
विराटनगर । विराटनगर आँखा अस्पतालले नेत्र विशेषज्ञहरुको लागि शनिबार एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । अस्पतालका निर्देशक डा. सञ्जयकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एम्स अस्पताल नयाँ दिल्लीका मेसु शक्तिकुमार गुप्ताले गुणस्तरीय र बिरामी मैत्री स्वास्थ्य संस्थाबारे प्रतिवेदन पेश गरे । उनले भारतको सरकारी अस्पतालहरुमा उपलब्ध स्वास्थ्य सेवाको दृष्टान्त पेश गर्दै अस्पतालहरु सुरक्षित र बिरामीमैत्री हुनुपर्नेमा जोड दिए । उनले भने,‘‘अस्पताललाई सेवामुखी बनाउन सरकारले समेत जोड दिन जरुरी छ ।’’
कार्यक्रममा स्वागत मन्तब्य प्रस्तुत गर्दै अस्पतालका अध्यक्ष पदम नारायण चौधरीले आँखा उपचारको क्षेत्रमा पूर्वीनेपालमा भएको प्रयासले धेरैलाई राहत मिलेको चर्चा गरे । अस्पतालका निर्देशक डा. सञ्जयकुमार सिंहले विराटनगर आँखा अस्पतालले नेपालसहित उत्तरी भारतका धेरै बिरामीलाई सेवा दिएको बताउँदै भने, ‘‘बर्सेनी एक लाख नेपाली र भारतीयलाई सेवा दिन अस्पताल सक्षम भएको छ । बिरामी उपचारमा आउने क्रम पनि बढ्दो छ ।’’ उनले निकै सस्तो मूल्यमा आँखाको शल्यक्रियासहितका विविधि सेवाले नेपाल र भारतका धेरै जनता लाभान्वित भएको बताए ।
यसलगत्तै अस्पतालहरुमा चिकित्समाथि हुने हिंसा सम्बन्धमा भएको छलफलमा अस्पतालमा चिकित्सकमाथि हुने आक्रमण र हिंसा डरलाग्दो रुपमा बढेकोले यसलाई बेलैमा नियन्त्रण गर्न सुझाव दिइयो । छलफल भारतको एम्स अस्पतालका चिकित्सक शक्तिकुमार गुप्ताको अध्यक्षतामा भएको थियो ।