site stats
बाह्रखरी :: Baahrakhari
देश
सडकमै पुगेर खाना खुवाउने अभियान जारी

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लागु गरेको बन्दाबन्दी (लकडाउन) एक महिना नाघिसकेको छ ।  लकडाउनका कारण कलकारखाना, उद्योग धन्दा ठप्प छन् । कलकारखाना, उद्योगधन्दा ठप्प भएपछि यसको सबैभन्दा बढी मार मजदुर र सडकमा अलपत्र परेका असहायमा परेको छ । 

उनीहरुको दैनिकी दिनप्रतिदिन कष्टकर बन्दै गएको छ । मजदुर र असहाय नागरिकको दैनिकी कष्टकर बनेपछि विभिन्न ठाउँमा बिभिन्न प्रकारका राहतका कामहरु पनि भइरहेका छन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै सहयोगी संस्था हो क्लब– २८ । काठमाडौंको बागबजारका   युवाको ‘क्लब–२८’ ले सडकमै पुगेर खाना खुवाउने अभियान सञ्चालन गरिरहेको छ ।

क्लब–२८ मा आवद्ध युवा रत्नपार्क, टुँडिखेल, वीर अस्पतालमा गरी दैनिक झण्डै पाँच सय जनालाई खाना खुवाइरहेका छन् । उनीहरुलाई खाना खुवाउन दैनिक करिब छ हजार रुपैयाँ खर्च हुने गरेको अभियानमा संलग्नहरुले जानकारी दिएका छन् । लकडाउन अवधिभर समस्यामा परेका मानिसहरुलाई खाना खुवाउने योजना बनाइएको क्लबले जनाएको छ । 

क्लबलाई खाना वितरणकालागि आर्थिक व्यवस्थापनमा नेपाली कांग्रेसका युवा नेता प्रगतिमान रञ्जितले सहयोग र संयोजन गरिरहेका छन् । नेता रञ्जितले भने, “केही दिन मैले आफैं खर्च गरें, अरु धेरै दिन साथीहरुले सहयोग गर्नुभएको छ । कसैले एक दिन, कसैले २–३ दिनसम्म पनि खाना खुवाउन सहयोग गर्नुभएको छ ।” 
उनले बैशाख २० गतेसम्म पुग्ने गरी आवश्यक खाद्यान्न सामग्री खरिद गरिसकिएको पनि बताए । नेता रञ्जित भन्छन्, “सुरुमा असाहय अशक्तहरुलाई राहत सामाग्री बाँड्यौं । तर, राहत सामग्री सदुपयोग नभएको देखेपछि खाना खुवाउन सुरु गरेका हौं ।” 

क्लवले समस्यामा परेका मानिसमात्रै नभएर सडकमा रहेका कुकुरलाई खाना खुवाइरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १३:३०
प्रतिक्रिया दिनुहोस्