site stats
बाह्रखरी :: Baahrakhari
देश
एचआइभी संक्रमित खोज्न महिला स्वास्थ्य स्वयंसेविकाको सहयोग लिइने

काठमाडौं । सरकारले एचआइभी संक्रमितहरुलाई उपचारको पहुँचमा ल्याउन महिला स्वास्थ्य स्वयंसेवीकोे सहयोग लिने भएको छ । एचआइभी संक्रमितहरु उपचारका लागि नजाने गरेको भन्दै स्थानीय स्वास्थ्य स्वयंसेविकाको सहयोग लिन लागिएकोे राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । नयाँ बिरामी पत्ता लगाउने स्वास्थ्य स्वयंसेविकालाई प्रति बिरामी १ हजार रुपैयाँ प्रोत्साहन स्वरुप दिइने बताइएको छ । जसका लागि सरकारले ६० जिल्लाका ७५ स्थानीय तहका लागि ३० लाख ७५ हजार रुपैयाँ समेत छुट्ट्याएको छ । जस अन्तर्गत एक स्थानीय तहका लागि ४१ हजार रुपैयाँ बजेट उपलब्ध गराइएको छ ।

एचआईभी संक्रमितहरु उपचारका लागि खुलेर नआउने हुँदा उनीहरुलाई ल्याउन स्वास्थ्य स्वयंसेविकाको सहयोग चाहिएको केन्द्रका सूचना अधिकृत बीरबहादुर रावलले बताए । “अझै पनि गाउँगाउँमा जनचेतना नहुँदा बिरामी उपचारको पहुँचमा पुग्न सकेका छैनन् ” उनले भने, “सरकारले यस आर्थिक वर्षमा  ६० जिल्लाका ७५ स्थानीय तहका लागि ३० लाख ७५ हजार रुपैयाँ छुट्टाइएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केन्द्रले स्थानीयस्तरमा लुकेर रहेका नयाँ एचआईभी संक्रमित  पत्ता लगाउन महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने जिम्बेवारी स्थानीय तहलाई दिएको सूचना अधिकृत रावल बताउँछन् ।सन् २०१७ सम्म नेपालमा ३१ हजार २० जना एचआइभी संक्रमित रहेको अनुमान छ ,जसमा  १८ हजार २० जना पुरुष र १२ हजार  महिला छन् । 

केन्द्रका निर्देशक डा तारानाथ पोखरेलले १५देखि ५९ वर्ष उमेर समुहमा एचआइभी संक्रमणको व्यापकता दर शून्य दशमलब १५ प्रतिशत अर्थात प्रति १ हजारमध्ये दुई जनामा संक्रमण देखिएको बताए ।  सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मीहरु तथा रोजगारीका लागि विदेशिने, जेलका कैदी लगायतमा संक्रमणको जोखिम रहेको केन्द्रले जनाएको छ । 


 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०७५  ०८:४३
प्रतिक्रिया दिनुहोस्