site stats
बाह्रखरी :: Baahrakhari
विशेष
अन्तर जिल्ला प्रवेशमा रोक, प्रविधिसहितको आइसेलेशन वार्ड

 दमौली । दमौली अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको पाँच शय्या क्षमताको आइसोलेशन कक्ष स्थापना गरिने भएको छ । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले अस्पतालमा आफ्नो पहलमा पाँच शय्याको आइसोलेशन वार्ड स्थापना गर्न लागिएको पत्रकार सम्मेलनमा बिहीबार जानकारी दिए । 
 
सांसद श्रेष्ठले जिल्लाका विभिन्न पालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल, जिल्ला प्रहरी, कारागारलगायत कार्यालयमा मास्क, पिपिई, स्यानिटाइजरलगायत सामग्री हस्तान्तरण गरेका थिए । 
 
विपन्न परिवारलाई खाद्यान्न
 व्यासनगरपालिका– १ नं वडा कार्यालयले वडाका करीब एक सय जनालाई रु दुई लाख बराबरको खाद्यान्न वितरण गर्ने  भएको  छ । वडाध्यक्ष खरसिं दरैको अध्यक्षतामा बिहीबार बसेको संयुक्त बैठकले वडाभित्र भाडामा बस्ने विपन्न परिवारलाई चैत महिनाको भाडा मिनाहा गर्न घरधनीलाई अनुरोध गर्ने, विदेशबाट घर फर्किएका व्यक्तिको कडा निगरानी गर्दै क्वारेन्टाइनमा अनिवार्य बस्न लगाउनेलगायत निर्णय पनि गरेको छ । 

एक महिनाको भाडा मिनाहा  
व्यास–१ का तीन घरधनीले भाडामा बस्दै आएका विपन्न परिवारलाई एक महिनाको भाडा मिनाहा गर्ने प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता व्यक्त गर्नेमा निर्मल पण्डित, बादल आले र राधिका थापा छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अन्तर जिल्ला प्रवेशमा रोक 
जिल्ला प्रशासन कार्यालयले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशमा रोक लगाएको  छ । सवारी पास लिनेको संख्या बढ्दै गएको र लकडाउनको समेत उल्लंघन भएकाले पास वितरणमा पनि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए । 
 
तनहुँमा बुधबारसम्म ६२२ जनाले  सवारी पास लिएको जनाइएको छ । बिरामी,  कर्मचारी, खाद्यान्न र तरकारी बोक्ने गाडी तथा एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधनलाई निर्बाध चल्न दिइएको प्रशासन कार्यालयले जनाएको छ ।

विदेशबाट आउने बढे, क्वारेन्टाइनमा बढेनन् 
तनहुँमा रहेका दश वटै पालिका र तिनका मातहतमा रहेका वडास्तरमा समेत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा क्वारेन्टाइन र आइसोलेशन वार्ड स्थापना गरिएको छ । 

 यसैबीच तनहुँमा विदेशबाट आउने दैनिक बढे पनि क्वारेन्टाइनमा बस्ने भने बढ्न सकेका छैनन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिकामा गरी हालसम्म संकलन गरिएको तथ्याङ्कानुसार छ सय ८७ जना विभिन्न देशबाट घर फर्किएका भेटिएको तर क्वारेन्टाइनमा बस्नेको संख्या नबढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । रासस

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ०७:२५
प्रतिक्रिया दिनुहोस्