काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा दक्षिण एसियाली मुलुकको आर्थिक परिदृश्य विषयमा चर्चा गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खतिवडाल दक्षिण एसियाली मुलुकको विकासका लागि देशहरु बीच एक आपसमा गहिरो आवद्धता, यातायात, ऊर्जा, सञ्चारलगायतमा बढी कनेक्टिभिटी र वित्तीय एकिकरण हुनुपर्नेमा जोड दिए ।
उनले आर्थिक विकासको चरण, मानव स्रोत तथा प्राकृतिक स्रोतले दक्षिण एसियाको आर्थिक वृद्धिदर औसत सात प्रतिशतको हाराहारीमा भइरहन सक्ने उल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्य मागले समेत यसमा असर पार्ने दाबी गरे । दक्षिण एसियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनमा विश्व अर्थतन्त्रमा आएको सुस्तताले असर गर्नसक्ने बताए ।
अर्थमन्त्री डा. खतिवडाले दक्षिण एसियाली व्यापारका क्षेत्रमा दक्षिण एसियाली राष्ट्रबीच एक अर्कामा प्रतिष्पर्धा गर्ने क्षेत्र धेरै भएपनि पर्यटन क्षेत्रमा भने प्रतिष्पर्धा नभएर परिपूरक भूमिका रहन सक्ने बताए । “यस क्षेत्रमा पर्यटनको विकासबाट रोजगारी सिर्जना र आम्दानीको पुनर्वितरणमा सहयोग हुन्छ,” खतिवडाले भने, “दक्षिण एसियाली मुलकको सहकार्यवाट पर्यटन विस्तार भइ आर्थिक वृद्धिलाई सहयोग पुग्छ ।” खतिवडाले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सगरमाथाको देश नेपालले पर्यटकलाई धेरै कुरा दिनसक्ने बताउँदै सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउने भएकोले नेपाल भ्रमण गर्नका लागि सहभागीलाई आह्वान पनि गरे ।
सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालले पूर्वाधार क्षेत्रमा वित्तीय अभाव पुरा गर्न सार्वजनिक निजी साझेदारी, समिश्रित वित्त तथा सम्भाव्यता न्यून परिपूर्ति कोष लगायतका लगानीका विभिन्न माध्यम अपनाएको जानकारी गराए । भारत र चीन नेपालमा धेरै वैदेशिक लगानी गर्ने देश भएको उल्लेख गर्दै उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको बताए । खतिवडाले नेपालमा सार्वजनिक ऋणको अंश कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत भएको उल्लेख गर्दै ऋणको उपयोग गरी लगानी बढाउने र आर्थिक वृद्धि गर्ने फिस्कल स्पेस भएको जिकिर पनि गरे ।
अर्थमन्त्री खतिवडाले अमेरिकाका वाणिज्य मन्त्री विलवर रोस, भारतका वाणिज्य मन्त्री पियुस गोयल तथा विभिन्न देशका अर्थमन्त्री र वरिष्ठ अर्थशास्त्री सम्मिलित अनौपचारिक भेटघाटको सेसनमा पनि आफ्ना धारण व्यक्त गरे । खतिवडाले अन्तर्राष्ट्रिय व्यापारमा देखिएका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापारका विविध पक्ष, वैदेशिक लगानी, रोजगारी सिर्जना, विश्व व्यापार संगठनको प्रभावकारिताका लागि चाल्नुपर्ने कदम, विश्व अर्थतन्त्रमा दक्षिण एसियाली मुलुकको भूमिकालगायत समसामयिक विषयमा छलफल गरेका थिए ।
यसैबीच अर्थमन्त्री खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेन्डबीच द्धिपक्षीय भेटघाट गरेका छन् । भेटका क्रममा खतिवडाले नेपालको विकास एजेन्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधार लगायतका विषयमा जानकारी गराएका थिए ।
विश्व आर्थिक मञ्चका अध्यक्ष बर्जले पछिल्ला वर्षमा नेपालको उत्साहजनक आर्थिक वृद्धि भएकोमा खुशी व्यक्त गर्दै दुई ठूला देश चीन र भारतको बीचमा नेपाल अवस्थित भएकोले यी देशबाट नेपालले आर्थिक लाभ लिने दाबी गरे ।