site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपनिर्वाचनका उमेदवारको सूची पठाउन जिल्ला समितिलाई राप्रपाको निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका निम्ति उमेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।

बिहीबार (असार १९) पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपनिर्वाचनका निम्ति यही असार मसान्तभित्र उमेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । जिल्ला कार्यसमितिले उमेदवारको सूची पठाएपछि पुनः पार्टीमा छलफल गरिने उनले बताए ।

उपनिर्वाचनलाई परिणाममुखी बनाउन पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय पनि गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आउँदो असोज मसान्तसम्म सबै स्थानीय तह र जिल्लाको अधिवेशन सम्पन्न गर्न ताकेता गर्ने निर्णय समेत बैठकबाट गरिएको छ ।

भ्रष्टाचारविरुद्धको गतिविधिलाई अभियानकै रूपमा सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए । भिजिट भिसा प्रकरणको छानबिनका निम्ति संसदीय समिति बनाउनुपर्ने पार्टीको अडानमा कायमै रहने निर्णय गरिएको छ ।

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आउँदो भदौ दोस्रो साता बस्ने श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्