site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुखको पर्खाइ...

साँझपख निकै ठूलो हुरी चल्यो । यहीबेला म बाहिरफेर कतै भएको भए अवाक् हुन्थे होला, तर म कोठाभित्र छु । सिसाको झ्यालबाट नियालें, मज्जाले नियालें हुरीले सकेजति सब चिज हल्लाइरहेको छ । म बस्ने घरको अघिपट्टि रहेको एउटा फूलको बोटलाई सायद हम्मे परेको हुनुपर्छ हुरीबाट जोगिन । चैतमासको हुरी न हो । यही हुरीकै गतिमा मनको गाडी बाल्यकालीन विगतको सडकतिर गुड्यो । चैते हुरी बेस्सरी चलेका बेला त्यो बेलाको मेरो ‘लिखुरे’ ज्यानलाई पो उडाउँछ कि, हैन घरै पो उडाइदिन्छ कि भनेर डराएको दिनको याद आयो । हुरी, बादल, झरी र घाम यी सबै कुरा त प्रकृतिमा भइरहन्छन् । योचाहिँ मैले उमेर बढ्दै जादाँ थाहा पाएँ । मान्छे नै उडाउला झै गरेर चलिरहेकोे त्यो हुरीदेखि केही डर लागेन, किनकि म कोठाभित्र छु । मलाई यो हुरीदेखि कुनै दुःख छैन । अहिले त म सुखमा छु । 

मनमा प्रश्न आइहाल्यो साच्चै सुख के हो ? एकछिन घोत्लिएँ, यो प्रश्नको जवाफ सगरमाथाको उचाइँजस्तो एउटै छैन । हरेकले आफ्नो भोगाइअनुसार यसलाई परिभाषित गर्ने हो । मान्छेसँग जे छैन त्यही होस् भन्ने चाहना हुन्छ । अनि आफूसँग नभएको त्यही चिज प्राप्तिपश्चात् सुख हुन्छ भन्ठानेको हाम्लाई जब त्यो चिज साँच्चै प्राप्त हुन्छ नि, तब पनि सुख हुन्न । त्यसपछि पनि फेरि अर्को प्राप्तिको भोक जाग्छ । यो जीवनपर्यन्त चलिरहन्छ । सुखकै खोजीमा अन्ततः जीवन–यात्रा नै टुङ्गिन्छ ।

लाग्थ्यो, मलाई मात्र होइन धेरैलाई लाग्छ होला, सुख कुनै भौतिक चिजको प्राप्ति हो तर त्योभन्दा पनि सुख त ‘बसीबसी खानु’ हो । जब त्यही आइप¥यो अनि थाहा भयो योे त सुख हैन रहेछ ! त्यसो भा सुख के हो त ? फेरि उही प्रश्न खडा भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले गरेको लकडाउन जारी छ । यो अझै लम्बिने संकेत छँदै छ । ‘लकडाउन’ शब्दै नयाँजस्तो लाग्छ । नयाँ हैन तर हाम्रो जनजीवनमा खासै प्रयोगमा नआएको भएर नयाँ जस्तो लागिरहेको छ । यो मात्रै होइन ‘कोरोना–कहर’ सुरु भएसँगै अरू पनि केही नयाँ शब्द जनजिब्रोमा झुन्डिन आइपुगे । 

लकडाउनपश्चात् संसारभरका मानिसको दैनिकीमा एकाएक परिवर्तन आयो । हिँडेर नपुगिएला भनेर द्रुत सवारीमा यात्रारत सबै जहाँ छन् त्यही रोकिनुप¥यो । संसारभरका मानिस चार दिवारभित्रै बस्नुपर्ने भयो । काम, काम भनेर कुदिरहेकाहरू विश्राम चाहन्थे, केही क्षण बसेर सुस्ताउन चाहन्थे, आफ्नो घर–परिवारसँग रमाउन चाहन्थे । आज त्यही दिन आइपुग्यो ।

Global Ime bank

हिजो काममा कुद्दा लाग्थ्यो, ‘कति कामै मात्र गरिरहनु कहिलेकाहीं त घरमै बस्न पाए हुने’, ‘उफ् ! यो काम’, ‘हाय मेरो जीन्दगी मलाई कति दुःख छ !’ ‘बसीबसी खानेदिन कहिले आउला ?’ आदि–इत्यादी कुरा मनमा आउँथे । त्यो बेला लाग्थ्यो, काम गर्नु त दुःख हो । बसिरहनु पो सुख हो । तर जब कल्पना गरिएको त्यही सुख अर्थात् बसिराख्ने अवसर आयो नि, पहिलो एकदिन मात्रै कोठाभित्रै आफ्नो कायालाई रोकिराख्न हम्मे प¥यो । अरू पनि धेरै दिन यसैगरी बिताउनु थियो । कममा कुदिरहँदा कल्पना गरेको ‘बसीबसी खाने’ दिन त आयो तर चौबीस घण्टा मात्रै पनि यो खप्न सकिएन । बस्ने मात्रै भएको भए एउटा कुरा, यहाँ त कोरोना संक्रमणको डर छ । त्योसँगै अरू पनि धेरै डर छन् । न कतै घुमफिरको अवसर, न अघिल्ला दिनहरूजस्तो भेटघाट र अन्तरंग । 

विगतको याद, सम्भावित भय र आगतको चिन्ताबीच एउटा घरको कोठा, कौसी, छत र आँगनमा सीमित हुनु वास्तवमा सुख थिएन । सुख त काम गर्दा नै थियो । व्यस्त हुँदा नै थियो । ‘बसीबसी खाने’ भन्दा परको अर्को कल्पना नभएकाले होला । यो कोठामा बसीबसी खाइरहेका बेला विगतकै सक्रियता याद आयो । विगतको कामको बोझ नै सही त्यही कुरा ‘मिस’ भयो । 

एकान्तबासमा हुँदा मनमा अनेकन भाव आए, गए तर एउटा भावले भने जरा गाड्यो, यो बसिराख्ने कहर कहिले सकिएला र काम गरिराख्ने अनि आफूलाई गतिवान् बनाइराख्ने दिन कहिले आउला ! अहिले मान्छेहरूको भिडबीच आफ्ना डेगलाई छिटोछिटो चाल्ने दिनको सुन्दर कल्पना गर्दै बसिएको छ । 

यति लेखेपछि बाहिरफेर नजर लगाएँ, अघिको हुरी केही कम भएको थियो । कोठामा बिजुली गायब भए पनि आकाशमा बिजुली चम्किरहेको थियो अनि पातलो झरीका कारण हावालाई केही असहजता भइरहेको थियो । सुख के हो ? भन्ने प्रश्नको स्पस्ट परिभाषा पाउन नसकिए पनि, अहिलेको मेरो निष्कर्ष थियो, दिलोज्यान र बुद्धि–विवेक लगाएर, असिन–पसिन हुँदै गरिने काम अनि त्यसले दिने परिणाम नै सुख रहेछ । कामै गर्न नपाउनु, शरीरमा रोग लाग्नु वा लाग्ने भयबीच बसिराख्नु यो पो दुःख रहेछ । स्वास्थ तन, शुद्ध मन र तन्दुुरुस्त शरीर लिएर पसिना बगाउन पाउने दिनको सुन्दर कल्पना गर्दै यत्ति लेखियो । जय–होस् ! 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC