धरापजस्तो सडकमा मुक्तिनाथसम्म 

धरापजस्तो सडकमा मुक्तिनाथसम्म 

म्याग्दी जिल्लाको बेनीदेखि मुक्तिनाथसम्मको सडक हेर्दा केही ठाउँमा त सडक अडिनै सक्तैन कि जस्तो लाग्छ । सडकको रेखांकन गर्दा छिटो र सजिलो विकल्प रोजिएको हुनसक्छ । अहिले पनि केही किलोमिटर त बगरमै गाडी गुडाइन्छ । काली र सहायक खोलामा कति ठाउँमा त पानीमै मोटर गुडाइँदो रहेछ । जोमसोम नजिकै त एउटा साँगुरो फड्केजस्तोबाट १२ पांग्रे ट्रकहरूसमेत हिँडाएको देखियो । 

कागबेनीबाट मुक्तिनाथ जाने बाटामा सडक केही ठाउँमा नराम्रोसँग भासिएको छ । त्यहाँको बलौटे जमिनको भारबहन क्षमताले सडकमा परेको चाप धान्न नसकेको हुनसक्छ । नभए त्यहाँको जमिनको प्रकृति नै त्यस्तो पनि हुनसक्छ । यसको बेलैमा अध्ययन गरेर सिके त्यस भेगमा बन्ने सडकमात्र हैन अरू भौतिक संरचना निर्माणमा पनि लाभदायी हुनेछ । पछि टिक्नै नसक्ने हो भौगर्भिकरूपमा भने तिनमा धेरै खर्च गरिरहनुको साँटो पुल, सुरुङको विकल्प बेलैमा खोज्नु बेस हुन्छ ।

हरियो प्लेटको दादागिरी

सडकमा ट्राफिक प्रहरी नदेखिने बित्तिकै चालकहरू अराजकमात्र हैन समझदार पनि हुनेरहेछन् । कास्कीको हिले नजिकै काँडेमा हिलोमा मोटर फसेपछि करिब ३ घन्टा जाम भयो । जाम बढाउने काम भने सरकारी र हरियो प्लेटका मोटर चालकले गरे । नत्र, पालैसँग एकतर्फी मोटर चल्न पाएको भए त्यति लामो जाम हुने थिएन । जाम खुलेपछि साँगुरो ठाउँमा अधिकांश चालकले सुझबुझ देखाएर आफू रोकिएर पनि बाटो सहज बनाए । कतिले त उकालोमा पछाडि सरेर पनि बाटो खोले । त्यसो गर्दा उनीहरूलाई पनि छिटै भयो । तर, सरकारी र हरियो प्लेटवाला गाडीहरूले भने अरूलाई बाटो छोडेको बिरलै देखियो । बरु उनीहरू अलिकति खाली ठाउँ देख्नेबित्तिकै अगाडिपछाडि नहेरी उछिनेर पो जान्थे । अनि तिनैले जाम बनाउँथे । चालकहरू संयमित र अनुशासित हुने हो भने दुर्घटनाको जोखिम त कम हुन्छ नै यात्रा पनि सहज र सुविधाजनक हुनेरहेछ । चालकको दादागिरी र सडकको दुरवस्थाले यात्रा कठिन र जोखिमपूर्ण बनाउँदो रहेछ । काठमाडौंदेखि मुक्तिनाथसम्म जाँदा आउँदाको अनुभवबाट पाएको ज्ञान यही हो ।

मानवीय सुविधालाई प्राथमिकता 

सडकमा काम गर्दा मौसम अनुमानअनुसार तालिका बनाउने हो भने यात्रु र मजदुर दुवैलाई सुविधा हुने देखियो । पानी पर्ने भनिएको दिन  पिच गर्ने कामका लागि सडक रोक्नुको त औचित्य हुँदैन नि ! यस्तै ठूला अनि सडकमा फस्ने सवारी साधन रोकेर अरूलाई आउनजान दिने हो भने यात्रुलाई सजिलो हुन्थ्यो । त्यसो गरिएको भए काँडेमा ३ घन्टा रोकिनुपर्ने थिएन । बीच बाटामा व्यर्थमा रोकिँदा यात्रुको समयमात्र हैन इन्धन र मोटरकै शक्ति पनि खेर जान्छ । यात्राको क्रममा सक्नेले जे गरे पनि हुन्छ भन्ने जंगली नियमले राज गरेको देखियो । यस्तो नहुुनुपर्थ्यो । 

