site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय प्रणाली खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने सिस्टम भयो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा 'समाजवादी दर्शनको रूपरेखा' नामक पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले निजामती विधेयकमा भएको 'चलखेल'बारे देखाउँदा खसीको टाउको देखाइएको तर बेच्दा कुकुरको मासु बेचिएको टिप्पणी गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"हामीले हिजो जनवादी क्रान्तिको क्रममा माक्सवादको प्रचार गर्दा भन्थ्यौँ– संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिन्थ्यो । ...अहिले समितिका प्रतिवेदनहरूमाथि भएका छेडखानी त्यो त्यस्तै हो । देखाउँदा खसीको टाउको देखाइएको छ लोकतन्त्र, बेच्दाखेरी कुकुरको मासु बेच्ने गरिएको छ भित्रभित्रै । त्यस्तै चिज चलिराखेकै छ," उनले भने ।

उनले आफू सरकारमा रहँदा प्रत्येकपटक समाजवादतर्फ नै लैजाने बल गरेको जिकिर गरे । प्रचण्डले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भएको दाबी गरे । नेपाली समाज अब समाजवादी क्रान्तिको चरणमा पुगेको बताउँदै समाजवादको जग बसाल्न कम्युनिस्टहरूले नै सुरु गर्नुपर्ने बताए ।

न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्