अक्षर काका
मेडिकल शिक्षामा पैताला राख्नु भनेको माफियासँग पाइलापाइलामा सिँगौरी खेल्नु हो भनेर मान्यता थापालाई थाहा थिएन । तर तीन वर्षअघि मेडिकल क्षेत्रको माफियाकरणसँग उनको राम्रै चिनापर्ची भयो ।
वास्तवमा मान्यतालाई त्यसबखतसम्म ‘माफिया’ के हो थाहा थिएन । मेडिकल शिक्षामा पाइला टेकेपछि ‘माफिया’को अर्थसँग पनि राम्रैसँग साक्षात्कार भयो ।
माफियातन्त्रसँगको चिनापर्चीको प्रसङ्ग दुईवर्ष अघिबाट आरम्भ हुन्छ ।
सन् २०१६ को एउटा धूमिल दिन । मान्यताकी आमा क्यान्सरसँग पौंठेजोरी खेलिरहेकी थिइन् । क्यान्सरको सङ्क्रमण फैलिएर मृत्युले घेरा हाल्ने भयका कारण चिकित्सकले छिटो उपचार गर्न सुझाएका थिए ।
आफन्तहरू सुझाउँथे– “नेपालका अस्पतालको भर नपर्नू ! बाहिरै उपचार गर्नू !”
“पैसाको मुख नहेर्नु, ज्यान छ त धन छ !” कति नातेदार यसै भन्थे ।
शिक्षण पेसामा आवद्ध दम्पत्ति निन्याउरो अनुहार लगाउँथे । कति पैसा लाग्ने हो ? निको हुने हो कि होइन ? यावत प्रश्नहरूले मुटुमा छिनो चलाइरहन्थ्यो ।
एकातिर रोगले ताडित तुल्याइरहेको छ, अर्कोतिर उपचार खर्च जुगाड कसरी गर्ने ?
शिक्षणमा आश्रित रहेकाले स्कुले–वेतनले मात्रै उपचार सम्भव थिएन । साहु–महाजन गुहार्नैपथ्र्यो ! नभए गरगहना बिक्री ! या त जायजेथा बैङ्कमा धितोको बाटो रोज्नुपथ्र्यो ।
त्यहीबेला चितवन मेडिकल कलेजले खबर पठाएको थियो– परीक्षा सुरू हुँदैछ । किस्तावापत्को रकम तुरुन्तै भुक्तान गर्नु !
मान्यताका बाबु चिरञ्जीवी तातो तावामा थिए । कलेजले पठाएको खबरले भुङ्ग्रोमा परे ।
तुरुन्तै कलेज प्रशासन पुगेर हारगुहार गरे । बिन्तीभाउ टक्र्याए– “श्रीमती सिकिस्त बिरामी छिन् । उपचार गर्न भारत नै लैजानुपर्ला जस्तो छ । उपचार गरेर फर्किएपछि पैसा तिर्छु । परीक्षा त नरोकिदिनूस् ।”
अहँ ! कलेजको कानमा बतास लागेन । टसको मस भइरह्यो । कालले छाड्ला, कलेजले छाड्ने चाल देखाएन !
बरु जवाफ लायो– “समयमा किस्ता तिर्नुपर्छ भनेर तपाईंजत्तिको मान्छेलाई थाहा हुनुपर्ने हो । यो बेलामा आएर परिवार बिरामी छिन् भनेर हुन्छ ! कलेजको शुल्क त समयमै बुझाउनुपर्यो नि !”
उता जहान रोगले छट्पटाइरहेकी छन् । उपचार नगरे जीवनको बत्ती झ्याप्पै निभ्न सक्छ । यता कलेज अड्डी कसेर बसेको छ, किस्ता नतिरे छोरीको भविष्यको दियोमा अनायास आँधी–हुरी चल्न सक्छ !
एकदमै हतास देखिए बाबु ! अनुहार उत्तिकै उदास बन्यो । कलेजको मानवताविहीन, क्रूर अनुहार देखेर मान्यता छक्क परिन् । पहिलोपल्ट चिकित्सा शिक्षा पढेकोमा मान्यतालाई ‘ग्लानि’बोध भयो ।
एकातिर परीक्षाको चाप, अर्कोतिर प्रशासनको अमानुषिक व्यवहार । त्यसमाथि रोगले गाँजेकी आमा ! मुटु फुट्लाजस्तो भयो मान्यताको । भर्खर किशोरवय पार गरेकी मान्यताले के नै पो गर्न सक्थिन् र ! पर बसेर मूर्तिवत् कलेजको व्यवहार नियालिरहिन् ।
बाबुले आखिरीपटक बिन्ती बिसाए– “भारतबाट उपचार गरेर फर्किएलगत्तै साहु काडेरै भए पनि किस्ता बुझाउँछु नि हुन्छ ?”
ढुङ्गो बोल्ला कलेज प्रशासन बोलेन । मुखमा पानी हालेर बसेझैं मौनता साँधिरह्यो । बाबुले विनयभावमा बिन्ती बिसाइरहे ।
“उसो भए ब्याकडेटको चेक दिनूस्,” कलेज प्रशासनले मौनता त तोड्यो, तर वचनमा छुरा राखेर ।
बाबुको अनुहारको घाम झ्याप्पै अस्तायो । आफ्नै कारण परिवार पीडाको भड्खालोमा जाकिएझैं लाग्यो मान्यतालाई ।
“चिकित्सक बन्ने सपना नपालेको भए बाबुको अनुहारको उज्यालो त अस्ताउन पाउँदैनथ्यो,” मान्यताले आफ्नै सपना यतिविघ्न बोझिल बन्ला भनेर सपनामा पनि चिताएकी थिइनन् । चिकित्सा सपनाको बाटोमा पैसा निर्ममतापूर्वक उभियो ।
लामो गलफत्तीपछि कलेज प्रशासन मान्यतालाई परीक्षा दिलाउन त राजी भयो, तर यो घटनाले मान्यताको कोमल छाती काँक्रोसरी चिरा पर्यो । आफ्नै सपना सुरूमा रुञ्चेहाँसो र कालान्तरमा गएर गलपासो बन्ला भनेर युवावयकी मान्यतालाई थाहा हुनु पो कसरी !
अन्ततः मान्यता मुलुकको अव्यवस्था, माफियातन्त्रको राज, कमजोर राज्यप्रणालीको चपेटामा परिन् ।
त्यसले उनको छातीमा भयानक ज्वालामुखी, विद्रोह सञ्चित गर्यो । र, निकासको उपयुक्त समयको व्यग्रतामा रह्यो ।
सपनाको पुस्तान्तरण
चिकित्सक बन्ने सपनासँग मान्यताको पुस्तैनी सम्बन्ध छ । शिक्षणको पुस्तैनी बिँडो सम्हालेको परिवारमा आमाकै पथिक बनिन् मान्यता ।
आमा मुनु पनि चिकित्सक बन्ने सपना देखेरै हुर्किएकी थिइन् । विडम्बना मध्यमस्तरको आर्थिक हैसियत चिकित्सक बन्ने ढोकाको गजबार बन्यो । पढाइमा विलक्षण, अद्वितीय हुँदाहुँदै पनि चिकित्सा सपनाको कुम्लोे नारायणीको तिरतिर हुत्याउन अभिशप्त भइन् । शिक्षण पेसाको बाटोतिर पैताला मोडिन् ।
पैसाकै कारण चिकित्सक बन्ने सपनाको हत्या भएपछि समाधिस्थलमै उभिएर उनले कसम खाएकी थिइन्– “छोरीलाई कसैगरी चिकित्सा शिक्षा पढाउँछु ।”
“२०४२ सालमा प्रवेशिका उत्तीर्ण मेरी आमाले पैसाकै कारण सपना पूरा गर्न पाउनुभएन । त्यो सपना मेरो काँधमा सरेको थियो,” मान्यताको अनुहारमा पुनः मातृभक्तिको भाव बिस्कुन लाग्छ ।
मुनुको पालामा चिकित्सक बन्न पाँचलाख लाग्थ्यो । अहिले दस गुणाले बढेको छ ।
आमाको सपनाको आनुवांशिक प्रभाव परेकी मान्यता चिकित्सक बन्ने सपनाकै काखमा हुर्किइन् । खाँदा, बस्दा, उठ्दा, खेल्दा पनि चिकित्सा सपनामा आस्वादित भइरहिन् ।
संयोग नै मान्नुपर्छ– पढाइमा पनि उनी आमाजत्तिकै अब्बल नै रहिन् ।
बाबु चिरञ्जीवीले पनि छोरीको सपनाको सह्यार गरिरहे । स्याहार शुश्रुषामा कुनै कमी हुन दिएनन् ।
तर चितवन मेडिकल कलेजको द्वारभित्र पसेदेखि नै मान्यतालाई आगाको भुङ्ग्रोमा पसेजस्तो भयो । सपना पूरा गर्ने थलोमा उभिएको छु कि माफियाको चङ्गुलमा परेको छु, उनलाई भेद छुट्ट्याउन हम्मेहम्मे पर्यो ।
दस जोड दुई पढ्दासम्म मान्यताले राजनीतिको अनुहार देखेकी थिइनन् । राजनीतिप्रति मान्यतालाई कुनै चासो पनि थिएन । चिन्ता त झन् हुने कुरै भएन ।
तर चितवन मेडिकल कलेजको प्राङ्गण टेकेपछि सबैखाले विकृति, विसङ्गति र बेथितिसँग परिचित हुनुप¥यो । अझ बढी मुलुकको (अ)राजनीतिसँग निर्मम जुध्नुपर्यो । सपनाको कलिलो विरुवामाथि तुषारोवृष्टि हुन नदिन भरमग्दुर प्रयत्न गरिरहनुपर्यो ।
मान्यता सीएमसी छिर्नुपूर्व नै कलेजमा आन्दोलनको भुङ्ग्रो थियो । मेडिकल शिक्षाको बजारीकरणविरुद्ध विद्यार्थी एकट्ठा भएका थिए । सङ्गठित–असङ्गठित आन्दोलनको धुवाँ पुतपुताइरहेको थियो ।
भर्ना हुँदा एउटा शुल्कको सूची देखाउने र भर्ना भएको भोलिपल्टैबाट थपिँदै जाने अतिरिक्त शुल्कले विद्यार्थीलाई हैरान तुल्याएको थियो । हैरानी बढ्दै गएर आन्दोलनमा परिणत भएको थियो । माग पूरा नभएपछि आन्दोलन हड्तालमा बदलिएको थियो ।
केही समयपछि कलेज प्रशासनको कानमा बतास लागेझैं हुन्थ्यो । आन्दोलनको भुङ्ग्रो सेलाएपछि कलेजकै स्वर चर्को हुन्थ्यो ।
प्रश्न सोध्ने साहस बटुल्ने केहीलाई शुल्क मिनाहा पनि हुन्थ्यो । ‘निमुखा’हरू पिल्सिँदै, भित्रभित्रै सल्कँदै र रापिँदै गए ।
आन्दोलनका लागि सङ्गठित र एकत्रित हुन बेरै लागेन ।
भदौमा उर्लिएको नारायणी
बिम्बमा भदौ उर्लंदो भेलको महिना हो । बगर छोपिने गरी बाढी आउने महिना हो । यसपालि असार र साउनमा वर्षा कम्ता भएकाले पुछार भदौ मौसमले आँखा झिमिक्क पनि पारेन । झरिलो भइरह्यो । पानीले दिन बिथोलिह्यो ।
स्वाभाविक रूपमा नारायणीको भेल पनि बढ्ने नै भयो ।
तर त्योभन्दा बढ्दा उर्लिएको थियो चितवन मेडिकल कलेजमा आन्दोलन । र, नायकत्व निर्वाह गरेकी थिइन् उनै मान्यता थापाले । आन्दोलनभर मान्यता मोफसल र राजधानीका अखबारको शीर्ष खबर बनिरहिन् ।
चिकित्सक बन्ने बाटोमा हिँडेकी सामान्य परिवारकी युवती किन आन्दोलनको बाटोमा लागिन् ?
आफूलाई शासक भन्ने गणतन्त्रका उपासकहरू उत्तर खोज्ने लेठोतिर लागेनन् । आफैंले गरेको निर्णय र जारी गरेको कानुनका दफा हेर्नतिर पनि लागेनन् । बरु प्रहरी प्रशासन उभ्याएर उनीहरूको मुख थुन्ने भगीरथ प्रयत्न गरे । निमुखा, निहत्था ह्वाइट अप्रोनधारीहरू चिकित्सापथतिर डोहोरिएका नूतन पाइलामाथि लाठी, मुङ्ग्री वर्षियो । कटबाँस तेस्र्याइयो । सकेसम्म धरपकड गर्न खोजियो । प्रहरीका भाँटा लागेर कतिका टाउका फुटे । तर विद्यार्थीका दमित आवाज झन्झन् विस्फोट हुँदै गएपछि प्रशासनले विद्यार्थीसामु हार खानु पर्यो ।
“मेडिकल शिक्षामा पाइला राखेपछि थाहा पाएँ, सरकारको अनुहार कस्तो हुँदो रहेछ, मलाई त मेरो सरकार भन्न पनि शरम लाग्छ ! लज्जाबोध हुन्छ,” मान्यता आक्रोश मिश्रित भावमा पीडा पोख्छिन् ।
रोगको निदान र रोकथामका लागि चिकित्सा क्षेत्रतिर डोहोरिएकी मान्यताको जम्काभेट सिङ्गै मेडिकल क्षेत्रको बिमारसित भयो । रोगीको उपचार गर्न योग्य, सक्षम बन्नुभन्दा पहिलो मेडिकल शिक्षाको उपचार गर्न जरुरी ठानिन् । उनले आफूभित्रको आन्दोलन–चेत र विद्रोही मान्यतालाई निभ्न दिएकी छैनन् । राज्य–अव्यवस्थाले उनको विप्लवी चेतलाई सुषुप्त रहन दिएको छैन । रहन दिँदैन पनि ।
भदौमा बाहिरिएको भुसको आगो
जमिनको ज्वालामुखी बाहिर आउन समय लाग्छ । तर भुसले केही समयमात्रै आगो आफूभित्र दबाउन सक्छ । मान्यताको दृष्टिमा चितवन मेडिकल कलेजको आन्दोलनको लप्का भुसको आगोको प्रकृतिसँग ठ्याक्कै मेल खान्छ ।
“मेडिकल कलेज विकृति, विसङ्गतीको ‘अखडा’ बनिसकेको थियो । चिकित्सक उत्पादन गर्ने कलेज मोलमोलाइको थलो बनेको थियो । सरकारले तोकेको शुल्क र विद्यार्थीसँग उठाउने शुल्कबीच जमिन–आकाशको अन्तर थियो । सयौं विद्यार्थी प्रताडित थिए । आगो उहिल्यै सल्किएको थियो । भदौमा त बाहिर राँको आयो,” आन्दोलनलाई यसरी अथ्र्याउँछिन् उनी ।
दुई–तीन वर्षयता फाट्टफुट्ट आन्दोलन भए पनि यसपटकको सङ्घर्ष निकै राँकिएको थियो । र, आन्दोलनको पृष्ठभूमि कलेजले नै तयार पारेको थियो ।
“प्रकाश चन्द (प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्दका छोरा, जो चिकित्सा शिक्षा सुधारको आन्दोलनसँग पनि जोडिएका छन्)को नेतृत्वमा यसअघि पनि आन्दोलन नभएको होइन । आन्दोलन चर्किन थालेपछि मागको सुनुवाइ भए झैं हुन्थ्यो । दुई–चार महिनापछि प्रशासनको उही निरङ्कुश व्यवहार,” यसअघिको अनुभव सुनाउँछिन् मान्यता ।
यसपटक ठूलो सङ्ख्यामा विद्यार्थी चपेटामा परेका थिए । सरकारले उपत्यकाभित्र ३८ लाख ५० हजार, उपत्याकाबाहिर ४२ लाख ५० हजार रुपैयाँमात्र शुल्क लिनू भनेर कानुन बनाएरै उर्दी जारी गरेको छ । तर कलेज प्रशासनले कम्तीमा आधा करोड असुलेको छ । नियमतः छात्राबास, खाना, परीक्षा, एनएमसी दर्ताबाहेक अतिरिक्त दस्तुर लिन पाइँदैन । कानुनद्वारा नै निषिद्ध छ । तर कलेज प्रशासनले अध्ययन भ्रमण, सवारीलगायत यावत शीर्षक, उपशीर्षक थपेर अतिरिक्त पाँच लाखसम्म शुल्क बढाउँछ । तिर्न दबाब दिन्छ । नतिर्ने विद्यार्थी–अभिभावकले मानसिक प्रताडना बेहोर्नुपर्छ ।
सहपाठीका कुरा विश्वास नलागेर मान्यता होस्टलका चोटाकोठा चहार्थिन् । त्यहाँ विद्यार्थी आँसुमा बगिरहेका हुन्थे । किस्ता समयमै भुक्तान गर्न नसक्दा उनीहरूको अनुहारको घाम सदाका लागि अस्ताएको भान हुन्थ्यो ।
तोकिएको किस्ता रकमभन्दा पाँच–सात लाख रुपैयाँ बढी बुझाउनुपर्ने र भनेको बेलामा पैसाको जुगाड गर्न नसक्दा गरगहना, श्रीसम्पत्ति बेच्नुपर्दाको पीडा उनीहरूको आँखाबाट पोखिइरहेको हुन्थ्यो ।
“कतिलाई त भनेको बेलामा किस्ता बुझाएनौ भने ब्याजको भारी बोक्नुपर्छ भनेर धम्क्याइएको रहेछ ! परीक्षाका बेला उनीहरूका आँखा भय–सङ्कटग्रस्त देखिन्थे,” विद्यार्थीको दुर्दशाले मान्यताको मन पिरोलिनसम्म पिरोलियो ।
पीडाका यिनै समवेत् स्वरहरूले मान्यतलाई आन्दोलनमा लाग्न अभिप्रेरित गर्यो ।
“डाक्टर बन्ने सपनाका सारथिहरूलाई आन्दोलन गर्ने रहर नै कहाँ हुँदो हो र,” मान्यता आफ्नो विवशता शब्दमा पोख्छिन् ।
गत माघ–फागुनमा गण्डकी मेडिकल कलेजमा पनि आन्दोलनको डढेलो त्यसैगरी सल्किएको थियो । झण्डै दुईमहिना (५४ दिन) अविच्छिन्न आन्दोलन गरेपछि सरकारको आँखा बल्ल खुलेको थियो ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मेडिकल एसोसिएसनका पदाधिकारीलाई मन्त्रालयमै बोलाएर एमबीबीएसको शुल्क सम्झाए । चैत ८ गते तोकिएभन्दा एकपैसा पनि बढी शुल्क नलिन मेडिकल कलेजलाई निर्देशन पनि दिए । वार्तामा चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिश्चन्द्र न्यौपाने पनि थिए ।
वार्तामा सरकारले तोकेको शुल्कमात्रै लिन मेडिकल कलेज सञ्चालक राजी पनि भएका थिए । तर मन्त्रालयको सङ्घार नाघ्नासाथ न्यौपानेले सरकारको निर्देशन अवज्ञा गरेको मान्यता थापाहरूको आरोप छ ।
“मेडिकल कलेज सञ्चालकलाई कानुनले छुँदैन । कानुनभन्दा माथि छन् उनीहरू । चिकित्सा शिक्षा ऐन, मन्त्रिपरिषद्को निर्णय केही पनि कार्यान्वयन गर्दैनौं भनेर उहाँहरू खुलेआम भन्दै हिँड्नुभएको छ । सरकार नसुनेझैं गर्छ या कार्यान्वयन गर्न निरीहता प्रकट गर्छ,” मान्यता अझै आक्रोशित हुन्छिन् ।
डा. गोविन्द केसीले बालेको दियो
मुलुकको ‘अव्यवस्था’ले बेलाबखत विभिन्न सामाजिक ‘नायक’हरूलाई जन्म दिन्छ । राज्य–अव्यवस्थाको सिकार भइरहेका नागरिक स्वयम् पनि त्यस्ता नायकको खोजी गर्छन् ।
डा. गोविन्द केसी र मान्यता थापा त्यस्तै सामाजिक चेतनाले जन्माएका ‘नायक’ हुन् ।
तथापि, चिकित्सक केसीको नायकत्वमाथि मोसो पोत्ने प्रयास पनि नभएको होइन ।
मान्यताको दृष्टिमा केसी मेडिकल शिक्षा सुधारका कोशेढुङ्गा हुन् । चिकित्सा शिक्षा ऐन–२०७५ का प्रावधान केसीकै आन्दोलनको जगमा खडा भएका हुन् । सुरूमा सरकारले केसीसँग सम्झौता गर्यो । संसद्ले कानुनी रूप दियो । यद्यपि, ऐनका कतिपय प्रावधान केसीसँग विभिन्न समयमा भएका सम्झौतासँग मेल खाँदैनन् । कतिपय त सम्झौताको मर्मविपरीत छन् । केसीको सत्याग्रहले स्थापित गरेको मान्यता विरोधी मत राख्छन् । तथापि, केसीको सत्प्रयासले मेडिकल शिक्षा सुधार र नियमनको क्षेत्रमा ठूलो जागरण पैदा गरेको छ । मान्यता त्यही जागरणले जन्माएको एक पात्र हुन् ।
एमबीबीएस तहको शुल्क निर्धारण, नियमन र मेडिकल कलेज खोल्न नियन्त्रणतिर राज्यको दृष्टि गएकै थिएन ।
“शुल्क निर्धारण गर्नुपूर्व मेडिकल कलेजका सिट ‘लिलाम बढाबढ’मा बिक्री हुन्थे । जसले बढी मूल्य भुक्तानी गथ्र्यो, चिकित्सा शिक्षाको सिट उसैको पोल्टामा पथ्र्यो,” मान्यता अनुभव सुनाउँछिन्, “मेडिकल क्षेत्रलाई माफियाको चङ्गुलबाट बाहिर ल्याउन डा. केसीकै कारण सम्भव भयो ।”
पाँच वर्षअघि ६८ लाख तिरेर भर्ना हुने विद्यार्थी सीएमसीमै छन् । अद्यापि । कदाचित् यो अव्यवस्थामाथि सरकारले कानुन बनाएर नियन्त्रण गर्ने कोसिस गर्दैनथ्यो भने एमबीबीएस शिक्षा करोडभन्दा कम मूल्यमा पढ्न चिताउनु पनि पर्दैनथ्यो ।
अहिले सुवासिलो शरद्को आगमनसँगै चितवन केही शान्त छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको मध्यस्थतामा सीएमसीको आन्दोलन साम्य भएको छ । कलेज प्रशासनले पनि कानुनले तोकेभन्दा बढी रकम नलिने अभिभावक–विद्यार्धीसामु वचनवद्धता गरेको छ ।
तर मान्यताको नजरमा आन्दोलन केही समयका लागि सरेको हो । सधैंका निम्ति टरेको होइन ।
“यसअघि पनि धेरैपटक कलेज प्रशासनको गुलियो वचन सुनिसकेका छौं । तर परीक्षाको तिथि नजिकिँदै जाँदा र दोस्रो र तेस्रो वर्ष सुरू हुँदानहुँदै कलेज प्रशासनले आफ्नो सक्कली अनुहार देखाइहाल्छ,” उनी संशय व्यक्त गर्छिन् ।
त्यसको एउटा कारण छ–
सीएमसीको सङ्घर्षको रापताप नसेलाउँदै मेडिकल कलेज सञ्चालकहरूले चाबी सरकारलाई बुझाएको घोषणा गर्दै हिँडेका छन् । नियमन गर्न खोजे, मनमौजी शुल्क लिन कडाइ गरे भर्ना नै नलिने ढिपी गरेका छन् । यसले मेडिकल शिक्षामा पुनः कालोबादल मडारिन पुगेको छ ।
‘पर्ख र हेर’को रणनीतिमा छिन् मान्यता ।
“हेरौं सरकारले कानुन कार्यान्वयन गर्छ कि माफियाको अगाडि जोर घुँडा टेक्छ,” उनको बोलीले सरकारप्रतिको विश्वास नधर्मराइसकेको सङ्केत गर्छ ।
भदौ ११ यताको मान्यताहरूको सङ्घर्षले सीएमसी पहिलाकै हालतमा रहेन । विद्यार्थी अभिभावकको आँखा छ्याङ्ग खुलिसकेका छन् । विद्यार्थीको ओठमुख हुँदै अभिभावकको चेतनासम्म आन्दोलनको ज्वाला पुगेको छ । त्यसले मेडिकल माफियाविरुद्ध लगाम कस्न सरकारलाई बल पुर्याउँछ ।
मेडिकल माफियाविरुद्ध यो पुस्ताको नेतृत्व गरेकाले भन्न करै लाग्छ– स्याबास् ! मान्यता !