मुटु भए पो छापून् !

मुटु भए पो छापून् !

सम्माननीय प्रधानमन्त्रीज्यू ! आजैमात्र तपाईंले ‘राम्रा कामको प्रशंसा गर्न सम्पादकको मुटु छैन’ भनेर दिनुभएको मन्तव्यको पूर्णपाठ पढ्ने मौका जुर्‍यो । कार्यक्षमतामा ह्रास आइसकेको प्रत्यारोपित मिर्गौला, घरीघरी डायलाइसिस गराइरहनुपर्ने विवशताका बीच पनि नेपालका गिनेचुनेका सम्पादहरूको मुटु छाम्‍न भ्याउनु तपाईंको तिलस्मी क्षमता हो । शासन–सत्ताको मुटुमा बस्‍नेहरूलाई अरूको मुटुको हेक्का हुँदो हो । सायद । 

प्रधानमन्त्रीज्यू ! भन्नू केही होइन । समय अभावले हुनुपर्छ, सम्बोधनमा सम्पादकको मुटु छैन त भन्नू भएछ । तर किन, कसरी, के कारणले त्यो निष्कर्ष निकाल्नुभएको हो अझै नखुलेकाले केही सन्दर्भ प्रस्ट्याउने धृष्टता गरेको हुँ । 

मिर्गौला पुनः प्रत्यारोपणका लागि समय पर्खिइरहनुभएको छ । साताको दुई दिन अस्पताल धाउनुपर्छ । झन्डै चार घण्टा शरीर मेसिनलाई सुम्पनुपर्छ । पढ्ने समय नहोला । चिन्ता छैन, प्रधानमन्त्रीज्यू ! बालुवाटारमा तपाईंका अनुसेवी छँदै छन् । खबर सुनाउने वैतनिक पनि छँदै छन् । प्रधानमन्त्रीज्यू ! तपाईं निर्वाचित भएलगत्तै देशमा भ्रष्टाचार, अनियमितता, घुसखोरी बढेको होइन । यी अविच्छिन्न उत्तराधिकारवाला हुन् । थाहापत्तै नपाई कुर्सीमा लिसोझैं टाँसिएर आउँछन् । कुर्सीमा बस्‍न आउनेलाई आफूमै लीन गराउँछन् । 

त्यसैले होला तपाईंले पदबहाली गरेलगत्तै शपथ खानुभयो– म भ्रष्टाचार गर्दिनँ, सहँदा पनि सहन्नँ । आफैं मात्र शपथ खानुभएन । सिंहदरबारका ढोका–ढोकामा नागझैं टाँस्‍न लगाउनुभयो । देशलाई तपाईंले शासन गर्नुहुन्छ । सिंहदरबारलाई त्यही ‘नागपत्रिका’ले !

प्रधानमन्त्रीज्यू ! त्यसपछिका दिनमा भएका भ्रष्टाचार भयावह छ । तपाईंले नाम इंगित नगरी भन्नुभएका सम्पादकको मुटु हुन्थ्यो भने त्यसको हाँगाबिगा केलाउँथे । भ्रष्टाचारको तीनपुस्ते उतार्थे । भ्रष्टाचार नसहने प्रधानमन्त्रीको वरिपरि भ्रष्टाचारी मात्रै किन देखिन्छन् ? ओछ्यानसम्मै उनीहरूको पहुँच कसरी छ ? हाम्रो दृष्टिभ्रम पो हो कि ? पर्गेल्थे होला । अहँ, सम्पादकको ह्याउ देखिएन !

साँच्चै प्रधानमन्त्रीज्यू ! ३३ किलो सुन कहाँ छ ? त्यसको प्रतिवेदन धमिराको गोलामा बदलियो कि सग्लै छ ? प्रतिवेदनले डामेकाहरू को–को हुन् ? तिनको अनुहार कस्तो छ ? चूडामणि उप्रेती उर्फ गोरे नै मुख्य दोषी हुन् कि, निमित्त नायक ? त्यसको साइनो बालुवाटार, तपाईंकै पार्टीका भुक्तभोगी नेतासँग पो जोडिएको थियो कि ?

