काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको भेलामा सहभागी हुन काठमाडौं आइपुगेका जिल्ला सभापतिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले लन्च पार्टी दिने भएका छन् ।
काभ्रेका जिल्ला सभापति मधु आचार्यका अनुसार सभापति देउवाले बिहीबार बिहान १० बजे बूढानिलकण्ठमा जिल्ला सभापतिहरुलाई 'लन्च पार्टी'का लागि बोलाएका हुन् । यसबारेको निर्णय केही समयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने छ ।
सोमबारबाट सुरु भएको जिल्ला सभापति भेला बुधबार सकिएको छ । काभ्रे सभापति आचार्यले भने, "तीन दिन चलेको बैठक सकिएको छ । सभापतिज्यूहरुले आ-आफ्नो सुझाव लिखितरुपमा सभापतिज्यू र वरिष्ठ नेतालगायतलाई बुझाउने छन् । यसैबीच सभापति देउवाले भेटघाटका लागि आफ्नो निवास बूढानिलकण्ठमा बिहीबार १० बजे बोलाउनु भएको छ ।"
भेलामा ४३ जिल्लामा सभापतिहरुको उपस्थिति थियो ।