site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाविरुद्ध अग्रमोर्चाका 'नायकहरु'
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् २०१९ को डिसेम्बरदेखि चीनको हुबेइ प्रान्तको वुहान सहरबाट देखिएको नोभेल कोरोना भाइरस अहिले विश्‍वभर फैलिएको छ । विश्‍वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरसको संक्रमणबाट हालसम्म एक लाख ६१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २३ लाख ४४ हजारभन्दा बढी संक्रमित भएका छन् । हालसम्म कोरोनाविरुद्धको खोप विकास भइसकेको छैन । खोप विकासका लागि विश्‍वभरका वैज्ञानिहरु दौडमा छन् ।

नेपालमा भने हालसम्म ३१ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये दुईजनाको उपचार गरेर अस्पतालबाट डिस्चार्ज गरिएको छ । कोरोना संक्रमितमध्ये पाँच जना सुदूरपश्‍चिमा रहेका छन् । सुदूरपश्‍चिमको कोरोना भाइरस संक्रमितको उपचार सेती प्रादेशिक अस्पताल भइरहेको छ । 

पाँच जनाको उपचारमा चिकित्सक, नर्स, ल्याब टेक्निसियन, पारामेडिक्स र सहयोगी कर्मचारी गरेर करिब एक सय जना खटिएका छन् । सुरुमा निकै त्रासपूर्ण वातावरणकाबीच व्यक्तिगत सुरक्षा सामाग्रीको अभावलाई झेल्दै कोरोनाविरुद्धको युद्धमा होमिएका थिए सेती प्रादेशिक अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु । विभिन्‍न अभाव र तनावकाबीच आफ्नो जीवनलाई जोखिममा पारेर बिरामीको सेवा सर्वोपरी ठानेर कोरोनाविरुद्धको रणमैदानमा होमिएका केही प्रतिनिधि 'हिरो' हरुले बाह्रखरीसँग आफ्नो अनुभवलाई बाँडेका छन् ।
 
डा. जगदीश जोशी : 

Prabhu Bank
Agni Group
NIC Asia

सुदूरपश्‍चिमको कोरोनाविरुद्धको युद्धका कमान्डर हुन डा. जगदीश जोशी । सुदूरपश्‍चिममा कोरोना संक्रमण पुष्टि हुनुभन्दा अघिदेखि नै आफूले कोरोना संक्रमित पुष्टि भएमा के गर्ने भन्‍ने एक्सन-प्लान बनाएको जोशी बताउँछन् । उनकै कमान्डमा सेती प्रादेशिक अस्पतालमा पाँचजना कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितको सम्पर्कमा आएपछि उनी घर गएका छैनन् । १४ वर्षदेखि चिकित्सकीय पेसामा आबद्ध रहेका डा. जोशीसँग थुप्रै निजी तथा सरकारी अस्पतालमा काम गरेको अनुभव छन् । 

इमर्जेन्सी फिजिसियन विशेषज्ञ डा. जोशी सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख तथा प्रवक्ता डा. जोशीले सुरुमा उपचारका लागि खटिने चिकित्सहरुकै समस्या भएको अनुभव उनी सुनाउँछन् । उनले भने, "सरकार नै तयार नभइसकेको अवस्थामा पीपीईलगायत व्यक्तिगत सुरक्षा सामग्रीसहित चिकित्सकको समस्या थियो । सबैलाई कोरोनाका विषयमा सबैलाई बुझाउने काम गर्‍यौं । संघीय सरकार, प्रदेश सरकार र मिडियाहरुको सकारात्मक भूमिकाका कारण यसलाई सहजरुपमा लिइयो ।" 

Global Ime bank

मनोवैज्ञानिक त्रास एकातिर चुनौती बनेको थियो भने अर्कातिर व्यवस्थापकीय समस्या थियो । दुबैलाई चुनौतीलाई चिर्दै आफ्नो टिमलाई विश्वास दिलाउँदै जोशीले अहिले सहजरुपमा पाँचै जनाको उपचार गरिरहेको बताए । उनले भने, "अहिले २५ जनासम्मको उपचार गर्न यहाँ कुनै समस्या छैन । तर, संक्रमित बढ्दै गएमा समस्या हुनसक्छ । त्यसका लागि प्रदेश सरकारले कोरोना अस्थाई अस्पताल चाँडो बनाउनुपर्छ ।" 

संघीय सरकारले थप चिकित्सक पठाएपछि अहिले सहज भएको उनले बताए । उनले भने, "अहिले सहज भएको छ । संघीय सरकारले पनि चिकित्सक थप गरेको छ । बिरामीहरुलाई पनि सम्पूर्ण व्यवस्था गरेका छौं । संक्रमित थपिएमा संरचना र अन्य व्यवस्थापकिय चुनौती हुनसक्छ । यसकार लागि प्रदेश सरकार र संघ सरकारले तत्काल थप पहल चाल्‍न आवश्यक छ ।" 

हाल कोरोना संक्रमितको उपचारमा ३४ जनाको टोली कार्यरत छ । 

डा. शेरबहादुर कमर : 

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको उपचारमा खटिएका अर्का चिकित्सक हुन् डा. शेरबहादुर कमर । सेती प्रादेशिक अस्पतालमा १०औं तहका सिनियर कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत डा. कमर सेतीका मेडिसिन विभाग प्रमुखसमेत हुन् । गोरखाको लखन थापा गाउँपालिका जन्मिएका कमर २०६३ सालमा मेडिकल अफिसरका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए । उनले २०६१ सालमा त्रिवि चिकित्सा अध्ययन संस्थान महाराजगन्जबाटै छात्रवृत्तिमा एमबीबीएस गरेका थिए । 

सुरुआतदेखि नै कोरोना संक्रमितको उपचारमा खटिएका डा. कमर छुट्टै बसिरहेका छन् । सुरुआतमा केही समस्या भए पनि अहिले स्थिति सहज भएको र सबैले बुझेपछि सावधानी बढाउने काम भइरहेको र अनावश्यक त्रास कम भएको उनको अनुभव छ । उनले भने, "अहिले आवश्यक पर्ने पीपीई, मास्क, ग्लभ्स पर्याप्त छ । तर, संक्रमितको संख्या बढ्दै जाँदा अभाव सिर्जना हुनसक्छ ।"

हालसम्म पाँचै जनाको कोरोना लक्षणमा जटिलता नभएको डा. कमरले बताए । उनले भने, "पहिलो संक्रमितलाई ज्वरो आइरहेको छ भने खोकीको एलर्जी छ । अन्यको अवस्था सामान्य छ । सुरुआतभन्दा सुधारको अवस्था छ ।" सुदूरपश्‍चिको एक कोरोना उपचार अस्पताल सेतीमै अन्य बिरामीको उपचार भइरहेकोले क्रस-इन्फेक्सनको त्रास हुनेभन्दै सुरुदेखि नै उनले वैकल्पिक व्यवस्थाको माग गरिरहेका छन् । 

भगवती बडाल : 

चैत १२ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पहिलो कोरोना संक्रमित पुष्टि भयो । संक्रमित पुष्टि हुनासाथ उपचारमा खटिने चिकित्सकको टोली सहित नर्सिङ र अन्य कर्मचारीको टोली तयारी अवस्थामा रहनुपर्‍यो । बाहिर सुनेको तर नदेखेको र नभोगेको कोरोना भाइरसको संक्रमितको उपचार खटिन तयार कोही देखिएनन् । कोरोना संक्रमितको सम्पर्कमा गएको व्यक्तिलाई कोरोना सर्छ भन्‍ने मनोविज्ञानले ग्रसित भएका कारण पनि अघि सर्न स्वास्थ्यकर्मीको टोली तयार देखिएन । बिरामीको उपचार गर्दिन भन्‍न चिकित्सकले नपाउने भए पनि बाँच्‍ने रहर सबैलाई हुन्छ । तर, आफ्नो जीवनलाई नै जोखिममा पारेर समुदाय र राष्ट्र नै लडिरहेको यस युद्धमा होमिन भगवती बडाल अघि सरिन् । 

धनगढीस्थित हसनपुरमा बस्दै आएकी बडाल १६ महिनाको छोरीलाई घरमै छोडेर कोरोनाविरुद्धको युद्ध लडन सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा वार्डमा छिरिन् । कोरोनाविरुद्धको लडाइँमा खटिएको नर्सिङ टोलीकी इन्चार्जसमेत रहेकी बडाललाई परिवारबाट जागिर छोड्न दबाब आयो । रुघाखोकी लागेर सन्चो भएको धेरै दिन भएको थिएन उनलाई । एकातिर सानी छोरी छोड्‍नुको पीडा, अर्कोतिर कोरोना संक्रमण हुने त्रास र जागिर छोड्न परिवारको दबाब । यी सबै उल्झनलाई पन्छाउँदै चैत १३ गते आफ्नो ३० वर्षे नर्सिङ अनुभवलाई साथ लिएर कोरोना संक्रमित राखिएको आइसोलेसन वार्डमा छिरिन् । 

कोरोना संक्रमितको उपचारमा खटिएदेखि उनले घर जान पाएकी छैनन् । दुई हप्ता साथीको क्‍वार्टरमा र बाँकी दिन साथी होटलमा बसिन् । बेलाबेला छोरीको मायाले सताउँथ्यो उनलाई । तर, पनि मन दरो बनाइन् र आफूलाई सम्हालिन् । राष्ट्र नै होमिएको युद्धमा सहभागी हुने अवसर पाउँदाको खुसी व्यक्त गर्दै भनिन्, "सधैं यस्तो चुनौती आउँदैन । सुरुमा त डर लागेको थियो । यस चुनौतीविरुद्ध सिंगो विश्व नै लडिरहेको छ म किन पछि हट्‍ने भन्दै आफूलाई सम्झाएँ । युद्धमा होमिएर कोरोना संक्रमितको सेवा गर्न पाएँ । अहिले खुसी छु ।" सीएनएम छैटौं तहकी बडालले दुईपटक कोरोना जाँच गराइन र आज घर जाँदै छिन् । आत्मबल दरो पार्न कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीसहित कोरोना संक्रमितलाई उनको सुझाव छ । 

शारदा विष्ट

सुदूरपश्‍चिको पहिलो कोरोना संक्रमितको उपचारमा खटिनेमध्यकै एक हुन शारदा विष्ट । चैत १२ गते साँझ कोरोना पोजेटिभ देखिएपछि १३ गते बिहानदेखि उनी चिकित्सकीय टोलीसँगै बिरामीको सेवामा खटिएकी थिइन् । 

उनले भनिन्, "कोरोना पोजेटिभ आयो अब १२ घण्टा ड्युटि यतै गर्नुपर्छ भनेर भन्‍नुभयो । मैले जता पनि ड्युटी गर्नैपर्ने हुन्छ नी त भने । पहिलो दिन १२ घण्टा ड्युटी गर्‍यौं ।" सुरुआतमा केही डर लागे पनि अहिले त्यस्तो केही नलाग्‍ने र सावधानी अपनाइरहेको उनले बताइन् । क्‍वाटरमा बसिरहेकी उनलाई भने बिरामीको सेवामा खटिएकोप्रति परिवारले सकारात्मक प्रतिक्रिया दियो । 

करिब १२ वर्षजति नर्सिङ सेवामा खटिएकी शारदा बिरामीको सेवा गर्न पाउँदा आनन्द लाग्‍ने बताइन् । कोरोना भाइरस एक नयाँ अनुभव र पहिलो पटक नै आफूले सेवा गर्न पाएकोमा खुसी व्यक्त गरिन् । महेन्द्रनगरको सेती-महाकाली नर्सिङ क्याम्पसबाट निर्सिङ गरेकी उनले पहिलो कोरोना पोजेटिभ बिरामी बुझ्‍ने भएको र उनलाई निको हुने बिराम नभएकोले नआत्तिन परामर्श दिएका कारण पनि सकारात्मक सुधार भएको बताइन् । 

कमला निउरे 

सुदूरपश्‍चिममा कोरोना भाइरसको संक्रमणको त्रास बढ्दै थियो । एकाएक थप तीनजनामा कोरोना संक्रमण पुष्टि भयो । १७ वर्षदेखि नर्सिङ पेसामा संलग्‍न कमला निउरे 'शक' भइन् । किनकी ती तीनै जना संक्रमितको उपचारमा चिकित्ससँगैको टोली उनी पनि नै खटिनुपर्ने भयो । उनले परिवारका सदस्यलाई आफू कोरोना संक्रमितको उपचारमा खटिनुपर्ने सुनाइन् । हावाबाट पनि कोरोना सर्छ भन्‍ने सुनेका परिवारका सदस्यले उनलाई पनि जागिर छोडेर अरु पेसा व्यवासय गर्न नसुझाएका होइनन् । 

उनले भनिन्, "मैले परिवारलाई कोरोना संक्रमितको उपचारमा खटिन्छु भनेर सुनाए । अनि वृद्ध सासु-सुसारेले बरु ठेला चलाएर जीवन गुजारौंला, त्यहाँ जानुपर्दैन भन्‍नुभयो । मलाई पनि डर त थियो । तर, अरुलाई दुखमा छोडेर नभाग्‍ने कसम खाएर यस पेसामा छिरेपछि अहिले भाग्‍ने कुरै थिएन ।" मुटुमाथि ढुंगा राखी परिवारका सदस्यलाई त सम्झाएँ तर आफूभित्र डर कायमै थियो । उनले भनिन्, "पछि बिरामीको सेवा गर्दै जाँदा बानी भयो र डर आफैं हरायो । बिरामीलाई पनि हाम्रो सहयोग चाहिएको हुन्छ । उहाँहरु पनि हामीजस्तै मानिस हो । सुरक्षाका उपायहरु अपनाउँदा कोरोना संक्रमितको उपचारमा खटिँदैमा कोरोना सर्दैन ।"  

तीन जना कोरोना पुष्टि भएको दिन चैत २२ गते बिहान ७ बजेदेखि बेलुका साढे ८ बजेसम्म उनी 'ड्युटी' मा खटिएकी थिइन् । घर नगएको पनि १७ दिन भयो । बेलाबेला फोनमार्फत ८ वर्षको छोरा र परिवारका सदस्यसँग कुरा गर्छिन् । १७ वर्ष लामो पेसागत यात्रामा यो नयाँ खालको अनुभव भएको र विश्वमै महामारीको रुपमा फैलिएको कोरोना संक्रमितको उपचारमा खटिन पाउँदा अहिले खुसी लागेको बताइन् । चिकित्सकहरुको सल्लाह अनुसार २१ दिनमा कोरोना जाँच गर्ने र नतिजा नेगेटिभ आइसकेपछि घर जाने उनले बताइन् । 

रमेश शाही

सुदूरपश्‍चिमा कोरोना परीक्षण भइरहेको एकमात्र प्रयोगशाला सेती प्रादेशिक अस्पतालमा छ । उक्त प्रयोगशाला प्रमुख छन् रमेश शाही । कोरोना परीक्षणको काम थप जोखिमपूर्ण उनको अनुभव छ । उनी भन्‍छन् ," हामीले कोरोना भाइरसको परीक्षणका लागि संकलन गरिएका नमुनाहरुको सिधा सम्पर्कमा हुनुपर्छ । त्यहाँ रहेका कोरोना भाइरस पोजेटिभलाई नै चलाउनुपर्ने भएकोले भएकोले निकै संवेदनशील सावधानी अपनाउनुपर्ने हुन्छ ।"

हाल सुदूरपश्‍चिममा करिब ३०-४० नमुनाजतिको पीसीआर जाँच भइरहेको उनले बताए । उनका अनुसार सेतीमा रहेको पीसीआर मेसिन पोर्टेबल भएकोले दैनिक एक सयदेखि डेढसय नमुनासम्म जाँच गर्नसक्ने क्षमता रहेको छ । कर्णालीबाट ल्याइएका ९९ नमुनासमेत पीसीआर जाँच गरेर पठाएको उनले बताए । 

१२ वर्षदेखि प्रयोगशालामा काम गर्दै आएका रमेशले भने, "यसअघि एचआईभीको नमुना संकलन र परीक्षणहरु पनि पीसीआरबाटै गरेका थियौं । तर, यो भाइरसको विकास हुने चरण फरक भएकोले कहिलेकाँही एकपटक गर्दा नेगेटिभ र अर्कोपटक पोजेटिभ आउनसक्ने बताए ।" ६ जनाको टोलीको नेतृत्व गरिरहेका रमेशले नमुना संकलनका क्रममा ध्यान नदिए नतिजा सही नआउनसक्ने बताए । 

जनशक्ति अभावका कारण कोरोनाको नमुना संकलनमा केही समस्या भएको उनको गुनासो छ । यो भाइरस नयाँ भएको र विश्वभर धेरै मानिसको मृत्यु भइसकेका कारण पनि डर लागेको थियो । "अहिले बानीजस्तै भइसक्यो । केही डर लाग्दैन । सावधानी अपनाउन निकै जरुरी छ ।" 

गौरीदत्त जोशी : 

सुदूरपश्‍चिममा कोरोना संक्रमण पुष्टि हुनुभन्दा अघिदेखि नै कोरोना 'ब्याटल फिल्ड' मा खटिएका थिए गौरीदत्त जोशी । चैत १० गतेदेखि अस्पताल छिर्नुभन्दा अघिको प्रवेश बिन्दु ट्राइजर एरियामा जोशीको नेतृत्वमा १४ जनाको टोली खटिएको छ । उक्त टोलीमा ९ जना पारामेडिक्स र ५ जना सहयोगी कर्मचारी खटिएका छन् । ट्राइजर एरियामा अस्पताल छिर्ने हरेकको स्क्रिनिङ गरिन्छ र कसलाई कहाँ पठाउने भनेर निर्धारण गरिने जोशीले बताए । चिकत्सकहरुले भित्र कोरोना संक्रमितको उपचारमा खटिएजस्तै "त्योभन्दा अग्रपंक्तिमा अथवा स्क्रिनिङमा आफूहरु हुने भएकोले त्रास त हुन्छ नै । तर, पनि स्वास्थ्यकर्मी भएको नाताले त्रास भयो भन्दैमा कतर्व्यबाट पन्छिन मिल्दैन," उनले भने । 

करिब २५ वर्ष लामो स्वास्थ्य क्षेत्रको अनुभवभन्दा अहिलेको यो अनुभव अलि फरक र जोखिमपूर्ण भएको उनी सुनाउँछन् । उनी भन्छन्, "यसअघि देखिएका विभिन्‍न रोगहरुमा सामान्य सावधानी अपनाए जोगिन सकिन्थ्यो । अहिले उच्च सावधानी अपनाउनु पर्ने र निकै जोखिमयुक्त छ । तर, पूर्वसावधानीका साथ सामाजिक दूरी कायम गरे र स्वास्थ्य निर्देशिकाहरु पालना गरे कोरोनालाई जित्‍न सकिन्छ ।" 

एक साता काम गरेर १४ दिन क्‍वारेन्टाइनमा बस्‍नुपर्ने भए पनि जनशक्ति अभावका कारण मिलाएर काम गरिरहेको उनले बताए । उनका अनुसार पालैपालो फ्रन्टलाइनमा खटिएकाहरुको कोरोना परीक्षण गरिएकोसमेत जानकारी दिए । 

दीपक मल्ल :

दुई महिनादेखि स्क्रिनिङको काम गरिरहेका दीपक मल्ल एक महिनादेखि सेती प्रादेशिक अस्पतालको फ्रन्टलाइनमा काम गरिरहेका छन् । थर्मल गनमार्फत अस्पताल आउने बिरामीको ज्वरो जाँच गर्ने काम उनले गरिरहेका छन् । अस्पताल आउने बिरामीको 'ट्राभल हिस्ट्री' लिने, ज्‍वरो जाँच गर्ने र लक्षण देखिएमा सोहीअनुसार बिरामीलाई सम्बन्धित ठाउँमा रिफर गर्ने काम गर्छन् । अस्पतालमा थर्मल गनमार्फत ज्वरो जाँच गर्नुभन्दा पहिले उनी विमानस्थलमा आउने यात्रुको स्क्रिनिङमा खटिएका थिए । 

२५ वर्षदेखि प्यारामेडिक्स सेवामा कार्यरत उनी स्वास्थ्य समायोजनमार्फत माघ २२ देखि सेती प्रादेशिक अस्पतालमा कार्यरत छन् । उनी अस्पतालमा एक सिफ्ट काम गरिसकेपछि घरमै जान्छन् । उनी भन्छन्, "हाम्रो ड्युटी आवरमा काम गरिसकेपछि घरमै जान्छु । जोखिम छ । एउटा गाउन, क्याप, मास्क र स्यानिटाइजर दिइएको छ । पीपीई दिइएको छैन । दैनिक अस्पतालमा काम गरेर घर फर्किँदा परिवार पनि जोखिममा पर्ने हो भन्‍ने चिन्ता छ ।" 

धनगढीको हसनपुरमा बस्‍ने उनले क्‍वारेन्टाइमा ट्राइजरमा कार्यरत आफूहरुलाई पनि छुट्टै राख्‍ने व्यवस्था मिलाउनु पर्ने र कोरोना जाँच गरिनुपर्ने बताएका छन् । उनले भने, "हामी कोरोनाविरुद्धको लडाइँमा खटिएको दुई महिना भयो । कोरोना जाँच गरिएको छैन । लक्षण देखिए जाँच गर्ने भन्‍नु भएको छ । जाँच गराए ढुक्क भइन्थ्यो ।" 

हरिकृष्ण राना :

यसअघि भाइर इन्फ्लुन्जाका संक्रमणका समयमा पनि 'फोकल पर्सन' भएर नमुना संकलनका लागि अग्रपंक्तिमा खटिएका हरिकृष्ण राना कोरोनाविरुद्धको लडाइँमा पनि अग्रपंक्तिमा छन् । उनले कोरोनाको आशंकामा आएका बिरामीको रगत तान्‍ने र स्वाब निकाल्‍ने काम गर्छन् । 

चैत १ गतेदेखि नै कोरोना आशंकित आंशकित र संक्रमितको सिधा सम्पर्कमा रहेका रानाले तीनपटक आफ्नो कोरोना जाँच गराइसकेका छन् । उनले भने, "सुरुमा डर त लाग्छ । तर, पनि आफू जोगिएर भए पनि काम गर्नैपर्छ । मैले पहिलो कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक, कोरोना संक्रमित पुष्टि भएको १४ दिनपछि दोस्रोपटक र २१ दिनपछि तेस्रोपटक गरेर कोरोना जाँच गराइसकेको छु । मेरो तीनवटै परीक्षणहरु नेगेटिभ आएको छ । 

दिनभरी अस्पतालका काम गरे पनि बेलुका भने उनी घरै जान्छन् । घर गए पनि परिवारबाट पनि अलग भएर बसेका छन् । दुई सन्तानका बाबु हरिकृष्णलाई आफ्ना सन्तानकोसमेत नजिक जान पाएका छैनन् । घरमै अलग कोठामा बस्छन् । एक साता कोरोना संक्रमणविरुद्ध काम गरेकाहरुलाई १४ दिन क्‍वारेन्टाइनमा बस्‍नुपर्ने भए पनि जनशक्ति अभावमा उनले आराम गर्नसमेत पाएका छैनन् । 

उनी दुईजनाले हाल कैलालीको सेती प्रादेशिक अस्पतालमा आएका आंशिकतको नमुना संकलन गर्ने काम गरिरहेका छन् । अर्का छन् चेतराज भण्डारी । दुवैजनाले पालैपालो काम गरिरहेका छन् । 

पुण्य अधिकारी :

सेती प्रादेशिक अस्पतालमा कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा रहेका चिकित्सकीय टोलीसँगै काम गर्छन् पुण्य अधिकारी । उमेरले ५० कटेका अधिकारी कोरोनाविरुद्धको लडाइँमा काम गर्न पाएको खुसी व्यक्त गर्छन् । चैत १० देखि कोरोनाविरुद्धको लडाइँमा लागेका उनी घरमा स-साना नातिनातिना र वृद्ध पत्नीका कारण उनी घर गएका छन् । अस्पतालमै क्‍वार्टरमा बस्छन् । पाँच जनाको टोलीको नेतृत्व गरेका उनले अन्य साथीहरुको ड्युटी मिलाउने र अस्पतालमा कोरोना संक्रमितहरुलाई सार्ने, औषधि छर्नेलगायत काम गर्छन् । 

कार्यालय सहयोगीका रुपमा २०४० मा जागिर सुरु गरेका अधिकारीले यसअघि पनि विभिन्‍न संक्रामक रोगको सामना गरेको भए पनि अहिले विश्व नै यसविरुद्ध लडिरहेको बेला आफू पनि यसको सदस्य हुन पाएकोमा खुसी भएको बताए । आफ्नो अहिलेसम्म कोरोना जाँच नगरिएको बताउने उनले कोरोनालाई परास्त गर्न पूर्वसावधानी अपनाउनुपर्ने बताए । उनीसँगै उनका साथीहरु रामबहादुर अधिकारी, खडकसिंह कुवँर, शिवराज जोशी र दिपक खड्का रहेका छन् । उनीहरुले सहयोगीको रुपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC