site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोना नेगेटिभ देखिएकालाई क्वारेन्टाइनबाट घर पठाइँदै

दाङ । सरकारले ७७ वटै जिल्लाबाट कोरोनाको ल्याव टेस्ट सुरु गरेसँगै दाङ जिल्लाबाट पनि गत २ गतेदेखि र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट (आरडीटी) सुरु भइरहेको छ । यो अवधिमा ४७ जनाको र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट सम्पन्न भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारको नीतिबमोजिम पहिलो चरणमा हरेक जिल्लाका विभिन्न पालिकामा सञ्चालनमा आएका क्वारेन्टाइनहरुमा रहेका शंकास्पद संक्रमितहरुको मात्र यो परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कोरोना नियन्त्रण कार्यक्रमका फोकलपर्सन कमल चन्दले बताएका छन् ।

सम्बन्धित पालिकाहरुको सिफारीससँगै ज्वरो आएका बिरामीहरुको यो परीक्षण गरिने गरेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पहिलो चरणमा स्थानीय तहमै पुगेर शंकास्पद व्यक्तिको र्‍यापिड टेस्ट गर्ने नेपाल सरकारको नीति अनुरुप दाङ जिल्लामा १ सय वटा किट प्रदेश सरकारले उपलब्ध गराएको थियो ।

एउटा किटले एक व्यक्तिको परीक्षण गरिन्छ । कार्यालयका अनुसार हालसम्म घोराहीको कुइरेपानीस्थित क्वारेन्टाइन, शान्तिनगर, तुलसीपुरको रक्षाचौर र बगलामुखी गाउँपालिकाका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको परीक्षण गरिएको हो । परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

१४ दिन क्वारेन्टाइनमा बसेकाहरुको मात्र र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ । नेगेटिभ रिपोर्ट आएका उनीहरुलाई घरमा पठाउने र घरमा थप ७ दिन सेल्फ क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको फोकलपर्सन चन्दले बताए ।

प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा भने यो परीक्षण गरिँदैन । त्यहाँ भर्ना भएका बिरामीहरुलाई भने स्वाव निकालेर पीसीआर टेस्टका लागि बुटवल लगायत राजधानीसम्म पठाउने गरिएको छ ।

सरकारले यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बेलझुण्डिस्थित कोरोना विशेष अस्पतालबाट स्वाव परीक्षणका लागि पठाइने व्यवस्था मिलाए पनि पछिल्लो समयमा भने बेलझुन्डीबाट मात्रै स्वाव निकालेर सम्बन्धित प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । आइबारसम्म बेलझुन्डीमा राखिएका व्यक्तिहरुमध्ये ५२ जनाको पीसीआर टेस्ट गरिएको थियो ।

ती सबैको रिपोर्ट पनि नेगेटिभ आएको बताइएको छ । रिपोर्ट नेगेटिभ आएकाहरुलाई थप एक साता सेल्फ क्वारेन्टाइनमा बस्ने सल्लाह दिएर डिस्चार्ज गर्ने गरिएको छ ।

यसैबीच सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीसीआर परीक्षणको व्यवस्थापन मिलाउने भएको छ । त्यसका लागि मेसिन शनिबार राति आइपुगेको छ । सम्भवतः मंगलबारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीसीआर परीक्षण सुरु हुने प्रतिष्ठान श्रोतले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १६:१५
प्रतिक्रिया दिनुहोस्