site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
गालीगलौज गर्नेलाई अब इन्स्टाग्रामले प्रश्न गर्ने 

बीबीसी । इन्स्टाग्रामले प्रयोगकर्ताहरुका पोस्टमा गालीगलौज कम गर्न नयाँ नीति ल्याएको छ  । यसमा कसैका बारेमा नराम्रो कमेन्ट पोस्ट गर्नु अगाडि इन्स्टाग्रामले उक्त प्रयोगकर्तालाई एकछिनका लागि रोकेर ‘तपाईँ साँच्चै यो पोस्ट गर्न चाहनुहुन्छ ?’ भनेर सोध्नेछ र अपमानजनक वा घृणात्मक टिप्पणी गर्नेहरुलाई एकपटक पुनः आफ्नो पोस्टप्रति विचार गर्न बाध्य पार्नेछ । 

यति मात्र नभएर अब इन्स्टाग्रामले चाँडै नै नराम्रो लेखेर तनाव दिनेहरुको अन्तरक्रिया निषेध गर्न मिल्ने ‘रिस्ट्रिक्सन’ टुल पनि ल्याउने बताएको छ । पछिल्लो समय इन्स्टाग्रामका कारण भएका आत्महत्या लगायत विभिन्न खबरका कारण पनि कम्पनी दबाबमा रहँदै आएको थियो । त्यसैले कम्पनी यो समस्याको समाधान गर्न पूर्ण प्रतिबद्ध रहेको कम्पनीका प्रमुख एडम मोसेरीले बताएका हुन् । यस्तोमा यी टुलहरु गालीगलौज वा नकारात्मक अभिव्यक्तिको शिकार हुने प्रयोगकर्तालाई त्यस विरुद्ध उठ्न सक्षम बनाउने किसिमले विकास गरिएको उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसका लागि इन्स्टाग्रामले प्रायः रिपोर्ट गरिने अनुचित पोस्टहरुको विश्लेषण गरि त्यसैसँग मिल्दोजुल्दा कमेन्टहरुलाई लक्षित गरिने जनाएको छ । तर अर्कोतर्फ प्रयोगकर्ताहरुले इन्स्टाग्रामको प्रश्नलाई बेवास्ता गर्दै आफूले चाहेको पोस्ट गर्न सक्छन् । जसबारेमा कम्पनीले सो टुलले धेरै प्रयोगकर्तालाई फेरि आफ्नो कमेन्टबारे सोच्न प्रोत्साहन गरिरहेको हुँदा धेरैले आफ्नो लेखाइ बदलेर कम हानिकारक कुरा लेखेको पाइएको बताएको छ । 

त्यस्तै कम्पनीले ल्याउन लागेको अर्को ‘रिस्ट्रिक्सन’ फिचरमार्फत भने नकारात्मक कमेन्ट गर्नेलाई हामीले ‘रिस्ट्रिक्ट’ गरिदिन सक्छौँ जसपछि सो कमेन्ट जसले गरेको हो उसले बाहेक अरु कसैले देख्न सक्ने छैन भने कमेन्ट गर्नेलाई ‘रिस्ट्रिक्ट’ गरिएको बारेमा पनि थाहा हुनेछैन । त्यस्तै रिस्ट्रिक्ट गरिएका व्यक्तिले हामी इन्स्टाग्राममा एक्टिभ भएको पनि देख्नेछैनन् र हामीले तिनको म्यासेज पढेको नपढेको पनि उनीहरुलाई थाहा हुनेछैन । अघिल्लो वर्ष मात्र १४ वर्षीय युवतीले इन्स्टाग्राममा लेखिएका अपमानजनक र घृणात्मक पोस्टका कारण आत्महत्या गरेकी थिइन् । जसपछि नै विश्वव्यापी रुपमा सामाजिक संजालको बढ्दो मानसिक प्रभावबारे विरोध सुरु भएको हो । त्यस्तै यसै वर्ष एक अर्की युवतीले इन्सटाग्राम पोलमा उनी मर्दा राम्रो हुन्छ कि बाँच्दा भनेर लेखेकी थिइन् जसमा उनका अधिकांश फलोअरले उनलाई मर्न भनेपछि उनले वास्तवमै आत्महत्या गरेको खबर गरिएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  ०५:४०
प्रतिक्रिया दिनुहोस्