site stats
बाह्रखरी :: Baahrakhari
देश
सुदूरपश्‍चिम प्रदेशमा एक हजार ७०७ जना क्‍वारेन्टाइनमा

अत्तरिया । सुदूरपश्चिम प्रदेशमा भारतसहित तेस्रो मुलुकबाट आएका एक हजार बढी व्यक्तिलाई क्‍वारेन्टाइनमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका एक हजार ७०७ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । 

कोभिड–१९ रोकथामका लागि प्रदेशका दुई प्रादेशिक अस्पताल, सात जिल्ला अस्पतालसहित स्थानीय तह र सेनाद्वारा तीन हजार ९७३ शय्याको क्‍वारेन्टाइन स्थापना गरिएको छ । निर्देशनालयले दिएको जानकारीअनुसार कैलालीमा एक हजार २० शय्याको क्‍वारेन्टाइन स्थापना गरिएको छ । जसमा अहिले ३३७ लाई राखिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै कञ्चनपुरमा ३०१ शय्या स्थापना भएकामा ३४, डडेल्धुरामा ४६१ शय्यामा ३९, डोटीमा ५१७ शय्यामा ३९८, अछाममा १७१ शय्यामा ६५ जना राखिएको जनाइएको छ । यस्तै बाजुरामा ४७० शय्यामध्ये ५८, दार्चुलामा ३३१ शय्यामध्ये १६८, बैतडीमा ७०२ शय्यामा ३१० र बझाङमा २९८ जनालाई क्‍वारेन्टाइनमा राखिएको जनाइएको छ ।

यस्तै प्रदेशमा २४९ शय्याको आइसोलेसन स्थापना गरिएको छ । कोरोना सङ्क्रमणको आशंकामा ४३ लाई भर्ना गरिएकामा ३२ डिस्चार्ज भइसकेको जनाइएको छ । प्रदेशमा हालसम्म शंकास्पद ४७ बिरामीको स्वाब संकलन गरिएको छ । संकलन गरिएको ४७ नमुनामध्ये ३१ को रिपोर्ट आइसकेको जनाइएको छ । ३१ रिपोर्टमध्ये एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने अन्य ३० मा नेगेटिभ देखिएको छ ।

नेकपा प्रदेश सदस्यलले कोष बढाउँदै
सुदूरपश्चिम प्रदेशसभामा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ३० प्रदेशसभा सदस्यले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषलाई आफ्नो १५ दिनको पारिश्रमिक दिने घोषणा गरेका छन् । प्रमुख सचेतक तारा लामा तामाङका अनुसार ३० जनाको १५ दिनको पारिश्रमिक रकम आठ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम कोषमा जम्मा गरिने घोषणा गरिएको हो । उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको सो कोषमा सांसदको रकम जम्मा गरिनेछ । नेकपाका प्रदेशसभामा ३९ सांसद रहेकामा मुख्यमन्त्री र मन्त्रीले एक महिनाको पारिश्रमिक दिने निर्णय गरिसकेका छन् ।

१२८ सवारी नियन्त्रणमा
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउन उल्लंघन गरी चलाइएका १२८ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरी चलाइएका मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएर चालकलाई सम्झाइबुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्‍नेतले बताए । दिनभर घरमा बसेर साँझ धेरैले लकडाउन उल्लंघन गर्ने गरेको पाइएपछि पछिल्लो समय कैलाली प्रहरीले निगरानीलाई थप कडा बनाएको जनाइएको छ । -रासस

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ११:३६
प्रतिक्रिया दिनुहोस्