शैक्षिक मुद्दामा ‘गयल’ विद्यार्थी संगठन किन चाहियो ?

शैक्षिक मुद्दामा ‘गयल’ विद्यार्थी संगठन किन चाहियो ?

पञ्चायतका काला रात । दलहरू प्रतिबन्धित थिए । चेत खुला थियो । समय खुला थियो । त्यही बन्द परिवेशभित्र जन्मिए अहिलेका ठूला भनिएका विद्यार्थी सङ्गठन । त्यसले नयाँ चेतनाको विगुल फुक्यो । राजनीतिक चेतना सञ्चार गर्ने र क्रान्तिको आगो फुक्ने काम गर्न थाल्यो ।

राजनीतिक दलका विचार, अजेण्डाहरू जनताका बीचमा पुर्‍याउने सेतुको भूमिका निर्वाह पनि विद्यार्थी सङ्गठनले गरे ।

र त, पञ्चायती काला रात चिर्न विद्यार्थी सङ्घसङ्गठनको राँको, मसाल पर्याप्त भए । विसं २०३५–०३६ को विद्यार्थी आन्दोलनले निर्विकल्प भनेको पञ्चायती व्यवस्थाको विकल्प देखायो । विकल्पमात्रै देखाएन । जनता मुख बाँधेर बसेका छैनन् । राज्यका बन्दुकका सामु निरीह छैनन् । हकअधिकार कुण्ठित तुल्याए मर्न तयार छन् भनेर पनि देखाइदियो ।

परिमाणतः पञ्चायती सरकारले आधा घुँडा टेक्यो । जनमत सङ्ग्रहको घोषणा गर्न बाध्य भयो । भलै राजनीतिक दलले त्यसको उपयोग ठीक ढङ्गले गर्न जानेनन् । जनताको बीचमा आफूलाई स्थापित गर्न चुके । जनमत सङ्ग्रहलाई उपयोग गर्ने कि निषेध गर्ने ? यो घोषण जनताको हितमा छ कि अहितमा भनेर दलहरू गलफत्तीमा लागे । परिणाम पञ्चायतकै पोल्टामा पर्‍यो । 

विद्यार्थी आन्दोलनको अभ्युदयताका उनीहरूको काम मूलतः राजनीति नै थियो । उनीहरू राजनीतिक दलको स्नायु प्रणाली मानिन्थे । जनताको बीचमा विचार प्रवाह गर्थे । विद्यालय विश्वविद्यालयमा त पढ्थे तर उनीहरूको मुख्य ध्येय शैक्षिक सुधार, प्राज्ञिक उन्नयन र विद्यार्थीको वर्गीय हित थिएन । विद्यार्थी आन्दोलनको झन्डा र मसाललाई कुनै निश्चित राजनीतिक उद्देश्य प्राप्तिको औजारका रूपमा प्रयोग गर्ने अभीष्ट थियो ।

राजनीतिक दल त्यो अभीष्ट पूरा गर्न सफल देखिए । विद्यार्थी संगठन स्थापनाको औचित्य विभिन्न कालखण्डमा पुष्टि हुँदै पनि आएको छ । र, विद्यार्थी सङ्गठन राजनीतिक परिवर्तनको कोसेढुङ्गा साबित पनि हुँदै आएका छन् । विद्यार्थी सङ्गठनले कहिले राजनीतिक दलसँगै त कहिले उनीहरूभन्दा दुईकदम अघि बढेर आफ्नो भूमिका सिद्ध गर्दै आएका छन् । तर २०६२–६३ को जनआन्दोलनपछि उनीहरूको भूमिकामा सङ्कुचन आएको छ ।

संविधानसभामार्फत् संविधान निर्माणको कार्यभार पूरा भएपछि दलहरूले भन्न थालेका छन्– राजनीतिक आन्दोलन सकियो । अब अधिकारका लागि कुनै लडाइँ लड्नुपर्दैन ।

राजनीतिक दलका विचारवाहक बनेका विद्यार्थी सङ्गठनको उपादेयता नरहेको तर्क पनि आइरहेका छन् ।

मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको पनि दशक नाघिसकेको छ ।  देशका ठूला भनिएका राजनीतिक पार्टीहरु राजनीतिक आन्दोलन सकिएकोमा एकमतजस्तै देखिन्छन् । उनीहरूको साझा मत छ — अब पालो आर्थिक समृद्धिको हो । राजनीतिक क्रान्ति होइन अब आर्थिक क्रान्ति देशको साझा ‘मार्गभित्र’ भएकोमा करिब करिब मतैक्य छ । आर्थिक क्रान्तिको प्रस्थान विन्दु हो शिक्षामा सुधार । सोही अनुरूपको शिक्षा निर्माण ।

तर यहाँका विद्यार्थी सङ्गठन झिनामसिना स्वार्थको लिगलिगे दौडमा छन् ।  देशका लागि आवश्यक जनशक्ति कसरी उत्पादन गर्ने ? देशले सोचेको आर्थिक समृद्धिका लागि कस्तो शैक्षिक जनशक्ति उत्पादन गर्ने ? विद्यार्थी सङ्गठनको मथिङ्गलमा छैन । पुरानै जिन्दावाद, मुर्दावादवाला नारामै अभ्यस्त छन् विद्यार्थी सङ्गठन । आफ्नो दल र दलभित्रै निकटस्थ नेताको ताबेदारी प्राथमिकतामा पर्दा राजनीतिक मुद्दामा ‘डिस्टिङ्सन’ ल्याएका विद्यार्थी संगठन शैक्षिक मुद्दामा ‘फेल’ छन् ।

कठघरामा विद्यार्थी संगठन !

दलहरूले राजनीतिक उद्देश्य प्राप्तिका लागि जन्माएका विद्यार्थी संगठनको औचित्य के ? किन चाहिन्छ यी विद्यार्थी संगठन ? हिजो राजनीति फल्ने, फुल्ने शिक्षण संस्थामा आज यस्तो बहस सुन्न पाइन्छ ।

विद्यार्थी सङ्गठको उनै फलाका सुन्दासुन्दा वाक्क भएकाहरूले दिक्क हुँदै भन्न थालेका छन् — बरु शिक्षालयलाई राजनीति मुक्त क्षेत्र बनाऊँ । कलेजका कक्षा कोठाबाट सुरू भएको राजनीति विश्वविद्यालयको थाप्लामा पुगेर त्यसले विकृति, विसङ्गतिमात्रै हुर्काउन थालेपछि जन्मिएको अभिव्यक्ति हुनसक्छ यो ।
विश्वविद्यालय राजनीतिले जीर्ण तुल्याइसकेको छ । अहिले ती धमिरा लागेको पुरानो घरजस्तै भएका छन् । र, सम्भावित भू कम्पीय जोखिमको सन्निकट छन् ।

राजनीतिक पक्षधरता र विचारविविधताको रोग लागेका विद्यार्थी सङ्गठन विश्वविद्यालय सुधारको नारा लगाउन सक्ने अवस्थामा छै्रनन् । माउ पार्टीको नियुक्ति चउरमा बसेर सुन्ने र नतमस्तक बन्दै शिरोपर गर्ने अवस्थामा छन् । कत्तिको अवस्था त त्यत्तिको पनि छैन । ती त कोमामा पुगेको बिरामीको अवस्थामा छन् । अझ उनीहरूका लागि मरणासन्न विशेषण उपयुक्त हुन्छ ।

निजी कलेजका विद्यार्थीहरूको जमघटमा एक विद्यार्थी भन्दै थिए, ‘स्टुडेन्ट अर्गनाइजेशन’ छैन हो आजकाल । त्यसो भन्नुअघि मेडिकल कलेजमा भइरहेका आन्दोलनको विषयमा चर्चा हुँदै थियो त्यहाँ ।

अहिले चिकित्सा शिक्षामा बढी शुल्क लिइएको भन्दै विद्यार्थीहरू आन्दोलनमा छन् । चितवन मेडिकल कलेजबाट सल्किएको आन्दोलन डढेलोझैँ फैलिएर माइतीघर आइपुगेको छ । सेतो अप्रोन लगाएका भोलिका चिकित्सक भन्दैछन्– बरु मर्छौं तर माफियातन्त्रको जालो तोडिछाड्छौँ । मेडिकल माफियाविरुद्ध विद्रोहको मसाल मेडिकल कलेजका चिकित्सक बन्ने अनुहारले बोक्नुपरेपछि विद्यार्थी सङ्घसङ्गठनको सानामझौला र ठूला कार्यालय खुलिरहनुको औचित्य के ?

मेडिकल शिक्षाको विकृतिविरुद्ध मान्यता थापाहरू सडकमा आउनुपरेपछि शैक्षिक आन्दोलन नेता सङ्गठन भनिरहनु पनि सुगा रटाइ होइन र ? चिकित्सा शिक्षाभित्रको बेथितिबारे प्रा. डा. गोविन्द केसी नै पटकपटक अनशन बस्नुपरेपछि विद्यार्थी आन्दोलनको आवश्यकता नै के रह्यो र !

विद्यार्थी सङ्गठन न अहिले मेडिकल क्षेत्रको विकृतिबारे मुख खोल्न सक्ने अवस्था छन् न मान्यताहरूसँग जुलुसमा मिसिन । यसरी कुँजो बनिरहेको विद्यार्थी आन्दोलनले शैक्षिक क्रान्ति र परिवर्तनलाई दिशा दिन सक्छ ? 

