अमेरिकामा पछिल्लो एक सातादेखि कोरोना संक्रमितहरुको संख्यामा भएको वृद्धि हेर्दा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको अडकल काट्न थालिएको छ । पछिल्लो केही साताहरुमा जर्ज फ्लोइड हत्याको विरोधमा विभिन्न सहरमा प्रदर्शन जारी छ । प्रदर्शनमा धेरै मानिस एकै ठाउँमा भेला भएको कारणले पनि संक्रमितको संख्यामा वृद्धि भएको अडकल गर्न सकिन्छ ।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यस्तै प्रदर्शनहरु नेपालमा पनि केही दिनदेखि जारी छ । नेपालमा भएका प्रदर्शनहरुमा सामाजिक दूरी कायम राख्ने प्रयास भएकै छन् । तैपनि, यस्ता प्रदर्शनहरुमा जति नै सावधान हुन खोज्दा पनि रोग सर्ने जोखिम बढी नै हुन्छ । यसको अर्को उदाहरण भारतस्थित महाराष्ट्र प्रान्त हो । त्यहाँ पनि मजदुरहरुको आन्दोलनपश्चात संक्रमण व्यापकरूपमा फैलिएको थियो ।
हुन त कोरोनाको कारणबाट हुने मृत्युको दर थोरै नै छ । तर, छिटो फैलिन सक्ने यसको संक्रमण हाम्रो अगाडि चुनौती बनेर उभिएको छ । अझ लामो समयसम्मको बन्दाबन्दी (लकडाउन)ले जनताको धैर्यको बाँध टुट्ने स्थिति समेत आयो । यसले गर्दा सरकारलाई ‘लकडाउन’ खोल्न व्यापक दबाब पर्न गयो । तर, लकडाउन खुकुलो पारेसँगै अझ व्यापकरुपमा संक्रमण फैलने त्रास पनि बढेको छ ।
अहिले, हवाईमार्गबाट आउने संक्रमितहरु सबै निको भइसकेका छन् । उनीहरुको व्यवस्थापनमा सरकारले दिएको ध्यान पनि तारिफयोग्य छ । त्यसैगरी, विदेशबाट फिर्ता ल्याइएकाहरुको रेखदेखको प्रबन्ध पनि राम्रै मान्न सकिन्छ । तर, स्थलमार्गबाट आएकाहरुको व्यवस्थापनमा सरकार चुक्यो । अरु देशहरु कोरोना के हो भन्ने जान्न नभ्याउँदै यसको चपेटामा परे । हामीसँग भने तयारी गर्न पर्याप्त समय थियो । त्यसलाई सहीरुपमा सदुपयोग गर्न सकेको भए अहिलेको अवस्था आउने थिएन ।
स्थिति कहाँसम्म पुग्ने हो अहिल्यै भनिहाल्न सक्ने अवस्था छैन । गत वैशाख १० सम्ममा ४५ मात्र रहेको संक्रमितको संख्या अहिले आएर पाँच हजार नाघेको छ । नेपाली विद्यार्थीहरुको एउटा समूहले हालै प्रकाशन गरेको शोधपत्रमा यो संख्या जुलाई महिनाको पहिलो सातासम्ममा करिब दस हजार पुग्ने आकलन गरिएको छ । अन्य देशमा देखिएका संक्रमण वृद्धिको दर हेर्दा पनि यो आंकलन सही हुने अनुमान सहजै लगाउन सकिन्छ ।
आखिर लकडाउन सुरु हुदाँसम्म लगभग कुनै सक्रिय संक्रमण पुष्टि नभएको नेपाल अहिलेको अवस्थासम्म कसरी आइपुग्यो त ? यस प्रश्नको जवाफ भविष्यमा देखिन सक्ने अरु रोगहरुको नियन्त्रणका लागि समेत एकदमै उपयोगी हुनेछ ।
सर्वप्रथम, दक्षिण र पश्चिम भूभागका लाखौं नेपाली रोजगारीको सिलसिलामा भारतमा छन् । सन् २०१८मा नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले प्रकाशन गरेको एक प्रतिवेदनमा तेस्रो मुलुकमा करिब साँडे पैंतीस लाख नेपाली रहेको जनाइएको छ । तर, खुल््ला सिमानाको कारणले भारतमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन । यसैले गर्दा त्यहाँबाट फर्किने नेपालीको व्यवस्थापनमा ठूलो कमजोरी भयो र यो नै कोरोना संक्रमण फैलिनुको प्रमुख कारण बन्यो ।
नेपालमा देखिएको पहिलो संक्रमणलाई छाड्ने हो भने २०७६ को चैत ४ गतेमात्र नेपालमा कोरोना संक्रमण भित्रिएको मान्न सकिन्छ । कतार एयरलाइन्सबाट त्यसै दिन आएका तीनजनामा संक्रमण भेटिएको थियो । त्यसैगरी स्थलमार्गबाट भित्रिएको पहिलो संक्रमण चैत २२ मा पुष्टि भएको थियो । अझ समुदाय स्तरमा फैलिएको संक्रमण भने २०७७ वैशाख ५ मा उदयपुरमा भेटिएका संक्रमितहरु नै पहिलो थिए ।
कोरोनाको विशेष जोखिम नै समुदाय स्तरमा फैलिएपछि सुरु हुने हो । त्यसैगरी, भारतमा कोरोनाको पहिलो संक्रमण गत वर्षको माघ १६ देखिएको थियो । त्यसपछिमा खासै नबढेको संक्रमण फागुनको तेस्रो सातासम्म आइपुग्दा समुदाय स्तरमा देखिन थाल्यो । यसको मतलव भारतमा समुदाय स्तरमा संक्रमण देखिन थालेको करिब दुई सातापछि मात्र नेपालमा पहिलो चरणका संक्रमित भेटिएका थिए ।
त्यो समयमा नेपाली नेतृत्वले दूरदर्शी भएर भारतमा फैलिन सुरु भएको संक्रमण त्यहाँ रहेका नेपाली नागरिकका लागि मात्र हैन नेपालमै बस्नेका लागि पनि खतराको घन्टी हो भन्ने बुझ्न चुक्नु हँुदैन थियो । विश्वव्यापी महामारीको बेलामा त झन् आफ्ना नागरिकलाई अरु देशको भरमा कुनै देशले छोड्दैनन् । हामीसँग दुई साता जतिको ‘बफर’ समय पनि थियो जुन भारतमा भएका नेपालीलाई फिर्ता ल्याउन पर्याप्त हुन्थ्यो ।
अझ नेपालको समुदाय स्तरको संक्रमणको कुरा गर्दा त हामीसँग एक महिनाभन्दा बढी समय थियो । त्यो अवस्थामा भारतमा रहेका नेपालीलाई देश फर्किन आह्वानमात्र गरिदिँदा पनि पुग्थ्यो । सरकारले दुई सातापछि बन्दाबन्दी सुरु हुने संकेत दिएर त्यस्तो आह्वान गरिदिएको भए लकडाउन सुरु भएपछि मात्र सिमानामा आएर बसेका नेपाली पक्कै पनि दुई साता अगाडि नै आउने थिए ।
त्यतिबेला भारतमा भरखरै सुरु भएको संक्रमण उनीहरुले लिएर आउने सम्भावना पनि न्यून हुने थियो । उनीहरुलाई आफ्नै देशतिर ल्याएर सुरक्षित राख्न सकिने थियो । साथै, आन्तरिक लकडाउनसमेत केही दिन पछाडि धकेल्न सकिने थियो । तर, आज तिनै सिमानामा अल्झाएर राखिएका नागरिकमा सबैभन्दा धेरै संक्रमण भयो र हामी अहिलेको स्थितिसम्म आइपुग्यौँ ।
दोस्रो, सबै देशमा कोरोनाका बिरामी दिन प्रतिदिन बढ्दै गर्दा नेपालमा भने एक जनामा पनि सक्रिय संक्रमण नदेखिनु सरकारको लागि उत्तम अवसर थियो । सरकारले यसलाई सदुपयोग गरेर तयारी तीव्र पार्नु उचित हुन्थ्यो । तर, यही संख्यालाई सरकारले प्रतिष्ठाको विषय बनाएर अगाडि बढेको देखियो । सरकारको ध्यान नेपालमा भएका संक्रमितको संख्या नबढाउनेमा मात्र केन्द्रित भयो ।
भारतबाट आएकालाई सुरक्षित रुपमा भित्र्याए पनि उनीहरुको परीक्षण गर्दा संक्रमितको संख्या बढ्ने थियो । त्यसैले, संख्या बढ्ने डरमा सिमानामा रहेकाहरुलाई फिर्ता ल्याउन सरकारले चाहेन । अझ नेपालगन्जमा त क्वारेन्टिनबाट भागेको घटनाले सरकारलाई थप सशंकित बनायो । यिनै परिस्थितिले गर्दा लकडाउन सुरु हुदाँ नै आएका र क्वारेन्टिन अवधि पूरा गरेकाहरु पनि नेपाल छिर्न पाएनन् ।
केही लुकीछिपी नेपाल पसे । तर धेरैजसो, नयाँ आएकाहरुसँग एउटै क्वारेन्टिनमा मिसिन बाध्य भए । नयाँ आउनेहरु संक्रमण बोकेरै क्वारेन्टिनमा प्रवेश गर्ने जोखिम थियो । यसरी संख्या बढ्ने डरमा क्वारेन्टिन अवधि पुगेकाहरुलाई पनि फिर्ता ल्याउन नसक्नु उनीहरुलाई संक्रमित नै हुन छोड्नु जस्तै साबित भयो ।
अर्को महत्त्वपूर्ण प्रसंग, कोरोनाको कुनै विशेष औषधि नभएको विश्व स्वास्थ्य संगठनले बारम्बार दोहोर्याई रहेको छ ।
उसका अनुसार यसको सबैभन्दा उत्तम रोकथाम भनेको नै सामाजिक दूरी र अधिकतम संक्रमितको पहिचान गर्नु हो । सामाजिक दूरीको पाटोमा ध्यान पुगे पनि परीक्षणको दायरा बढाउने सबालमा सरकारबाट ठूलो चुक भयो । अन्य देशहरुले आरडीटी परीक्षणको विश्वसनीयतामा प्रश्न उठाउँदै गर्दा हाम्रो सरकार भने आरडीटी परीक्षणमा नै बढी केन्द्रित देखियो । यसले परीक्षणको संख्या बढी देखाउनेबाहेक अरु केही उपलब्धि भएन । बरु उल्टै संक्रमित पहिचानमा ठूलो आघात पुर्यायो र समुदाय स्तरमा भाइरस अझ बढी फैलिन पायो ।
नदी थुनेर बाढी कहिल्यै रोकिँदैन । उल्टै, अझ ठूलो विनाश निम्त्याउँछ । यसको सबैभन्दा सही समाधान होसियारीपुर्वक बाँध खोलेर पानीको बहाबलाई उसकै गतिमा बग्न दिनु हो । हाम्रो अहिलेको कोरोना महामारीको अवस्था सरकारले भारतसँगको सिमानामा जनतालाई रोकेर राख्दा नै निम्तिएको हो । अहिले बाँध भत्कियो र संक्रमण व्यापकरूपमा फैलियो । होसियारीपूर्वक परीक्षण गर्दै आफ्ना नागरिकलाई देश भित्र्याएको भए संक्रमितको संख्या केही बढे पनि स्थिति नियन्त्रणमा नै रहन्थ्यो ।
तसर्थ, भारतबाट समयमा नै नेपालीलाई फिर्ता नबोलाउनु, सिमानामा आएर बसेकाहरुको क्वारेन्टिन र परीक्षणमा हेलचेक्य्राइँ गर्नु र परीक्षणको संख्यामा उल्लेख्य वृद्धि गर्न नसक्नु नै हाम्रा प्रमुख कमजोरी भए । त्यसबाहेक, सरकार परिवर्तनका खेलहरु, विज्ञविहीन कोरोना नियन्त्रण समिति, अध्यादेश प्रकरण, स्वास्थ्य सामग्री खरिदमा निम्तिएका विवाद र कालापानी क्षेत्रको सिमाना विवादले पनि रोग नियन्त्रणमा बाधा पुग्यो ।
अमेरिकामा दैनिक बीस हजारभन्दा माथिको संख्यामा संक्रमण देखिदै गर्दा हामी शून्यमा नै थियौँ । विकसित देशहरुले समेत नियन्त्रण गर्न नसकेको भाइरस हाम्रोमा नियन्त्रित छ भन्दै हामी मख्ख परेर बस्यौँ । तर, त्यही अमेरिकाले करोडौंको संख्यामा गरेको परीक्षणलाई भने हामीले अनुसरण गरेनौ । पचासवटा विशाल राज्यहरु भएको देशमा २० हजार संक्रमण भनेको प्रतिराज्य दैनिक ४०० को हाराहारीमा हो । दैनिक ४०० संक्रमणको अवस्था हाम्रोमा पनि अब धेरै पर छैन । यसको मतलब हो — हामी अमेरिकामा देखिएको महामारीकै संहारमा छौँ ।
थोरै क्षतिमा कोरोना संक्रमण अन्त्य गर्ने सुवर्ण अवसर त सरकारले गुमाइसकेको छ । तर, जनताबाट पाएको साथ अझै पनि अतुलनीय छ । साथै, संक्रमितको संख्यामा वृद्धि हुने निश्चित भए पनि नियन्त्रण बाहिर नै जाने अवस्था आउन केही दिन लाग्नेछ । अझै पनि परीक्षण बढाउने, विदेशबाट आएकाको तथा क्वारेन्टिहरुको उचित व्यवस्थापन गर्ने र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने हो भने कोरोना संक्रमण हाम्रो हातबाट बाहिर गइसकेको छैन ।
दैनिक पाँच हजारको हाराहारीमा भइरहेको परीक्षणलाई असारको मध्यदेखि १५ हजार पुर्याउने उद्घोष स्वास्थ्यमन्त्रीले गरिसकेका छन् । परन्तु, अहिले क्वारेन्टिनमा रहेकाहरुको संख्या हेर्ने हो भने त्यति परीक्षण पनि अपर्याप्त छ । त्यसैले, पछिल्लो तीन महिना लकडाउन मात्र थपेको सरकारले अब भने होसियारीपूर्वक कदम चाल्नुको विकल्प छैन ।
अन्यथा, एकातिर लाखौँको संख्यामा संक्रमित जनता र अर्कातिर राज्यको ढुकुटी रित्तिएको अवस्था हामीबाट खासै टाढा छैन ।