काठमाडौं । शनिबार साँझ चार बजे कार्यालयमै थिए महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी । त्यत्तिकैमा एक बैंकरले उनको अफिसियल मोबाइल नम्बरमा टेलिफोन गरे । ती बैंकरको स्वर हतास सुनिन्थ्यो । उनले दरबारमार्गमा रहेको आफ्नो बैंकको एटिएमबाट अस्वाभाविक रुपमा रकम निकालिएको र त्यो ह्याक भएको हुन सक्ने शंका व्यक्त गरे । एसएसपी सुवेदीले यो शंका होइन, लंकै जलाउने खेल हो भन्ठानेर तत्काल परिसरको एक टोली दरबारमार्गमा पठाए । रकम कसरी झिकियो, पत्ता लगाउन सहज थिएन ।
परिसरसहित महानगरीय प्रहरी वृत्त दरबारमार्ग, कमलपोखरी र सोह्रखुट्टेबाट पनि एउटा टिम परिचालित गर्न एसएसपी सुवेदीले निर्देशन दिए । सुवेदी कार्यालयमै बसेर निर्देशन दिन थाले भने टोलीले फिल्डमा रहेर काम गर्न थाल्यो । त्यसका लागि विभिन्न क्षेत्रलाई निगरानीमा राखियो ।
एटिएम बुथ ह्याक भएको हो कि भन्ने बैंकरले सूचनामात्र दिएनन्, आवश्यक सहयोग पनि गरे । शनिबारको दिन प्रायजसो बैंक बन्द रहन्छन् । प्रहरीलाई चिनियाँ ह्याकरको समूहले बुथबाट रकम निकालेको हुनसक्ने आशंका बढ्यो । चिनियाँ नागरिक हुँदा प्रहरीलाई भाषाको ठूलो समस्या थियो । कोही पक्राउ परिहाले पनि अनुसन्धान कसरी गर्ने ? विदेशी नागरिकलाई त्यसै नियन्त्रणमा लिने कुरा पनि भएन ।
एसएसपी सुवेदीले पर्यटक प्रहरीको सहयोग मागे । पर्यटक प्रहरीले होटल र्याडिसनमा काम गर्ने एकजना दोभाषे बन्दोबस्त गरिदियो । प्रहरीको सक्रियता बढेको थियो । बैंकरहरुको चिन्ता पनि बढ्दै थियो । दुई घण्टा बितिसकेको थियो । त्यही क्रममा मंगोलियन अनुहारका केही व्यक्तिको गतिविधि एटिएम बुथ वरपर शंकास्पद देखिएको सूचना प्राप्त भयो । प्रहरी टोलीले दरबारमार्ग आसपासका एटिएम बुथमा निगरानी सुरु गर्यो । त्यही क्रममा दरबारमार्गमै रहेको नबिल बैंकको एटिएम बुथमा पैसा भिक्दै गरेका एक चिनियाँ नागरिक भेटिए । प्रहरीले उनलाई सोधपुछसँगै शरीर चेकजाँच गर्ने क्रममा २० थान नक्कली भिषा कार्ड फेला पार्यो ।
एसएसपी सुवेदी भन्छन्, ‘‘एटिएम बुथमा उनी पक्राउ परेसँगै हामीले राहत महसुस गरिसकेका थियौं किनकि नक्कली एटिएमबाट उनी गिरोहकै व्यक्ति भएको पुष्टि भइसकेको थियो ।’’ उनलाई पक्राउ गरेपछि हात्तिसारस्थित माया मनोहर बुटिक जहाँ चिनियाँ गिरोह बसेको थियो, प्रहरी त्यहाँ पुग्यो । प्रहरीले बुटिकको कोठा नम्बर २०१, ६०२ र ६०४ मा छापा हान्यो । प्रहरी छापा हान्दा हतार–हतार लिफ्टबाट भाग्दै गरेको अवस्थामा थप तीनजना चिनियाँ नागरिक पक्राउ परे । त्यतिबेला साँझको ६ बजिसकेको थियो । त्यो गिरोहमामा ५ जना थिए । अन्य एकजना सात बजेको समयमा पक्राउ परे । एसएसपी सुवेदी भन्छन्, ‘‘तीन घण्टाको छोटो समयमा प्रहरीले नेपाली बैंकको अर्बौं रकम जोगाउन सफल भयो । पक्राउ परेकाहरु सबै आईटीबारे राम्रो जानकार छन् । उनीहरुले अन्य मुलुकमा पनि यस्तो प्रकारको अपराध गरेका हुनसक्छन् ।’’
प्रहरीका अनुसार उनीहरु पाँचै जना शुक्रबारमात्रै नेपाल आएका थिए । उनीहरु सोमबार नेपाल छाड्ने योजनामा थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नेपाली बैंकका एटिएम बुथबाट डेढ करोडभन्दा बढी रकम निकालिएको खुलेको छ । शनिबार पक्राउ परेका पाँचै जना चिनियाँ नागरिकलाई परिसर काठमाडौंले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चेन विन विन, झु लियाङ आङ, क्यु याङयिङ, लु जियालिङ, लिन जिनमिङ छन् । उनीहरुको साथबाट १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र विदेशी रकम पनि बरामद भएको छ ।