एक्सकाभेटरको आतंक

बाटामा थुप्र्रै एक्सकाभेटर देखियो । तीमध्ये प्रायः त्यसै थन्केका र केही खोलामा ढुंगा बालुवा खनिरहेका देखिन्थे । महँगै हुन्छ क्यारे त्यो मेसिन ! सडक निर्माणकै लागि त ल्याइएको होला । बेनी – जोमसोम सडकको सतह हेर्दा ठूलो मेसिन प्रयोग गरेर भन्दा श्रमिकहरूले बनाए त्यो बाटो दिगो हुने जस्तो लाग्यो । पृथ्वी राजमार्ग मेसिनले हैन मजदुरले बनाएका हुन् । हुनत, अहिले मेसिनले धेरै काम गर्ने चलन छ क्या रे । तर, अप्ठेरा ठाउँमा मेसिन लगाउँदा भत्काउनै नहुने भाग पनि भत्किने डर धेरै हुन्छ । खलबल्याउन नहुने चट्टान खलबलियो भने त्यसपछि धान्नै नसकिने अवस्था आइलाग्छ । थाहा त इन्जिनियरहरूलाई हुनैपर्ने हो । तर, हाम्रा इन्जिनियरहरूले वातावरण र दिगोपनप्रति खासै चासो राखेजस्तो देखिँदैन । भूगर्भविद्हरूलाई त विकासको होडमा सबैले बिर्से बराबरै छ । 

ठेकेदारले भाडा वा किनेर ल्याएको मेसिनलाई दिनको एकाधघन्टा पनि काममा लगाउन नपाए घाटै पर्ने होला । कम्तीमा मेसिनको खर्च त उठाउनै पर्‍यो । तर, हतार हतार गरेको लटरपटर कामको गुणस्तर कमजोर हुन्छ । त्यसको उदाहरण हेर्न मनलागे बेनीबाट तातोपानीसम्मकै सडक हेरे पनि हुन्छ । 

‘ढुंगो पनि देवता कहलाउने’ कालीगण्डकीमा समेत बगरमा जताततै पहेँला दैत्यहरू देखिँदा रहेछन् । त्यो हिमनदीमा त्यसरी विशालकाय एक्सकाभेटरले जथाभावी खन्न खोतल्न थालेपछि केही वर्षमा ठूलो विपत्ति आइपर्ने डर लाग्यो । कालीमा ठूलो पहिरो र बाढी आयो भने त्यसले कम्तीमा पनि चितवनको नारायणगढसम्म क्षति पुग्नसक्छ । बीचमा पर्ने म्याग्दी, बागलुङ, पर्वत, कास्की, स्यांजा, पाल्पा, तनहुँ, नपलपरासीका बस्तीहरू पनि जोखिममा पर्नेछन् । अहिले धेरैलाई पत्यार नलाग्न सक्छ तर विनाशको दुश्चक्र सुरुभयो भने धान्न सकिनेछैन । 

सडकको अवस्था   

बाटो बनाउन बेनीदेखि जोमसोमसम्मै ठेक्का लगाइएको तर सम्पन्न कतै पनि नभएको जस्तो भान हुन्छ त्यो बाटो हिँड्दा । सडकको ट्रयाक खुलेपछि त एकातिरबाट काम सम्पन्न गर्दै अगाडि बढेको भए हुन्थ्यो । नभए दुईतिरबाट मात्र थालेको भए पनि हुन्थ्यो । सवारी सहजरूपमा चल्न पाउने गरी रेखदेख गर्दै निर्माण कार्य गरिरहनु पर्थ्यो । अहिले त यातायात पूरै ‘भगवान भरोसा’मा चलेको देखियो ।  

सडकमा अधिकांश भागमा नाली छैन । फलस्वरूप, यो वर्षसम्म बनाए जति सडक आउने बर्खामा बगेरै सकिन सक्छ । नेपालमा चिनियाँ शैलीको एकैपटक बृहत् मात्रामा निर्माण गर्न सायद सम्भव छैन । यसैले निर्माण प्रविधिमात्र हैन शैलीमा पनि भौगोलिक वास्तविकताको ख्याल गर्नुपर्छ । 

निकै व्यस्त हुँदो रहेछ यो सडक । सडकका छेउमा बस्तीहरू पनि छन् । कतिपय बस्तीको नजिक सडकमा कुलोको पानी लगाएर छाडिएको छ । फलस्वरुप, माटो बगेर ढुंगामात्र देखिएको छ । घासामा त प्रहरी चौकीकै सामु सडकमा पानी बगेको थियो । गाउँलेले बदमासी गरेका हुन् कि चेतनाको कमी हो ? तर, त्यसो गर्दा उकालोमा तान्न नसकेर गम्भीर मोटर दुर्घटना पनि हुन सक्छ । जाँदा बगेको पानी फर्कदाँसम्म पनि बगिरहेको थियो । बाटामा पानी बग्न रोक्न त धेरै पैसा चाहिने पनि हैन । प्रहरीले नै पनि आफ्नो चौकी अगाडि सडकमा पानी बग्न रोक्न सक्थे । 

निर्माणमा प्राथमिकता

यस सडकलाई प्राथमिकता तय गरेर बनाउनु बेस हुनेछ । पहरा काटेर बाटो बनाएका ठाउँमा नाली बनाइहाल्ने गरे अर्को वर्षको पानीले बिगार्दैन । पिच बिस्तारै गरे हुन्छ तर सडक सम्म पारिराख्न निरन्तर रेखदेख हुनुपर्छ । कालीको बगरमा पछि बनाए पनि हुन्छ । बाह्रै महिना सजिलै आउन जानसक्ने अवस्थामा सडकलाई राख्न प्राथमिकता दिनुपर्छ । सडक राम्ररी नबन्दासम्म ठूला मालवाहक ट्रक चलाउन पनि रोक्नुपर्छ । 

सञ्चार नेटवर्क
कागबेनीबाट मुक्तिनाथ जाने बाटामा धेरै ठाउँमा टेलिफोन लाग्दो रहेनछ । नेपाल दूरसञ्चारको सिग्नलसम्म अलि धेरै भेटिने तर सम्पर्क कमै हुने रहेछ । एनसेलको धेरै ठाउँमा सिग्नलै छैन र भएको ठाउँमा पनि एकदमै कमजोर । एनटीसीले कम्तीमा मूल सडक सबै ठाउँमा भरपर्दो सेवा पुग्नेगरी भौतिक र प्राविधिक सुविधा विस्तार गर्नुपर्‍यो । अप्ठेरोमै त हो झन् सञ्चार सुविधा चाहिने । आपत पर्ने, हराउने जस्ता ठाउँमा नेटवर्क नहुँदा झन् आपत हुन्छ । सरकारले एनसेललाई पनि मुक्तिनाथ जस्तो महत्त्वपूर्ण ठाउँमा विशेष ध्यान दिन भन्नुपर्छ । त्यहाँ भरपर्दो सुविधा भए सेवाप्रदायकलाई पनि नाफै हुनेछ ।  
र अन्त्यमा
अस्ट्रेलियाली सञ्चार माध्यम एबीसीको अनलाइन संस्करणमा यही अप्रिल ६ मा प्रकाशित समाचार अंश : – छिमेकी चीनले युरेनियमको भण्डारमा आँखा गाडेको शंका गरिएको छ । नेपाल र चीनले हालै ऊर्जा आदानप्रदानसम्बन्धी वार्ता थालेका छन् । नेपालमा २०१४ मा युरेनियमको ठूलो भण्डार भेटिएको छ । लो मान्थाङका लोबा समुदायको बस्ती उठाएरमात्र युरेनियम खानी खन्न सकिन्छ । यसैले लोबा समुदायलाई प्रभावमा पार्न चिनियाँ व्यापारीहरूले सित्तैमा खानेकुरा बाँडेका स्थानीयलाई उद्धृत गर्दै एबीसीले लेखेको छ – यसरी सित्तैमा खानेकुरा पाएपछि केही वर्षपछि उनीहरूले काम गर्न छाड्ने छन् । अनि चिनियाँहरूले खानेकुरा चाहिन्छ भने हाम्रो सर्त मान भन्नेछन् । 
एबीसीले युरेनियम भण्डारमा चीनले आँखा गाडेको र त्यसका लागि लो मान्थाङमा सक्रिय भएको शंका गरेको छ । पत्याउन पनि गाह्रो नपत्याउने पनि कसरी ? 

गोविन्द अधिकारी

प्रतिकृया दिनुहोस