एक सातादेखि बन्द छ चिया पसल

घरमा ताला लगाएर सेल्फ क्वारेन्टाइनमा बसेको परिवार

एक सातादेखि बन्द छ चिया पसल

काठमाडौं । मध्यबानेश्वरस्थित मिलन चोकमा उनको सानो चिया पसल छ । सुरु गरेको झण्डै १० वर्ष पुग्न लाग्यो । प्रहरी असईबाट पेन्सन पाकेपछि दोलखाका शंकर बस्नेतले सानो लगानीमा चिया–खाजा पसल खोलेका हुन् । 

चिया तथा खाजा पसलबाट दैनिक साढे तीन हजार रुपैयाँ चोखो कमाई गर्दै आएका शंकरले पसल बन्द गरेको एक साता हुुन लाग्यो । लक डाउन मंगलबारबाट सुरु भए पनि २५ जनाभन्दा धेरै भेला नहुनू भन्ने सरकारको निर्देशनसँगै उनको चिया पसल बन्द भयो । छेउछाउकाले पसल खोल्ने दुस्साहस गरे पनि उनले गरेनन् । कारण, सरकारी निर्णयलाई उनले नागरिककै स्वास्थ्यका लागि अघि सारेको कदमका रुपमा बुझे ।

“ज्यान रहे पछि पसल खोलौंला, कमाउँला, ज्यान नै नरहे केका लागि कमाउनु ?,” शंकर प्रश्न गर्छन्, “अवस्था सामान्य नहुञ्जेलसम्म पसल बन्द गर्ने हो, घरमै बस्ने हो ।”

पसल नजिकै छ, उनको घर । घरमा श्रीमती, एक छोरी र एक छोरा छन् । दुई तले घरमा शंकरको परिवार एक्लै छ । कोठामा बस्नेहरू कोरोना भाइरसको संक्रमणको हल्लासँगै सबै गाउँ फर्किए । शंकरको परिवारले घरलाई अहिले सेल्फ क्वारेन्टाइन बनाएका छन् । आफन्त र चिनजानकालाई पनि उनले आउन दिएका छैनन् । 

“आउँछु भन्नेहरूलाई पनि नआऊ, घरमै सुरक्षित भएर बस भन्छु । म पनि कसैकोमा जान्न । यो आफन्तजन तथा इष्टमित्रलाई भेटघाट र रमाइलो गर्ने समय होइन,” उनी भन्छन्, जसरी हुन्छ, एक्लै बस्ने हो । अरूसँगको घुलमिल नहुने हो, दूरी बढाएर बस्ने हो ।” 

सरकारले तरकारी तथा खाद्य सामग्री किन्नका लागि बिहान र बेलुका केही समय भीडभाड नगरी पसल खोल्न अनुमति दिएको छ । तर, शंकर र उनको परिवार तरकारी किन्न पनि बाहिर निस्किँदैन । 

“पसलमा सयौं जनाले छामेर÷छोएर छोडेको तरकारी हुन्छ । दिनरात सुरक्षाका लागि घर बसे पनि एकछिन तरकारी किन्न जाँदा त्यसबाटै कोरोनाको संक्रमण आफूसँगै घरमा आउँछ र पूरै परिवारमा सर्न सक्छ । त्यसैले घरमै गुन्द्रुक, तामा, क्वाँटी जे छ त्यही खाने हो, पर्याप्त सुरक्षा सर्तकता अपनाउने हो ।”

घर परिषरमा घरबेटीकै भए पनि शंकरले नै भोगचलन गर्दै आएको चारआना जति जग्गा छ । अहिले उनी त्यसमै तरकारी लगाउने तयारी गरिरहेका छन् । पानी लगाएर चिसो बनाएर खन्दैछन् । यहीबीचमा उनी तरकारी र मकै लगाउँदैछन् ।
“समयको सदुपयोग पनि हुने, पछि पोलेर खान ताजा मकै र केही तरकारी पनि हुन्छ”, शंकर भन्छन्, “यो फुर्सदको समय कटाउन पनि सजिलो हुने, काम पनि हुने ।”

त्यसो त उनलाई चिनेजानेका र घर छेउछाउकाले तास खेलौं पनि भन्छन् । तास खेलेर रमाउने र भीडभाड जम्मा गरेर जोखिम बढाउने समय होइन भन्दै शंकर भने घरको गेटमा ताला लगाएर बसेका छन् ।

शंकरले ०७२ को भूकम्प सम्झिए । ०७२ को वैशाख १२ गते ठूलो भूकम्प गयो । देश नै तहसनहस भयो । त्यसपछि निरन्तर त्यसका परकम्पहरू गए । त्राहीमामको अवस्था सिर्जना भयो । त्यो बेला पनि उनको चिया पसल यसैगरी बन्द भयो ।

उनीहरू त्यो बेला यसैगरी घरमा ताला लगाएर खुला चौर खोज्दै बाहिरिएका थिए । तर अहिले गेटको ताला लगाएर घर भित्रै छन् । तर चिया पसल चाहिँ उसै गरी बन्द छ ।
 

नरेश फुयाँल

प्रतिकृया दिनुहोस
ad