site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खरेलनीको खिर, बट्टाईको सेकुवा
Sarbottam CementSarbottam Cement

विराटनगर । ‘‘चिया पसल त खोलें तर खाजा माग्दै आउनेहरु नै धेरै हुन्थे’’, हेमकुमारी खरेलले ३५ वर्षअघिको कुरोको चुरो खोतलिन्, र भनिन्, ‘‘चियाभन्दा खाजा माग्नेहरु नै धेरै हुन्थे । अब फसाद् पर्यो के खुवाउनु होला भनेर ! निक्कै बिलखबन्दमा परियो त्यसबेला ।’’

खरेलका अनुसार उबेला महेन्द्र राजमार्ग चल्तीमा आएपछि मुन्तिर मोरङको रमाइलो बजार निकै बलेको थियो । मास्तिर लेटाङमा पनि मानिसहरु बसाईं सरेर आउन थालिसकेका थिए । बस्ती बढ्दै र बाक्लिँदै थियो । चारकोसे झाडीसँगै टाँस्सिएको कानेपोखरी उम्दा बजार थियो । मास्तिर लेटाङ उक्लने र तल रमाइलो झर्ने मानिसका कारण कानेपोखरीले भाउ पाउँदै गयो । भर्खरै बसेको यो बजार बाहुनी र त्यसभन्दा दक्षिणबाट बयलगाडामा लकडी ओसार्न आउनेहरुको सुस्ताउने र चियाखाजा खाने गन्तव्य बन्दै थियो । आजपनि कानेपोखरी खाजा खानेहरुकै लागि खास छ । 

‘‘बजार अहिले जस्तो थिएन् । बाक्लै मान्छे नहुने, ’’खरेलले विगत सुनाउँदै भनिन्, ‘‘झोडा फाँडेर बसेको नयाँ चोक थियो । घरै थिएनन् । यसो चित्राले बेरेर चुल्होचम्को अड्याई टुसुक्क बसेर चिया पिउने ठाउँ बनाएका थियौं । होटल भन्ने त छँदै थिएनन् ।’’

Prabhu Bank
Agni Group
NIC Asia

चियासँगै खाजाको माग हुन थालेपछि उनको दिमागमा फुर्यो ‘खिर  कसो न बिक्ला ?’ दूध गाउँघरमा सहजै पाइने । खिर बनाउन सजिलो । मेहनत धेरै नलाग्ने । खाजाको रुपमा बेच्ने निधो गरिन् । र, सुरु गरिन् व्यापार ।

‘‘खाजा के छ, भनेर सोध्नेलाई खिर छ भन्थें’’, उनले भनिन्, ‘‘खिर ! भन्दै कतिले त नाक खुम्च्याउँथे र फर्कन्थे । पछि बानी लाग्यो । खरेलनीले खिर बेच्छिन् भन्ने चर्चा चल्यो । अहिले त खिर खान छ भन्दै ग्राहक नै सोधीखोजी गर्दै आउँछन् ।’’ उनको होटलमा दैनिक ४० लिटर दूधको खिर पाक्छ । साँझसम्ममा दुई तपेस खिर बिकीसक्छ । पहिले प्रति कचौरा दुई रुपैयाँ पथ्र्यो । हिजोआज खिर सेटको नाममा बिक्छ । ८० रुपैयाँ पर्छ । एक कचौरा खिरमा आलु र चनाको सब्जी पाइन्छ । ३५ वर्षपछि पनि खरेलको होटलको मुख्य खाजा खिर नै हो । बिक्न छाडेको छैन । सँधै ग्राहकको भींड हुन्छ । उनले आर्थिक रुपमा जीवनमा गरेको सबै प्रगति खिर व्यापारबाट सम्भव भएको सुनाइन् ।

Global Ime bank

खरेलको होटल पश्चिमतर्फको रोशना होटलमा पनि दैनिक एक तपेस खिर बन्छ र बिक्छ । होटलका सञ्चालक उमेश घिमिरे पनि कानेपोखरीको पुराना बासिन्दा हुन् । भन्छन्, ‘‘दक्षिणतर्फ जंगलमा कानकै आकारमा अवस्थित पोखरीका कारण नाम कानेपोखरी रहन गयो तर, यो ठाउँको परिचय खिरले पनि फेरिदियो,” घिमिरेले भने, ‘‘स्वादिष्ट र स्वास्थ्यलाई समेत राम्रो गर्ने खिर खाजाको रुपमा चर्चामा ल्याउन यात्रुहरुकै कारण सम्भव भएको हो ।’’

हिजोआज पूर्वपश्चिम राजमार्ग भएर भारतको दार्जिलिङ सिक्किम घुम्न नेपालबाट जाने र नेपाल आई उता फर्कने त्यतैका मानिसहरु कानेपोखरीमा रोकिन्छ, खिर खान्छन् र गन्तव्यतिर जाने गरेको घिमिरे सुनाउँछन् । कानेपोखरीमा धेरै होटल छन् । ६ वटामा खिर पाइन्छ । सबैको स्वाद मुखमै झुन्डिने घिमिरे दाबी गर्छन् । भन्छन्, ‘‘यहाँ खिर बिक्दा किसानको दूधले बजार पाएको छ । खिर खाने बहानामा आउनेहरुले कानेपोखरी घुमेका छन् । हाम्रो ठाउँको प्रचार भएको छ । भारततिरका कतिपय पर्यटकहरु त छेउछाउका घुम्न जाने ठाउँबारे जानकारी लिएर जान्छन् ।’’

कानेपोखरीमा हेमकुमारी खरेलको होटलमा खिर खाँदै गर्दा भेटिएका विराटनगरका सत्यनारायण महतोले भने, ‘‘निकै स्वादिलो हुने भएकोले पूर्व झापातिरबाट फर्कदा कानेपोखरीमा सँधैजसो रोकिएर खिर खान्छु ।’’

चम्कदै छ बट्टाईको सेकुवा 
कानेपोखरीमा खिर नबेच्ने होटलहरुमा हिजोआज बट्टाई चराको मासु र सेकुवा पनि खुबै बिक्छ । पारिजात होटलमा कुमार राईलाई दिनभरि सेकुवा पोल्न भ्याई नभ्याई हुन्छ । राईले भने,‘ ‘नचल्दा पनि एक सय सिल सेकुवा त सधै पोल्छु ।’’

यो होटलले बट्टाई चराको ताजा मासु बिक्री गर्छ । माछाका पारखीलाई स्थानीय जातको माछाको पनि व्यवस्था गरेको छ । राईका अनुसार सेकुवा खाने ग्राहकको  निक्कै भीड हुन्छ । अरु होटलहरुमा पनि सेकुवा र मासुजन्य खाद्यान्न बिक्री गरिन्छ । कानेपोखरीमा मालभोग केरा र चारकोसे झाडीको निउरो पनि निक्कै बिक्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC