बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
त्रिभुवन पार्कबाट रिपोर्टरको डायरी... ‘लाठीले हानोस् कि बन्दुकले, हामी त हिँडेरै भए पनि जाने हो’
KNP nepal
KNP nepal
रोविन पौडेल
बाह्रखरी - रोविन पौडेल आइतबार, वैशाख ७, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । ‘हिँडेरै गाउँ जाने सुरमा पाइला चालेर राजधानीको चन्द्रागिरी नगरपालिकास्थित थानकोटमा रोकिएका सर्वसाधारणलाई शनिबार साँझ ७ वटा गाडीमा गन्तव्यतर्फ पठाइयो’ भन्ने खबरले राजधानीमा अलपत्र परेका थुप्रै मजदुर खुसी भए ।

लकडाउन सुरु भएयता राजधानीमै अडिएर बसेकाहरु खुसी बनेको यो दोस्रोपल्ट थियो । यसअघि सरकारको उच्चस्तरीय संयन्त्रले ‘दुईदिन राजधानी छाड्न दिइने’ भन्ने निर्णय थियो । बिडम्बना, त्यो खुसी डेढ घण्टा पनि टिकेको थिएन ।

सरकारले घर जाने पैदल यात्रीलाई पनि जहीँको त्यहीँ रोक्नु भन्ने आदेश दिएपछि थानकोटमा रोकिएकाहरुलाई जनप्रतिनिधिहरुले शनिबार सहयोग गरेका थिए । फेरि यस्तै सहयोग पाउने अपेक्षासहित आइतबार दिउँसोसम्म साढे २ सय जना जम्मा भइसकेका थिए ।

Duber nepal

Agani Group

०००

म चन्द्रागिरी नगरपालिकाको अस्थायी बासिन्दा भएका कारण यो खबर पाउनेबित्तिकै त्रिभुवन पार्कतर्फ हुइँकिएँ । मध्यान्ह साढे १२ बजे महानगरीय प्रहरी वृत्त, थानकोटबाट केही मिटर पर पुग्दा तीन युवा काँधमा ओढ्ने ओछ्याउने र झोलामा खानेकुरा बोकेर हिँडिरहेका भेटिए ।
उनीहरुको अगाडि लगेर स्कुटर रोक्दै मैले सोधेँ, “कहाँ जान भनेर हिँड्नुभयो ?”

“नेपालगञ्ज” उनीहरुमध्ये एकले जवाफ दिए ।

यसरी हिँडेर पुग्नुहुन्छ त ?

‘त्रिभुवन पार्कबाट गाडी चढाएर पठाइदिन्छ रे ।’ उनीहरु ढुक्क देखिन्थे । ‘साथीहरु अघि नै पुगिसके । हामी अलि ढिलो भयो ।’

‘ए !!!’

०००
त्रिभुवन पार्कको गेटमा धेरै मान्छे देखिएनन् । चारजना प्रहरी थिए । एकजना संख्या हिसाब गर्दै थिए । मरो परिचयपत्र देखेपछि ‘ए ! प्रेस पो । माथि नै गएर हेर्नुहोस् न ।’ भने । माथि, अर्थात् गेटबाट केही खुड्किलो उकालो चढेपछि पार्कको पिकनिक स्पट पुगिन्छ, त्यहीँ ।

त्यहाँ प्रहरी सहायक निरीक्षकले गरेको गणना गरिरहेका थिए ।

त्यतिबेलासम्म २ सय २६ जना पार्क प्रवेश गरिसकेका रहेछन् । अधिकांश पश्चिम नेपालको बाँके, बर्दिया र कैलालीसम्म जाने थिए ।

मैले ती प्रहरी अधिकारीलाई प्रश्न गरें, “कहाँबाट आएका रहेछन् ?”

“धेरैजसो कलंकीभन्दा नजिकका छन् । यहाँबाट गाडी चढाएर पठाउँछ भनेर आएका,” उनले सजिलै उत्तर दिए ।

यति भनिरहँदा गेटमा आएका तीन युवकसँग सोधपुछ गरियो । उनीहरुले सहज रुपमा ‘हामीलाई गाडी चढाएर पठाउँछ भनेर आएका’ भने ।

आफूसँग साथमा पर्याप्त रकम पनि नभएको उनीहरु बताउँथे । अलिकति कमाएको रकम लकडाउनका अवधिमा खाँदै सकिएको दाबी उनीहरु गर्दै थिए ।

मैले प्रश्न गरें, “तपाईंहरुसँग अहिले बसेर खानेकुरा त होला नि !”

‘खानेकुरा त जसोतसो छ । यहाँ बिनाकाम बसेको एकमहिना पुग्न लाग्यो । घर जान पाइयो भने किन खर्च गर्ने ? भनेर आएको, काठमाडौंमा ज्यामी काम गर्ने गरेको भए पनि अहिले काम नभएको उनको टिप्पणी थियो ।

ती युवकहरुलाई प्रश्न गरिरहँदा सुकिला कपडा लगाएका दुईजना महिला पार्कको गेटैमा आइपुगे । 

यत्तिकैमा दुई पुरुष पनि थपिए । उनीहरु पनि हिजो गाडी चढाएर पठाउनेले आफूलाई पनि पठाइदेला किन भनेर आएको बताउँदै थिए ।
०००
ती सातै जनालाई लाइन लगाएर प्रहरीले सोधपुछ गर्‍यो । नाम, उमेर, सम्पर्क नम्बर, गन्तव्य र कहाँबाट आएको आदि जानकारी टिपियो ।
०००

कमला विश्वकर्मा आफ्नो छोरासँगै थिइन् । उनी आफूहरु लगनखेलबाट यहाँसम्म आइपुगेको बताउँथिन् । दाङबाट आफू बिरामी भएर उपचार गर्न आएको र लकडाउन सुरु भएपछि साथीको कोठामा बसेको उनले बताइन् ।

‘हामी एकैठाउँमा ९ जना थियौं । खाने बस्नेको समस्या भयो ।’ उनले पनि यहाँबाट सातवटा गाडीमा चढाएर पठाएको खबर पाएपछि यहाँ आएको बताइन् ।

गाडीले लगेको थाहा नभएको भए के गर्नुहुन्थ्यो ?

‘के गर्नु र ? त्यही थेचारिएर बसिन्थ्यो ।’

उनले हिजो गाडी चढाएर पठाउने अभियन्ताले आज नपठाउने भएको, खानेबस्ने सुविधा भए जहाँबाट आएको त्यही फर्कन आग्रह गरेको जानकारी गराइन् । खानेबस्ने केही नभए पार्कमै व्यवस्था भएको आफूले सुनेको उनको भनाइ थियो ।

०००
कमला विश्वकर्माले भनेझैं पार्कको केही माथिल्लो भागमा अर्थात् पिकनिकस्थलमा पुग्दा सर्वसाधारणको ठूलो भीड देखिन्थ्यो । हरियो ज्याकेट लगाएका स्वयमसेवक थुप्रो संख्यामा देखिन्थे । त्यहाँ पुग्नुअघि ज्वरो जाँचिन्थ्यो । स्वास्थ्य स्थिति टिपोट गरिन्थ्यो ।

म परिवेश नियाल्दै थिएँ । पार्कमा खाने बस्ने अभियानबारे

मिडिया संयोजन गर्ने दिनेश परियारले यसरी ब्रिफिङ गरे,– “नेकपा प्रतिनिधिसभा सदस्य अञ्जना विशंखे, वागमती प्रदेशसभा सदस्य रमा आले मगरलगायत नेकपाको चन्द्रागिरी नगर पार्टी कमिटी र थानकोट प्रहरी वृत्तको सहकार्यमा यो अभियान सुरु गरेका हौं ।
अस्ति र हिजो राजधानीका विभिन्न स्थानबाट हिँडेरै विभिन्न  जिल्ला पुग्ने लक्ष्यसहित यहाँ आएकाहरुलाई बस्ने व्यवस्था गरेका थियौं । शनिबारमात्रै यहाँबाट हामीले ७ वटा गाडीमा उनीहरुलाई गन्तव्यसम्म पठायौं । तर, आजबाट सबैलाई गन्तव्यसम्म पठाउन सकिँदैन जस्तो छ । साँच्चै खानेबस्ने अभाव भएकालाई खाने बस्ने व्यवस्था गरेका छौं । साबिकको पिकनिक स्पटमा पाल टाँगेर उनीहरुका लागि बसोबास मिलाइएको छ ।  हिजो हामीले पठाएको खबर मिडियामा प्रशारण भएपछि यहाँ आउनेको संख्या निकै बढेको छ । अब पठाउन सक्ने अवस्था देखिँदैन । समाचार हेरेर सुनेर थानकोटको नजिकबाट धेरैजना यहाँसम्म आएका छन् । खानेबस्ने व्यवस्था भएपनि गाडी चढेर घर आउनेलाई फिर्तासम्म पठाएका छौं । तर, साँच्चै समस्यामा परेकालाई हामीले यहीँ राखेका छौं ।”

०००

परियारले यो अभियानका अभियान्ताहरु चिनाएपछि म कुराकानीतर्फ लागेँ ।

नेकपा केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य अञ्जना विसङ्खेले कोभिड–१९ को जोखिम फैलन सरकारले सक्दो प्रयास गरेको र त्यसलाई साथ दिन आफूहरु जस्तो जनप्रतिनिधिले साथ दिएको बताइन् ।

साँच्चै खान नपाएका र बस्न नपाएका लागि आफूहरुले व्यवस्थापन गरेको दाबी उनको छ । यसमा युवाहरु र सहयोगी हातहरुको साथ रहेको उनले बताइन् । यति साथ पाएपछि हामीले खाने र बस्ने व्यवस्था गरेको उनले सुनाइन् । यसबाहेक सम्बन्धित जिल्लाका जनप्रतिनिधिलाई सम्पर्क गरेर अलपत्र परेकालाई उद्धार गरिएको उनले बताइन् ।

बिसङ्खेले भनिन्– ‘सडकमा हिँडेका पैदल यात्रुलाई हामीले उद्धार गरेका हौं । प्रशासनसँग समन्वयन ग¥यौं । हामीले झैं सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ । प्रधानमन्त्रीले नै नेपाली जनता खान नपाएर मर्ने छैनन्, हामी उद्धार गर्छौं भन्नुभएको छ । हाम्रो यो अभियान उहाँहरुलाई साथ दिनका लागि हो ।  अभियानभित्र रहेर हामी केही काम गरिरहेका छौं । सुरुमा हामीले सूचना संकलन गरेका छौं । सोही आधारमा नजिकका हुनुहुन्छ र उहाँहरुलाई स्थानीय तह वा उहाँहरु कार्यरत रहेको सम्बन्धित संस्थाले सहयोग गर्ने ठाउँ छ भने फिर्ता गर्दै छौं । उदाहरणका लागि इँटाभट्टामा काम गर्ने मजदुरलाई इँटाभट्टले नै रेखदेख गर्ने गरी व्यवस्थापन गर्छौं ।’

०००

बिसङ्खेले यति भनिरहँदा मैले खुला आकासमुनि तयार हुँदै गरेको भान्छा नियाल्दै थिएँ । स्वयम्सेवकहरु पकाउन व्यस्त थिए ।

त्यसपछि म कुरा गर्न लागें, वागमती प्रदेशसभा सदस्य रमा आले मगरसँग ।

उनी आफूहरुले साँच्चै अप्ठेरोमा परेका मजदुरवर्गलाई सहयोग गरेको दाबी गर्दै थिइन् । तर आज काठमाडौंमा डेरामा बस्न समस्या नभएका पनि आएको सुनाइन् । उनले भनिन्, “यसरी सबैलाई हामीले पठाउनै सक्दैनौँ  ।”

उनका अनुसार जो रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट आएका छन् उनीहरुलाई मात्रै त्यहाँ बस्ने व्यवस्था गर्ने र भोलिका दिनमा कसरी पठाउन सकिन्छ भन्नेबारेमा छलफल गरिने छ ।

आलेले थपिन्, “शनिबार विभिन्न जिल्लाबाट आएका ३०२ जनालाई सातवटा बसमा पठाइएको थियो । यो समाचार सुनेर यहाँ आउने सबैलाई पठाउँछन् भन्ने सन्देश सञ्चारमाध्ममा गयो । तर, त्यस्तो होइन । तर जो नजिकको हुनुहुन्छ, काठमाडौंमा डेरा छ । उहाँहरु आफ्नै कोठामा बसिदिनूस् । एकदमै समस्यामा परेकालाई मात्रै हामीले शनिबार सहयोग गरेका हौं । सबैलाई होइन ।’

०००

एउटा टोली सुनरी जान भनेर कलंकीबाट थानकोट पुगेको थियो । मैले किन थानकोट तिर आउनु भयो भनेर सोध्दा उनीहरु मध्ये एकको जवाफ थियो–
मेरो नाम अशोक विक । हामी १० जना छौं । आज बिहान हामी कलंकीबाट आएका हौं । त्यहाँ काम गरिरहेका थियौं । चैत ११ गतेबाट लकडाउन सुरु भएपछि हामीले काम गर्न पाएनौं । ठेकेदार पनि सम्पर्कविहीन भए ।
साहुसँग पनि सम्पर्क हुने सकेन । करिब १ महिना जेजति कमाएका थियौं, खाएर बस्यौं । लकडाउन आज खुल्ला भोलि खुल्ला भन्दै महिना बितेपछि हामी हिँड्दै भएपनि जाने भन्ने सुरमा पुगेका हौं ।
हामी हिँड्न थालेपछि ‘प्रहरीले थानकोट त्रिभुवन पार्कमा खाना बस्नको व्यवस्था छ । हिजोमात्र ३ सय जनालाई गाडी चढाएर पठाएको छ । तपार्यंहरुलाई पनि गाडी व्यवस्था गर्ला’ भन्नुभयो । अहिले खाना खाएर बसिएको छ । अब के हुन्छ, थाहा भएन ।
हामी जानुपर्ने सुनसरी ।’

सुनसरी जाने मान्छे यताको बाटोबाट किन आउनुभयो ?

उनको जवाफ थियो, “सिन्धुलीको बाटो हामीले देखेकै छैनौं । सँधै घर जाँदा यतैको बाटो जाने । अहिले पनि ट्रकहरु पाइएला कि भनेर हिँडेका हौं । यहाँबाट चितवन पुग्न सकियो भने त्यहाँबाट फेरि अर्को पाइएला भन्ने आशा राखेर हिँड्यौं । काम गर्ने ठाउँबाट हामी राति ३ बजे निस्केका हौं ।”

०००

‘लाठीले हानोस् कि बन्दुकले, हामी त हिँडेरै भए पनि जाने हो’

पार्कमा आएका अधिकांश नजिकबाट आएकाहरु मात्र धेरै देखिन्थे । दहचोक, गुर्जधारा र टाढामा कलंकीबाट आएका धेरै थिए । सबैका कथा फरक थिए, पिडा एउटै ।

तर, त्यो भीडमा एउटा यस्तो समूह थियो । जो मसँगको कुराकानीमा एकदिन पनि त्रिभुवन पार्कमा नबस्ने बताइरहेको थियो । ललितपुरको एक इँटाभट्टामा इँटा बोक्ने काम गर्ने मजदुरहरु थिए, ती । ३ बालबच्चासहित र ९ महिलासहित ३१ जना थिए उनीहरु ।

साथमा ओढ्ने, ओछ्याउने, खानेकुरा बोकेका थिए । शनिबार दिउँसो ४–५ बजे हिँडेका उनीहरुको गन्तव्य छ, दाङ । रातारात थानकोटसम्म आइपुगेका उनीहरुलाई त्यहाँबाट अगाडि बढ्न दिइएन ।

समूहका एकजनाले भने, “गाडी मिले त राम्रै हुने थियो । नत्र, हिँडेरै भए पनि जाने हो ।”

उनी आफूहरुले राहत पनि नपाएको र साहुले १५–१५ सय रुपैयाँ हातमा थपाएको बताउँथे ।

उनले थपे, “धेरैजना हिँड्दै घर पुगिसके, हामीलाई ‘तिमीहरुको बालबच्चा रहेछन्, गाडी चढाएर पठाइदिन्छौं’ भने । र, बस्यौं । अहिले गाडीमा नपठाउने भन्दैछन् । तर, हामी रोकिँदैनौं । कोहीले हिँडेर जानेभए जान सुझाए । किनकी लकडाउन खुल्ने निश्चित छैन । काम फेरि पाउने हो कि हैन ? त्यो पनि थाहा छैन । कोहीकोही जहाँबाट आएको साहुसँग कुरा गरिदिन्छौं भन्नुहुन्छ । साहुले राखिदिने भएको भए हामी नि यहाँसम्म आउनुपर्थ्यो र ? साहुले राखेको ठाउँमा बस्दा पनि वरिपरिका मान्छेले हामीलाई पचाएनन् । उल्टै हामीले गर्दा फोहोर भएको आरोप लगाए ।”

त्यसो भए तपाईंहरु गाडी चढाएर पठाइदिन्छन् भन्ने आशामा आउनुभएको होइन ?

‘गोजीमा पैसा थिएन । जसरी पनि दाङ जानुको विकल्प छैन ।’

तपाईंहरुलाई हिँडेर जान सक्नुहुन्छ भने जानुस् भने हिँड्नु हुन्छ ?, मैले उनीहरुलाई गरेको प्रश्नको जवाफमा भने, “जान्छौं हामी र पुग्छौं पनि । लकडाउनमा गाडी चल्ने कुरै हुँदैन । हिँडेर भए पनि पुग्ने योजना नभएको भए यात्रा सुरु नै गर्ने थिएनौँ । १५ दिनपछि गाडी चल्ने पक्का भएको भए सोच्न हुन्थ्यो । एक महिना भइसक्यो कुरेको । खुलेन । त्यसैले चामल, भाँडा, वर्तन बोकेर हिँडेका छौं । बाटैमा पकाएर खान्छौं । रुख मुनि सुतेर भए पनि जाऔँला ।’

हिँडेर जान्छौं भनेर माग गर्नु भएन ?

“उनीहरु हिँडेर जान दिन्नौं भन्छन् । जबजस्ती गर्न सकेका छैनौं । तर, बेलुकासम्म पनि हामी राख्न खोज्नुभयो भने हामी रोकिँदैनौं । बन्दुकले हानुन्, खुकुरीले हानुन्,” उनको जवाफ थियो, “घरबाट पनि हामीले हिँडिसक्यौं भनेका छौं । हाम्रो चिन्ता गर्न थाल्छन् । हाम्रो उपाय त्यही हो सर । हामी त जाने हो । भरे त जसरी पनि हिँड्ने हो । ८–१० मा त पुगिहाल्छौं । साहुले त हेरेन हेरेन, आफ्नै देशको सरकारले पनि हेरेन । राहत पनि पाइएन । घसरी घरको न घाटको हुनुभन्दा हिँडेरै पुग्छौं ।”

०००

थानकोट त्रिभुवन पार्कमा बाहिरका मान्छे ल्याएर राख्दा वरिपरिका सर्वसाधारणले भने प्रश्न उठाउन थालेका छन् ।

 

Nepal Investment bank
Nepal Investment bank
आइतबार, वैशाख ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्