काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ । दिनैभर उतारचढाव आएर नेप्से परिसूचक सामान्य अंकले घटेको हो ।
कारोबार सुरु भएको केही मिनेट बढेर बजारमा भारी गिरावट आएको थियो । त्यसयता घटबढ गरेको नेप्से दिनको अधिकांश समय ऋणात्मक देखियो ।
अन्ततः नेप्से ६.६१ अंकले घटेर १४२३.८१ अंकमा कायम भएको छ । दुईदिन सामान्य बढेको नेप्सेमा तेस्रो दिन करेक्सन आएको हो । नेप्से ०.४६ प्रतिशतले ओरालिँदा बजारमा १ अर्बभन्दा बढीको कारोबार भयो ।
सेयर बजारमा १ सय ९० कम्पनीका २६ लाख ३० हजार कित्ता १ अर्ब २७ करोड १७ लाख रुपैयाँमा किनबेच भए ।
जसमध्ये नेपाल पुनर्बिमा कम्पनीको मात्रै १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
नेप्से घटेको दिन म्युचुअल फन्ड बाहेक सबै समूहगत उपसूचक ऋणात्मक रहे । म्युचल फन्डको उपसूचक ०.०२ अंकले बढ्दा होटल समूह सर्वाधिक ४३.२३ अंकले घटेको छ ।
यसदिन कारोबारमा आएका १ सय ९० मध्ये ४० कम्पनीको मात्र सेयर मूल्य बढ्यो भने १ सय ५ वटाको घटेको छ ।
नेप्से घटेको दिन अजोड इन्स्योरेन्स र साधना लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाए । गुमाउनेमा नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत गुमाए ।