site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देश कमजोर हुँदै गयो 

देश बलियो हुनु र सरकार बलियो देखिनु, के एउटै कुरा हो ? सडक, सामाजिक सञ्जाल र समाजमा अहिले चलेका तर्कले केही यस्तै प्रश्नलाई जन्माएको छ । देश बलियो निरन्तरको प्रयत्नबाट हुने रहेछ । यो बलियो कति, कसरी र कहाँसम्म पुग्दा मानिन्छ भन्ने सायद सीमा भेटिँदैन । के भूअवस्थितिले पनि मुलुक बलियो बन्नु, नबन्नुको हद निर्धारण गर्छ ? बलियो भन्नुको अन्तर्य सत्ता के, कस्तो हो ? बलियो बन्दै अघि बढ्नु र कमजोर पर्दै खस्कँदै गर्नुको विभेद नै देश बलियो वा कमजोर भएको पहिचान गर्ने सूत्र होला । यस्ता प्रश्नले बलियोको शक्ति र सीमा खोज्ने रहेछ ।  

देश के भएपछि बलियो मानिन्छ र के नभए वा नहँुदै गर्दा कमजोर भनिन्छ ? सायद, यो प्रश्नको उत्तर अहिलेको भौतिक र विज्ञानको असीमित विकास चरणमा ठ्याक्कै भन्न सकिने देखिँदैन । भौतिक वा प्राविधिक संयन्त्र संरचनाको एकपछि अर्को उपलब्धिले शक्ति प्राप्ति वा बलको सीमा पनि बढाइदिएजस्तो लाग्छ । एउटा मुलुकको बल वा शक्तिसीमा अर्को कुनै देशका लागि केही पनि होइन र अर्को मुलुकको शक्ति कसैका लागि अकल्पनीय र  असीमित लाग्नसक्छ । के भए बलियो, नभए कमजोर ? अर्थात् बलियो हुनु, भन्नु त्यो के, कति  हो ? यसका पनि आफ्नै सन्दर्भ सीमा छन्  ।

उदाहरणमा लिऊँ, अमेरिका, चीन, भारत । यी मुलुक अझै बलशाली हुने स्पर्धामा छन् । एकले अर्कोलाई उछिन्ने दौडमा रमाएका छन् । तर, पनि यिनलाई आफ्नो सबलताले पूर्णता पाएको अनुभूति छैन । सायद, त्यसो हुँदैन पनि । भारत संसदीय चुनावमा छ र उसको एउटा नारा सबल, सक्षम भारत भन्ने नै हो । भोलि चीनले आजको पहिलो शक्ति अमेरिकालाई उछिन्यो भने पनि उसले शक्तिको पूर्णता पाएको अनुभूति गर्नेछैन । फेरि उछिन्ने के, केमा हो ? यिनै देशको उछिनपाछिन हाम्रा लागि टाढा वा असीमित लाग्छ र हो पनि । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले कुनै पनि  देशको बल वा शक्ति जे भन्नौ त्यो सामरिक आर्थिक प्रगतिमा बढी केन्द्रित छ तर यतिमै सीमित छैन । प्रविधि त्यो हतियारमा पनि  र उछिन्ने स्पर्धा छ । मानव जीवनलाई मात्रै होइन समस्त प्राणीजगत र प्रकृतिसमेतलाई वशीभूत पार्ने वैज्ञानिक प्रयत्न छ ।

यतिमात्रै पनि किन ? यो स्पर्धा प्रयत्न धर्ती छोडेर आकाश र अन्तरिक्षमा ‘सेल्टर’ बनाउने जमर्को जोडतोडले उन्मुख छ । अनि रह्यो त बलशाली हुनुको सीमा ? तैपनि बासिन्दाहरु भन्छन् – देश कमजोर भयो वा बलियो हँुदैछ, हुनेछ । यसका आफ्नै सन्दर्भ सीमा रहेछन् । 

Global Ime bank

यस भनाइले खोल्ने तात्पर्य– देश बलियो हुन्छ, हुँदैजान्छ वा कमजोर हुन्छ र पर्दैजान्छ भन्ने नै हो । यही कारण नेपाली समाज, सञ्जाल र सडकमा तर्क हुनथालेको छ – देश बलियो हुँदैछैन, देश कमजोर भयो झन् झन् । सरकार बलियो छ संविधान नै उलटपुलट पार्नसक्ने । नागरिकलाई अनागरिक र अनागरिकलाई नागरिक बनाइदिनसक्ने । देशको सबै शक्तिसत्ता ‘क्याप्चर’ गरेर खिच्नसक्ने ‘धम्मरधुस’ सरकार छ । अनि देश दुर्बल किन, कसरी ? कतै यो आरोपमात्रै वा राजनीति र आस्थाको कारण निःसृत लाञ्छनामात्रै हो कि ? सरकारी पक्ष त भन्छ पनि यसै । यिनमा को साँचो ? 

तर, सीमा भए पनि कुनै मुलुकको शक्ति, सम्पन्नता वा बल खुम्चियो कि फैलियो भनी बुझ्न मापनका केही आधार हुन्छन् । तिनै आधारमा उसले वा सबैले आफ्नो आन्तरिक सबलता र बाह्य प्रतिष्ठाको लेखाजोखा गर्ने हो । लेखाजोखा आफ्नो अवस्थिति वा परिस्थितिले निर्धारित हुन्छ । अमेरिका आफूलाईआफ्नै परिधिमा हेर्छ, हामी नेपाली आफ्नै सामथ्र्यमा आफूलाई बुझ्ने कोसिस गर्छाैं । सबैप्रति सबैको दृष्टिकोण लगभग यसरी नै निर्मित हुन्छ । हैसियतअनुसार मूल्यांकन गरिन्छ । 

हामीले हाम्रो देशको सबलता मापन गर्ने उपाय पनि यही, यस्तैले हो । देश झन् कमजोर पर्यो भन्नेहरु किन यसो भनिरहेका छन् ? भनाइ, पूर्वाग्रह हो कि सत्यता पनि छ ? बुझ्न केही मानपनहरुको पहिचान, तुलना र बन्दैगएको अवस्थाको चित्रणबाट सहज होला ।

मानिसको सबलता पनि त रुप, रंग, ढंग, धन, बल, ज्ञान, शैली, दीक्षा, शिक्षा, व्यवहार आदि धेरै विषयवस्तुले मापन गर्न सकिन्छ । मुलुकको  शक्ति मापनमा पनि यस्तै ‘कम्पोनेन्ट’ हुन्छन् । झन्डै मानव विकास सूचकांक निकाल्दा भनेजस्तै विधि । 

देश बलियो, सक्षम र सम्भावना हुने, देखिने मुख्यतः जनतामा हो । माटोप्रतिको माया र संस्कृतिप्रतिको अटुट लगाव । यसमा नेपालीपन उम्दा छ, रह्यो । भलै परचक्रीले विभाजित, वैमनस्य उत्पन्न गर्न लगानी गरे । तर, सबलता भूसीमा मात्रमा सीमित छैन । देश बन्न भूगोलमात्र भएर पुग्दैन । त्यहाँ नागरिक बासिन्दा हुनैपर्छ । तिनको भाषा, भेष, संस्कृति अनिवार्य छ जसले राष्ट्रिय पहिचान दिन्छ । अनि यस्तै अंग, प्रत्यंगले नै देशले पनि पूर्णता पाउँछ । राष्ट्र बन्ने प्राकृत आधार तयार भएपछि त्यसलाई सफा, सुन्दर र सभ्य बनाउने जिम्मा लिने सरकारको कल्पना र स्थापना गरिन्छ । सरकार राजनीतिक पद्धति र प्रणालीले निर्दिष्ट गरेको मार्गचित्रले बन्ने, चल्ने र हिँड्ने हुन्छ, हुनुपर्छ । राजनीतिशास्त्रले स्थापित गरेको आधुनिक मान्यता यही हो । सभ्य स्वतन्त्रता राजनीतिको उच्चतम मानव प्राप्ति मानिन्छ । 

प्रश्न, देश कमजोर भयो कसरी ? जसरी जनता कमजोर भए त्यसरी । सबलताका सूचक मानिने आर्थिक, सांस्कृतिक र शैक्षिक पक्ष कमजोर भएका छन् । आर्थिक विपन्नता या परनिर्भरता, सांस्कृतिक पहिचानमाथि प्रहार र शैक्षिक प्रज्ञानताको ओरालो । यो अवस्था अहिले नेपाल, नेपालीको हो । यसैले देश कमजोर पर्दैछ भन्नेहरु भन्छन् । केहीलाई अपवाद मान्दा सीमित संख्याका बुद्धिजीवी पनि मौन छन् या विभक्त । कमजोरीको यो अर्को कारण । 

विभक्तहरु दलीय आबद्धताले गर्दा विचारको पक्षपोषणमा उत्रिन्छन् । व्यवहार चित्त नबुझे पनि मौन बसिदिन्छन् । खासगरी सत्ता पक्षकोमा यस्तो देखिन्छ । बुद्धि बिक्न पनि अवसर चाहियो । अवसर सत्ताको हातमा छ केही दिने नदिने । अवसर लिने वा नगुमाउने जिउँदो लालसाले मानवीय चेतनाको बौद्धिक स्वतन्त्रता, जीवन्तता मारिदिन्छ । बह्मनालतिर सुताइदिन्छ, अचेत, असुधजस्तै । सरकारी बुद्धि बाँच्नेहरुको हबिगत यही हो । सत्ताको नजिक रहन खोज्नेको पनि हालत यस्तै हो ।  हामी यसरी पनि कमजोर पर्दै, पारिँदै छौँ ।  

प्राकृतिक, सांस्कृतिक र राजनीतिक सबलता उर्धगामी छैन, यतिबेला हाम्रो । प्राकृतिक स्रोत दोहनलाई क्षुद्र कुरा मानौ, छोडौँ । देखिने दृश्यमा नेपाल प्रकृतिको सबल भूमि हो । तर, त्यो पनि अब अधोगामी छ । खुम्चिँदै, रित्तिदै र सुक्दै । पग्लिएर सेता हिमाल, टल्किन नसक्ने काला पहाडको आकृतिमा । जलस्रोत जो घट्दैछ । ताप बढ्दै, मौसम उरन्ठेउलो भएको भोगिँदैछ । 

नेपाली संस्कृति विविध छ । जसरी भूसंरचना विविध, त्यसको प्रभाव, पर्याप्रकृति पनि विभिन्न । यसै विविधताले खानपान, रहनसहन, भेषभुषा, भाषा, धर्म आदिमा समेत विविधता । अनुहारको बनोट फरक, छालाको रंग र दैनिक जीवन यापनको ढंग अलग । यही विविधता नेपाली संस्कृति हो । विविधताबीचको एकता नेपाली संस्कृतिबाट  स्थापित समन्वय, सहिष्णुता हो । तर, यही सबलतामा प्रहार भयो । जाति बाँडेर, क्षेत्र फोरेर, छाला च्यातेर अर्थात् सांस्कृतिक विविधताको एकता भाँडेर कहिले कम्युनिस्टका नामबाट त कहिले त्यही नाममा माओवादीको फुँदा गाँसेर प्रहार गरे । पर्दा बाहिर (खल) नायक यिनीहरु थिए भित्र सात समुद्र पारिको स्रोत । नेपाल कमजोर पार्ने अभियान, खलियानका खेताला थिए यी । हजारौं नेपाली सपुत मारे । संस्कृति अधमरो पारे । धन्न जोगियो तर धमिरा लगाएका छन्, बेलैमा वाल्मीकि ननिस्के धुलीसात हुने त होला ? यहाँभन्दा कमजोर पार्नुको शेष के रहेको छ र ? 

यी त भए छातीमा हात राखेर छाम्नुपर्ने कुरा । तर भनिन्छ, सबै नीतिको नीति राजनीति । देवाधिदेव महादेव भनेजस्तै । जो जनताको भोगाइमा सधैँ आउने गर्छ, प्रतिच्छायाजस्तै । बिर्सुँ भन्दा नि हुँदैन । छोड्दिउँ भन्दा नि छुट्दैन । यसको मार परिरहन्छ । सहुँ भन्दा नि गाह्रो पर्छ सहन  । नागरिकको जीवनसँग झुन्डिएको राजनीति । मुलुकको सबलता र भविष्यसँग गासिएको राजनीति । यो गर्नु पर्दैन, आफैँ टाँसिन्छ राजनीतिको प्रभाव परिणाम । नभई नहुने, भएर पनि हुनुपर्नेजस्तो नभएपछि, हुनेरहेछ अहिलेको कुहिएको राजनीति । बढी चिन्ता, यसैले अर्थात् राजनीतिले देश कमजोर पार्यो भन्नेहरुको चिन्ता हो त्यो देखिँदै पनि छ । 

माथि भनियो राजनीति पद्धति, प्रणालीले निर्दिष्ट हुन्छ, हुनुपर्छ । सरकार बलियो छ तर प्रणालीका संरचना सबै कमजोर पारिँदैछ । तिनीहरुमाथि बलियो सरकारको धम्मरधुस बल मिच्याइँ जारी छ । सबैतिर नेपालीकरण होइन, कम्युनिस्टीकरण छ । सरकार एकपक्षीय कम्युनिस्ट । संसद्, संसदीय समिति सबै सरकारी कम्युनिस्टको छायाछवि । न्यायालयमाथि नागरिकका औँला तेर्सिएका छन्, अविश्वास छ । बाघमात्र कराएको होइन, बाख्रै हराएका फैसला भइरहेका छन् । सरकारी स्वार्थबाहेक कसैको सुनुवाइ छैन ।

सामुदायिक विद्यालयको स्तर वृद्धितिर बुद्धि छैन, विदेश जाने पैसा रोक्ने र केही स्तरीय शिक्षा दिने निजी विद्यालयको घाँटी रेट्ने र बन्द गर्ने ‘स्वाँठ’ तर्क तिनै गर्दैछन् जो हिजो तिनैसँग जबर्जस्ती चन्दा रकम लिएर राजनीति गर्थे । शिक्षा, चेतना र विचार स्वतन्त्रतालाई ‘बुर्जुवा’ भन्थे ।  

पत्रकारितालाई सरकार सत्यको मुख थुन्ने र असत्यको थुतुनो खोल्ने वा विचार दूषित गरी एकपक्षीय बनाउने जमर्को गर्दैछ । एकपछि अर्को अडंगो थापेर । सञ्चार संस्थाहरुलाई, उद्यमीहरुलाई र  स्वतन्त्र विवेक वक्ताहरुलाई थर्काउँदै छ । दुर्बल पार्ने हर कोसिस गरेको स्पष्ट छ । राज्यका माध्यमको दुरुपयोग गरेर तिनलाई लयभंग सरकारी गीतमा थैथै नाच्ने नर्तक साबित गर्दैछ । विश्वसनीयता स्खलित गर्दैछ, समाजको ऐना, लोकतन्त्रको तराजु फोर्दै, फुटाउँदैछ । सडकमा मात्रै के वाह्य र आन्तरिक नीति जतासुकै खाल्डाखुल्डी भ्वाँगैभ्वाँग । आधार मापनमा कहाँ भेटियो त बलियो ? हो, यसैले देश कमजोर भयो भन्नेहरु बढी तथ्य नजिक छन् । बुझिन्छ, अन्ततः देश कमजोर पर्दै होइन, पारिँदै छ । कसले? उत्तर स्पष्ट छ – बलियो सरकारले ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC