काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले गरेको फैसलापछि आफ्नै पत्नीको हत्या अभियोगमा जेल सजाय काटिरहेका रञ्जन कोइराला बिहीबार रिहा भएका छन् । कोइराला ०७१ वैशाख ७ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश महम्द जुनैद आजादको इजलाशले सर्वस्वसहित जन्मकैद गर्ने फैसला सुनाएपछि सजाय भुक्तान गरिरहेका थिए ।
जिल्ला अदालतको सो फैसलाविरुद्ध उनी ०७१ साउनमा पुनरावेदन गएका थिए । तर, पुनरावेदन अदालत पाटनका तत्कालीन मुख्य न्यायाधीश डा. आनन्दमोहन भट्टराई र न्यायाधीश लेखनाथ घिमिरेको इजलाशले ०७२ मंसिर २३ गते कोइरालाको पुनरावेदन जिकिर नपुग्ने ठहर गरेको थियो ।
पुनरावेदनको औचित्यमै प्रवेश गर्न नपर्ने भन्दै जिल्ला अदालतको फैसला सदर गरिदिएपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्च अदालतले कोइरालाको मुद्दामा असार १५ गते फैसला सुनाएको हो । प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीको इजलाशले कोइरालालाई ८ वर्ष ६ महिनामात्र थुनामा राखे हुने फैसला गरेको थियो । सर्वोच्चको सो फैसलापछि उनी ८ वर्ष ६ महिनाको जेल सजाय सकेर बिहीबार रिहा भएका हुन् ।
सर्वोच्चले जिल्ला अदालतको फैसलाअनुसार जन्मकैद गर्दा कोइरालामाथि अन्याय हुन जाने निष्कर्ष निकाल्दै साढे ८ वर्ष कैद सजाय गर्दा उनले गरेको अभियोगमा सजाय पुग्ने ठहर गरेको थियो ।
“जन्मकैदको सजाय गर्दा चर्को पर्न जानेजस्तो चित्तमा लागेको हुँदा ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मक्सद पूरा हुने देखिएकोले रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ,” सर्वोच्चको फैसलामा भनिएको छ ।
कोइराला ०६८ माघ ८ गतेबाट कैदमा थिए ।
सशस्त्र प्रहरीका तत्कालीन डीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर आफ्नै गाडीमा राखेर मकवानपुरको टिष्टुङ गाविस वडा नं ८ मेत्राङ भन्ने स्थानमा लगेर जलाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
सो कर्तव्य ज्यान मुद्दामा जिल्ला र पुनरावेदन अदालतको फैसलामा त्रुटी नरहेको पनि सर्वोच्चको फैसलामा उल्लेख छ ।
तर, कैद सजाय कम गर्दै सर्वोच्चले कोइरालालाई रिहा गर्ने फैसला सुनायो ।
“रञ्जनप्रसाद कोइरालालाई सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको जिल्ला र उच्च अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहरे पनि मुलुकी अपराध संहितामा सर्वश्वसहित जन्मकैदको कानुनी व्यवस्था नभएर जन्मकैदको सजाय मात्र हुने व्यवस्था भएकोले रञ्जनप्रसाद कोइरालालाई जन्मकैदको मात्र सजाय हुने ठहर्छ,” फैसलामा छ ।
जिल्ला र पुनरावेदन अदालतको फैसलाअनुसार उनी २० वर्ष जेलमा बस्नुपर्ने थियो ।
न्यायाधीशको त्यो विशेष अधिकार
मुलुकी ऐनको अदालती बन्दोबस्तमा भएको व्यवस्थाका कारण कोइरालाले जन्मकैद (२० वर्ष) को सजाय आधाभन्दा कम (८ वर्ष ६ महिना) भुक्तान गरेरै रिहाइ हुने मौका पाए । मुलुकी ऐनको अदालती बन्दोबस्त (अ.ब.) को नम्बर १८८ मा न्यायाधीशले जन्मकैद गर्नुपर्ने मुद्दामा सजाय घटाउनसक्ने व्यवस्था छ ।
“सर्वश्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने (मूलतः हत्या) मुद्दामा अपराध ठहर भए पनि भवितव्य हो कि भन्ने शंकापूर्ण अवस्था भएमा वा अपराधको अवस्था विचार गरी कानूनले तोकेको सजाय गर्दा अपराधीलाई चर्को पर्ने लागेमा आधार–कारणसहितको राय लेखेर घटी सजाय दिनसक्ने,” अ.ब. को नम्बर १८८ मा उल्लेख छ ।
भवितव्यबारे पनि ऐनले प्रष्ट परिभाषा गरेको छ ।
“ज्यान लिने मनसाय नभइ मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै कार्य गर्दा त्यसैद्वारा कोही मर्न गएमा भवितव्य हुने,” भनिएको छ । सर्वोच्चले गीताको मृत्यु हुनुमा उनी आफैँ कारक रहेकोतर्फ संकेत गर्दै कोइरालाले हत्या गरेको नभइ भवितव्यका रुपमा घटनालाई चित्रण गरेको छ ।
सोही आधारमा सर्वोच्चले उनको सजाय घटाएको देखिन्छ ।
कोइरालालाई ८ वर्ष ६ महिना सजाय गर्दा हुने फैसला पनि अ.ब. को नम्बर १८८ कै आधारमा रहेर गरिएको छ ।
“साविक मुलुकी ऐन अ.ब १८८ नं तथा हाल प्रचलित फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, ०७४ को दफा १७ (क) बमोजिम ८ वर्ष ६ महिना कैद गर्दा सजायको मक्सद पूरा हुने,” फैसलामा उल्लेख छ ।
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, ०७४को दफा १७ (क) मा पनि जन्मकैद गर्नुपर्ने मुद्दाको अभियुक्तले कसूर गरेको कुरामा अदालतमा साबित भएको र मिसिल संलग्न प्रमाणबाट त्यस्तो साबिति साँचो देखिएमा न्यायाधीशले कारण खुलाइ रायसहित घटी सजाय गर्नसक्ने अधिकार दिएको छ ।
तर, कोइरालाको मुद्दामा उनले दिएको साविति पुष्टि हुन सकेको थिएन ।
उनले जलेको शव गीताकै भएको प्रमाण नभएको भन्दै प्रतिवाद गरेका थिए । त्यस्तै, डीएनए परीक्षण प्रतिवेदनमा पनि उनको प्रश्न थियो । सर्वोच्च अदालतको फैसलामा पनि टिष्टुङमा भेटिएको जलेको शव गीताकै भएको र डीएनए प्रतिवेदन सही भएको उल्लेख छ ।
०६८ पुस २७ गते गीताले भारतमा व्यापार गर्न जाने भन्दे ४–५ लाख मागेको, पैसा छैन भनेर घरबाट निस्कन खोज्दा आफ्नो ज्याकेट च्यातिदिएको, तानातानका क्रममा हात हालाहाल भएको र सोही क्रममा धकेल्दा भित्तामा टाउको ठोक्किन पुग्दा घटना भएको कोइरालाले जिकिर गर्दै आएका थिए ।