एमसीसी जनसाधारणको नजरमा 

डा. विनोद ढकाल (विधा)

 एमसीसी जनसाधारणको नजरमा 

अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत सहयोग लिएमा अमेरिकी सैनिक नेपाल छिर्छन् कि छिर्दैनन् भन्ने बहस जारी छ । यसबाहेकका अरु बहस गौण हुन्जस्तो लाग्छ । नेपालका प्रधानमन्त्रीलगायत ठूला भनिएका प्रायः नेता अनि बुद्धिजीवीले यस विषयमा जवाफ दिइसकेका छन् । यसमा दिमाग धेरै खेलाउन पर्ने देखिन्न । राज्यको सूचना जोसँग बढी छ उनीहरुको विचार सुन्नुपर्छ ।

अर्को विचार गर्नुपर्ने कुरा हो — ‘नो रिस्क नो गेन’ । उहिले भारतले के भन्छ भनेर डराएको भए आज हामी काठमाडांैबाट कोदारी कसरी गइरहेका हुन्थ्यौँ होला ? 

यहाँ नियतमा मात्र हैन विधि र प्रक्रियामा पनि खोट छ । सरकारी योजना १० करोडको भए उक्त पैसा ५ वर्ष लगाएर दिइने गर्छ । त्यसबीच लागत खर्च अर्को १० करोड थपिइसकेको हुन्छ । हामीलाई ढुक्कसँग पैसा पुग्ने गरी बजेट भएको योजना चाहिन्छ । 

हामी आफैँँ केही गर्न सक्तैनौ । कोही केही गर्दिन्छु भनेर आएको छ । उसले भनेको काम पनि हामीले वर्षौं केही अन्यथा नसोची गर्दै आएका छौँ । पछि पनि लुरुलुरु गर्दिन्छौ । गाउँघरतिर अभागी ‘खाने बेलामा रिसाउँछ’ भन्थे ।

गरिब व्याप्त छ । शिक्षा गतिलो छैन । अलिअलि शिक्षित देश बस्दैनन् । पाखुरा बलियो हुने अशिक्षित पनि देशमा बस्दैनन् । उत्पादन धेरै छैन । उत्पादन गर्ने वातावरण छैन । यसरी सधैँ निराश भएर बस्नु ? यो घनचक्करबाट अब मुक्त हुनु छ । 

जति गाली गरे पनि तिनै नेता हाम्रा ऐना हुन् । जस्ता जनता उस्तै नेता । घरमा आमाले एउटा कुरा, बाबाले अर्को कुरा अनि पत्नीले अर्झ अर्कै कुरा भने के गर्ने ? हाम्रा नेताहरु पनि दिल्ली, बेइजिङ, ब्रसेल्स, वासिङ्टनका फरक फरक कुरा सुन्नुपर्ने हुन्छ । अनि अन्त्यमा मानिसभित्रको स्वार्थ पनि छ । 

अब एमसीसी अस्वीकार गरेर बेल्ट एन्ड रोड इनिसियटिभलाई मात्र स्वीकार गर्न त सकिन्न । न त बेल्ट एन्ड रोड इनिसियटिभलाई अस्वीकार गर्न सकिन्छ । कुरा यत्ति हो यो अर्को अरुण नहोस् । जनसाधारणका रूपमा मलाई अविकासको पुरानै चक्रव्यूहमा फस्न मन छैन । 

सबै देशमा ठूला परियोजना कुनै न कुनै बहानामा विरोध भएकै छन् । तर ती देश विकसित भए जसले ठीक समयमा जोखिम पनि उठाए । खाडी मुलुकले विदेशी लगानी नभित्र्याएका भए आजसम्म उनीहरु बालुवा चालेर घर बनाइरहेका हुन्थे । अर्कोतर्फ कङ्गोजस्ता राष्ट्र पनि छन् । जो स्रोतका धनी भए पनि युद्धमा होमिएर कंगाल भएका छन् । धेरै सूचना स्रोतमा पहुँच भएका बुद्धिजीवीले यस्तो जोखिम कमसेकम एमसीसी परियोजनामा देखेका छैनन् । केही जोखिम छ नै भने पनि अब विकासको गति चिप्लेकीरा होइन चितुवाको जस्तो हुनुपर्छ । यसै त हामी अझै उन्नाइसौं शताब्दीमा छाैँ । जोखिमै नलिए कसरी उभो लागिन्छ ?

बहश हुनु राम्रो हो । इतिहासले अहिले हामीलाई विकासका बारेमा बहस गर्ने थोरै समय दिएको छ । नत्र हिजो हामी शान्ति खोज्दै थियौँ । स्वतन्त्रता खोज्दै थियाैँ । नेपालका प्रायः सबैजसो दलका ठूला नेताले समर्थन गरेको परियोजना राम्रै त होला नि । फेरि हामीसँग अर्को विकल्प पनि त छैन । अतः यो ‘काग पिना सुकिरहेको’मा खुसी नै छ ।

धुलिखेल अस्पताल

प्रतिकृया दिनुहोस
ad