– नरेश फुयाँल
चालीसको दशक शुरुतिर बिनाज गुरुवाचार्य पञ्चायतविरुद्ध आन्दोलनरत दलको पछि लागेर खुब हिँड्थे । दिनदिनै आन्दोलन हुन्थ्यो । जुलुस र कोणसभा हुन्थे । शंकरदेव कलेजमा आईकम भर्खर सकेका थिए बिनाजले । गणेशमान सिंहको निवासमा बैठक र भेला भइरहन्थे । त्यतिबेला बिनाजका बुवा विनय एसोसिएट प्रेस (एपी)का काठमाडौं संवाददाता थिए । बिनाज बेलाबेला बुवाका लागि रहरैले काम गरिदिन्थे ।
एकदिन बुवासँग काम गर्ने फोटो पत्रकारलाई लिएर बिनाज गणेशमानको घर पुगे । बाहिर पुसिलको बार थियो । पत्रकारलाई प्रवेश निषेध थियो । बिनाज र फोटोग्राफर सँगैको घरको छतमा चढे । एकछिनमा गणेशमान र पत्नी मंगलादेवी आँगनमा निस्किएर हात हल्लाए । फोटोग्राफरले त्यही तस्बिर खिचे । बिनाजले बुवालाई त्यो घटनाको समाचार टिपाए ।
कम्प्युटर इन्जिनियर बन्ने बिनाजको रहर त्यो घटनाले परिवर्तन गराइदियो । पत्रकार बन्न रहर लाग्यो । उनी पढ्नका लागि अमेरिका जाने भए । स्वीकृतिका लागि शिक्षा मन्त्रालयमा निवेदन दिए । साथीहरूको निवेदन स्वीकृत भयो तर उनको अस्वीकृत ।
कारण ?
साथीहरूले कोही साइन्स, कोही इन्जिनियरिङका लागि अप्लाई गरेका थिए । बिनाजले भने पत्रकारिताका लागि । मन्त्रालयले भन्यो— यहीँ पढाइ हुन थालेको त्यो पनि पत्रकारिता पढ्न किन अमेरिका जानु पर्यो ?
“मन्त्रालयसँग मेरो लफडा भयो । पत्रकारितामा नेपालको डिग्री कति राम्रो छ ? मैले प्रश्न गरें,” बिनाज सम्झिन्छन्, “मन्त्रीहरूलाई भन्न लगाएर बल्लबल्ल गएँ ।”
अमेरिका गएर पत्रकारितामा ब्याचलर्स सके । साथीहरू त्यतै सेटल भए । बिनाजले भने नेपालका लागि झोलागुन्टा कसे । “अरु नेपालबाट अमेरिका जान्छन्, म अमेरिकाबाट नेपाल फर्किएँ । साथीहरूले नेपाल नजा भनेर जोडबल गरे तर मैले मानिनँ, फर्किएँ,” बिनाज अमेरिका छाडेको प्रसंग सुनाउँछन् ।
ठीक त्यही समय, ‘काठमान्डू पोस्ट’ छोडेर कसमस विश्वकर्मा, अजयभद्र खनाललगायतको ठूलै समूह ‘एभरेस्ट हेराल्ड’ गएको थियो । अमेरिकाबाट पत्रकारिता पढेर आएका बिनाज ‘काठमान्डू पोस्ट’मा आबद्ध भए ।
त्यहीबेला ‘काठमान्डू पोस्ट’लाई राजनीतिक रिपोर्टरको खाँचो थियो । उनले संसद र राजनीतिक दलको रिपोर्टिङ गर्न पाए ।
राजनीतिक अस्थिरता थियो । सरकार परिवर्तन भइरहन्थे । संसदमा अल्पमत र बहुमतको खेल चलिरहन्थ्यो । सांसद खरिद–बिक्री चल्थ्यो । कहिले एमालेले आफ्ना सांसद बल्खुमा थुनेको त कहिले होटलमा ताल्चा लगाएर संसदमा मतदान गर्न नदिएको समाचार लेख्थे बिनाज ।
सन् १९९८ मा उनी ‘एपी’को रिपोर्टरका लागि परीक्षा दिन दिल्ली गए । दुई महिना काम गरेपछि दिल्लीस्थित ‘एपी’का सम्पादकले ‘ओके’ गरे । बिनाज विश्वकै प्रतिष्ठित समाचार एजेन्सी ‘एपी’को नेपाल प्रतिनिधि भए ।
दरबार हत्याकाण्डको त्यो दिन
०५८ जेठ १९ गते शुक्रबार । ‘गुड फ्राइडे’ मनाउन बिनाज गुरुवाचार्य साथीहरूसँग दबारमार्ग पुगेका थिए । नारायणहिटी दरबारबाट सबैभन्दा नजिकको होटलमा साथीहरूसँग बसे । खाए । गफ चल्यो । रमाइलो भयो । रात छिप्पिएपछि साथीहरूलाई न्युरोड छोडेर बिनाज थापाथलीस्थित घरतिर आउँदै थिए ।
त्रिपुरेश्वर आइपुगेपछि साइरनजडिट ल्यान्डक्रुजर गाडी बिनाजको गाडीलाई ओभरटेक गरेर गयो । उनले चिनिहाले— त्यो गाडी युवराज दीपेन्द्र शाहको थियो । नर्भिक हस्पिटल आइपुग्दा साइरनजडित ल्यान्डक्रुजरले ड्याङ... ड्याङ... दुइटा गाडीलाई हान्यो । त्यसपछि त्यो गाडी ब्याक भयो । आफ्नो गाडीलाई पनि हान्ने भयो भन्ने त्रासबीच बिनाजले गाडी ब्याक गरे ।
त्यो गाडी नर्भिक हस्पिटलभित्र छिर्यो । धन्न बाँचियो ! बिनाजले ढुक्कको लामो सास फेरे । आफ्नो घर आए ।
त्यही बेला हेलिकप्टरको आवाज सुनियो । बिनाजको मनमा प्रश्न उठ्योे— राति हेलिकप्टर किन उड्यो ? उनको मनमा पनि प्रश्नको हेलिकप्टर उडिरह्यो ।
एकैछिनमा फोनको घण्टी बज्न थाल्यो । “दरबारमा राजाको पूरै परिवारको हत्या भइसक्यो रे नि !” अधिकांश फोनमा त्यही सूचना आयो ।
युवराज दीपेन्द्रको साइरनजडित ल्यान्डक्रुजरले गाडी हान्दा केही भयो होला भन्ने त लागेको थियो । तर, यो तहको घटना कल्पना सिन्कोबराबर पनि थिएन ।
समाचार पुष्टि गर्न सकेनन् । बिनाज एसोटिएटेड प्रेस (एपी)मा काम गर्थे (अहिले पनि गर्छन्) । दिल्लीमा सम्पादकलाई फोन गरे । अमेरिकामा कल गरे । तर, समाचार पुष्टि नभएकाले ‘ब्रेक’ गर्न कठिन भयो ।
उनले समाचार च्यानलहरू फेरी–फेरी हेरिरहेका थिए । क्योदोले समाचार ‘ब्रेक’ ग¥यो । बिनाजले करिब १ बजे समाचार फाइल गरे । यो समाचार फाइल गर्नेमा आफू क्योदोपछि दोस्रो भएको दाबी बिनाजको छ ।
दुइटा गाडीलाई हान्ने साइरनजडित ल्यान्डक्रुजर किन नर्भिक आएको थियो ? बिनाजलाई कुतूहल भयो । बुझ्दै जाँदा थाहा पाए— डा. उपेन्द्र देवकोटा नर्भिकमा थिए, उनैलाई लिन ल्यान्डक्रुजर लिएर दीपेन्द्रका एडीसी आएका थिए ।
राजा, रानी, युवराज, युवराज्ञीसहित सपरिवार सखाप भएको थियो । सुन्दा पनि एकादेशको कथाजस्तो लाग्ने घटना । विश्वभरका ठूला मिडिया तथा समाचार एजेन्सीहरूले आफ्ना पत्रकार काठमाडौं उतारे । ‘एपी’ले पनि भारत, फिलिपिन्स, थाइल्यान्ड, हङकङ तथा अमेरिकाबाट पत्रकार पठायो । बिनाजले संयोजन गरे ।
महाभूकम्प– ०७२
०७२ वैशाख १२ गते शनिबारको दिन । साथीहरूसँग लन्चका लागि बाहिर जाने कुरा भयो । कपडा फेरेर बिनाज ओर्लिंदै थिए । श्रीमती र बच्चाले हजुरआमालाई अँगालो हालेर बाइबाइ गर्दै थिए । भर्याङमा टेक्नै लागेका के थिए, एक्कासि घर हल्लियो । भूकम्प आयो भन्ने भयो । बाहिर खुला ठाउँमा जानुपर्छ भन्ने लाग्यो तर हिँड्नै सकेनन् । हल्लिन कम भयो । बाहिर निस्किए ।
सबै सकुशल थिए । बुवा वाकिङमा जानुभएको छ भन्ने सोचे । बाहिर हेरे तर भेटिएनन् । भित्रै रहेछन् । बाहिर निकाले ।
आफ्नै कम्पाउन्डको पर्खाल भत्किएको थियो । छिमेकीको घर लडेको थियो । त्यही रिर्पोट गरे बिनाजले ‘एपी’लाई । त्यो उनले ‘एपी’लाई गरेको पहिलो रिपोर्ट थियो । कुदेर नर्भिक हस्पिटल पुगे । घाइतेहरू श्यया नपाएर गल्ली र कम्पाउन्डभरि लडिरहेका थिए । मोबाइलबाटै फोटो खिचे । त्यही पठाइदिए । दोस्रो रिर्पोट थियो त्यो उनको । फोनमा नेटवर्क थिएन । पार्किङमा राखेको गाडीमा रेडियो नेपाल खोले । गज्जबको सूचना प्रवाह गरिरहेको थियो रेडियोले । रेडियोबाटै लिए केही सूचना ।
फोटोका लागि निरञ्जन श्रेष्ठ र भिडियोका लागि उपेन्द्रमान सिंहलाई दौडाए । निरञ्जनले ‘धरहरा ढलेको छ’ भने । बसन्तपुरका साथीलाई फोन गरे । साथीहरूले ‘बसन्तपुरको दरबार र मन्दिर ढलेर बर्बाद छ’ भने । त्यही समाचार पठाए ।
फलो गर्दै थिए । ‘एपी’को फम्यार्टअनुसार अन्य देशबाट पत्रकार नेपाल आए । बिनाजले पत्रकारहरूको नेतृत्व गरे ।
माओवादीभन्दा सरकारको डर
माओवादी–सरकार द्वन्द्व थियो । नेपालमा माओवादीले विकासका संरचना भत्काइरहेका थिए । जनमानसमा त्रास थियो । राजनीतिक व्यवस्था परिवर्तनका लागि लडिरहेका थिए । तत्कालीन एमाले र कांग्रेस माओवादीको तारो बनिरहेका थिए । सरकार, प्रशासन र जनतामा त्रास थियो तर दिनदिनैको एकै प्रकृतिका समाचार ‘युजटु’ जस्तै भइसकेको थियो । तर, विदेशी सञ्चारमाध्यमका लागि भने त्यो निकै अर्थपूर्ण समाचार थियो । कारण— विश्वबाटै पराजित हुँदै गएको माओवाद नेपालमा भने उदाउँदै थियो ।
नेपालगन्जका पत्रकार रुद्र खड्काले चाँजोपाँजो मिलाए । समाचार संकलनका लागि बिनाज आफ्ना फोटो पत्रकार, अमेरिकी, क्यानेडियन पत्रकारसहित रोल्पा पुगे । उनीहरू माओवादी लालसेनाको एस्टर्किङमा थिए । सरकारको उपस्थिति नभएको ठाउँमा थिए उनीहरू । बिनाज भन्छन्, “उनीहरूलाई पनि अन्तर्राष्ट्रिय एक्सपोजर चाहिएको थियो । त्यसैले हामीलाई स्वागत नै गरे । तर, हामीलाई डर थियो— सरकारी सुरक्षाफौजको । बमवर्षक विमानले आकाशबाटै बम हान्थ्यो । हामीलाई माओवादीले भनेका थिए— जुनसुकै बेला दुश्मन (सरकारी सेना–प्रहरी)ले हेलिकप्टरबाट आक्रमण गर्न सक्छन्, त्यस्तो अवस्थामा आफ्नो सुरक्षा आफैं गर्नू ।”
उनीहरूले स्थानीय वस्तुस्थितिको रिपोर्टिङ गरे । सरकार सदरमुकाममा मात्रै रहेको समाचार लेखे । स्थानीयका गुनासा र आक्रोश लेखेर पठाए ।
विडम्बना ! माओवादीका ठूला नेता भेट्ने उनको सपना पूरा भएन, फर्किए । फोटोग्राफर भने फोटो पुगेन भन्दै फर्किएनन् । नभन्दै केही दिनपछि उनीहरूले जनार्दन शर्मालगायतका नेताहरूको फोटो खिचेर फर्किए । मिस गरे उनले ।
ज्ञानेन्द्रको अन्तर्वार्ता लिएनन्
०६१ माघ १९ गते बिहान बिनाजलाई कसैले सूचना दियो— राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिँदै छन् । राजनीतिक दलका नेताहरूलाई नजरबन्द गर्दै छन् ।
सूचना भरपर्दो स्रोतबाट आएको थियो ।
कोबाट ?
“नभनौं होला, कतिपय त्यस्ता स्रोत हुन्छन्, जो कहिल्यै खोल्न मिल्दैन,” बिनाजले स्रोत भन्न चाहेनन् ।
सूचना पाउनेबित्तिकै उनले अफिसमा काम गर्ने व्यक्तिलाई स्याट फोन किन्न मोटरसाइकलमा दौडाए ।
‘हतारको काम लतरपतर’ भनेझैं ‘दाइ, नागरिकता चाहिन्छ रे !” भन्दै फर्किए ।
“नागरिकता दिएर तुरुन्तै पठाएँ । जम्मा चार वटा स्याट फोन रहेछन् । तीनवटा एनजीओले लगेछन्, एउटा मैले ल्याएँ,” बिनाज सम्झिन्छन् ।
बिनाजले प्राप्त स्रोतका आधारमा समाचारको मस्यौदा गरे । केहीछिनमै राजा ज्ञानेन्द्रले सम्बोधन गरे । छिनभरमै मोबाइल फोन चल्न छोडे । ल्यान्डलाइन फोन काटियो । इन्टरनेट बन्द भयो ।
कस्तो अचम्म ! बिनाजको इन्टरनेट चलिरह्यो । उनले समाचार फाइल गरे । “इन्टरनेटका कारण त्यो समाचार सबैभन्दा पहिला मैले फाइल गर्ने मौका पाएँ । मैले नै ब्रेक गरेको हो त्यो समाचार । अरुले यूएनतिर गएर लाइन बसेर समाचार पठाए तर मैले आफ्नै नेटबाट आरामले पठाएँ,” बिनाज ०६१ माघ १९ को दिन सम्झिन्छन्, “दिउँसो २ बजे मेरो अफिसको इन्टरनेट पनि काटियो ।”
अप्रत्यक्ष लोभ पनि आयो, धम्की पनि आयो । दरबारनजिकका पात्रहरू बिनाजलाई भन्थे, “समाचार त राम्रो लेखिरहेका रहेछौ नि ! हामी हेरिरहेका छौं ।”
नेपाली पत्रिकाका समाचारकक्षमा सेनाका अधिकारीले राइफल बोकेर समाचार सेन्सर गरे पनि एजेन्सीमा भने त्यो अवस्था रहेन । अप्रत्यक्ष रूपमा भने बेलाबेलामा धम्क्याइरहन्थे । तर, बिनाजको कलम रोकिएन । सत्यको वरिपरि उनको कलम चलिरह्यो ।
राजाले ‘कू’ गरेको एक हप्तामा ज्ञानेन्द्रनिकटस्थहरूले उनलाई भने, “एपीमा महाराजको अन्तर्वार्ता मिलाउन सकिन्छ ?”
प्रजातन्त्रको घाँटी निमोठ्ने राजाको अन्तर्वार्ता लिन उनले सान्दर्भिक ठानेनन् । लिएनन् ।
बिकाउ सगरमाथा
नेपाल ! सुन्दर, शान्त विशाल !
मैले आफैंले एकदिन लेखेथें, ‘विशाल’को भावना कसरी आयो, म भन्न सक्तिनँ ।
भूमण्डलका नक्सा पल्टाउनुहोस् र हेर्नुहोस् त नेपालको परिमाण कत्रो छ । यो सानो बुँद महासागरमा त्यसै बिलाएजस्तो देखिन्छ । यो सानो टुक्रा हिमालय पहाडको रेखामा सानो कोठाजस्तो लाग्दछ । कति देश र जातिले यसको नामै सुनेका होओइनन् । यो शान्तिको हरियो राजधानीजस्तो पृथ्वीको सानो प्यारो टुक्रालाई अघि बढेर देखाउनुभन्दा आफूलाई छिपाउनुमा ज्यादा रुचि देखाउँछ । त्यसलाई एकान्त मन पर्दछ । संसारको घच्चाघमासानमा पसिना काढी हिस्सा लिनुभन्दा ध्यान र ज्ञानको गंगातिर र हिमगिरिशीला यसलाई ज्यादा मन पर्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्धको अंश हो यो । यो अंशले भनेजस्तै विश्व मानचित्रमा नेपाल सानो छ । तर, छुट्टा छ । त्यसैले त नेपालका समाचार विश्व समुदायका लागि रुचिकर हुन्छन् । बिनाजको अनुभवले यसै भन्छ ।
भूगोल, अर्थ र प्रभावका हिसाबले नेपालका समाचारले विश्वका प्रभावशाली समाचार एजेन्सीमा खासै महत्व पाउँदैनन् भन्ने लाग्छ । तर, सगरमाथा नेपालमा छ । विश्वका ८ वटा अग्ला हिमशिखरमध्ये ७ वटा नेपालमै छन् । बुद्ध नेपालमै जन्मिए । अनि विविध संस्कृति र घटनाक्रमका कारण नेपालका समाचारले एजेन्सीहरूमा बाक्लै ठाउँ पाउँछन् । बिनाज भारतका ‘एपी’ सम्पादकले भनेको सम्झिन्छन्, “नेपाल सानो देश भए पनि कति धेरै समाचार आउँछ नेपालको ।”
नेपालको सबैभन्दा धेरै समाचार आउने सगरमाथाको हो, जसमा विश्वको चासो छ । हुन त अहिले सगरमाथा चढेको मात्रै समाचार बन्न छोडिसक्यो । तर, कहिले हात नभएका, कहिले खुट्टै नभएका त कहिले वृद्धवृद्धाले सगरमाथा चढ्छन् । अनि विश्वले हेरिरहेको त्यो अग्लो सगरमाथाको समाचार आइरहन्छ विश्वभरि ।
प्रसंग सगरमाथाको आयो । बिनाजले एउटा समाचार सम्झिए । करिब ७ वर्षअघिको ।
एउटा समूह सगरमाथा चढिरहेको थियो । त्यो समूह सगरमाथा आरोहण गरेर फर्कियो । बिनाज यकिनका साथ त भन्न सक्दैनन् तर दिमागमा बाँकी रहेको धमिलो सम्झनाअनुसार त्यो समूहमा रहेका एक अमेरिकी नागरिक फर्किएनन् ।
फर्किएका सदस्यहरूका अनुसार उनी सँगै थिइन् । तर, अक्सिजन अभावका कारण उनलाई छोडेर सबै फर्किए । उनले साथीहरूसँग जीवनको भीख मागिन् । उनलाई बचाए आफ्नो ज्यान धरापमा पर्ने भएपछि उनी उतै छोडिइन्— ८ हजार मिटरभन्दा माथि । उनले सगरमाथामै प्राण त्याग गर्नु पर्यो ।
‘मलाई बचाऊ !’ भनेर अनुनयविनय गरिरहेकी आफ्नै साथीलाई छोडेर फर्किनु कति जायज ? नैतिकता र मानवीय हिसाबले मिल्छ ?
बिनाजलगायतको समूहले समाचार तयार पार्यो । समाचारको सार आयो— आफ्नै जिन्दगी बचे न अरुलाई बचाउने हो ।
बिनाजले लेखेका कयौं समाचारमध्ये विश्वको ध्यान खिचेको र रुचाइएको समाचार यो पनि एक थियो ।
बिनाजले लेखेको २०७२ को भूकम्पको समाचार ‘एपी’को ‘वल्र्ड ट्रेन्डिङ’मा १ नम्बरमा १ महिनासम्म रहेको पनि उनी सुनाउँछन् ।
अहिले
प्रविधिले संसार साँघुरो बनायो । सञ्चारमाध्यमहरू मल्टिमिडियामा अभ्यस्त हुँदै गए । छापा पत्रकारिताको प्रभुत्व खिइँदै गयो । लामा–लामा समाचार, फिचर कम हुँदै गए । आक्कलझुक्कल देखिन थाले । बिनाज अक्सर १२० शब्दमा समाचार लेख्छन् । “भिडियो, फोटो र अक्षरसँगै खेल्ने युग आएको छ,” बिनाज भन्छन् ।
बुधबार उनको घर पुग्दा बुवा विनय घाम तापेर बसिरहेका थिए । उमेरले डाँडो काट्दै गयो । रोगले च्याँप्दै गयो । उनीसँग पञ्चायतदेखि बहुदलसम्मको पत्रकारितामा लामो अनुभव छ तर पार्किन्सन्सको समस्या छ । त्यसैले उनीसँग कुराकानीको अवसर जुटेन ।
बिनयको परिवारमा पत्रकारै पत्रकार छन् । बुवा पत्रकार, छोरो पत्रकार, बुहारी पनि पत्रकार । बिनाजकी श्रीमती मून प्रधान पनि पत्रकार हुन् । “पहिलो पटक हाम्रो भेट पत्रकार सम्मेलनमा भएको थियो । त्यो चिनजान पछि विवाहमा परिणत भयो,” बिनाजले लगनगाँठो कसिएको प्रसंग सम्झिए ।
परिवारमा पत्रकारको जञ्जाल यती मात्रै होइन । पत्रकार गोविन्द प्रधान उनका ससुरा बुवा हुन् भने सासु आमा शसी प्रधान पनि पत्रकार नै हुन् ।
तस्बिरः सरिता खड्का