षले लेखकलाई सुनाए ‘विदेशमन्त्री सेनले भनेको कुरा सबैभन्दा पहिला फोनबाट प्रकाश दाइलाई सुनाए । दरबारप्रति उहाँ अलि बढी नै विश्वास गर्ने मानिस । पत्याउनु भएन । बीपी बाबालाई फोन गरेँ । सबै कुरा सुनाएँ । ल ल बुझेँमात्र भन्नुभयो ।’

त्यतिन्जेल बीपी राजाबाट धोका हुँदैन भन्नेमा आश्वस्त थिए । तर, दरबारले बहुदललाई हराउने रणनीतिका साथ जनमतसंग्रह गराएको थियो । 

त्यही प्रयोजनका लागि कीर्तिनिधि विष्टलाई हटाएर सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाइयो । दरबारको प्रमुख सचिवका रुपमा लामो समय काम गरेका रेवतीरमण खनालले लेखेका छन् । थापालाई पञ्चायत जिताउने जिम्मेवारीका साथ प्रधानमन्त्री बनाएपछि राजा वीरेन्द्र केही महिना तटस्थ बसे । तर, रानी ऐश्वर्यसहित कट्टरपन्थीको दबाबका सामु उनी निरीह थिए । 

जनमत संग्रहताकाका गृहमन्त्री नवराज सुवेदीले लेखकलाई सुनाए ‘राजा वीरेन्द्र सुरुका केही महिना तटस्थ होइबक्सन्थ्यो । एक साँझ मलाई बोलाइबक्सियो । त्यस बेलासम्म प्रधानमन्त्रीबाहेक राजाको भेट पाउने म नै पहिलो कार्यकर्ता थिए । त्यही भेटमा सरकारबाट हुकुम भयो– नवराज पञ्चायत पक्षलाई जिताउने काममा सूर्यबहादुरलाई सहयोग गर्नू । 

त्यतिन्जेल प्रधानमन्त्री थापाको नेतृत्वमा सिंगो राज्य संयन्त्र बहुदल हराउन परिचालित भइसकेकेको थियो ।

तिनताका प्रधानसेनापति सिंहप्रताप शाहका एडीसी रहेका अवकाश प्राप्त जर्नेल राजेन्द्र थापाले लेखेका छन्–  ‘प्रधानसेनापति शाहले सबै सुरक्षा निकायको सूचना प्रणालीलाई एकै छातामूनी राखेर कांग्रेसी (बहुदल पक्ष) प्रयत्नलाई असफल बनाउने नीति तयार पारे । सैनिक मुख्यालयमा गृह मन्त्रालय, प्रहरी, र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत रहने गरी एक गोप्य कार्यालय स्थापना गरियो । गुप्तचर विभाग कतिसम्म सक्षम थियो भने बीपी, गणेशमान र किसुनजीबीच मात्र भएका खबर पनि २४ घन्टाभित्र आइपुग्थ्यो । पछि मैले सुने, तीनै नेताका सबैभन्दा नजिक रहने कामदार, सहयोगी, चालक, भान्से आदि नै गुप्तचर विभागका कर्मचारी थिए रे !’ 
पञ्चायत जिताउन राज्य संयन्त्रको दुरुपयोग त गरियो नै भारतीय मूलका एक विवादास्पद व्यापारीबाट साढे चार करोड रकम पनि लिइयो । 

तत्कालीन गृहमन्त्री सुवेदीले आफ्नो पुस्तक ‘इतिहासको एक कालखण्डमा’ बहुदल हराउने विषयमा प्रधानमन्त्री थापा र आफूबीच भएको वार्तालाप रोचक ढंगमा उल्लेख गरेका छन् ।   

सूर्यबहादुर : जनमत नहुन्जेलसम्म कति रकम चाहिन्छ भन्नुस् । 

नवराज : करिब तीन करोड पचास लाख जति भए पञ्चायत जिताउन सकिन्छ । 

सूर्यवहादुर : नवराजजी, कुनै एकजना व्यापारी समाउनुस्, कुन सर्तमा दिन्छ सोध्नुस् र एकै जनासँग साढे तीन करोड लिने व्यवस्था गर्नुस् ।

सुवेदीले २०७६ भदौमा लेखकलाई सुनाए — ‘आजकल दुई नम्बरी धन्दाबाट पैसा कमाउने धेरै छन् । त्यस समय नेपालभित्र यस धन्दामा भारतीय नागरिक चोथमल जाटियाको एक छत्र राज्य थियो । हामीलाई एक नम्बरी दुई नम्बरीको मतलब थिएन ।  पञ्चायत जिताउन पैसा चाहिएको थियो । मैले जाटियासँग कुरा गरे । 
सुवेदीले लेखकसँग ती व्यापारीका निम्न तीन सर्त मानेर रकम लिएको सुनाए । 

१. उनलाई नेपाली नागरिकता दिने । 

२. काठमाडौंभित्र ठूलो कटन कारखाना खोल्न दिने । 

३. सर्पको छाला निर्यातका लागि अनुमति दिने । 

चुनाव अवधि भर जाटियाबाट रकम ल्याउने जिम्मा मन्त्री सुवेदीकै थियो । साठी लाखको अन्तिम किस्ता लिन गएका ती व्यापारीको घरमा पुगेका थिए मन्त्री सुवेदी नै । जाटियाले सुवेदीलाई भनेका थिए–  ल मन्त्रीज्यू यो रकम लैजानुस् र तपाईँको पञ्चायतले जितोस् ।

