site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्रीज्यू,बसरुद्दिनहरूबाट मेडिकल शिक्षा बचाउनूहोस् !
Ghorahi CementGhorahi Cement

नेपालीहरू दीपावलीको रमझममा रहे पनि मान्यता थापा प्रकाश चन्दलाई बेग्लै चटारो छ । गत बुधबार वीरगञ्जमा नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले त्यहाँ अध्ययनरत विद्यार्थीमाथि हुलहुज्जत गरेपछि पीडा सुनाउन थापा र चन्द काठमाडौं आए । रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै चिकित्सा क्षेत्रको विकृति उजागर गरे ।
मान्यता राजनीतिकर्मी होइनन् । न त उनी कुनै विद्यार्थी सङ्घ–सङ्गठनमा आवद्ध नै छिन् । परिस्थितिले उनलाई आन्दोलनकारीको उपमा थमायो । मान्यता यो छविलाई लामोसमय कायम राख्न चाहन्नन् । तर माफियाहरूले चिकित्सा क्षेत्रलाई यसरी घेराबन्दी बनाएका छन् कि मान्यताले आन्दोलनबाट अवकास पाउने छाँट देखिँदैन । 

 

आन्दोलनकारीका रूपमा उनको छवि उद्दीप्त भएको नेशनल मेडिकल कलेजमा धर्ना बसेदेखि भने होइन । उनी अध्ययनरत चितवन मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क अशुल्न थालेपछि उनले विद्रोहको विगुल फुकिन् । झण्डै महिना दिन आन्दोलन गरेपछि कलेजले एकमहिनाभित्र शुल्क फिर्ता गर्न राजी भयो र आन्दोलन स्थगन पनि भयो । कलेजले सहमतिको पालना गर्छ कि गर्दैन पर्ख र हेरको अवस्थामा छन् थापालगायत चिकित्सा शिक्षा सङ्घर्ष समिति । त्यसो त यो आन्दोलन गण्डकी मेडिकल कलेजबाट सुरू भएको थियो । अहिले त्यसको फैलावट बढ्दै नेशनल मेडिकल कलेजसम्म पुगेको छ । र, माफियाविरुद्ध मेडिकल कलेजकै विद्यार्थी सङ्गठित हुँदैछन् । यिनै विषयमा आधारित भएर अक्षर काकाले थापासँग गरेको कुराकानीको सम्पादित अंश :–

चितवन मेडिकल कलेजको आन्दोलन कहाँ पुग्यो ?

Agni Group

चितवन मेडिकल कलेजको विद्यार्थीहरूका लागि प्रतीक्षाको घडी चलिरहेको छ ।  एकमहिनापूर्व जिल्ला प्रशासन कार्यालयको रोहवरमा, प्रहरी प्रशासन, चितवन मेडिकल कलेज, आन्दोलनरत विद्यार्थी र अभिभावकको बीचमा त्रिपक्षीय समझदारी भएर आन्दोलन स्थगित भएको थियो । 

त्यतिबेला दुईवटा महत्त्वपूर्ण उपलब्धी भएका थिए । पहिलो, चितवन मेडिकल कलेजले अतिरिक्त शुल्क अशुल गरेको स्वीकार गरेको थियो । दोस्रो, अशुल गरेको शुल्क निश्चित समावधिभित्र फिर्ता गर्ने लिखित सहमति गरेको थियो । सहमतिअनुरूप कलेजले अशुल गरेको अतिरिक्त शुल्क फिर्ता किस्ता (इन्सटलमेन्ट)मा समायोजन गर्नुपर्नेछ  । सहमतिको म्याद कात्तिक १८ गते सकिँदैछ । हो, हामी त्यही तिथि कुरिरहेका छौं ।

Global Ime bank

स्याबास् ! मान्यता 

यहीबीचमा एमबीबीएस तह, दोस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीहरूको किस्ता बुझाउने समय पनि हुँदैछ । उहाँहरू समाजोनको ब्याज पनि हो । हेरौं त्यो समयमा कलेज प्रशासन सम्झौता–समझदारीप्रति कत्तिको इमान्दार भएर प्रस्तुत हुन्छ । कदाचित् सम्झौता पालना भएन, कलेज प्रशासन इमान्दार भएन भने आन्दोलन हाम्रा सामु निर्विकल्प बन्छ ।

भोलिका डाक्टर, चिकित्साजस्तो गम्भीर र संवेदनशील शिक्षामा हुनुहुन्छ, नाराबाजी गर्नुपर्‍यो, धर्नामा बस्नुपर्‍यो, जुलुसको नेतृत्व गर्नुपर्‍यो ! यस्तो दुःखद् अवस्थाको निर्माण कसरी भयो ?

