site stats
बाह्रखरी :: Baahrakhari
देश
 सम्पदा पुनर्निमार्णका लागि बजेटको समस्या छैन  : विद्यासुन्दर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पुनर्निमार्णका लागि बजेट अभाव नरहेको बताएका छन् । स्थानीयसँग मेयर शाक्यले महानगर क्षेत्रका सम्पदा पुनर्निमार्णका जस्तोसुकै योजना लिएर आए पनि बजेट अभाव नरहेको बताएका हुन् ।

राजकीर्ति महाविहार (टेवाहाल) भित्र रहेको अक्षेभ्य तथा गतको मन्दिर पुनर्निर्माण सम्पन्न भएको अवसरमा मंलबार आयोजित कार्यक्रममा बोल्दे मेयर शाक्यले यस्तो बताएका हुन् ।
“सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम गर्नुपर्छ । तपाईंहरु सम्पदा निर्माणको योजना लिएर आउनुहोस् बजेट अभाव हुन दिन्न,” मेयर शाक्यले भने ।

महानगरको सहरी योजना आयोगले डिजाइन तयार पारेको उक्त मन्दिर काठमाडौं महानगरपालिकाको २२ लाख २४ हजार नौ सय ४६, सांसद विकास कोषको आठ लाख ११ हजार नौ सय ४० र उपभोक्ता समितिको ३६ लाख ६७ हजार ४ सय २ रुपैयाँ सहयोगमा निर्माण भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मेयर शाक्यले सम्बोधनकै क्रममा सम्पदा निर्माण एकजनाको मात्र पहलमा सम्भव नहुने भन्दै सबैको सहयोग आवश्यक रहने भन्दै महानगरपालिकाभित्रका सम्पदा निर्माणमा सबैको हातेमालो आवश्यक रहने पनि बताए । 

“सांसद विकास कोष, प्रदेश सरकार, महानगर र वडाबाट आउने बजेट एकीकृत गरेर काम अघि बढाउने हो भने धेरै काम गर्न सकिन्छ,” मेयर शाक्यले भने, “अन्य ठाउँमा सम्पदा पुर्ननिर्माणमा पनि तपाईंहरु जुट्नुहोस् । म सहयोग गर्न तयार छु ।”

मेयर विद्यासुन्दर शाक्यले ‘भिजिट नेपाल २०२०’ लाई मध्यनजर गर्दै महानगरपालिकाले सम्पदा पुर्ननिर्माणको कामलाई तीव्रता दिएको बताएका छन् । “यतिबेला काठमाडौँ महानगरपालिका भ्रमणवर्ष २०२० तर्फ केन्द्रित भएको छ,” मेयर शाक्यले भने, “हामी अहिले यसैमा केन्द्रित रहेर महानगरपालिकाभित्रका सम्पदा पुर्ननिर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्नेजस्ता कार्यमा लागेका छौं । यो मन्दिर निर्माण पनि त्यसैको एउटा उदाहरण हो ।”

मेयर शाक्यले भिजिट नेपाल २०२० मा आन्तरिक र बाह्य दुर्व पर्यटकलाई आकर्षित गर्न महानगरपालिकाले अन्यवर्षभन्दा बढी मेहनत गर्नुपर्ने भन्दै सबै जनप्रतिनिधिलाई पनि एकाकार भएर अघि बढ्न आग्रह गरे । 

“न्युरोड काठमाडौँको पनि केन्द्रभागमा अवस्थित छ,” मेयर शाक्यले भने, “विश्वसम्पदा सूचिमा सूचिकृत क्षेत्रको आसपासमा रहेको न्युरोडलाई हामी नमूना बनाउन चाहन्छौं । हामी यसैअनुसार नै काम गरिरहेका छौं ।”

मेयर शाक्यले अब टे बहालकै आगम घर र सङ्कटा मन्दिर पुर्ननिर्माण चाँडै सम्पन्न गर्ने पनि बताए । काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, प्रेदश सांसद डाक्टर अजयक्रान्ति शाक्य, क्षेत्र नम्बर ८ का प्रदेश सांसद राजेश काजी श्रेष्ठलगायतको उपस्थिति रहेको सो कार्यक्रममा काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, श्री संकटा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष चक्रेश्वर मोतिकाजी बज्राचार्यलगायतले सम्बोधन गरेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १८:४५
प्रतिक्रिया दिनुहोस्