पञ्चायतलाई कसरी जिताइयो भन्ने प्रसंगमा तत्कालीन सचिव तेजवहादुर प्रसाई आफ्नो जीवनीमा लेख्छन्–  ‘पञ्चायतले जितेकै होइन तर धेरै मान्छे शंका गर्छन् । जुम्ला हुम्लाको मतपेटिका गृहसचिव पठाएर ल्याइयो । म सचिवको हैसियतले लागेँ । भोट पहेलोमा (पञ्चायत) हाल भने । म कर्मचारी थिएँ, पञ्चायत जिताउने सरकारको नीति थियो, म त्यतै लागेँ । तर पञ्चायतले जितेको होइन ।’

दरबार र पञ्चले साम, दाम, दण्ड, भेदको नीति अपनाउँदा पनि पञ्चायत सबा चार लाख मतले मात्र विजयी भयो । 

‘पञ्चायतको पक्षमा २४ लाख, ३३ हजार ४५२ (५४.७९) र वहुदलको पक्षमा २० लाख ७ हजार ९६५ (४५.२१ प्रतिशत) मत पर्‍यो । 

जनमत संग्रहको मत परिणाम सार्वजनिक भएपछिको कुरा हो । पञ्चले धाँधली गरी बहुदल हराए भन्दै जनमत संग्रहको परिणाम अस्वीकार गर्न बीपीमाथि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले समेत दबाब दिएका थिए । यस्तैमा एक दिन गणेशमान सिंहले भतिजा दुर्गेशमान सिंहलाई फोन गरेर भने– ए दुर्गेश, तिमीलाई बीपीबाबुले एक पटक भेट्न खोज्नु भएको छ । चाबहिलमा आऊ त ? 

विसं २०७७ असार २४ गते दुर्गेशले लेखकलाई सुनाए– म  बेलुका पाँच छ बजे जयवागेश्वरीस्थित बीपी निवास पुगेँ । त्यतिन्जेल गणेशमानजी फर्किसक्नु भएको रहेछ । एकदमै हँसमुख चेहरामा बीपी बेलुकाको खानामा दूध, भात र चिनी खाँदै हुनुहुन्थ्यो । 

बीपी : ए दुर्गेश, जनमत संग्रहको परिणामलाई मैले स्वीकार गरेँ । तिम्रो के विचार छ ? 

दुर्गेश : बीपीबाबु तपाइँले के गरेको ? हामीलाई धोका दिनु भएको ? पञ्चहरुले धाँधली गरेको थाहा पाउँदा पाउँदै तपाइँले समर्थन गरेपछि हाम्रो त बोल्ने ठाउँ नै रहेन । कसरी बोल्ने ? हाम्रो मुखमा त तपाइँले बुझै लगाउनु भयो ? यो गलत काम भयो ।

बीपी : ए दुर्गेश, हामीलाई कसले हराएको ? 

दुर्गेश : पञ्चहरुले अरु कसले । पञ्चहरुको सरकार उनीहरुले हराए नि । 

बीपी : नो नो । त्यसो होइन । पञ्चले हराएको होइन । जनताले हराएको हो । अहिले हराए भोलि जिताउन सक्छन् । म प्रजातन्त्रमा विश्वास गर्ने मानिस । प्रजातन्त्रको निमित्त अघि सरेको मानिस । जनमतको कदर गर्नुपर्छ बुझ्यौ । धेरै लामो समयपछि पहिलोपटक जनताले मतदान गर्न पाए । मतदानमा हामी हार्‍याैँ । द बल ह्याज मुझ्ड फ्रम प्यालेस टु द पिपल्स कोर्ट । प्रजातन्त्रमा तुरुन्त मैले जित्छु भन्ने भावना राख्नु भएन । त्यो त गैरप्रजातान्त्रिक चरित्र भैहाल्यो नि !  

त्यो दिन बीपीले भनेको कुरा दुर्गेशले सम्झिए म त बोल्नै सकिन । बीपीले भन्नुभयो — हेर मैले एउटा नेता भएर गैरजिम्मेवार कुरा गर्नु हुँदैन । जनमतको कदर गर्नुपर्छ । वर्तमान अलि नमीठो होला भविष्य पनि हेर्नुपर्छ । राम्रोमात्र हेर्नु हुँदैन । ल, दोस्रो कुरा तिमीले भन्यौ, धाँधली नै भयो रे ! कहाँ कहाँ भयो । सबुद चाहियो । मैले त्यसै बोल्नु भएन । ल कहीँ पनि धाँधली भएको प्रमाण लिएर आऊ । म भोलि नै आफ्नो धारणा बदल्छु । म छक्क परेँ । मैले कहाबाट प्रमाण खोज्ने ? 

लगत्तै बीपीले वक्तव्य जारी गरे ‘जनमत संग्रहको परिणाम जस्तोसुकै अप्रत्याशित र अव्याख्येय भएता पनि स्वीकार गर्छु । 

बीपीको निधन भएको चार दशक भैसक्यो तर दुर्गेशलाई भने उनले त्यति बेला भनेका शब्द सम्झना आइरहन्छ । त्यस दिन बीपीले भनेका थिए– हेर जनताको कोर्टमा बल आएपछि अबको दस वर्षभित्र मुलुकमा आमूल परिवर्तन हुनेछ । नभन्दै २०४६ सालमा पञ्चायतको अन्त्य भइहाल्यो । 

प्रतिकृया दिनुहोस
ad