अहो ! कस्तो प्रश्न गर्नुभयो ! त्यही त हगी ?

हामी जतिजति आन्दोलनको नेतृत्व गर्दै जान्छौं । मेडिकल शिक्षाको वेथितिप्रति आवाज उठाउँदै जान्छौं । सरकारलाई आफैंले बनाएको कानुन कार्यान्वयन गर भन्दै जान्छौं । मेडिकल कलेज सञ्चालकहरूलाई जिम्मेवार बनाउन खोज्छौं । नैतिकवान बनाउन खोज्छौं । उति नै हामीलाई निराशाको अन्त्यहीन भुवँरीमा परेको आभास हुन्छ । राज्यको नीति र नेतृत्वप्रति चरम वितृष्णा पैदा हुन्छ । हामी कस्तो राज्यप्रणालीमा हुर्किइरहेका छौं ? हाम्रो र मेडिकल शिक्षाको भविष्य कस्तो होला ? यावत प्रश्नले बेस्सरी पिरोल्छ ।

कहिलेकाहीँ एकान्तमा बस्दा गम्छु, घोत्लिन्छु, शिकित्सा शिक्षा पढिरहेको आफ्नै अनुहार हेर्छु र मनमनै आफैंलाई प्रश्न गर्छु– म त मेडिकल शिक्षा पो पढिरहेको छु । गहन अध्ययन र अनुसन्धानको विषय हो यो । म अमुक विद्यार्थी सङ्गठनको नेता होइन । कालान्तरमा गएर चिकित्सा क्षेत्रको नेतृत्व गर्ने, राज्यको उपल्लो तहमा पुग्ने पनि होइन । 

शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्छौं । सबैलाई सर्वसुलभ शिक्षा दिन्छौं । विभेदरहित शिक्षा दिन्छौं भन्नेहरू कहाँ गए ? र, उनीहरूले उठाउनुपर्ने आवाज हामी आफैं उठाउन अभिशप्त छौं । प्रश्नहरूले गिजोल्छन् मलाई ।

अहिले सबैले हामीलाई चिकित्सा शिक्षा सुधारका नेता भनेर चिन्न थाल्नुभएको छ । तर के हाम्रो पेशा आन्दोलन, सङ्घर्ष हो त ? यसैका लागि हामीले चिकित्सा शिक्षा पढेका हौं त ? परीक्षाको तयारी गर्नुपर्ने बेला आन्दोलनको तयारी गर्नुपरेको छ । अभिभावकहरू सहमति, सम्झौताको साक्षी बस्नु परेको छ ।
आवाज उठाउनुपर्ने जिम्मेवार निकाय, सङ्घ, सङ्गठनकालाई कसैले चिन्दैन ।

खै किन हो उहाँहरू बोल्न हिचकिचाइ रहनुभएको छ । समस्या जसलाई पर्‍यो, वेथितिको सिकार जो भयो त्यहीमात्रै बोल्नुपर्ने हो भने त्यस्ता सङ्घ, संस्थाको उपादेयता नै के रह्यो र भन्ने प्रश्न पनि उब्जिएको छ ।

भनेपछि विद्यार्थी सङ्गठनहरूले तपाईंहरूको पीडा बोलेनन् ? सुनेनन् ? 

सम्पूर्णरूपमा होइन । पछिल्लो समय उहाँहरूले ऐक्यवद्धता जनाउनुभएको छ । प्रतिवद्धता जनाउनुभएको छ । हामीसँगै जोडिन पनि आइपुग्नुभएको छ । चिकित्सा शिक्षा सुधारको पक्षमा हामी सबै एकट्ठा भएका छौं । तर हाम्रो चाहना यतिमात्रै होइन । उहाँहरू विकृति, विसङ्गतीबारे अनभिज्ञ त हुनुहुन्नथ्यो नि ! अतः सङ्घ/संस्थाले आफैंले पहलकदमी लिऊन् । समस्याकाबेला सत्तासमर्थक र विद्यार्थी सङ्गठन छुट्टियोस् । सकेसम्म आन्दोलन नै गर्नुनपरोस् भन्ने हाम्रो चाहना हो ।

मेडिकल कलेज सञ्चालकको अघिल्तिर सरकार लाचार प्रतीत भयो, हो ?