यी सम्पादकहरूको मुटु हुन्थ्यो भने यथार्थ नागरिकले थाहा पाउँथे । सरकार कुर्सीमा विराजमान भएदेखि सूचना लुकाउन भगिरथ प्रयत्‍न गरिरहेछ । मन्त्रिपरिषद् निर्णय थाहा पाउन त सात दिन पर्खनुपर्छ । परिपक्व हुन चौबीस घण्टा लाग्छ नै । २५ औं घण्टामा सार्वजनिक गरे के बिग्रन्थ्यो ? प्रतिवेदन सम्पादकको टेबलमा कसरी पुगोस् । सम्पादकको मुटु हुँदो हो त, सूचनाको हकको काम यहाँ आउँदो हो । 

सुन तस्करीको जरा काटिसकेँ भन्नुहुन्थ्यो ! ट्रकमा टनका टन सुन ओसारिन अब रोकिन्छ भन्नुभएकै हो । तर यो कस्तो रूख परेछ प्रधानमन्त्रीज्यू ! जरा काट्दा पनि हराभरा हुने ? सरकारलाई नै हाराबारा खेलाइदिने ? सुन तस्करीमा ठूला माछा समातिन्छन् भन्नुहुन्थ्यो । ती ठूला माछा कति धार्नीका छन् ? तिनीहरू कुन प्रजातिका हुन् । तिनको गोत्र के हो ? तिनीहरू रैथाने हुन् कि आप्रवासी ? तिनीहरूलाई माछाकै उपमा किन दिइयो ? समात्‍न खोज्यो कि चिप्लिइहाल्ने भएर हो ?

सम्पादकको मुटु हुन्थ्यो भने यी प्रश्‍न मृत्युवत् देखिँदैनथे । पत्रिकामा दिनहुँ जुलुस उठ्थे । देशमा सिन्डिकेट दूर भएको घोषणा गरेको निकै भइसक्यो । तर गाडी चढ्न किन सकस बेहोर्नुपर्छ ? रत्‍नपार्कतिर टहलिन सरकारलाई फुर्सद हुँदैन । कालो सिसामा छोपिएर हिँड्दा देखिँदैन पनि !

तर, सम्पादकहरूलाई यो सुविधा छ । दरबारमार्गतिर सन्ध्याकालीन पेयका लागि निस्कँदा बाटो त्यही पर्दो हो । प्याला उचाल्नुअघि यातायातको विद्रूप दृश्यमा ध्यान पुग्दो हो । 

सम्पादकहरूसँग मुटु हुँदो हो त गाडीमा चेपिएर, कुप्रिएर, खाँदिएर, खुम्चिएर चढ्न पनि किलोमिटर लाइन लाग्‍न विवश, दूधे बालक कोखिलामा च्यापेर लाइनमा उभिएका निमुखा महिलाहरूमा तिनको नजर अवश्य पर्दो हो !

काठमाडौंका खाल्डा पुर्न प्रधानमन्त्रीले चारपटक निर्देशन दिनुभयो । नाथे खाल्डो पुर्न पनि प्रधानमन्त्रीले नै उर्दी जारी गर्नुपर्ने दिन देख्दा स्वयं निर्देशनले पनि लज्जाबोध गर्‍यो होला कि, खाल्डाले कति जब्बर रहेछु भनेर गर्व गर्‍यो होला ? सम्पादकको मुटु हुन्थ्यो भने यी समाचार अखबारबाट बेपत्ता हुने थिएनन् । 

साँच्चै प्रधानमन्त्रीज्यू ! निर्देशनमाथि निर्देशन थोपर्ने तपाईंको कृत्यको नालीबेली उतार्ने र पछ्याइरहने ह्याउ यहाँका सम्पादकको छैन । कीर्तिपुरको खाल्डाले साइकलयात्री श्यामसुन्दर श्रेष्ठलाई निल्यो । सामाखुसीको ढलले सत्या सापाकोटालाई झन्डै निलेन । सम्पादकको मुटु नभएकैले काठमाडौंका सडकको दुर्दशा पत्रिकाले यदाकदा मात्रै स्थान पाउँछन् । समाचारलाई पछ्याइरहने अभ्यासतः यिनले पत्रकारिताको सैद्धान्तिक पाठ्यक्रममा मात्रै पढे । 

गएको साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपश्चात् हत्या भयो । साँझ साथीकहाँ ट्युसन पढ्न गएकी निर्मलासँग पनि तपाईंको जस्तो प्रधानमन्त्री नै बन्ने सपना हुँदो हो । तर, भोलिपल्ट उखुबारीको भेलमा क्षतविक्षत् अवस्थामा फेला परिन् । 

अपराधी पत्ता लगाउन माग गर्दै कञ्चनपुर आन्दोलित भयो । सरकारले चलाउन जानेकै बन्दुक हो । गोली दाग्‍न किन बाँकी राख्थ्यो ! शन्नी खुनाको ज्यान गयो । गोलीले खुट्टा खाएका अर्जुन भण्डारा अधमरो छन् । 

प्रहरी डेढ वर्षसम्म पनि अपराधीको पहुँचमा पुगेको छैन । तपाईंले यसमा पनि ओठे जवाफ दिनुभयो– कुनैकुनै घटनाका अपराधी १२–१३ वर्षमा पत्ता लाग्छन् । निर्मलाकी आमाले प्राण छँदै अपराधीको मुख देख्न पाउलिन् त प्रधानमन्त्रीज्यू !

एक वर्षसम्म त पत्रिकाले पनि नपछ्याएका होइनन् । तर ती छिट्टै हारमान्नु भए । निर्मला प्रकरणलाई पछ्याएका पत्रपत्रिकाले पनि अपराधको गहिराइमा पुग्‍नुभन्दा पनि अपराधी फैसला गर्नै तँछाड्मछाड् गरे । अपराधी को हो भन्नेमा सञ्चारमाध्यमको अनुमान ध्रुवीकृत भयो । परिणाम–प्रकरण झनै गिजोलियो । 

साँच्ची प्रधानमन्त्रीज्यू ! रक्षामन्त्री ईश्वर पोखरेलले ‘अपराधी पत्ता लागिसके, छिट्टै समातिन्छन्’ भनेर सार्वजनिक ठाउँमै भन्नुभएको हो । रक्षा मन्त्रालयले पत्ता लगाएको अपराधी को हो ? अपराधी खोज्‍ने विभागीय काम रक्षा मन्त्रालयमा कहिलेदेखि सर्‍यो ? पत्ता लागिसकेको भए अपराधी अहिलेसम्म किन पक्राउ परेनन् ? बलात्कारीको नाता सरकारसँग पनि जोडिएको रहेछ कि क्या हो ?

सम्पादकको मुटु हुन्थ्यो भने यी प्रश्‍नकै आधारमा रक्षामन्त्रीले पदबाट राजीनामा दिनुपर्थ्यो । गृहमन्त्रीको पनि कुर्सी धर्मराइसकेको हुने थियो । सम्पादकको मुटु नहुँदाको फाइदा ईश्वर पोखरेल र रामबहादुर थापा बादललाई सोध्नुहोला !

प्रधानमन्त्रीज्यूले बिर्सिएको नहुनुपर्ने हो, वाइडबडी जहाज घोटाला । दुई ठूला जहाज खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको ठहर संसदीय समितिले गरेको थियो । तर, संसदीय समितिलाई सरकारले विश्वास गरेन । गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन गर्‍यो । ४५ दिनको समयसीमा दिएर । खै कहाँ छ त्यो आयोग ? जिउँदै छ कि मर्‍यो ? सुनिन्छ, सरकारले नियुक्तिको पत्रै दिएको छैन ? नागरिकमाथि यत्रो धोका ! भ्रष्टाचारजस्तो संवेदनशील विषयमा पनि यस्तो खेलवाड !

प्रधानमन्त्रीज्यू ! त्यो पैसा राज्यकोषमा दाखिला भएको भए दुर्गम क्षेत्रमा सय विद्यालय थपिने थिए । त्यत्तिकै मात्रमा स्वास्थ्य संस्था बन्ने थिए । पढ्ने आर्थिक हैसियत नभएका बालबालिको अभिभावकत्व लिने ढोंग सरकारले रच्नु पर्दैनथ्यो ! सिटामोल नपाएर निमुखा मरेको समाचार बोकेर अखबारवाला आउँदैनथ्यो ! सुत्केरी लिन हेलिकप्टर लिएर मन्त्री पुगे भन्ने समाचार छापी बस्‍न पर्दैनथ्यो । 

सम्पादकको मुटु नभएकैले वाइडबडी काण्ड अहिले गुपचुप छ । 

प्रधानमन्त्रीज्यू ! सरकारी जग्गा संरक्षण गर्न शारदाप्रसाद त्रिताल आयोग गठन गर्नुभयो । सरकारी जग्गा संरक्षण गर्ने तपाईंको प्रयासको म मुक्तकण्ठले प्रशंसा गर्छु । तर तपाईंको नियतको पर्दा उघ्रन कत्ति पर्खनै परेन । 

प्रधानमन्त्री आवाससँगै जोडिएको ललिता निवासको आठ आना आफ्नै पार्टीको महासचिवको नाममा संरक्षित भएको थाहा पाएदेखि तपाईंको मुख टालिएको छ । जानी–नजानी व्यक्तिका पाइला कहिलेकाहीँ गलत कृत्यमा पर्छन् । विष्णु पौडेल निर्दोष नै हुनुहोला । तर स्पष्टीकरणसम्म किन सोध्नुभएन ? कि तपाईंको गुटमा मिसिएपछि यस्तै–यस्तै छुट मिल्छ ?

तपाईं अध्यक्ष रहेको पार्टीलाई ‘नेकपा बालुवाटार’ किन नभन्ने भनेर कुनै सम्पादकले प्रश्न गरेका छन् ? मुटु भए पो गर्नु !

तपाईंले सरकारी जग्गाको खोजबिन किन गरिरहनु भएको छ भन्ने घामजत्तिकै छर्लंग भइसक्यो । मुटु नभएका सम्पादकले नलेखे पनि संरक्षित जग्गा यतीलाई बुझाउन हो भन्नेमा नागरिक ढुक्क छन् । 

प्रधानमन्त्रीज्यू ! मेरो घरछेउमा भूमाफियाको आँखा नपरेको पुग नपुग १२ आनाजति पर्ती जग्गा छ । तपाईंलाई थाहा छैन होला । थाहा भएको भए यतिबेलासम्म बच्‍नु नपर्ने हो । नेपाल ट्रस्टको मात्रै किन ? यो पनि यतीलाई नै दिनूस् । 

आङछिरिङ शेर्पा अस्ताइहाले । उनका सन्तान, दरसन्तानले भए पनि आशिष देलान् । देश शेष बनाउन प्रधानमन्त्रीबाटै साथ पाउनु चानचुने कुरा हो र ! उनीहरूका पुस्ता, दरपुस्ताले यसमा पक्कै गर्व गर्नेछन् । 

प्रधानमन्त्रीज्यू ! ठूला भ्रष्टाचारमा राष्ट्रिय सहमति छ । सत्तापक्ष–प्रतिपक्ष मिलिभगत छ । देशको ढुकुटीमा लामो हात गर्न नेकपा, कांग्रेस, समाजवादी, राजपा कोही कम छैनन् । यिनका नामका अगाडि, पछाडि जतासुकै भ्रष्टाचार जोडिदिए हुन्छ । यसकारण कि, यिनलाई जनताले फरक पार्टीका रूपमा बुझेका छैनन् । एउटै भ्रष्टाचार पार्टी !

प्रतिपक्ष भ्रष्टाचार, अनियमितताको मुद्दा उठाउनै नसक्ने गरी थलिएको छ ! भ्रष्टाचारको कालो छायामा किन शेरबहादुर देउवाको अनुहार छुट्दैन ? सायद सम्पादकसँग मुटु हुन्थ्यो त यी प्रश्नले जरुर बाटो बथान्थे ।

अहिले राष्ट्रिय अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान विभागजस्ता ठूला संस्था र ठूला परियोजना प्रधानमन्त्री मातहत ल्याइएको छ । होइन प्रधानमन्त्रीज्यू ! अहिले भ्रष्टाचारचाहिँ बालुवाटार केन्द्रीकृत भएको छ । 

तपाईं भन्नुहोला, मुटु नहुँदा–नहुँदै पनि यी सम्पादकले कृष्णबहादुर महराको जागिर खाइदिए । होइन प्रधानमन्त्रीज्यू ! तपाईंले मुटु छैन भनेका सम्पादकको हिम्मत होइन त्यो । मूलधारभन्दा पर रहेका अनलाइनका सम्पादकले साहस बटुलेका थिए । पूर्वसभामुख महराको वर्षौंदेखिको हर्कतको सूचना मूलधारे मिडियाले पनि नपाएका होइनन् । खोइ किन हो बेपत्ता बनाइदिए । सम्झिएँ, मुटु भए पो छापून् !

मिडियाको मुटु व्यावसायिक संघ–संस्था, समूह, गृह, घराना अधिनस्थ छन् । सम्पादकको मुटु मालिक अधिनस्थ छ । ठूलो व्यावसायिक घराना दुहुनो गाई बनेदेखि समाचार बेत बसेको छ । 

तपाईंले आज चाल पाउनुभएछ प्रधानमन्त्रीज्यू ! नेपालका मिडिया हिजैदेखि नै मुटुबिना चलिरहेका छन् । बाहिरबाट हेर्दा जिउँदो देखिन्छन् । तिनको प्राण मरेको उहिल्यै हो । 

संसद दुई अध्यक्ष व्यक्तिगत स्वार्थको बन्धक छ । जनताको आवाज बोल्ने थलो सत्तारुढको यसरी सिकार भएको पहिलोपल्ट हुनुपर्छ । मुख्य प्रतिपक्ष नेपाली कांग्रेस मुद्दाहरूबाट किन बेखबर छ ? सम्पादकको मुटु नभएकाले हुनुपर्छ प्रश्नको गर्भगृहमा भोटेताल्चा झुन्डिएको छ । 

दस वर्षदेखि बक्यौता नपाएका उखु किसान सरकार खोज्दै काठमाडौैं आए । तर रामविलास महतोको आँसु माइतीघरमा नबग्दासम्म मुलुधारे मिडियालाई थाहा पत्तै भएन । अहिले सुदखोरीलाई कारबाहीको माग गर्दै गावैं उल्टिएर सिंहदरबार आउँछ । त्यसपछि मात्रै सम्पादकहरूलाई कानमा बतास लाग्छ । 

अस्ति तपाईंकै रोहवरमा केही पत्रकारले पद तथा गोपनीयताको शपथ खाए । सरकारको कामको सक्दो बचाउ गर्ने ‘भीष्म–प्रतीज्ञा’ लिएर फर्किए । 

सम्पादकहरूको त मुटु थिएन थिएन, पत्रकारले पनि मुटु बालुवाटारमै छोडेर आउने संस्थागत थालनी हजुरकै पालाबाट सुरु भएको छ । यसमा पनि सम्पादक मौन बसिदिए । मुटु भए पो आफ्ना संवाददातालाई सत्ताको शपथ खान रोकून् !

अन्तिममा,
सम्पादकको मुटु नभएकामा कृतज्ञ हुनूस् प्रधानमन्त्रीज्यू ! कदाचित् सम्पादको मुटु भइदिएको भए यतिबेला तपाईं बालुवाटार होइन बालकोटको बरन्डामा पाहार तापिरहेको हुनुहुन्थ्यो । 

कम्तीमा प्रधानमन्त्रीको जागिर बचाइदिएकामा अनुग्रहित त हुनूस् !
उही अक्षर काका
 

प्रतिकृया दिनुहोस
ad