कुरी कुरी कांग्रेस ! 

नेपाली कांग्रेसका नेताहरू विचार र व्यवहार देख्दा सानै छँदाको एउटा घटना सम्झेँ । मेरो गाउँको एउटा घरमा बाबुछोरा छुट्टिने क्रममा झगडा गरेको सुनेर हामी केटाकेटीहरू तमासा हेर्न पुगेका थियौँ । दिउँसो भएकाले पाका मानिसहरू भने थिएनन् । सायद, सबै बेसी झरेका थिए । 
बाबुछोरा दुवैले एउटै किटको कराई समाइरहेका थिए । बाबु चाहिँ भन्थे – यो किन्ने पैसा मैले दिएको हो । मलाई तिहुन पकाउन चाहिन्छ । मै राख्छु । छोरोको दाबी थियो – नारायणगढबाट मैले बोकेर ल्याएको हो । तिहुन पकाउने भाँडो मेरो पनि छैन । मलाई चाहिन्छ । म छाड्दिन । 
दुवैले कराईको कडा समातेर तानातान गरे । तानातान चल्दै थियो बाबुले समातेको कडा भाँचियो । सन्तुलन बिग्रेकाले होला छोराको हातको कडा पनि भाँचियो र करार्ई भुइँमा खस्यो । भुइँमा खसेको किटको कराई दुई फुटेर दुई टुक्रा भयो । बाबुलाई दमको व्यथा थियो । पिँडीमा बसेर स्याँस्याँ गर्न थाल्यो । छोरो ‘‘खायौ नि अब !’’ भन्दै गाउँतिर लाग्यो । रमिता सकिएपछि हामी केटाकेटी पनि बाटो लाग्यौं । 

किटको कराई फुटेपछि के काम ? दुवैले टुक्रा आँगनमै अलपत्र छाडिदिए ।  

यो घटना म पटकपटक सम्झन्छु । गरिबीले ती बाबुछोरालाई त्यति छुचो बनाएको हो भनेजस्तो लाग्थ्यो । तर, गरिबीले होइन छुच्याइँले तिनको मनै गरिब बनाएको रहेछ । 
नेपाली कांग्रेसका शीर्ष नेताहरूको अहिलेको विचार, व्यवहार र प्रस्तुति हेर्दा मलाई तिनै बाबुछोराको झगडाको सम्झना हुन्छ । संगठन कब्जा गर्न तिनले अहिले गरेको तानातानले नेपाली कांग्रेस भन्ने पार्टी भौतिकरूपमै बिलाउने अवस्था आइसक्यो । तर, उनीहरू विधि, प्रक्रिया, सिद्धान्त र आदर्श र महासमिति सदस्यहरूको मानवीय अवस्थासमेतको पर्बाहै नगरी सहमति खोज्ने नाममा विवाद बढाएर वैरी हसाँउनैमा रमाइरहेका छन् । 

विधानमा सहमति जुटाउन पहिले दुवै पक्षले जानजान ढिलो गरे । महासमितिको बैठक निर्विध्न सम्पन्न गर्न संस्थापन पक्ष लचिलो हुन्छ र त्यही बेला आफूले भनेअनुसार विधान पारित गराउँला भन्ने दाउमा पहिले असन्तुष्ट पक्षले अलमल गरिरहेको थियो । अहिले संस्थापन पक्ष महासमितिको बैठक लम्मियो भने सदस्यहरू फर्कनेछन् र आफ्ना पक्षका सदस्य राखेर आफूले चाहेअनुसारको विधान पारित गराउँदा भन्ने ठानेर ‘झिँगे माछा खेले‘ झैँ अगाडि सर्ने अनि पछाडि फर्कने गरिरहेको छ ।  

महासमितिका सबै सदस्य दुई गुटमा बाँडिएका छन् । यसैले त्यहाँ सभापति शेरबहादुर देउवा समर्थक र वरिष्ट नेता रामचन्द्र पौडेल समर्थकहरू छन् । तर, नेपाली कांग्रेस समर्थक सायद बिरलै छन् । यही कारणले हो कि महासमितिका सदस्यहरूले पनि विधानलगायतका विषयमा दह्रोसँग आवाज उठाउन सकेका छ्रैनन् । तिनलाई थाहा छ – कांग्रेसका हितमा सत्य बोल्दा ‘दाइहरूको’ कोपभाजन हुने जोखिम छ । संगठनका लागि जति मरीमेटे पनि ‘दाइहरू’को कृपा नभए अगाडि बढ्न सकिँदैन । यसैले एउटा वा अर्को पक्षका दाइको दौराको फेर समातेर आफू सुरक्षित रहनुपर्छ । सबैलाई थाहा छ मनोनीतको संख्या धेरै भए आफ्ना समर्थकलाई पद बाँडेर गुट बलियो बनाउन सकिन्छ भन्ने देउवा समूहको दाउ होला । यस्तै, पदाधिकारी धेरै बनाएर तिनमा प्रत्यक्ष निर्वाचन गराउन पाए अहिले पौडेलमा थेग्रिन पुगेका ‘हेविवेट’हरूले सजिलै पद पाउनेछन् भन्ने अर्को समूहको सोच होला। यी दुवै गलत विचार हुन् । देउवालाई सभापति जिताउने बेलामा त कृष्णप्रसाद सिटौला र अजुननरसिंह केसी पनि उनैको साथमा थिए । अनि आउने दिनमा प्रकाशमान सिंह देउवाका पक्षमा र ज्ञानेन्द्रबहादुर कार्की वा पूर्णबहादुर खड्का पौडेलका पक्षमा पुग्दैनन् भन्ने कुनै ग्यारेन्टी छ ? 

आफ्नो गुट बलियो बनाउने, आफू सुरक्षित हुने र पार्टीमा प्रभाव बढाउने ध्याउन्नामा रचिएको षड्यन्त्रले पार्टी भने दुनियाँका दृष्टिमा उपहासको विषय बनेको शीर्ष नेताहरूलाई सायद थाहा नै छैन । कम्युनिस्टहरूले काम गर्न नसकेपछि हामीलाई जनताले भोट दिइहाल्छन् र अहिले पार्टी कब्जा गर्न सकेत अर्कोपटक सत्तामा पुगिहालिन्छ भन्ने मीठो सपना देखेर बसेका छन् । यिनले ‘सोमशर्माका बाबुको’ कथा त पढेका त पक्कै छन् तर बुझेका भने रहेनछन् ।  

महासमितिको बैठकमा विधान पेस गर्नु पर्छ भन्ने त यिनलाई थाहै थियो होला । किन केन्द्रीय समितिले बेलैमा विधान टुंग्याउन नसकेको ? महासमितिका सदस्यले दौराको फेर समातेकाले नेताहरूले तिनको स्वतन्त्र अस्तित्व स्वीकार गरेनन् । आफ्ना सबै हठलाई उनीहरूले अनुयायीद्वारा अनुमोदित ठाने । मतभेद हुन्छ तर असहमतिका विषयमा निर्णय लिन केही नलागे लोकतान्त्रिक प्रक्रिया अपनाउन त सकिन्छ । बहुमतका आधारमा निर्णय गरेको भए हुन्थ्यो । आफ्नो संगठनको निर्णय पनि लोकतान्त्रिक विधिबाट गर्ने आँट नभएका हुतीहारा नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पयार्य मानिएको दलका शीर्ष नेता हुने दुर्दिन पनि देख्न पर्दोरहेछ । ‘होली वाइन’का लागि राष्ट्रकै बेइज्जत गर्न तम्सने कम्युनिस्टका क्या सुहाउँदा प्रतिपक्षी !  

नेपाली कांग्रेसको महासमितिले त देशको आर्थिक, सामाजिक, राजनीतिक पक्ष, जनजीवन, लोकतान्त्रिक संस्कार, दण्डहीनताजस्ता ज्वलन्त विषयमा व्यापक छलफल गरेर देशलाई नै दिशानिर्देश गर्नुपर्थ्यो । संसारकै ध्यान आकर्षित गर्न सक्नुपर्थ्यो । त्यति नभए पनि कम्तीमा निर्धारित समयमा विधान र पार्टीका औपचारिक प्रस्तावहरू पारित गर्नुपथ्र्यो । तर, ‘बिरालीले छाउरा सारे’सरह बैठक स्थल पो सार्नथाले । न नेताहरूले महासमितिका सदस्यसँग माफी नै मागेको सुनिएको छ न महासमिति सदस्यहरूले पनि केन्द्रीय समितिको भाँडभैलो प्रवृत्तिको विरोधै गर्न सकेका छन् । धत् ! यस्तो पनि हुन्छ राजनीतिक दलमा ? यो त चाकरहरूको झुन्ड वा सामन्तहरूका भारदारहरूको भेलाजस्तो पो भयो ।  
अब त कांग्रेसहरूलाई कठै भन्न पनि लाज लाग्ने बेला भइसक्यो । यसैले कुरी कुरी !  
 

गोविन्द अधिकारी

प्रतिकृया दिनुहोस
ad