अनुवाद साहित्यको दुर्दशा !  

अनुवाद साहित्यको दुर्दशा !  

काठमाडौं । विश्वप्रसिद्ध भारतीय कवि तथा साहित्यकार रविन्द्रनाथ टैगोरको २० वटा कथाहरू समेटिएको नेपालीमा अनुदित पुस्तक प्रज्ञा प्रतिष्ठानमा भेटेँ । 

टैगोरका कथा नेपालीमा पढ्न पाउनु मेरा निम्ति खुसीको कुरा थियो । म उनका रचनाको ‘फ्यान’ नै हुँ । किताब किनेँ । तर आश्चर्य, कथाले जति तान्नुपर्ने हो तानेन, सुरुआती चरणमै म बिच्कन पुगेँ । 

वास्तवमा, टैगोरको कथाले नतानेको होइन । नतानेको नेपाली अनुवादले हो । कृतिका अनुवादकले टैगोरको त्यस प्रशिद्ध रचनालाई नेपालीमा पनि उत्तिक्कै सुललीतरुपमा प्रस्तुत गरेको भए मजस्ता पाठक बिच्किने थिएनन् ।

टैगोरको उक्त पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानको अनुवाद साहित्य विभागले प्रकाशन गरेको हो । जसलाई अनुवाद गरेका छन्, चतुर्भुजलाल दास केवरतले । तर केवरतको नेपाली अनुवादमा टैगोरको स्वाद अलिकति पनि नेपाली पाठकले ग्रहण गर्न सकेको अनुभूत हुन्न । अनुवादका नाममा टैगोरको रचनाको स्वाद नै बिगारिएको छ ।  

पछिल्लो समयमा अनुवाद साहित्यप्रति आमपाठककोे चासो बढ्दो छ । पुस्तक प्रकाशनमा आएको वृद्धिसँगै चासो बढ्नु स्वाभाविक पनि हो । विदेशका चर्चित लेखकहरूद्वारा लेखिएका कृति आफ्नै भाषामा पढ्ने चाहना तपाईं–हामी सबैमा हुन सक्छ र छ पनि । त्यसैको परिणति हो नेपाली भाषामा पनि विदेशी भाषामा लेखिएका कतिपय पुस्तकहरू प्रकाशित भएका छन् ।

खोज्दै जाँदा पुस्तक पसलमा यस्ता अनुदित पुस्तक बग्रेल्ती देखिन्छ । सलमान रुस्दीको किताब होस् वा तसलिमा नसरिनको अथवा चिनियाँ लेखक ख्ह चियानमिङको ‘उ रनपाओ’ पनि पाइन्छ । 

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनको जीवनी पनि नेपालीमा अनुवाद भएर आइसकेको छ । आफ्नो जीवनकालमा मुलुकमा विभिन्न कारण र कार्यले  प्रभाव पारेका थुप्रै व्यक्तिका पुस्तक नेपाली भाषामा अनुदित भएका छन् । साहित्य र साहित्यइतरका यस्ता पुस्तक पाठकले रुचाएका पनि छन् । 

अनुदित पुस्तकले नेपाली किताबबजार भरिएको छ । तर ती अनुदित किताब पैसा तिरेर किन्न र पढ्नका लागि कति योग्य छन् ? यसको जवाफ दिन कठिन छ । किनभने अनुवाद गरिएका अधिकांश पुस्तकहरू पाठकीय दृष्टिमा कमजोर भेटिएका छन् । भाषा शील्पका हिसाबले खस्किएका छन् । त्यसैले पनि यस्ता किताब खरिद गरेर लगे पनि पाठकको दृष्टिमा चढ्न सक्दैनन् । 

पछिल्लो समय नेपालीमा अनुवाद गरिएका विश्वसाहित्य कमजोर रहेको धेरैले स्वीकार्दै आएका छन् । साहित्यकार गोपाल अश्क पनि यसलाई स्वीकार्छन् । 

हिन्दी भाषाबाट नेपाली तथा भोजपुरीमा र नेपालीबाट हिन्दी भाषामा कृति अनुवादमा सक्रिय रहँदै आएका अश्कका अनुसार आजका अनुवादकहरूमा साधनाको कमी छ । कुनै पनि कृति अनुवाद गर्नेको दुवै भाषामा ज्ञान र दख्खल हुनुपर्ने उनको भनाइ छ । त्यस्तो हुन्न भने कुनै पनि कृतिको अनुवाद उत्कृष्ट नहुने उनी बताउँछन् ।

साहित्य अनुवादमा यस किसिमको कमजोरी हुनु अनुवादकका कारण नै हो । केही वर्षअघि साहित्यकार राजवले कुराकानीका क्रममा नेपालमा दक्ष अनुवादकको निकै अभाव रहेको बताएका थिए । 

नेपाली भाषाका उम्दा साहित्यिक कृतिलाई अङ्ग्रेजी भाषामा अनुवाद गर्ने दक्ष अनुवादक नभएकै कारण नेपाली साहित्य विदेशमा पुग्न नसकेको उनको भनाइ थियो । त्यतिमात्र होइन, छिमेकी देश भारतको हिन्दी भाषामा मात्रै नेपाली साहित्यको उत्कृष्ट अनुवाद हुने हो भने यसले फैलने अवसर पाउने कतिपय लेखकको भनाइ छ । अनुवादकको कमी  त छ नै, अनुवाद गरिएका कतिपय रचना पनि कमजोर छन् । नेपाली भाषामा लेखिएका र अन्य देशका भाषामा अनुदित भएका कतिपय रचना कमजोर रहेको गुनासो लेखकहरुले गर्दै आएका छन् । कमजोर साहित्यिक रचनालाई अन्य भाषामा अनुवाद गरेर लैजाँदा समग्र नेपाली साहित्य नै कमजोर रहेको देखिन्छ । यसकारण अनुवाद गर्दा उत्कृष्टतालाई ध्यान दिनु जरुरी छ । 

उसै पनि कृति अनुवाद सजिलो काम होइन । कृति अनुवाद गहन र गम्भीर कार्य हो । कठिन कार्य हो । तथापि, विश्व प्रशिद्ध कृतिको अनुवाद गरिन्छ भने अनुदित कृति पढ्ने पाठकलाई असहज नहुने गरी अनुवाद गरिनुपर्छ । त्यसले मात्रै एउटा स्रष्टालाई पाठकका अगाडि जीवित राख्न सक्छ ।

अनुवादको कामका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुवाद विभाग नै खडा गरेको छ । जसले विश्वका चर्चित साहित्यकारका कृति नेपालीमा अनुवाद गरेर पाठकसामु पु¥याउँछ, तर त्यसरी नेपालीमा अनुवाद भएर आएका कृति कतिको पठनीय छन् ? त्यसतर्फ प्रतिष्ठानले खासै ध्यान दिएको देखिँदैन । 

प्रतिष्ठानको अनुवाद साहित्य हेर्ने विभागले कृति अनुवाद गराउँदा नै विशेष ध्यान दिने र कृतिको अनुवादमा मात्रै नभएर त्यसको सम्पादनमा समेत दृष्टि पु¥याउने हो भने नेपालीमा अनुवाद हुने कृति ‘हलुवामा बालुवा’को अवस्थामा नपुग्ला कि !

अनुवाद गरिएको कृति सम्पादनका विषयमा कुरा गर्दै साहित्यकार तथा अनुवादक अश्क भन्छन्, “कुनै पनि कृति नेपाली वा अरू भाषामा अनुवाद गरिन्छ भने विशेष सम्पादकको व्यवस्था गरिनुपर्छ । यसो भएमा मात्र अनुदित कृति राम्रो र पठनीय बन्न जान्छ ।”

पठन संस्कृतिको विकास भएसँगै पुस्तक प्रकाशन र बिक्रीमा तीव्रता आएको साहित्यकारहरूले मान्दै आएका छन् । तर अझै पनि राम्रो र सही अनुवादकको अभाव छ । यो अभावले अनुवादका नाममा कृतिलाई फितलो बनाउनेबाहेक अरू केही गर्न सक्दैन । झारा टार्न र बजेट सक्नमात्रै अनुवादको काम गरिने हो भने प्रज्ञा–प्रतिष्ठानले यस किसिमको काम बन्द गर्नु राम्रो हुन्छ ।

त्यसो त बाहिरका प्रकाशन गृहहरूबाट प्रकाशित अनुदित कृति पनि खासै पठनीय रहेको पाइन्न । निजी प्रकाशन गृहबाट अनुदित कृतिभन्दा प्रज्ञा–प्रतिष्ठानबाट अनुदित कृति राम्रो रहेको पाठकले सोच्नु गलत होइन । तर सरकारको आधिकारिक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानकै कृति भाषिकरुपमा कमजोर भइदिएपछि यस्ता अनुदित कृतिले प्रतिष्ठानको साख कसरी बचाउला !  
   

राजेश खनाल

प्रतिकृया दिनुहोस
ad