किमार्थ सक्दैन !

सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु निद्रामा छ । उसलाई लाग्दो हो, देश ठिकठाक चलिरहेका बेला कहाँबाट हल्ला गर्न आइपुगे यी भविष्यका डाक्टरहरु । लाग्दो हो, महाधिवेशन र अरू बेलामा खर्चपर्च टार्दिनेविरुद्ध कसरी ‘मुर्दावाद’ भनूँ ।  प्रमुख प्रतिपक्षी दल कांग्रेसको नेविसंघ भन्ने विद्यार्थी संगठन अहिले अस्तित्वमा छैन । बेलैमा महाधिवेशन गर्न नसकेपछि अध्यक्षले राजीनामा दिएको महिनौं भइसक्दा अर्को अध्यक्ष फेला परिसकेको छैन ।

नेविसङ्घमा आबद्धहरू केन्द्रीय समितिमा आफू आउन वा अरूलाई रोक्न नेताको घरदैलामै व्यस्त छन् । लाग्छ, तिनको संसारमा मेडिकल माफियाविरुद्ध भइरहेको आन्दोलनको कुनै सुइँको छैन । तिनकहाँ पनि मेडिकल माफियाको दानापानी बेलाबेलामा पुगेकै होला । मुख खोलिहाल्न नैतिक दबाब पनि होला । सत्तारूढ र प्रतिपक्षी दलका नेताहरूको प्रत्यक्ष, परोक्ष संरक्षण समेत रहेकाले मेडिकल शिक्षाको क्षेत्रमा दन्किरहेको विद्यार्थी आन्दोलनको आगो उनीहरुले ‘अन्देखा’ गरिरहेका पनि होलान् । 

औचित्यको प्रश्न

नेविसंघ नहुँदा कहाँ कति अभाव खड्कियो ? अनेरास्ववियु मौन रहँदा पनि कसरी उठ्यो होला चितवनमा विद्यार्थी आन्दोलनको राप ? नेविसंघ र अखिल मौन बस्दा कुन शैक्षिक मुद्दामा समस्या प¥यो होला ? उनीहरू सक्रिय भएको भए अहिले नभएका के कुरा भइरहेका हुन्थे होला ? विद्यार्थीहरुले ठूला  विद्यार्थी संगठन कतै नदेखिँदा पनि किन नखोजिरहेका होलान् ?

यी प्रश्नको सेरोफेरोमा अबको विद्यार्थी संगठनको औचित्यको जवाफ खोजिनुपर्छ । पछिल्ला केही वर्ष यता विद्यार्थी राजनीति कमजोर बन्दै गएको छ । सरकारी शैक्षिक संस्थामा केही संगठन भएपनि धेरै विद्यार्थी भएका निजी कलेजमा उनीहरूको शून्य उपस्थिति छ । यसका अर्थ विद्यार्थीसम्मै पनि उनीहरू पुग्न सक्दैनन् । 

चिकित्सा शिक्षाका माफियाविरूद्ध सचेत विद्यार्थीको आन्दोलन डँढेलो बनिसकेको छ । र, यसले देशव्यापी आकार ग्रहण गरेको छ । मान्यता थापा र प्रकाश चन्दले जत्तिको शैक्षिक माफियाविरूद्ध आन्दोलनको जेहाद छेड्न नेविसङ्घ र अखिलले किन हिजो नसकेका होला ? सतारूढ विद्यार्थी संगठन निद्रामा र प्रतिपक्षी विद्यार्थी संगठन कोमामा हुँदा पनि शैक्षिक माफियाविरूद्ध आन्दोलन सशक्त बन्दै छ त ।

विद्यार्थी स्वतःस्फूर्त आन्दोलनमा हुँदा दल र नेताको ताबेदारी गर्ने, माफियासँग गठजोडमा रमाउँदै आएका विद्यार्थी संगठनले आफ्नो औचित्य कसरी पुष्टि गर्लान् ? चिकित्सा शिक्षा क्षेत्रका माफियाले विद्यार्थीलाई बन्धक बनाइरहँदा, गुन्डा लगाएर कुटपिट गरिरहँदा चुइँक्क आवाज निकालेका छैनन् तीनले । 

विद्यार्थी आन्दोलनको यो पुस्ताको नेतृत्व मान्यता थापा र प्रकाश चन्दहरूले गरिसकेपछि आफूलाई ठूलो दाबा गर्ने विद्यार्थी संगठन एकपटक पुनः औचित्य पुष्टि गर्नुपर्ने ठाउँमा पुगेका छन् । आफ्नो वर्गीय मुद्दामा ‘गयल’ भएपछि विगतको इतिहासकै ब्याजमात्र खाएर कति दिन औचित्य साबित भइरहला ? 
 

जगन्‍नाथ दुलाल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad