बाबा नचिनिएका भगवान 

शान्ति शर्मा

 बाबा नचिनिएका भगवान 

आज कुशे औंसी । बाबाको मुख हेर्ने दिन । सम्पूर्ण बाबाहरुमा शुभकामना !  

जिन्दगीका हरेक चुनौतीको सामना गर्दै आफैँ उठ्न जान्नुपर्छ भन्ने जीवनभर सम्झनलायक तपाईँले सिकाएको पूर्वअभ्यासको पाठले आज हामी यहाँसम्म आइपुगेका छौँ । बामे गराउँदै हजुरले सिकाएको कखराले आज हिँड्न र बोल्न सक्ने भएँ । वास्तविक जीवन भोगाइको मूल्य र महत्त्व छुट्ट्याउन सक्ने भएँ । सामथ्र्य र साहससँगै जिन्दगी जिउने कला सिकेँ । नैतिकता र संस्कार बुझ्न सक्ने भएँ । जीवनको आरोहअवरोह  भोग्न जाने । प्रेरणाका महत्त्वपूर्ण पाठ र जीवनका उत्कृष्ट चिजहरु चिन्न सक्ने  भएँ । तर, बाबाको महानता बुझ्न र बुझाउन सकिएको छैन । 

आमाका कहर कहने हजारौँ प्रयत्न भएका छन् । आमासँगै बाबाले भोगेका वृतान्त, परिवारको सहयात्री भएर भोगेका उतारचढावहरू, सन्तानको मुहारमा खुसी ल्याउन बलि चढाएका तपाईँका चाहना कता लुप्त छन् ? तपाईँका कहानीहरु किन सामान्य बनाइन्छन् ? के तपार्इँ परिवारको सहायक पात्रमात्र हो र ? तपाईंले भोगेका कहर किन उपेक्षित छ ? 

परिवारका अभाव पूरा गर्न गरिएका संघर्ष र बगाइएका पसिनालाई किन लुकाइन्छ ? कहिल्यै पढिएनन् बाबाका अनुहारमा सलबलाएका दुःखका वक्र रेखा । कहिल्यै सुनिएनन् सुस्केराहरु । आमालाई धर्ती भन्नेहरुले बाबालाई आकाश भन्न किन सकेनौ ? जिम्मेवारीको चर्को घामले पोलिरहँदा कल्पना नगरेका परिस्थितिहरुले छेकिरहँदा सपनाहरु मनभित्रै तुहाएर साहस र बहादुरीसाथ अभिभावकको पहिचान दिन बाबा डगमगाउनु भएन । घरमा खाने अन्न, पानी  थेग्ने छानो नभए पनि सन्तान आफूभन्दा ठूलो मान्छे बनोस भन्ने सपना देख्नु र देखाउनु भयो । तपाईंको यो महानतालाई कुन ठाउँमा राखेर हेरुँ ?

जिन्दगीको प्रेरणाको स्रोत, पथ प्रदर्शक, आफू जलेर सन्तानलाई प्रकाश दिने, आफू घामपानी सहेर हामीलाई शीतल छहारी र न्यानो ओत दिने, अभावका हुरीलाई पर्खाल बनेर छेकिदिने बाबा ! सन्तानको इच्छा पूरा गर्न उधारोमा लिएर पनि कैयौं खुसीहरु हामीलाई सित्तैमा दिनुहुन्छ । आफूभित्रको दुखाइलाई परिवारको खुसी र प्रेमसँग साटेर रमाउन जान्ने, मुस्कुराएको अभिनय गर्नसक्ने कस्तो कला हो बाबा ? तपाईँको यो खुबीलाई कुन शब्दले सम्मान गरुँ ? तपाइको यो वास्तविक अभिनयले मलाई हरबखत मन्त्रमुग्ध बनाउँछ ।

बाबाआमा रुँदै वृद्धाश्रम जान नपरोस् । सँगै बस्नका लागि विशेष दिन कुर्न नपरोस् । सामाजिक सञ्जालमा रंगीन तस्बिर सजाउँदैमा बाबाआमाप्रतिको माया र कर्तव्य पूरा भएको नठानौ । जन्दगीका सिकाइहरू किताबी ज्ञानबाट मात्र पूरा हुँदैनन् । हामीले हाम्रा सन्ततिलाई यीनै कुरा बुझाउन सकियो भने सफल अभिभावक बन्न सक्छौं ।
सम्पूर्ण बाबाहरुमा शुभकामना !  (धापासी, काठमाडौं) 

प्रतिकृया दिनुहोस
ad