चितवन । ईच्छाकामना गाउँपालिका वडा नम्वर ३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हाम फालेर मृत्यु भएका भनिएको नेपाली सेनाका जवान राम कंडेलको परिवारले किटानी जाहेरी दर्ता गराएका छन् । अस्थायी प्रहरी चौकी फिस्लिङ्मा कार्यरत प्रहरी जवान ठाकुर ढकालको नाममा मृतकका परिवारले हत्याको भएको आशंका गर्दै आइतबार किटानी जाहेरी दर्ता गराएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले किटानी जाहेरी परेको र ढकाललाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको जानकारी दिए ।
इच्छकामना गाउँपालिका वडा नम्बर ५ निवासी २८ वर्षीय राम कंडेल इच्छाकामना गाउपालिका वडा नम्बर ३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीमा राखिएको समयमा कार्यालयको तलाबाट हाम फालेर घाइते भएको प्रहरीले बताएको थियो । गम्भीर घाइते भएका कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।