site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
प्रधानमन्त्री ढाल्ने ‘रणनीतिक प्रचार’

बीस वर्षअघिको कुरा हो । माओवादी विद्रोह चरममा थियो । दिनहुँ दसौं प्रहरी मारिएको खबर आइरहन्थ्यो । यस्ता घटनाले विद्रोही उत्साहित हुनेथिए भने प्रहरी प्रशासनको मनोबल गिरेको थियो । सेना परिचालनबाहेक माओवादी तह लगाउने अर्को विकल्प छैन भन्ने राष्ट्रिय बुझाइ बनिसकेको थियो । 

त्यहीबीच २०५८ असार २८ गते रोल्पाको होलेरीमा साठीभन्दा बढी प्रहरी माओवादी अपहरणमा परे । रातभर चौकी खाली गरेर बाहिरै सुत्दै आएका प्रहरी बिहान सबेरै फर्किएपछि माओवादीको कब्जामा परेका थिए । सरकारले अपहरणमा परेका प्रहरी र लुटिएका हतियार मुक्त गर्ने जिम्मेवारी तत्कालीन शाही नेपाली सेनालाई दियो । 

प्रधानसेनापति प्रज्ज्वलशमशेर राणालाई राजा ज्ञानेन्द्रकै सामु राखेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यस्तो आदेश दिएका थिए । त्यसपछिका हरेक दिन सेनाले बालुवाटारमा ठूलो नक्सा राखेर प्रधानमन्त्रीलाई नियमितरूपमा ‘ब्रिफ’ गर्न थाल्यो । जर्नेलहरुको भनाइ रहन्थ्यो — माओवादीका माथिल्लो तहका अधिकांश नेता होलेरीमै छन् र उनीहरुलाई सेनाले घेरामा राखेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

असार २९ देखि शाही सेनाले होलेरीलाई घेरा हालेको र घेरा साँघुरो बनाउदै लगेको एकोहोरो प्रचार सञ्चार माध्यममा भइरहयो । रक्षा र गृह मन्त्रालय अनि उच्च सैनिक अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले यस्तो समाचार प्रवाह गरिरहे । ‘नेपाल पाक्षिक’ (२०५८ साउन (६—२२) म्याजेजिन लेख्छ —  ‘‘नेपाली र अन्तर्राष्ट्रिय   संस्थामा समेत कहिल्यै नभएको घेराबन्दीका समाचार आइरहे ।’’

तिनताका नेपाली राजनीतिमा दरबार, सरकार र माओवादी तीनै पक्ष सूचना युद्धमा थिए । पूर्वप्रधानसेनापति रुक्माङगद कटवालले लेखेका छन् — ‘‘वास्तविकता चाहिँ माओवादीसँग भिड्न भनेर पठाइएको सेनाको एउटा प्लाटुन आफैँ होलेरीमा माओवादी घेराबाट उम्किन सकेको थिएन ।’’ 

Royal Enfield Island Ad

होलेरी घटना हँुदासम्म सेनासँग भिडिहाल्ने माओवादीको नीति थिएन । अर्कोतिर दरबार सेना परिचान रोकेर माओवादीलाई विश्वासमा लिन चाहन्थ्यो भने सेनामाथि भर गर्नेबाहेक सरकारसँग अर्को विकल्प थिएन । तैपनि सेनाका जर्नेलहरु दिनहुँ ठूलो नक्सा बोकेर बालुवाटारमा प्रधानमन्त्रीलाई ब्रिफ गर्थे — प्रधानमन्त्रीज्यू, सेना यहाँ पुगेको छ । यति माओवादी घेराउमा छन् । धेरै पछिसम्म पनि जर्नेल तहका कतिपय सैनिक अधिकारीले प्रधानमन्त्रीलाई किन गलत ‘रिपोर्टिङ’ भयो भन्ने रहस्य पहिल्याउन सकेनन् ।  

प्रधानमन्त्री कोइरालालाई साँचो सूचना दिनेमा सांसद नारायणसिंह पुनबाहेक अरू कोही पनि भएन । नेपाली सेनाका पूर्वकर्णेल पुनले भनेका थिए— ‘‘गिरिजाबाबु होलेरीमा केही भएको छैन, यो सबै नाटकमात्र     हो ।’’ कोइराला सरकारमा जलस्रोत राज्यमन्त्री बेनुपराज प्रसाइले सुनाए ‘‘तिनताका म भाटभटेनीमा बस्थेँ । प्रायः बालुवाटार गइरहन्थेँ । त्यस दिन पुनजी आउनुभयो र भन्नुभयो एकदमै जरुरी छ मैले गिरिजाबाबुलाई भेट्न पाउनु पर्‍यो ।’’

प्रसाईका अनुसार त्यो दिन निक्कै समय कुरेपछि मात्र पुनले प्रधानमन्त्री कोइरालालाई भेट्न सके । कारण त्यति बेला प्रधानसेनापतिसहित जर्नेलहरु होलेरीका विषयमा  बालुवाटारमा प्रधानमन्त्रीलाई ‘ब्रिफ’ गरिरहेका थिए । सेना बाहिरिएपछि मात्र पुनले प्रधानमन्त्रीसँग कुरा गर्न पाए । 

‘‘पुन : सम्माननीय ज्यू, आर्मीले होलेरीबाट सबै सेना फर्काउँदै छ । मसँग हेलिकप्टर मागेको माग्यै छ (सांसद पुन हेलिकप्टर कम्पनी चलाउँथे ।) 

कोइराला : (आवेशमा) तपाईँ आर्मी हो ? अब तपाइँ राजनीतिकर्मी भइसक्नु भयो । 

पुन : (केही बोल्न सकेनन्)

कोइराला : मलाई सेना प्रमुखले ‘ब्रिफ’ गरिरहेका छन् । खराब मौसमका कारण सेनालाई त्यहाँ पुग्न कठिन छ भनेर तपाइँ यस्तो कुरा गर्ने ? 

कोइराला सेनासँग विश्वस्त थिए । उनले पुनलाई भनिदिए — ‘‘बढी कुरा गर्ने, तपाईँ प्रधानमन्त्री कि म ।’’  

यस प्रसंगमा प्रधानमन्त्री कोइरालाका निजी सचिव गोकर्ण पौडेलले सुनाए ‘‘म त्यहीँ छु । पुन फर्किनु भयो । त्यतिन्जेल गिरिजाबाबु सेनाको सूचनामा आश्वस्त हुनुहुन्थ्यो । पुनको भनाइलाई महत्त्व नै दिनु भएन ।’’

यसै प्रसंगमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्माको रिपोर्ट पनि प्रधानमन्त्रीलाई आइरहेको थियो — होलेरी सेनाको घेराउमा छैन । न त ठूलो अप्रेसनका लागि दाङमा सेनाको तयारी देखिन्छ ।

त्यतिन्जेल सेना र माओवादीबीच एक अर्काविरुद्व नलड्ने सहमति भइसकेको थियो । तर, प्रधानमन्त्री कोइराला त्यसबारे अनभिज्ञ थिए । अनि मिडियामा एकोहोरो समाचार प्रवाह भइरह्यो — होलेरीमा सेनाले घेरा हालेको छ र घेरा साँघुरो बनाउँदै लगेको छ ।

तत्कालीन रक्षामन्त्री महेश अचार्यले यस प्रसंगमा लेखकलाई भनेका थिए — ‘‘मनोवैज्ञानिक लडाइँका लागि सेनाले घेराउ गरेको र घेरा साँघुरो बनाउँदै लगेको प्रचार गरियो ।’’ माओवादीलाई  हतास बनाएर अपहरणमा परेका प्रहरीको हत्या नहोस् र जनतामा सरकारले प्रयास गरिरहेको छ भनेर आशा जोगाउन सकियोस् भनेर अपनाइएको त्यो एउटा रणनीतिक प्रचारमात्र थियो । 

सेनासमेत माओवादीको घेरामा छ भन्ने सूचना बाहिरिएको भए राज्य पूरै विफल भएको सन्देश जाने थियो । 

पूर्व रक्षामन्त्री आचार्यले सम्झिए ‘‘हेलिकप्टरमा झारिएको सेनाको एउटा प्लाटुन माओवादीसँग मुठभेडको अवस्थामा थियो । अर्कोतिर माओवादीले गाउ“लेलाई मानव ढालको रुपमा प्रयोग गरेका थिए ।’’ 

आचार्यले सुनाए — ‘‘बन्दुक लिएर बसेका थोरै मान्छे, सबै सकिनु परे पनि सकिने तर धेरै मान्छे मारिदिने परिस्थितिमा बसेका छन् । जे गर्दा पनि युद्ध जित्ने अवस्था छैन । यही कुरालाई ‘डिफ्युज’ गर्न एउटा मनोवैज्ञानिक प्रचार हामीले गर्‍यौँ । दुई दिन पायौँ भने हामी जताततैबाट घेरेर घेरा साँघुरो बनाउदै ‘ट्य्राप’मा पार्न सक्छौँ ।

तत्काल ‘एक्सन’ नगरेपछि त त्यसैमा भरोसा गनेबाहेक हामीसँग पनि त अर्को विकल्प केही थिएन । राज्य सम्पूर्णरुपमा हारेको देखियो । त्यो असफलताले अन्यत्रतिर आक्रमणका निम्ति माओवादी हौसिने डर थियो । हाम्रो प्रहरी संरचनाको मनोबल ध्वस्त भइसकेको अवस्था थियो । त्यसैले उनीहरु घेरामा छन् भन्ने प्रचारवाजी चलाइयो प्रेसमार्फत । सेना र गृहले पनि त्यही गर्‍यो ।’’ 

यस सन्दर्भमा पूर्वप्रधानसेनापति रुक्माङगद कटवाल लेख्छन् —‘‘सेनाको नेतृत्वले राजालाई पक्कै यसरी ढाँटेन, सही साँचो नै ‘रिपोर्टिङ’ गर्‍यो । प्रधानमन्त्रीलाई चाहिँ किन सही विवरण भनिएन, मैले पनि बुझिन । सरकार प्रमुखलाई विस्तृत जानकारी दिएको भए, यो असमझदारी उत्पन्न हुने थिएन ।’’

होलेरी काण्ड प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राजीनामा गर्न बाध्य बनाउन दरवार र माओवादीबाट रचिएको नाटक थियो भन्ने कोइरालाले धेरैपछिमात्र थाहा पाए । पूर्व गृहमन्त्री गोविन्दराज जोशीले लेखकसँग भनेका छन् — ‘अनकण्टार डाँडामा रहेको एउटा प्रहरी चौकी घेरेर माओवादीले कौनसा ठूलो सफलता पाएका थिए ? तर, त्यसलाई अत्यन्त ठूलो घटनाका रुपमा चित्रित गरियो । यो घटनामा सेनाले प्रधानमन्त्रीलाई गलत ‘रिपोर्टिङ’ गर्ने र प्रधानमन्त्रीले गलत सूचना दिएर मुलुकलाई ढाँटेको हल्ला पिटाउने अनि संसद्मा माफी मगाएर राजीनामा गर्न बाध्य बनाउने रणनीति थियो ।’’ 

होलेरी काण्डमा दरवार र सेनाले धोका दिए पछि राजीनामा गर्न बाध्य भएका प्रधानमन्त्री कोइराला धेरै पछिसम्म पनि त्यस विषयमा उच्च सैनिक अधिकारीहरूलाई छेडछाड गरिरहन्थे भन्ने प्रसंग पूर्व प्रधानसेनापति कटवालको पुस्तकमा छ । विसं २०६२ /०६३ सालको जनआन्दोलनपछि प्रधानमन्त्री बन्दासमेत उनलाई परेको थियो । ‘‘राजा र सेना मिलेर मलाई एक्ल्याए । फेरि पनि धोका हुन्छ कि ? भन्ने आशंका उनमा थियो । त्यसैले शान्ति प्रक्रियाको नेतृत्व गरिरहेका प्रधानमन्त्री कोइराला राष्ट्रिय सेनाभन्दा माओवादीलाई विश्वास गरिरहेका थिए ।’  

यस प्रसंगमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले लेखकसँग भनेका छन् — ‘‘माओवादी सेनालाई कायमै राखेर संविधान सभा चुनावमा जान गिरिजाबाबु त्यसै सहमत हुनु भएको होइन । नेपाली सेनाबाट धोका हुन सक्छ भनेर नै हो । होलेरीमा सेनाले धोखा दिएको विषय हामीसँग धेरैपटक भन्नुभएको छ ।’’ 

जनआन्दोलन सफल भएर सरकार बनाउँदासमेत कोइराला सेनासँग पूर्णरुपमा आश्वस्त हुनसकेका थिएनन् । त्यही परिवेशमा प्रधानमन्त्री कोइरालालाई राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रिक पद्धतिमा सेनाले कहिल्यै धोका नदिने विश्वास दिलाएर प्रधानसेनापतिमा नियुक्त भएका थिए कटवाल । कोइरालाको मन जित्न सेनापति नियुक्त भएलगत्तै कटवालले होलेरी घटना र तिनताका सेनाले गरेका गतिविधिसम्बन्धी कागजात र भिडियोको अध्ययन गरी आफ्नो निष्कर्ष प्रधानन्त्रीलाई सुनाएको प्रसंग आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । 

होलेरी काण्ड हुँदा राजा ज्ञानेन्द्र संसद्वादी दल र माओवादीलाई एक आपसमा जुधाएर शासन सत्ता हातमा दिने रणनीतिक खेलमा थिए । त्यहीबेला राजाले प्रमुख विपक्षी दल नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई भनेका रहेछन् — ‘‘होलेरीमा प्रधानमन्त्रीको आदेश हुँदाहुँदै पनि मैले सेना परिचालन हुन नदिएको हो ।’’ 
यस प्रसंगमा पूर्वप्रधानमन्त्री कोइरालाले लेखकलाई सुनाएका थिए — ‘‘राजासँग सम्बन्ध बिग्रिएपछि एक दिन माधवजीले मलाई भन्नुभयो — सुन्नुभयो गिरिजाबाबु राजाले मसँग के भनेका थिए । होलेरीमा सेना मैले नपठाएको हो ।’’
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro