बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग बेइजिङबाट नेपाल आमालाई पत्र ज्ञानु माया राई
Godraj nepal
Godraj nepal
बाह्रखरी - शुक्रबार, चैत २१, २०७६
Laxmi Bank
Laxmi Bank

प्यारी नेपाल आमा, 
अहिले विश्वमा कोरोनाभाइरसले आतंक मच्चाइरहेको छ । त्यसमा नेपाल पनि अछुतो रहन सकेन । अहिले विश्वलाई भाइरस नियन्त्रण गर्न भीषण युद्धको सामना गर्नुभन्दा कम कठिन परिरहेको छैन । अहिले अधिकांश देशका नागरिक कोही आफ्नो ज्यानकै बाजी राखेर अर्काको ज्यान बचाउन, कोही सर्वसाधारणको सेवा गरेर र कोही भने कोठामा गुम्सिएर सकसपूर्ण जीवन बिताइरहेका छन् । वैज्ञानिक र डाक्टरहरू भाइरस मार्ने औषधि वा खोपको विकास गरेर मानवीय क्षती हुनबाट जोगाउन दिनरात नभनी प्रयोगशालामा नै जीवन अर्पिरहेका छन् । 

हाम्रो देशमा पनि कोरोना छिरेको छ । विश्व यसको पीडामा रोइरहँदा हाम्रो देशमात्र कहाँ मुस्कुराएर बस्न पाउँथ्यो र ! विदेशबाट फर्किएका तपाईँका छोराछोरी (नेपालका नागरिक) बाट नै यो रोग नेपालमा छिरिरहेको छ भन्ने मैले समाचारमा पढेँ । नेपालमा कोरोना सुरु भएको समाचार पढ्दा साहै्र्र दुःख लाग्यो । अहिले म कोभिड–१९ संक्रमण सुरु भएको देशमा छु । यहाँ यो रोगले धेरै त्रास फैलाएको थियो । त्यसैले होला मलाई साहै्र डर लागिरहेको छ । यत्रो विकसित देशमा त यो रोग नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको छ । अझै पनि पूर्णरुपमा नियन्त्रण भइसकेको छैन । यहाँ ठीक हुँदै गर्दा कोरिया, जापान, इरान र पछिल्लो समयमा अमेरिका, युरोपजस्ता सबै चीजले सम्पन्न देशमा समेत कोरोनाले भयंकर डरलाग्दो रुप लिँदै गइरहेको छ । नेपालमा यो भाइरसका बिरामीको संख्या ह्वात्तै बढ्यो भने नियन्त्रण होला कि नहोला भन्ने चिन्ताले सताइरहेको छ । ढिला नै भए पनि तपाईँले देशलाई लकडाउन गरेर साहै्र राम्रो गर्नुभयो । हाम्रो देशमा कोरोना नियन्त्रण गर्ने यसभन्दा बलियो औषधि के नै हुन सक्छ र ? 

आमा, तपाईँले लकडाउन गर्ने निर्णय गरेर सूचना जारी गर्दा कति दाजुभाइ, दिदीबहिनीलाई त थाहा नै थिएन होला । सबै जनालाई राम्रोसँग सूचना दिएर बुझाउन सक्नुभएको थियो कि थिएन ? देश बन्दाबन्दी भएको पनि आज त ११ दिन भइसकेछ । दिनहुँ कमाएर एक छाक खाने दाजुभाइ, दिदीबहिनीले खानेकुराको जोहो गरेका थिए कि थिएनन् ?  उनीहरुको बारेमा सोधखोज गरेर केही सहयोगको व्यवस्था गर्नुभयो कि भएन ? तपाईँंका धेरै छोराछोरीले कोरोना भाइरस र लकडाउनको बारेमा खासै राम्रोसँग बुझेका थिएनन् कि भन्ने भान भइरहेको छ । त्यसैले त तिनले केही खानेकुराको जोहो गर्नलाई समेत सास्ती खपिरहनु परेको छ । अनि, लकडाउनको समयमा पनि कोही सामान खरिद गर्न, कोही बाहिरको वातावरण के कस्तो छ भनेर हेर्न र कोही भने सवारी साधनमात्र चलाउन नपाईने तर पैदल हिँड्दा त हुने हो कि भनेर बाहिर निस्किए । फलस्वरुप, उनीहरु प्रहरीको लाठी खान बाध्य भए, कोही समातिए । समातेर थानामा लगिएका दाजुभाइ, दिदीबिहनीलाई राखिएको ठाउँ त व्यवस्थित नै होला नि । पक्कै पनि त्यहीँ कुनै संक्रमण तथा अन्य रोग फैलँदैन होला । आमा, सबै सन्ततिलाई कोरोनाभाइरस र लकडाउनको बारेमा राम्रोसँग बुझाउन कतै चुक्नु त भएन ?

Agani Group

देशका सन्ततिलाई सेवा सुविधा तथा सुरक्षा दिने जिम्मेवारी तपाईँसँग छ । सन्ततिलाई नियम कानुन पालना गराउने, माया गर्ने अनि गल्ती गर्ने र भनेको नमान्नेलाई सजाय दिने अधिकार पनि छ । महामारी रोग एकबाट अर्कामा नसरोस्, सबै सुरक्षित रहुन् भनी उनीहरुलाई बचाउन लागि लकडाउन गर्नुभएको हो र आवश्यक पनि छ । यो कुरा सुरुमा थाहा नभएका सन्ततिले अहिले पक्कै पनि थाहा पाइसके होलान् । अब पनि थाहा पाएनन् भने त्यसमा तपाईँको दोष हुनेछैन । तर, बिन्ती, विपन्न परिवारलाई लकडाउन समयभर खाद्यान्नलगायत अत्यावश्यक चीजको व्यवस्था चाहिँ गरिदिनुहोला । 

अहिलेको कोरोनाभाइरस लरतरो महामारी होइन । सञ्चार माध्यममा समाचार पढ्दा छिमेकी मुलुकमा कोरोना फैलिरहँदा तपाईँले त्यति वास्ता गर्नुभएन कि भन्ने लागेको थयो । अरु देशमा हवाई उडान बन्द हुँदा, स्वदेशी विदेशीको आवतजावतमा कडाइ गर्दा नेपालमा भने त्यस्तो केही पनि गरिएको थिएन । न त भाइरस देशमा फैलियो भने के गर्ने भन्ने तयारी नै गरिएको थियो । युरोप, अमेरिकामा कोरोनाले उग्र रूप लिएपछि मात्र तपाईँ आत्तिन थाल्नुभयो । जे होस् ढिला नै भए पनि भाइरस महामारी प्रकोप नियन्त्रण गर्न सक्दो लागि परिरहनुभएको छ । 

sarbottam cement

विदेशबाट फर्किएका नागरिकलाई एयरपोर्टबाट नै सीधै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको भए रोग लागेको व्यक्तिको पहिचान हुने थियो । जहाँ, भाइरस फैलने सम्भावना पनि कम हुन्थ्यो । विदेशबाट फर्किएकालाई क्वारेन्टाइनको व्यवस्था गरिएको छ भनेर जानकारी दिनुभयो कि भएन ? बल्लतल्ल आफ्नो देशमा फर्किन पाउँदा को खुसी नहोला र ? क्वारेन्टिनमा रहनुपर्छ भन्ने बुझाउन सकिएको भए आफू र आफ्नो परिवार अनि देशका अन्य दाजुभाइ, दिदीबिहनीको सुरक्षाको लागि खुसीसाथ बस्ने पो थिए कि ? अहिले क्वारेन्टिनमा बस्नुपर्ने दाजुभाइ, दिदीबहिनीले बस्न आनाकानी गर्दा जघन्य अपराध गरे सरह हुन्छ भन्ने बुझिसकेका छन् भने पक्कै पनि आफ्नो स्वास्थ्य जचाउँने र क्वारेन्टिनमा बस्नेछन् । आफूसँग सम्पर्कमा रहेकालाई पनि क्वारेन्टिनमा बस्न सुझाव दिएर उनीहरूले अवश्य पनि कर्तव्य पूरा गर्नेछन् ।

तपाईँका कतिपय छोराछोरी विदेशी भूमिमा पनि यही रोगका कारण विचलित छन् । उनीहरुका बारेमा केही जानकारी लिइरहनुभएको छ कि छैन ? विदेशमा हुने एक जनामात्र नेपाली नागरिकलाई केही भइहाल्यो भने तपाईँको मुटुको टुक्रा हरण हुनेछ आमा । उनीहरुले परिश्रम गरेर, पसिना बगाएर पठाएको रेमिट्यान्सले तपाईँका सन्ततिको घरपरिवार रोजीरोटी त थामिएकै छ भने कतिपयले विदेशमा राम्रो पढेर, सीप सिकेर स्वदेश फर्किएपछि देश तथा घरगाउँका लागि केही गर्छु भन्ने संकल्प गरेका हुन्छन् । यस्तो संकटको समयमा उनीहरुलाई हौसला, सान्त्वना दिने तपाईँको कर्तव्य बिर्सनुभएको त छैन नै होला ।

जो जहाँ जुनसुकै देशमा काम गर्न वा पढ्न तथा अन्य कामले विदेशिएका सबै तपार्ईँका छोराछोरीलाई समानरुपमा हेरिरहनुभएको नै छ होला । यो नै तपाईको महानता हो । हुनत, आफ्नो छोराछोरीलाई कुन चाहिँ आमाले कुनैलाई काखा र कुनैलाई पाखा गर्न सक्छन् र होइन ?

सुन्दैछु , नुन तेलको जोहो गर्न पारी छिमेकी मुलुकमा गएका दाजुभाइ, दिदीबहिनी अहिले सीमा नाकामा अलपत्र परेका छन् । अहिले उनीहरूलाई तपाईँको सहयोगको सख्त जरूरी छ आमा । उनीहरुलाई व्यवस्थापन गर्ने कार्य पनि गर्न थाल्नुभयो होला नि ।

लकडाउनको समयमा छोराछोरीहरु के गरेर दिन बिताउँछन् होला भन्ने तपाईँलाई चिन्ता पनि त लाग्दो हो । त्यसैले त घरमा बस्दा के के गर्दा झन्झट मुक्त हुने भन्ने सुझाव पनि दिइरहनुभएको छ । आमा तपाईँ ढुक्क हुनुभए हुन्छ, अहिले भने धेरैले बुझिसकेका छन् कोरोनाभाइरसको बारेमा । त्यसैले सबैले धैर्य गर्नेछन् । तपाईँले बनाउनुभएको नियमलाई उल्लङ्घन गर्दैनन् होला । लामो समय घरभित्रै थुनिएर बसिरहन ठूलो मान्छेलाई त गाहृो हुन्छ भने चकचक गर्नुपर्ने, खेल्नुपर्ने उमेरका साना भाइबहिनीले बाहिर निस्कन जिद्दी गरे उनीहरूका परिवार (साना भाइबहिनीका बाबाआमा) ले पक्कै पनि किन बाहिर निस्कन हुँदैन, कोरोनाभाइरस भनेको के हो, कसरी सर्छ र भाइरस सर्न नदिन के के गर्ने के नगर्ने भन्ने कुरा बुझाउने र उनीहरुसँग बढी समय बिताउने गरेकै होलान् । वृद्धवृद्धालाई पनि घरका सदस्यले राम्रो हेरचाह गरिरहेका नै होलान् । 

देशमा केही समस्या सुरु हुनु नपाउँदै खाधान्नलगायत विभिन्न अत्यावश्यक सामग्रीहरूको अभाव पनि सुरु भइहाल्छ भन्ने कुरामा सतर्कता त अपनाउनु भएको नै होला । यो पटक चाहिँ पहिलेका संकटहरूमा जस्तो खाधान्न तथा अन्य अत्यावश्यक चिजको अभाव नहोस् है आमा । हुनत धेरैजसो खाने, लगाउनेदेखि लिएर अरु सामान सबै विदेशको भर परेर होला यस्तो समयमा अभाव हुने गरेको  । 

देशभित्र नै कृषि व्यवसायलगायत अन्य उत्पादन व्यवसायलाई राम्रोसँग व्यवस्थित गर्न सकिएको भए कृषिप्रधान देशमा खेतबारी बाँझो राखेर थोरै भए पनि पैसा कमाउने लोभले न त कोही अर्काको देशमा दुःख गर्न जान्थ्यो न त खानेकुरा तथा अत्यावश्यक समानको अभाव नै हुनेथियो । के नेपालका कृषकले दुःख गरेर उब्जाएको बाली, उत्पादन भएका सामग्री सही समयमा, सही तरिकाले विक्री गर्न पाइरहेका छन् ? कतिको त नाफा त के लगानी गरेको खर्च पनि उठ्न कठिन छ । आमा, तपाईँलाई थाहा नै छ त बाहिरको सामान आयात गर्नुमा भन्दा देशमा केही गर्छु भन्नेलाई सहयोग गरे देशले पक्कै पनि चाँडै नै सुखको सास फेर्नेछ । त्यसपछि नेपाल आमाले कहिल्यै पनि अर्काको मुख ताकिरहनुपर्ने छैन र यस्तो संकट तथा विपत्तिमा खान लगाउन तथा अन्य आफूलाई चाहिने वस्तु केहीको अभाव बेहोर्नुपर्ने छैन । 
उही तपाईँकी प्यारी छोरी
ज्ञानु माया राई
(हाल : बेइजिङमा विधावारिधि शोधार्थी)
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्