site stats
बाह्रखरी :: Baahrakhari
देश
असिनापानीले तरकारी र फलफूल बालीमा  क्षति

कास्की । पोखरा र आसपासमा बुधबार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पुर्‍याएको छ । दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरीसहित परेको असिना पानीले लेखनाथको केही स्थान सहित तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास तथा घारीपाटन, रातोपैह्रा विरौटा, भरतपोखरी, निर्मलपोखरी लगायतका स्थानमा लगाइएको तरकारी बालीमा ठूलो पुर्‍याएको हो ।

असिना र पानीले बारीमा लगाइएका घिरौला, काक्रा, बोडी, फर्सी, लौका, लगायतका लहरे तरकारी बालीका विरुवा तथा सुन्तला, कागती, मेवा, नासपति, लिचि जस्ता फलफूलका बोटमा भर्खरै लागेका फूल झारेर क्षति पुर्‍याएको स्थानीय कृषकले दुखेसो गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखरा ७ घारीपाटनका ऋषिकेश आचार्यले असिना पानीले हिउँदेबाली नष्ट गरेको जानकारी दिए ।  उनका अनुसार जस्ताका छानामा  असिनाको थुप्रो लागेपछि घर भित्र बस्न समेत जोखिम हुनुका साथै पानीको आहाल बनेसँगै सावेलको सहायताले असिना पन्छाइएको थियो । पोखरा १७ रातोपैह्राकी कृष्णमाया रानामगरले भने २२ वर्षको बसाईमा यति ठूलो असिना परेको पहिलो पटक हो ।

त्यस्तै असिना पानीले तनहुँको दुलेगौडा, ढोरफिर्दी लगायतका स्थानमा  पनि ठूलै क्षति पुगेको स्थानीयबासी उमादेवी भट्टराईले जानकारी दिए । भरखरै फुलेका सुन्तला, कागती, नासपति, लगायतका बोटका फुलहरु झार्नुका साथै उम्रदै गरेका घिरौला, काक्रा लगायतका लहरे बालीमा पनि असिनाले ठूलो क्षति पुर्‍याएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  २३:००
प्रतिक्रिया दिनुहोस्