यो कुराले मलाई पनि अचम्भित बनाएको छ । राजनीतिबाट पर रहे पनि सरकारको यस्तो भूमिकाको कल्पना हामीले गरेका थिएनौं । सरकारको भूमिका बलशाली नै हुनुपर्छ ।

नेशनल मेडिकल कलेज, जहाँ विद्यार्थीमाथि खुलमखुल्ला धरपकड भएको छ । गुण्डागर्दी भएको छ । चिकित्सा शिक्षा पढ्न आएका विद्यार्थीमाथि कुटपिट भएको छ । हाम्रा प्रधानमन्त्री तिनै बसरुद्दिन अन्सारीसँग कुम जोडेर फोटो खिच्नुहुन्छ । अर्का व्यक्ति जो कुटपिटमा प्रत्यक्ष संलग्न छन् तिनीसँग पनि प्रधानमन्त्रीज्यू फोटो खिचाउनुहुन्छ । उहाँको पार्टीले बसरुद्दिनलाई मेयरको टिकट थमाउँछ । पदले पुरस्कृत गर्न खोज्छ । यो फोटो र परिघटनालाई हामीले कसरी लिने ? चिकित्सा शिक्षामा लागेका विद्यार्थीले कसरी बुझ्ने ?

सरकारले एउटा रकम तोेकेको छ । कानुन बनाएर । त्यो लागु गर भनेर विद्यार्थी सडकमा आउनुपर्ने विडम्बनाको कुरा होइन ? लज्जाको विषय होइन ? कानुन बन्नुपूर्वको बहस छलफल होला, कानुन बनेपछि मान्दिन भन्न पाइन्छ र ? कानुन उलङ्घन क्षम्य हुन्छ र ? कानुनको अटेर गर्ने सजायको भागिदार हुँदैनन् र ?

मेडिकल शिक्षा सुधारका लागि डा. गोविन्द केसी लामो समय अनसन बस्नुभयो । उहाँको सङ्घर्षकै बलमा चिकित्सा शिक्षा ऐन पनि निर्माण भयो । तर पनि मेडिकल शिक्षा क्षेत्रको बेथिति रोकिन सकेन, दुर्भाग्य होइन र ?

डा. गोविन्द केसीकै कारण मैले चिकित्सा शिक्षामा पाइला राख्न पाएकी हुँ । डा. केसी हुनुहुन्नथ्यो, उहाँले सत्याग्रह गर्नुहुन्नथ्यो भने मजस्ता मध्यमवर्गीय परिवारका विद्यार्थी सायदै चिकित्सा शिक्षामा आउन सक्थे । उनीहरूका निम्ति मेडिकल केवल सपना हुन्थ्यो ।

तपाईंलाई त्यो अवस्थाको जानकारी गराऊँ, डा. केसीसँग सम्झौता हुनुपूर्व चितवन मेडिकल कलेजको सिटमा बोलपत्र (टेण्डर) लाग्थ्यो । लिलाम बढाबढ हुन्थ्यो । कसैलाई ८० लाख, कसैलाई ९० लाख, शुल्कमा एकरूपता थिएन । जसले जतिबढी मूल्य भुक्तान गर्न सक्थ्यो, सिट उसैको पोल्टामा पर्थ्यो ।
डा. केसीकै कारण एमबीबीएसको भर्ना शुल्क निर्धारण भयो । किस्ता निर्धारण भयो ।

हुन त मसँग कलेजले अतिरिक्त पाँच लाख रुपैयाँ माग्यो । तर सम्झौता नभएको भए, थाहा छैन मैले कति बुझाउनुपर्थ्यो । अतः केसीप्रति चिकित्सा शिक्षाका विद्यार्थी अनुग्रहित हुनैपर्छ । नतमस्तक हुनैपर्छ ।

चिकित्सा शिक्षा अझै सर्वसाधारण विद्यार्थीको पहुँचमा छैन । सरकारको नीतिका कारण धेरै विद्यार्थी अन्यायमा छन् । चिकित्सा शिक्षा क्षमतावान् विद्यार्थीहरूको भागमा नपरेर, पैसावालहरूको पोल्टामा परेको छ । नेम, भाइब्रेन्ट जानुस् विलक्षण विद्यार्थी भेट्नुुहुन्छ । तिनीहरूको क्षमताको मापनै हुनसक्दैन । विलक्षण छन् । विडम्बना उनीहरू मेडिकल शिक्षाभन्दा बाहिर छन् । पैसाको कारणले । 

मेडिकल कलेज सञ्चालनको जिम्मा सरकारले नै लिनुपर्‍यो त अब ?

यो त सरकारले थाहा पाउने कुरा हो । हामी के जान्नु ! मेडिकल क्षेत्रमा  तमाम विकृति छ । वेथिति छ । मेडिकल कलेज सञ्चालक सरकारको कुनै नियम–कानुन मान्दैनन् । तोकेको शुल्कमा अडिँदैनन् । सरकारलाई नै अटेर गर्छन् । विद्यार्थीमाथि शोषण, दमन गर्छन् भने उनीहरूको उपचार के हुन्छ ?

आईओएममा कम शुल्कमा पढाइ हुन्छ । जेहेन्दार विद्यार्थीले न्यून शुल्कमा पढ्न पाएका छन् । धेरै सरकारी कलेज खुले, भएका निजी कलेज सरकारीकरण भएभने पैसाकै कारण पढ्न नपाएकाहरूका लागि अवसरका ढोका खुल्छ । मेडिकल शिक्षा व्यापारको माध्यम बन्न पाउँदैन । माफिया, तस्कर यो क्षेत्रमा आउँदैनन् । यो सबै सरकारले बुझ्ने कुरा हो । 

तपाईंलाई एउटा कुरा भनूँ– जब एउटा बच्चा पैदा हुन्छ मेडिकल क्षेत्रमा आउने ९३ प्रतिशत सम्भावना उसले गुमाइसकेको हुन्छ । सरकार समृद्ध मुलुकको सपना देखिरहेको छ । तर मुलुकमा शिक्षा र स्वास्थ्यमा चरम भ्रष्टाचार छ । नागरिक खुलेआम ठगिएका छन् । प्रधानमन्त्रीले साँच्चै भ्रष्टाचाररहित मुलुकको परिकल्पना गर्नुभएको हो भने सुरू मेडिकल क्षेत्रबाट गर्नुपर्‍यो । मेडिकल माफियालाई निरुत्साहित गरेर मुलुक शुद्धीकरणको थालनी गर्नुपर्‍यो ।

निजी मेडिकल कलेज सञ्चालकले कसरी सरकारलाई अटेर गरिरहेका छन् त ?

सबैले सुन्नुभएकै छ नि ! मेडिकल कलेज सञ्चालकहरू त्यतिपैसा (उपत्यकाभित्र ३८ लाख ५० हजार, उपत्यकाबाहिर ४२ लाख ५० हजार) मा पढाउन सक्दैनौं, कलेजको साँचो–ताल्चा सरकारलाई बुझाउँछौैं भनेर  हिँडिरहेका छन् ।

सरकारले तोकेको शुल्कभन्दा यी शीर्षकमामात्रै अतिरिक्त शुल्क लिन पाइने भनेर आईओएम कार्यालयले निर्धारण गरेको छ । होस्टल शुल्क, खाना शुल्क, दर्ता शुल्कआदि । तर मेडिकल कलेजहरूले सरकार, आईओएमले तोकेको शुल्क पनि लिइरहेका छन् र त्यसभन्दा अतिरिक्त आफैं शीर्षक सिर्जना गर्दै विद्यार्थीसँग पैसा उठाइहेका छन् ।

वीरगञ्जको नेशनल मेडिकल कलेजको वेथितिमाथिचाहिँ कसरी ध्यानाकर्षण भयो ?

दुई महिनादेखि हामी आन्दोलनमा छौं । त्यसको प्रभाव सर्वत्र परेको छ । मेडिकल कलेजमा त पर्ने नै भयो । हाम्रो आन्दोलन अतिरिक्त शुल्कको चपेटामा परेका अरू मेडिकल कलेजका विद्यार्थीका लागि प्रेरणा पनि बन्यो । चितवन मेडिकल कलेजको आन्दोलन स्थगन भएपछि हामी आफैंले पनि सोच्यौं– विकृति हाम्रो कलेजमात्रै छैन । हामीले न्याय पाउँदै गर्दा, यो न्याय अन्यत्र पनि विस्तारित हुनुपर्‍यो । सबैले न्यायको अनुभूति गर्नुपर्‍यो ।

मेडिकल शिक्षाको सुधारको आवाज उठाउँदै हामी जहाँजहाँ पुग्यौं, हामीले झन् ठूला माफिया फेला पार्‍यौं । मेडिकल शिक्षा ठुल्ठूला माफियाको चङ्गुलमा पो रहेछ । त्यतिबेला हामीलाई महसुस भयो– चितवन मेडिकल कलेज त जुनियर माफिया हो । यसका माउ माफिया अरू छन् । एनएमसी (नेशनल मेडिकल कलेज)का पीडित विद्यार्थीहरू हाम्रो सम्पर्कमा आउनुभयो । चरम वेथिति छ भन्ने थाहा पाएपछि चिकित्सा शिक्षा सङ्घर्ष समितिका हामी बीसजना विद्यार्थीहरू वीरगञ्ज हानियौं ।

विद्यार्थीहरू चर्को मारमा रहेछन् । कलेज प्रशासनको दादागिरीका कारण विद्यार्थीहरूले मुख खोल्ने अवस्थामा रहेनछन् । अति भएर उहाँहरू हाम्रो सम्पर्कमा पुग्नुभएको रहेछ । सरकार र आईओएमले तोकेको शुल्कभन्दा १० लाख, २० लाखसम्म बढी असुलेको पायौं । त्यो पनि रसिदै काटेर । आईओएमले निर्धारण गरेभन्दा बाहिर, इन्टरनेट, समूदायको रोगको निदानआदि शीर्षकमा मोटो रकम अशुल्दो रहेछ । कति त हाँसो उठ्दा शीर्षक भेटिए– पहिलो वर्ष पास भएर दोस्रो वर्ष पुग्दा कलेजलाई प्रमोशन शुल्क बुझाउनुपर्ने । हाकाहाकी लुटपाट मच्चाउँदा पनि कतैबाट अनुगमन भएको पाएनौं । 

तपाईंहरू गएपछि विद्यार्थी आन्दोलित पनि भए, मेडिकल कलेज सञ्चालक बसरुद्दिन आक्रमणमै उत्रिए भन्ने आरोप लगाउनु भयो नि !

माइक्रो रिजर्भ गरेर गत बुधबार हामी वीरगञ्ज पुगेका थियौं, चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दको नेतृत्वमा । कलेजमा पुगेर केहीबेर विद्यार्थीसँग संवाद गर्‍यौं । हामी गएपछि विद्यार्थीहरूले ठूलो ढाडस पाए । आन्दोलनको तयारी थाले । कलेजका विद्यार्थीहरू साउण्ड सिस्टम जोड्दै हुनुहुन्थ्यो । सुन्तला रङको कुर्ता लगाएर बसरुद्दिन अन्सारी आइपुगे । पानको बिडा चपाउँदै । उनको वरिपरि १०–१५ जना हुँदाहुन् । सबै बाहुबली । आउनेबित्तिकै बसरुद्दिनले प्रकाशलाई झपारे– यहाँ के हुँदैछ ?

“एनएमसी हाम्रो पनि कलेज हो । यहाँ धेरै विकृति छन् । यसको सुधार गर्नुपर्‍यो,” प्रकाशले सुस्तरी भने ।

बसरुद्दिनसँग सुन्ने धीरता रहेन । प्रकाशमाथि जाइलागे– “कसरी भयो तिम्रो कलेज, तिम्रो लगानी छ यहाँ ?”

बसरुद्दिन जाइलागेसँगै उहाँसँग आएकाहरू पनि विद्यार्थीमाथि खनिए, ‘अंदर जाओ’ भन्दै । विद्यार्थीबीच भागदौड मच्चियो । केही विद्यार्थी ‘हाम्रो पनि माग हो’ भन्दै अडिए ।

अडिएका विद्यार्थीले हामीलाई पछाडि धकेलेर आन्दोलनको पृष्ठभागमा आए । धन्न हाम्रो ज्यान जोगियो ! नत्र बसरुद्दिनका बाहुबलीले हामीलाई जे पनि गर्न सक्थे ।

त्यहाँका विद्यार्थीलाई बसरुद्दिनसँग आएकाले ‘तिमीहरू भित्र नगए तिमीहरूको लाश जान्छ’ भन्दै थिए । उनीहरूले भनेका मात्रै थिएनन् । तयारी पनि थियो । उनीहरूका मान्छेले हाम्रो माइक्रो तोडफोड गरिसकेका थिए । 

तर, विद्यार्थीले हिम्मत हारेनन् ।

बसरुद्दिनले हुलहुज्जत गर्न थालेपछि हामी पन्छियौं । त्यस्तै एकघण्टापछि र्‍याली निकाल्यौं । र्‍याली घण्टाघरमा पुगेर कोणसभामा परिणत भयो ।

बेलुका फर्कनेबेलामा एनएमसीका विद्यार्थी भयग्रस्त थिए । कत्तिका आँखामा आँसु टिलपिलाइरहेका थिए ।  बसरुद्दिन यिनीहरूमाथि जाइलाग्छन् भन्ने थाहा थियो । तर हामी निरुपाय थियौं ।

त्यहाँको बस्तुस्थिति सीडीओ र सुरक्षाकर्मीलाई अवगत गराएर रक्षाका निम्ति निवेदन पनि दर्ता गरायौं । त्यहाँकै विद्यार्थीको अग्रसरतामा । फर्कंदा पथलैयासम्म हामीलाई प्रहरीले नै स्कर्टिङ गरेको थियो । 

त्यही राति थाहा भयो– बेलुका बसरुद्दिनका मान्छे होस्टलमै गएर विद्यार्थीमाथि कुटपिट गरेछन् । ज्यान मार्ने धम्की दिएछन् । एकजना अगुवा विद्यार्थीलाई त बन्धकै बनाएर कुटपिट गरेको थाहा भयो । भयले ती विद्यार्थी अझै पनि हाम्रो सम्पर्कमा आउन सकेका छैनन् । बसरुद्दिनले सुरक्षाकर्मीकै सामुन्ने विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । पाँचजना घाइते छन् । यसको निष्पक्ष छानबिन हुनुपर्छ ।

वीरगञ्ज पुगेपछि हामी स्तब्ध भयौं । वास्तवमा त्यहाँ राज्यविहीनताको अवस्था थियो । कानुन त छ तर त्यो बसरुद्दिनको हातमा निरीह छ ।

कसको आडमा बसरुद्दिनले यस्तो कार्य गरे होलान् ?

पक्कै उहाँलाई सत्ताकै आड हुनुपर्छ । कसको आड–भरोसमा उनले विद्यार्थीलाई दबाएर राखेका छन् ? कानुन मान्दैनन् ? विद्यार्थीका पीडा सुन्दैनन् ? गुण्डागर्दीमा उत्रन्छन्, त्यो हामीले थाहा पाउने कुरा भएन । प्रधानमन्त्रीज्यू अजरबैजानको बाकु सम्मेलनबाटबाट भर्खरै फर्किनुभएको छ भन्ने सुनेका छौं । अब एक्सनमा उत्रनुहुन्छ भन्ने आशामा छौं ।

हामीले दुई महिनादेखि पढ्न पाएका छैनौं । वीरगञ्जमा विद्यार्थी कुटिएका छन् । हामी आगामी दिनका चिकित्सा क्षेत्र सम्हाल्ने अनुहार हौं । चिकित्सा क्षेत्रका पछिल्लो पुस्ता हौं । हामी यस्तो आपत्मा पर्दा प्रधानमन्त्रीज्यू चुप लागेर बस्नुहोला भन्ने विश्वास छैन ।

हामी प्रश्न गर्न चाहन्छौं– निजी मेडिकल कलेज र सरकारबीच कुनै द्वन्द्व छ भने विद्यार्थीलाई बीचमा किन ल्याउने ? भुङ्ग्रोमा किन हाल्ने ?

निजी मेडिकल कलेज सञ्चालक भन्छन् सरकारले तोकेको रकममा पढाउन सकिँदैन । आईओएमले भनेका कुरा मान्दैनौं । माथेमा आयोगको प्रतिवेदन अपरिपक्व छ । त्यसो भए मेडिकल कलेज खोलेर किन बस्ने ? बन्दा गर्दा भइहाल्यो । विद्यार्थीसँग चोरबाटोबाट, अवैध ढङ्गले पैसा किन उठाउने ? 

तस्बिर : अक्षर काका
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC