site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
‘बुद्धिजीवी’को काम केपी ओलीसँग ‘झोक’ फेर्ने
Sarbottam CementSarbottam Cement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएको दश महिना पूरा भयो । पाँच वर्ष सत्ता सञ्चालनको जिम्मेवारी पाएको ओली नेतृत्वको सरकारको अहिल्यै प्रगति समीक्षा गर्नु हतार पनि हुन जान्छ । तर, पनि पार्टीभित्र र बाहिरबाटै सरकारले जनआकाङ्क्षा पूरा गर्न नसकेको, आफ्नो निर्णयमा नउभिएको, खुद्रा–मसिना काममा अल्झिएको भन्दै तीव्र आलोचना भइरहेको छ । 

३३ किलो सुन, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्त, बलात्कार, अपराधका घटनामा मात्रात्मक वृद्धि आदिले सरकार असफलतातर्फ उन्मुख त हुँदै छैन भनेर आशंका गरिनु नाजायज हैन । तर, सरकार काम नगरेको मान्न तयार छैन । सत्ता सञ्चालनको शुरूआती महिना नीति तथा कार्यक्रम तर्जुमा, बजेट निर्माण र मौलिक हक कार्यान्वयनसँग सम्बन्धि विधेयक निर्माणमा खर्चिएको र त्यसपछि पनि संघीयता कार्यान्वयनमा अल्मलिएकाले तत्काल परिणाम नदेखिएको तर्क गरिरहेको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग बलराम पाण्डेअक्षर काकाले गरेको विस्तृत कुराकानीको सम्पादित अंश :–
 

Prabhu Bank
Agni Group
NIC Asia

सरकार बनेयताको १० महिनाको अवधिलाई सरकारले कसरी मूल्याङ्कन गरेको छ ?

सबैलाई अवगत नै छ, संघीयताको कार्यान्वयनको शुरूआती चरणबाटै काम थाल्नुपर्ने अवस्था थियो । यसलाई सरकारले मौकाकै रूपमा लिएको छ । संघीयतामा गइसकेपछि यसको विधि बनाउनु पथ्र्यो । त्यसलाई सरकारले टुंगोमा पुर्‍यायो । हामीसँग चार किसिमको अनुदान छन् । ती कसरी बाँडफाँट गर्ने ? अन्योल थियो । राष्ट्रिय कोष मात्रै संविधानमा व्यवस्था छ । सय राष्ट्रिय कोषमा जम्मा भयो भने, ५० सङ्घले राख्छ । २५ प्रदेश र २५ स्थानीय तहलाई दिन्छ भन्ने थियो । त्यो बाहेक सामान्यीकरण अनुदान, विशेष अनुदान, समपूरक अनुदान, सशर्त अनुदान, कसरी दिने, त्यसको बाँडफाँटको मापदण्ड के हो भन्नेमा कुहिराको काग थियौँ । यसर्थ वित्तीय संघीयतामा जाने शुरूआत पनि थियो यो । एउटा उदाहरण दिऊँ, पाँच नम्बर प्रदेशमा सबैभन्दा बढी बजेट सशर्त अनुदानमा गयो, झन्डै ९ अर्ब जति । बजेट १८–१९ अर्बको हाराहारीमा । कर्णाली प्रदेशको हेर्ने हो भने सामान्यीकरण अनुदानमा बढी छ । यसमा सन्तुलन कसरी कायम गर्ने यसको कुनै सूत्र दिएन, त्यो तय गर्नुपर्‍यो ।
 
दोस्रो, तीन तहको सरकारको संरचनामात्रै थियो । भौतिक पूर्वाधार लथालिङ्ग । प्रदेशमा राजधानी तोकिएका छन्, संसद्, मन्त्रालय भवनको टुंगो थिएन । खोज्दाखोज्दै समय लाग्यो । अझ ठूलो समस्या नीतिगत थियो । संविधानमा एकल सूची र साझा सूचीमा समाविष्ट छुट्टाछुट्टै र संयुक्त अधिकारका क्षेत्र । एकल सूचीमा भएका अधिकार त परेन । साझा अधिकारका बारेमा व्याख्या गर्नुपथ्र्यो । अद्यापि केही अझै व्याख्या गर्न बाँकी छन् ।

Global Ime bank

मुख्यमन्त्रीहरू प्रश्न गर्नहुन्छ– शिक्षा विभाग हटेपछि केन्द्रमा शिक्षा मन्त्रालय किन चाहियो ? माधमिक शिक्षा स्थानीय तहमा गइहाल्यो, उच्च शिक्षा प्रदेशमा गइहाल्यो । विश्वविद्यालय प्रदेशले चलाउने पाउने व्यवस्था छ । केन्द्रको भागमा नीतिगत कुराबाहेक पर्दैन, शिक्षा मन्त्रालयको साइज ठूलो भयो भन्ने उहाँहरूको तर्क जायज छ । यी जम्मै व्याख्या गर्ने दायित्व यो सरकारको काँध छ । तर, परिणाम तत्काल आउँदैन, दश वर्ष लाग्न सक्छ । 

त्यसपछि बजेट र नीति कार्यक्रममा हामी अल्झियौँ । शुरूमा नीति, कार्यक्रममा अल्पकालीन र लोकप्रिय कुरा राख्थ्यौँ । त्यसो त सरकारको कार्यअवधि पनि त्यस्तै हुन्थ्यो– ९– १० महिनाको । अतः भन्न सकिने जति भन्ने र गर्न सकिने जति गर्ने भन्ने सरकारको तयारी हुन्थ्यो । अहिले त्यो सुविधा छैन । पाँच वर्षको दीर्घकालीन योजना बनाउनु पर्थ्यो । पाँच वर्षका लागि गरेका वाचा–कबोल जनताले परिणाममा खोजिहाल्छन् ।

अब तुइन विस्थापन गरिनेछ भनेर प्रतिवद्धता गरेरमात्रै हुँदैन, कतिवटा तुइन हटेर झोलुङ्गे पुल बने, त्यसको तथ्याङ्क हामीसँग हुनुपर्छ । आउने वर्षको नीति कार्यक्रममै यी समाविष्ट हुनुपर्छ । अघिल्लो कार्यक्रममा गर्छु भनेका काम कति पूरा भए, त्यसको फेहरिस्त त्यहाँ हुनुपर्छ ।

त्यसर्थ, नीति कार्यक्रमको ढाँचा फेरियो, मानिसहरूले त्यसको टेस्ट नै फरक पाए । बजेट पनि फेरिने भइहाल्यो । पहिलाजस्तो चर्चामूखी, लोकप्रिय कार्यक्रम राखेरमात्रै सुखै पाउँदैनथ्यौँ । एकातिर अग्रिम स्रोत कबोल गरिएको दायित्व सरकारको काँधमा थियो । ६ खर्बको भारी छँदैछ । स्रोत सुनिश्चित गरेको छ । ठेकेदारले भटाभट काम गरिरहेका छन् तर ढुकुटीमा पैसा छैन । यस्तो अवस्थाबाट हामी गुज्रियौँ ।

तत्काल देखिने नतिजा र दीर्घकालका लागि जग बसाल्नुपर्ने दुवै अभिभारा सरकारले बोकेर हिँडेको छ । तत्कालको नतिजा र दीर्घकालीन काम यी आफैँमा अन्तरविरोधी कुरा हुन् ।

तसर्थ, जनताको आँखाबाट हेर्दा काम भएन नि ? भन्ने प्रश्न उब्जनु स्वभाविकै हो । तथापि सरकारको तहबाट हेर्दा हामी सही दिशामै छौ भन्न सक्ने ठाउँमा उभिएका छौँ ।

यसबीचमा हामीले केही नयाँ कामको थालनी गरेका छौँ । जस्तो, सरकारको नीति तथा कार्यक्रममा सरकारको एउटा बुझाइ हुन्थ्यो, त्यसलाई तलतल लैजाने, मन्त्री, सचिवहरूलाई राखेर बुझाउने काम हुँदैनथ्यो । यो सरकारले आफ्नो नीति तथा कार्यक्रममा प्रत्येक लाइन र अन्तर्य बाह्र–बाह्र घन्टा मन्त्रालयमा बसेर सचिवहरूलाई बुझाउने काम भयो । बजेटका पालामा पनि त्यस्तै भयो, अर्थमन्त्रीले नीतिमा भएका कार्यक्रम र त्यसलाई कार्यान्वयन गर्ने र बजेटको व्यवस्था आदि विषयमा मिहीन ढंगले बुझाउने काम भयो ।

त्यसपछि प्रत्येक मन्त्रालयलाई ३६५ दिन नै के–के काम गर्ने, सूची (मेरिट लिस्ट) बनाएर ल्याउनूहोस् भनियो । उहाँहरूले बनाउनुभयो । साउन १ गतेदेखि बजेट लागू हुने, असार मसान्तसम्म दुईदिन लगाएर हामीले त्यही काम गर्‍यौँ । उहाँहरूले जे सूची बनाउनु भयो, त्यसलाई कपी गरेर टेबलटेबलमा पुर्‍यायौँ । त्यसैलाई डिजिटलाइज्ड ग¥यौँ । आफूले गरेको कामको प्रगति आफैँले भर्न मिल्ने गरेर । हरियो, पहेँलो, रातो, पाइचार्टमा भर्न मिल्ने गरेर । हामीले सचिवलाई भन्यौँ– अन्तिम रुजु तपाईंहरूले गर्नुहोला । हामी चौमासिक रूपमा समीक्षा गर्छौं । प्रधानमन्त्री स्वयम्ले कम्युटरबाटै सुपरिवेक्षण गर्नुहुन्छ ।

चौमासिक समीक्षा गर्दा केही मन्त्रालयको काम जम्मै रातो (गर्न नसकेको) भनेर आयो । हरियो र पहेँलो छँदै छैन । त्यसलाई अहिले हामीले छुट दियौँ । कारण– उहाँहरूले आफूले तयार पारेको सूची बमोजिमको काम हाल्नुभएनछ । कामको प्रगति अद्यावधिक गरेपछि रातो देखिनु स्वभाविकै थियो । हामीले आलोचना गरेनौँ । प्रविधिमा अभ्यस्त हुन समय लाग्ने नै भयो । तथापि स्मार्ट अनुगमनमा त हामीले लिएर गयौँ ।


चौमासिक समीक्षाको निष्कर्ष के हो ? सरकारको लक्ष्य, योजनाअनुरूप मन्त्रालय, मन्त्री चलेका छन् कि, हुँदै भएन अब मन्त्री फेरेर भए पनि काम देखाउनुपर्छ भन्ने तहमा पुग्नुभएको छ ?

मन्त्री नै परिवर्तन गर्ने तहमा हामी छैनौँ । तर, सिकाउने कामचाहिँ भइरहेको छ । उदाहरणका लागि एक महिना, तीन महिनामा सरकारले गर्ने कामको माइलस्टोन (कोशेढुंगा) बनाउँदा केही मन्त्रालयले मस्यौदा बनाउन नै चार महिना लगाए । एक महिनामा गर्ने कामको मस्यौदा बनाउन चार महिना लगाएपछि कसरी नम्बर दिने ? यस्तो पनि देखियो ।

यसमा मन्त्रीले काम गरेनन्, कर्मचारीले टेरेनन् या प्रणाली नै खराब, दोष कसको त ?

यसमा कुनै एउटा पक्षलाई मात्रै दोषी करार गर्ने पक्षमा छैनौँ । सबै चिज जोडिएको छ । राजनीतिक र कर्मचारीतन्त्र दुवैको नेतृत्व जोडिएका छन्, यसमा । हामीकहाँ एउटा समस्या छ– चर्चामा आउने खालका काम गरेमात्रै काम देखिने । सेलिब्रिटी काम गरेमात्रै काम देखिने चलन पनि बढेको छ । केही मन्त्रालयले त्यसरी आफूलाई गाइड गरेकाले पनि काममा अलमल भएको छ । कर्मचारी प्रणालीतर्फ आँखा सोझ्याउँदा, २०५० सालसम्म निकै राम्रो थियो । आन्तरिक विग्रह जेसुकै होस्, कर्मचारीतन्त्र सुशासनयुक्त थियो । बलियोसँग काम गर्न खोजेको देखिन्थ्यो । गलत काम गर्नेलाई निकालिएको पनि थियो । अतः सफा पनि थियो ।

त्यसयता काम गरे पनि हुने, नगरे पनि हुने । पुरस्कार र दण्डको कुनै व्यवस्था नहुने प्रणाली स्थापित भएछ, हाम्रो कर्मचारीतन्त्रमा । छोटो अवधिको सरकार चलाउँदा पनि महसुस भएको थियो । अहिले त झन् त्यो महसुस भइरहेको छ ।
 
त्यसो भनिरहँदा कर्मचारी कामै गर्दैनन् भन्ने होइन, मरिमेटेर काम गर्ने सचिव, उपसचिव र अन्य तहका कर्मचारी पनि छन् । तर, प्रणालीले नै काम नगरेपछि गर्नेहरूको काम पनि देखिएको छैन । काम गर्ने संस्कृति बिग्रँदै खिइँदै गइरहेको भान हुन्छ ।

यसलाई सुधार नगरेसम्म पुरस्कार र दण्डको तहमा समेत पुग्न नसक्ने अवस्था छ ।

बीचमा मन्त्री फेरेर भए पनि सरकारलाई गति दिने तहमा यहाँहरू पुग्नुभएको हो नि ?

काम गर्नुपर्छ भन्ने नै हाम्रो निष्कर्ष हो । मन्त्री फेर्ने होइन । यसो भनिरहँदा मन्त्री फेरिँदै नफेरिने पनि होइन । सामान्य सिद्धान्त हो– कोही पनि स्थायी हुँदैनन् । सचिव सरुवा भइराख्छन् । मन्त्रीको मन्त्रालय फेरिन्छ । मन्त्री फेरिन पनि सक्छन्, नफेरिन पनि सक्छन् । प्रधानमन्त्रीको तजबिजको कुरा हो ।

यी सबै कुरा सुनिसक्दा सरकार काम गर्दैरहेछ भन्ने तहमा त पुग्न सकिएला, तर बाहिर त्यस्तो माहौल छैन । सरकारप्रति निकै ठूलो चित्त दुखाइ छ, काम गर्नै सकेन भन्ने छ, किन ?

यसमा मेरो सामान्य धारणा छ– यो (क्रियट) सिर्जना गरिएको हो । सरकार अलोकप्रिय भएको, काम गर्न नसकेको कारणले होइन । सरकारप्रति जबरजस्त धारणा निर्माण गरिएको छ । एउटै कुरा बारबार दोहोर्‍याइरहेपछि त्यसको अर्थ रहन्छ ।

उदाहरणका लागि सामाजिक सुरक्षा कोषलाई लिऔँ । यत्रो ठूलो कार्यक्रम, हामी सबैले उत्सव मनाउनुपर्ने होइन ? म आफैँको कुरा गर्नुहुन्छ भने निजी क्षेत्रलाई धन्यवाद दिन्छु ।

तर, सामाजिक सुरक्षा योजना त ठीक भयो तर केपी ओलीको फोटो किन राखेको ? भन्दै हुर्मत लिने काम भयो । सामाजिक सुरक्षा योजनालाई लिएर केपी ओलीसँग झोँक फेर्ने काम भयो । केपी ओलीको तस्बिरमाथि अर्को तस्बिर टाँस्ने, संवेदनशील कुरा (कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको तस्बिर) टाँस्ने काम भयो । सरकारले ल्याएको लोकप्रिय कार्यक्रममलाई ओझेलमा पार्ने काम भयो । सरकार कमजोर हुँदा आफूलाई फाइदा पुग्छ भन्ने साथीहरूले नबुझेको कुरा हो यो ।

सरकारविरोधी धारणा निर्माण गर्न कसले सघाइरहेको छ, विपक्षी, या अरू कुनै समूह छ यसमा ?

विपक्षी त यसमा हाकाहाकी लाग्ने नै भयो । प्रमुख प्रतिपक्षीले विरोध त हाम्रो धर्मै हो भन्छ । आफ्नो साइज जे सुकै भए पनि कांग्रेसले आफूलाई ‘गभर्मेन्ट इन वेट’ नै भन्ठानेको छ । यसर्थ उसले सकेसम्म आफूतिर मास तान्न खोजिरहेको छ ।

योसँगै उठेको चिन्ता के हो भने, हामीसँग २५–४० उमेर समूहको ८० लाख मानिस छन् । यिनीहरू एकैपटक बूढो हुँदैछन् । यिनीहरूको वृद्धावस्थाको सुरक्षा कसरी गर्ने भनेर पेन्सन आदिको विशेष योजना ल्याउँदैछौँ । तर, यिनैलाई दिग्भ्रमित बनाउने सामग्री हामी तयार गरिरहेका छौँ । यसले अस्थिरताको आमन्त्रण सिवाय केही गरेको छैन ।

यो सरकार असफल हुनु भनेको नेकपा असफल हुनु होइन । केपी ओली असफल हुनु पनि होइन । प्रणालीप्रति नै वितृष्णा पैदा हुन्छ । यो सरकार तलमाथि भयो भने मानिसले नचिताएको नतिजा देखान पर्नसक्छ । यसो भनिरहँदा त्रास देखाएर आफ्नो असक्षमताको ढाकछोप गर्‍यो भन्ने आरोप पनि लाग्न सक्छ । यथार्थ के हो भने धेरैपछि आएको स्थिरताको उत्सव हामीले मनाउन सकेनौँ ।

तर, यो पहिलोटक होइन । ०४८ सालमा कांग्रेसले सुविधाजनक बहुमत प्राप्त गर्नुभयो । आन्दोलनबाट आएका, पार्टीभित्र पकड भएको व्यक्ति गिरिजा प्रधानमन्त्री हुनुभयो । तर, पार्टीभित्रको द्वन्द्वले तीन वर्षमै सरकार ढल्ने अवस्था बन्यो । त्यस्तै नियति बीपीको पनि रह्यो । त्यसपछिको परिस्थिति के भयो, हामी सबैलाई थाहा छ । 

‘तपाईं झन् बलियो हुनुहुन्छ । संसद् भंग भए तपाईंकै पक्षपोषण गर्ने गजबको अर्को संसद बनाउन सक्नुहुन्छ,’ भनेर दिग्भ्रमित बनाइयो । तर, परिस्थिति त त्यस्तो बनेन । नेकपा एमाले बलियो भयो । त्यही हिसाबले नेकपा ढल्यो भने नेपाली कांग्रेस त्यसरी आउन सक्ने हालतमा छैन । आफैँ तङ्ग्रिन सकेको छैन ।

नेकपाको समस्या के हो भने दुवै पार्टी विघटन भयो । नयाँ पार्टीले खुट्टा टेक्नै पाएको छैन । माओवादी केन्द्र आन्दोलनबाट पार्टीमा रूपान्तरण हुन पाएकै थिएन । जुन पार्टीको पाँच हजार केन्द्रीय कमिटी हुन्छ, उसलाई सु–संगठित मान्नै सकिँदैन । माओवादी केन्द्र अभियानबाट पार्टीमा रूपान्तरण हुँदै थियो, त्यो पनि भङ्ग भयो । यता संगठित फोर्स भएको एमाले विघटित छ ।  नेकपा तलसम्म जान बाँकी नै छ । सरकार कदाचित ढलिहाले नेकपाले खुट्टा टेक्न सक्दैन । कांग्रेस आउने छाँट छैन ।

यस्तो परिस्थितिमा के हुन्छ ?

यस्तो परिस्थितिको कल्पना बेकारको कुरा हो । आउँदै–आउँदैन यस्तो स्थिति । यस्तो अवस्थामा नेकपाले खुट्टा टेक्नुपर्छ । छिट्टै टेक्छ ।

बाहिर दुई–चार नेताको विरोध सुन्नु भएको छ भने पनि त्यो सरकार नै ढाल्ने तहको बहस होइन । अन्तरविरोध, विचार¬–विमर्श जीवन्त पार्टीको अवयव भइहाल्यो ।

अझ केही नेताको विरोध त पानीको फोका हो । नगरे हुन्थ्यो भनेर मात्रै मैले यो टिप्पणी गरेको हुँ ।

सरकार जेमा हात हाल्छ, विरोधको आगो सल्किइहाल्छ, भर्खरै एसिया प्यासिफिक समिटमा सहयोग गर्नुभयो, त्यसको पनि निकै टीकाटिप्पणी भयो !

मैले भनेँ नि सरकारविरुद्ध योजनावद्ध ढंगले नै प्रहार भइरहेको छ । कुनैमा प्रत्यक्ष ढंगले कुनै परोक्ष कोणबाट । कञ्चनपुर प्रकरणकै कुरा गरौँ न । बालिका मारिइन् त्यसमा बोलेका कुराले मानिसलाई छुने भयो नै । एसिया प्यासिफिकलाई धर्मसँग लगेर जोडियो, त्यसले मानिसलाई छुने भइहाल्यो ।

यसलाई राजनीतिकरण गर्दा मास थुप्रिनु स्वभाविकै थियो ।  फेरि पनि यो सबैले सरकार विरोधी धारणा निर्माण गर्न सघाइरहेको छ । त्यसले आकार लिइरहेको छ । सरकारको कार्यशैलीमा प्रश्न उठाइरहेका नेकपाकै नेताहरूको कुरा सुन्नुहुन्छ भने पनि साथीहरूसँग झोक चलेको कारणले बाहेक कुनै उत्तर पाउनुहुन्न । 

पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले त ‘सांस्कृतिक अधपतन, नग्नताको राष्ट्रिय परेड’को संज्ञा दिनुभयो नि ! 

नेताहरूको बारेमा सार्वजनिक रूपमा टिप्पणी गर्नु शोभनीय त होइन तर विषय उठिसकेकाले प्रष्ट पार्नुपर्ने हुन्छ । हाम्रा केही नेतालाई कस्तो लाग्छ भने ठूला नेतालाई बेस्सरी गाली गर्न सकियो भने आफू अग्लो भएको ठान्नुहुन्छ । त्यसले आफ्नो उचाइ घटिरहेको उहाँहरू बुझ्नुहुन्न । उहाँ अग्लो हुँदा अर्कोले त्यसैगरी गाली गर्छ । एकले अर्कालाई गाली गर्दा सिध्धिइन्छ भन्ने हेक्का हुनुपर्ने हो । मर्यादाको संस्कृति निर्माण आलोचना, गालीबाट होइन, एकले अर्कालाई सम्मानबाट मात्रै हो ।

उसो भए एसिया प्यासिफिकमा सरकारको त्यो प्रकारको संलग्नताको जरुरी थियो ?

सरकार आर्थिक रूपले संलग्न भएन । सरकार आयोजक होइन । तर, सरकार संलग्न छ । प्रधानमन्त्रीले त्यहाँ गएर बोल्नुभएको छ । त्यहाँ आएका पाहुनालाई स्वागत सत्कार गरेका छौँ । कुराकानी गर्नकै लागि प्रधानमन्त्रीको आवासलाई नै तीन दिन सिफ्ट ग¥यौँ । त्यो प्रोटोकल म्यानेजका लागि थियो । 

सरकार संलग्न नै भएन भनेर हामी भन्दैनौँ । यो युएपपीकोमात्रै कुरा भएन । आइक्याप पनि जोडिएको छ । आइक्याप (एसियाली राजनीतिक दलहरूको संस्था) यसको सहआयोजक हो । त्यसमाथि यो रातारात बनेको कार्यक्रम होइन । आइक्यापका महासचिव नै आएर तयार पारेको कार्यक्रम हो ।

नेकपाका अध्यक्षद्वयसहित झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठलगातय नेता त्यो छलफलमा हुनुहुन्थ्यो । हामी पनि छेउमा थियौँ । कसैको फोटो आयो, कसैको आएन । यसमा लुकाउनुपर्ने के छ ? हामी अहिले विश्वका सबै मुलुकलाई जुनसुकै खालको सम्मेलनमा आमन्त्रण गर्न चाहन्छौँ । हामी स्थिरतातर्फ अभिमुख हुँदैछौँ । विश्वलाई क्षमता देखाउन चाहन्छौँ । तर, धेरै विवादित बनाउन खोजियो ।

सम्मेलनमा भाग लिनकै लागि भनेर तीन हजार विदेशी आए । कुनै पनि होटल खाली थिएनन् । यत्रा इकोनोमीलाई नजर अन्दाज गर्न भएन । हामी सन् २०२० मा भ्रमण वर्ष मनाउँदैछौँ । रातारात २० लाख मानिस आउँदैनन् । यस्तै इभेन्टले पर्यटक तान्ने हो । ०६२–०६३ तिर नेपाल आउने हवाईजहाजसम्म पाइँदैनथ्यो । तर, अहिले ठीक उल्टो छ । शीतयाममा पनि नेपालका होटल भरिभराउ छन् । अहिले नेपालमा लगानीको वातावरण छ । राजनीतिक, स्थायित्व, स्थिरता छ । 

यसका लागि यत्ति विवादित संस्थासँग सहकार्य गर्न जरुरी छ र ?

संस्था विवादित हुँदै होइन, तर विवादित बनाउने कोशिस भयो । संस्था त नेपाली कांग्रेस, नेकपा सबैलाई विवादित भन्न सकिन्छ, तर्क गर्दैजाँदा । हिजोका दिनमा नेपाली कांग्रेसले कम्युनिस्टलाई विवादित भन्दै हिँड्या होइन आज विशेष आर्थिक नीति, लोककल्याणकारी नीति भन्दै कम्युनिस्टकै बाटोमा किन आएको ?

यो सरकारलाई विरोध गर्ने नक्कली अवधारणा हो । बेलैमा व्यवस्थापन नगर्ने हो भने यसले उहाँहरूलाई नै खाइदिन्छ ।

युपीएफकै कुरामा जाऔँ न, तीन दिनअघिसम्म नेपाली कांग्रेसका केही युवा नेता उफ्रीउफ्री विरोध गरिरहनुभएको थियो । पछि आफैँ बोलेको भिडियो आयो । चुप लाग्नु परेन ? उहाँहरू हिजो भाग लिने कुरा पनि गलत थिएन । तर, बोल्ने बेलामा हेक्काचाहिँ राख्नुपथ्र्यो । को व्यक्तिको बारेमा कति आलोचना गर्ने, कति प्रशंसा गर्ने कुनै साँधसीमाना नराखी बोल्ने !

प्रधानमन्त्री संस्थाले डाक्यो भन्दैमा त्यहाँ गएर बरालिनुभएन । विवादित कुरा पनि बोल्नुभएन । उद्घाटन गर्नुभयो, पदक ग्रहण गर्दा मन्तव्य दिनुभयो । त्यो कुनै धार्मिक कार्यक्रम थिएन । अजेन्डा बाहिरै आएको छ, त्यहाँ कुनै अमूक धर्मसँग सम्बन्धित कुरा थिएन । त्यहाँ सबै धर्म मान्ने मानिसहरू थिए । पत्रकार सम्मेलन पनि दुईवटा भएको थियो । धार्मिकवालाहरूले पनि गरेका थिए । राजनीतिक दलहरूले पनि गरेका थिए ।

प्रधानमन्त्रीले कुनै धार्मिक प्रवचन त दिनुभएन, समृद्ध नेपाल र सुखी नेपालीकै कुरा गर्नुभएको थियो । प्रवचनमा कुनै खास धर्मको प्रशंसा र अर्को धर्मको निन्दा गरेको भए पो निन्दा भत्र्सनायोग्य त । सबै धर्मको सम्मान गर्न नसक्ने हो भने धर्म निरपेक्षताको व्याख्या के भनेर गर्ने ?

पछिल्लो विवादलाई पार्टीका केही नेताले रणनीतिक ढंगले उपयोग गरे, एउटा अध्यक्ष विवादमा मुछिनुभयो, अर्को अध्यक्ष बिरामी भएँ भनेर कार्यक्रमबाट परै बस्नुभयो ?

पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल विवादमा पर्नुभएको छैन । मिडियाले विवादित तुल्याउने प्रयत्न गरेको हो । माधव नेपाल आयोजक कमिटीको संयोजक हो, उहाँले सफलतापूर्वक कार्यक्रम सम्पन्न गर्नुभयो, आईक्यापको संस्थापक नेताको हैसियताले ।

उहाँले धाक नै लगाएर बोल्नुहुन्छ नि– नर्थ कोरियाका राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीचको भेटवार्तामा मेरो भूमिका छ भनेर । नर्थ र साउथ र कोरियाबीचको भिजिटमा उहाँलाई त्यही संस्थाले मध्यस्तथता गरेको कुरा पनि उहाँले लुकाउनु भएको छैन ।

प्रधानमन्त्रीले पनि नेता नेपाललाई गलत गर्नुभयो भन्नुभएको छैन । बरु सहयोग गर्नुभएको छ । राष्ट्रप्रमुखालाई निम्तोसमेत प्रधानमन्त्रीले नै लेख्नुभएको छ । यसर्थ केही लुकाइएको छैन । हामीले ४५ मुलुकका मानिस यहाँ ल्याउने, हाम्रो अर्थतन्त्र पनि परिचालन गर्ने, शान्ति प्रक्रिया, सरकारको सपनाको मार्केटिङ गर्ने योजना हो, त्यही अनुसार गर्‍यौँ । भोलिका दिन यस्ता सम्मेलन भए सरकारको संलग्नता त्यहाँ पनि रहन्छ ।

अर्का पार्टी अध्यक्ष प्रचण्डको अनुपस्थितिलाई चाहिँ कसरी लिएको छ, सरकारले ?

उहाँ बिरामी हुनुभएको साँचो हो । त्यति नै बेला तँ किन बिरामी भइस् भनेर लखेट्न पाइन्छ र ?

राजनीतिक दाउपेचले प्रेरित गर्‍यो किन भनेर आशंका गर्ने पनि छन् नि !

जहाँ पनि शंकाको दृष्टिले हेर्ने हाम्रो बानी नै भइसक्यो । त्योचाहिँ मनस्थिति नै फेर्नुपर्छ ।

१० महिनाको अवधिमा सरकारले देखिने गरी के–के काम गर्‍यो ?

पहिलो हामीले दुवै देशसँगको छिमेक सम्बन्ध मजवुत बनायौँ । भारतसँगको सम्बन्ध गुणात्मक रूपमा सुधार भएको छ । सुमधुर भएको छ । ईपीजी (प्रबुद्ध व्यक्ति समूह)को प्रतिवेदन तयारी हालतमा छ । बुझ्ने नबुझ्ने आफ्नो ठाउँमा छ । नेपाल भारत सम्बन्धको आयाम केलाउँदा यसअघि डेग नचलेका विषय सुधारात्मक ढंगमा अघि बढेका छन्, त्यहाँको सरकार र पार्टीसँग ।

चीनसँगको सम्बन्ध केपी ओली प्रधानमन्त्री भएकै बेला गरेको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको छ । परम्परा बनेको ल्यान्ड लक्ड कन्ट्रीको परिभाषालाई ल्यान्ड लिङ्क्डमा रूपान्तरित गरेका छौँ, व्यवहारिक रूपमै । अतः नेपाल–भारत, नेपाल–चीन सम्बन्धमा शंका गरिरहनुपर्ने अवस्था स्वतः विघटन भयो ।

छिमेक नीतिका अलावा विदेश नीतिमा हाम्रो माइलेज देखिरहनुभएकै छ । संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा धेरै देशका प्रधानमन्त्री राष्ट्र प्रमुखले बोले, हाम्रो प्रधाामन्त्रीले पनि बोल्नुभयो । यसपल्ट नगएको भए पनि हुँदा हो । तर, हाम्रो स्थायित्वको मार्केटिङ विश्वव्यापी नै गर्नुथियो । यसपल्ट नगएको भए पनि हुँदा हो । तर, हाम्रो स्थायित्वको मार्केटिङ विश्वव्यापी नै गर्नुथियो, गर्‍यौँ । उहाँले त्यहाँ जे बोल्नुभयो, त्यसको अन्तर्राष्ट्रिय चर्चाको विषय बन्यो । महासभाको त्यो सेसनको अध्यक्षता गर्नेले संयोजकले तीनवटा भाषण उद्धृत गर्नुभयो, त्यसमध्ये केपी ओली पनि पर्नुभयो ।

अमेरिकाको न्युयोर्कमा एसिया सोसाइटी भन्ने एसियाको थिङ्म ट्याङ्क अर्गनाइजेशन छ, अस्ट्रेलियाको पूर्व प्रधानमन्त्रीको अध्यक्षता गनुभएको । त्यहाँ पनि प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाका बारेमा प्रवचन–मन्तव्य दिनुभयो । बोलेको कुरा चर्चायोग्य होइन । तर, त्यहाँका स्रोता पैसा तिरेर आएका थिए । हाम्रो प्रधानमन्त्रीले पहिलोपटक डलर लिएर सम्बोधन गर्नुभयो । त्यो भनेको प्रधानमन्त्री संस्थाका लागि होइन, मुलुककै लागि गर्वीलो विषय बन्यो । त्यस्तै हामी कोस्टारिका गयौँ । ल्याटिन अमेरिकी मुलुकमा यस्तो द्विपक्षीय भेटघाटको कुरा थिएन । त्यहाँ जानुको अर्थ थियो । पहिलो कोस्टारिकाको जलवायु अनुकूलनसँग सम्बन्धित विषय नेपालसँग मिल्दो थियो । अनुभव आदान–प्रदान गर्नुपथ्र्यो । दोस्रो, त्यहाँ संयुक्त राष्ट्रसङ्घको शान्ति विश्वविद्यालय छ, त्यसको हामी संस्थापक पनि हौँ । त्यसले हाम्रो प्रधानमन्त्रीलाई सम्मान नै गर्‍यो । यसरी नेपाललाई विश्व रङ्गमञ्चमा चिनाउने काम सरकारले गरिरहेको छ । औपचारिक रूपमा घोषणा भएको छैन, तर आउँदो जनवरी महिनामा प्रधानमन्त्री वल्र्ड इकोनोमी फोरमको बैठकलाई सम्बोधन गर्न डावोस जाँदै हुनुहुन्छ । विश्वका ठूला नेताबीचमा उहाँले त्यहाँ सम्बोधन गर्नुहुनेछ । यो सबै विदेश मामिलामा सरकारको परिपक्वताको परिचायक हो ।

घरभित्रको कुरा गर्दा इन्जिनियरिङको काम सकिएको छ । कर्मचारी समायोजन टुंग्याउँदैछौँ । एक महिनाभित्र नतिजा आउन थालिहाल्छ । ठूला आयोजनाहरूलाई सुपरिवेक्षण गर्ने र समयमै टुंग्याउने काममा तदारूकता दिएका छौँ । दुई महिनाभित्र नतिजा दिन्छौँ । मलेसिया सरकारसँग भएको श्रम–सम्झौता र सामाजिक सुरक्षा योजना पनि सरकारको महत्त्वपूर्ण काम भित्रै पर्न आउँछन् ।

तर धूलोधुवाँ हटाउन बाटाघाटाका खाल्टाखुल्टी पुर्न नै सरकार असक्षम देखिएको छ । यो त गर्न सकिन्छ नि !

जनताको यो जायज प्रश्न हो । तर, काम गर्ने प्रणालीमा हाम्रो जुन अकर्मण्यता छ नि, त्यसले समस्या निम्त्याइरहेको छ । एउटा खाल्डो पुर्न प्रधानमन्त्री कार्यालयमा बैठक राखेर दिनदिनै तर्साइरहन बाध्य छौँ । काम गर्ने बानीको विकास नै हुन सकेन । अर्को, कुन बाटो कसको भन्ने द्विविधा छ । चक्रपथ सडक विभागले हेर्छ । उपत्यकाभित्रका भित्री बाटा महानगर, नगरको पर्ने भए । सीमाना जोड्ने बाटा प्रदेशका र राजमार्ग संघीय सरकारको हुने भए । काठमाडौँको भित्री गल्लीको बाटो बनेन भने पनि सङ्लाई नै गाली गर्न अभ्यस्त छौँ हामी ।

दुईतिहाई जनताले चुनेको सरकार । ठूलो समर्थन पाएर बनेको सरकार हुनाले अपेक्षाको आयतन पनि ठूलो छ । पूरा नहुँदा आलोचनाको आयतन पनि बढ्ने नै भयो । तर प्रधानमन्त्रीलाई किन सह्य हुँदैन, खनिइहाल्नुहुन्छ ?

प्रधानमन्त्रीले बोलेका शब्द गाली हुन् भने, बुद्धिजीवीले गरेका तर्कचाहिँ सबै प्रशंसायोग्य नै छन् । सहन गर्ने खालका छन् । उहाँहरूले प्रधानमन्त्रीलाई जे लाञ्छना लगाइरहनुभएको छ, त्यो शोभनीय छ त ? यसमा विमर्श गरौँ । विरोध गरे पनि शालिन र भद्र शैली अपनाऔँ भन्नु गाली हुँदैन । फेरि अहिले केपी शर्मा ओलीलाई आलोचना गर्ने बेला होइन । केपी ओली नेकपाको मात्रै झन्डा होइन, मुलुककै झन्डा हो । यो झन्डा झर्दा हामी सबै अप्ठ्यारोमा पर्छौं ।

सरकारलाई पार्टीभित्रै बाट चुनौती बढेको हो ?

सरकारलाई चुनौती बढेको छैन । काम भएन, गरेन भन्ने गुनासो बढेपछि खबरदारी जहाँकहीँबाट भइहाल्छ । फेरि हाम्रो मुलुकमा आलोचना संस्कृति हो । आज एउटा कुरामा आलोचना हुन्छ, त्यो पूरा भएपछि ‘यति गर्‍यो, त्यति गरेन’ भनेर त्यहाँ पनि टीका–टिप्पणी शुरू हुन्छ । आलोचनाले सरकारलाई बलियो बनाउने हो ।

जहाँजम्म पार्टीभित्रका केही नेताको प्रसंग छ । केही नेता बढी नै भएर आलोचना गरिरहनुभएको छ । उहाँहरूले धीरता गुमाउनु भएन । संयमता गुमाउनु भएन । त्यसरी आलोचना गर्ने बेला भएको छैन ।

उसो भए सरकार आलोपालोमा चलाउने मूर्त/अमूर्त सहमति केही पनि छैन, दुई अध्यक्षबीच ?

सरकार सञ्चालनमा दुई अध्यक्षबीच आलोपालोको कुनै कुरा छैन । अहिले हामी केपी ओलीको नेतृत्वमा अघि बढिरहेका छौँ । पुष्पकमल दाहाल पनि यही टीममा हुनुहुन्छ । जुन मन्त्रिमण्डलले काम गरिरहेको छ । यही रहन्छ । बाहिर हल्ला चलेजस्तो हेरफेरको कुनै गुञ्जायस छैन । हल्ला चल्दैमा मन्त्री फेरिँदैन । प्रधानमन्त्रीले काम गर्न सक्नुभएन भने उहाँ आफैँले घोषणा गर्नुहुन्छ । पार्टीका कोही नेताले भन्नुपर्दैन । उहाँको स्वभावसँग हामी परिचित नै छौँ ।

संघीयता कार्यान्वयनको शुरूको फेजमा हुनुहुन्छ, मुलुकको आम्दानी–खर्चले संघीयता धान्न सक्ला ?

यो बहसको सुविधा छैन । जनताले हामीलाई दिएको म्यान्डेट संघीयता कार्यान्वयनको हो । संविधान जारी पूर्व यो बहसको उपादेयता थियो । अब संघीयताबाट फर्कने कुरा संविधान विरोधी, देश विरोधी कुरा हो ।

नढाँटिकन भन्दा यो खर्चिलो व्यवस्था हो । तथापि हामीले यही रोज्यौँ । जनताको घरमा सिंहदरबार पु¥याउन सजिलो छ र ! यसलाई नियन्त्रण र सन्तुलन दुवै गर्नुपर्छ । जसरी भारतले संघीयताको लामो अभ्यासबाट आर्जित अनुभवका आधारमा कर बाँध्न थालेको छ, जेएसटी त्यसैको अवधारणा हो । हामीले पनि यस्तै केही सोच्नुपर्ला ।

प्रदेश र केन्द्रबीच देखिएको खटपट के हो ?

संघीयतका कार्यान्वयनको शुरूआती चरणमा यस्तो केही अन्योल हुन्छ नै । अबको दुईमहिना पछि तपाईंले पढ्न पाउनुहुन्छ, प्रदेश सरकारलले पठाएको बजेट पनि कार्यान्वयन गर्न सक्दैनन् । पठाएको बजेट नै कार्यान्वयन गर्न नसक्ने अवस्थामा अरू बहसको के उपादेयता ?

प्रधानमन्त्री र मुख्यमन्त्रीबीचको अन्तरविरोधचाहिँ के हो त ?

यो राजनीतिक कुरा हो । कति राजनीतिक अधिकार उपयोग गर्न पाउने भन्ने प्रदेशको जिज्ञासा हुनसक्छ । प्रधानमन्त्रीले भन्दा पनि संविधानको साझा सूची पल्टाएरै भन्ने हो ।

राजनीतिक अधिकारहरू संविधानले निर्दीष्ट गरेकै छ, यथोचित लागू गर्दै जाऔँला । नीतिगतको नेतृत्व संघले गर्ने हो, विकासको नेतृत्व गर्ने प्रदेशले हो, कार्यान्वयन गर्ने स्थानीय तहले हो । यो विधिलाई फलो गर्ने हो । प्रदेशले पठाएको बजेट कार्यान्वयन गर्न सकेन भने त खुट्टा टेक्दैनन् नि ! यसमा क्लियर हुनुपर्छ ।

कर्मचारी समायोजन अध्यादेश जारी गर्ने तयारी सरकारको छ । विपक्षीले संसद् छलेर कर्मचारी समायोजन विधेयक ल्याउन लाग्यो भन्ने आरोप लगाइरहेको छ नि ! 
संसद् छलेको होइन । हत्त न पत्त संसद् बन्द गरेर ल्याएको भए छल्यो भन्न पनि मिल्थ्यो होला ! संविधानमा भएको अधिकार नै प्रयोग गरेको हो । अध्यादेश जारी गरे पनि संसद् चलेको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउनुपर्छ । नत्र त्यो त्यसै मरेर जान्छ ।

मंसिर पहिलो हप्तामै संसद् चलाउन सकिन्छ लागेको थियो र अध्यादेशको तयारी पनि थिएन । समन्वय भएन, संसद सचिवालयले कुर्सी नयाँ बनाउन थालेछ । संसद् चल्न सकेन ।

तल पैसा खर्च गर्नुपर्ने बेला छ, कर्मचारी नभएर रोकिएको छ । कानुन नभएर अप्ठ्यारो परेको कुरा बुझ्नुपर्‍यो । जस्तो– अहिले प्रहरी ऐन समयमै ल्याउन सकिएन । डीआईजीको नेतृत्वमा काम गर्नुहोस् भनेर प्रदेशलाई निर्देशन दिइएको । समन्वय त गर्नुपर्‍यो नि !

हामीले ६४–६५ वटा कानुन समाविष्ट गरेर नेपाल ऐन संशोधन गर्ने भनेर ढड्डा नै बनाएका थियौँ । त्यसलाई अध्यादेश बनाउने कि भन्ने थियो । तर, गम्भीर छलफल आवश्यक भएकाले रोकियो । अर्को कुरा अहिलेको सरकारलाई संसद् छल्नुपर्दैन । तीन चौथाई सांसदको समर्थन प्राप्त सरकारलाई संसद् किन छल्नुपर्छ ?

सुन तस्करीको जालो तोड्ने दाबी गरेको सरकारले ‘३३ किलो सुन प्रकरण’को प्रतिवेदन सार्वजनिक समेत गर्न सकेन ? किन ?

प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भए, सम्बन्धित निकायले गर्छ, त्यसमा सरकारको कुनै रोकतोक छैन । हाम्रो चिन्ता कहाँनेर हो भने प्रहरीले अपराधी भनेर समातेका व्यक्ति अदालतबाट कसरी छुटे ? यहाँ पनि समन्वयको खाँचो छ । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका तीनै निकायबीच चेक एण्ड व्यालेन्स त हुन्छ नै । सरकारले गरेका निर्णयमा न्यायालय चुप लाग्नुपर्छ भन्ने त होइत तर, सुन तस्करीमा प्रमाण पुर्‍याएर पक्राउ परेकाहरू तल्लो तहको अदालतबाट छुटेका छन् । यसले प्रहरीप्रति निराशा आउने खतरा छ ।

प्रहरीको पछिल्लो गतिविधि समेत सन्तोषजनक छैन नि, जस्तो निर्मला प्रकरण हेरौँ, अन्य अपराधका घटनामा पनि !
यसमा पनि धारणा निर्माणले नै काम गरेको छ । एउटा घटना सम्झाऔँ, हामीले एकैदिन दुईवटा काम गर्‍यौँ । एउटा चाइनासँगको पारवहन सम्बन्धि प्रोटोकलमा हस्ताक्षर ग¥यौँ । अर्को, एउटा कर्मचारी नियुक्ति गर्‍यौँ । तर, मिडियाले कर्मचारी नियुक्तिको प्रसंग ज्यादा उठायो । महत्त्व त पारवहन सुविधालाई दिनुपथ्र्यो नि !

निर्मला प्रकरणमात्रै होइन, सयौँ बलात्कारका घटना भएका छन् । अपराधी समातिएका छन् । कोही पाँचै मिनेटमा, कसैलाई समय लागेको छ । निर्मला प्रकरणमा ढिलाइ भएको सरकारलाई महसुस भएको छ । तर, अभियानकर्ता आफू तातो ओछ्यानमा सुतेर पीडित परिवारलाई चिसोमा फ्याँकेर झन् आहत बनाइरहेका छन् । त्यो मानवीय काम थिएन ।

धर्ना केका लागि ? निर्मलाको फाइल बन्द भएको हो ? सरकारले हामी सक्दैनौ भनेको छ ? छैन । कि पञ्चायतकालको नमीता–सुनीताजस्तो दबाउन, लुकाउन र हाइ प्रोफाइललाई जोगाउन खोजिएको थियो ? त्यो पनि हैन । अहिलेको जमानामा को ‘हाइप्रोफाइल’ हुन्छ ? तर, निर्मला प्रकरणमा अभियन्ताको गतिविधिले पीडित परिवारलाई न्याय दिएन । सरकारप्रति पूर्वाग्रह राख्यो । र, प्रहरीलाई स्वतन्त्र ढंगले काम गर्न दिइएन ।

बुँदागत रूपमा भन्दा आउँदो पाँच वर्षभित्र केके काम गर्नुहुन्छ ?

आउँदो वैशाख १ गते सरकारले केही महत्त्वपूर्ण घोषणा गर्छौं । तडकभडक भए तडकभडक नै सही तर दुनियाँलाई थाहा दिने गरी गर्छौं । त्यो कामको थालनीमात्रै होइन, काम पूर्ण भएको घोषणा पनि गर्छौं । दुई महिनाभित्र मेलम्चीको पानी आउँछ । मेलम्चीको सपना कृष्णप्रसाद भट्टराई, केपीेदेखि ओली केपीसम्म आइपुग्दा टुंगिन्छ । पूर्वपश्चिम रेलमार्गको डीपीआर पाँच नम्बर प्रदेशसम्मको पूर्ण भएको छ, बाँकी पनि टुंग्याउँछौँ । आउने मार्च महिनाको अन्त्यसम्ममा लगानी सम्मेलन (इन्भेस्मेन्ट फोरम) गर्ने सरकारको तयारी छ, वल्र्ड बैंककै अध्यक्षलाई डाक्ने तयारी छ । नेपालको अर्थमन्त्री जाँदा इतिहासमा पहिलोपटक उहाँलाई सेलिब्रेट गरियो । र, दुईदिन नेपाल दिवस मनाइयो । हाम्रो अर्थमन्त्रीलाई सुन्दै विश्वका धेरै अर्थमन्त्रीले ‘नेपाल लगानीयोग्य भएछ’ भनेर खुसी भएका थिए ।

त्यो डा. रामशरण शरण महत अर्थमन्त्री हुँदाताका भएको दाता सम्मेलन र नवीन्द्रराज जोशी उद्योगमन्त्री हुँदा गरिएको लगानी सम्मेलन भन्दा विलकुल फरक हुनेछ । प्रतिवद्धता सुनाउनेमात्रै होइन, तम्तयार परियोजनामा हस्ताक्षरसमेत हुनेछ ।

नागढुंगा सडक चैतसम्ममा पूर्ण हुन्छ । काठमाडौंभित्रको ३० किलोमिटर सडकमा ब्रुमर लगाइन्छ र दैनिक पखालिन्छ । तातोपानी नाका खोल्न चाइना सहमत छ । हामी त्यसमा तयारी गरिरहेका छौँ । मे (वैशाख) सम्म नाका सूचारु हुन्छ । रसुवागढी नाका धुन्चे–मेलुङसम्म पिच गर्ने योजना छ, गल्छीदेखि माथि पिचको काम धमाधम भइरहेको छ । त्यसले यहीवर्ष पूर्णता पाउँछ ।

वैशाख १ गतेदेखि प्रदूषणमुक्त अभियान आरम्भ गर्दैछौँ । त्यसबारेमा अन्तरप्रदेशसँग समन्वय गर्दैछौँ । यो आर्थिक वर्षान्तसम्म डिजिटल नेपालको झल्को दिन्छौँ । ४० लाख नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसक्छौँ । राष्ट्रिय परिचय पत्र फगत परिचय कार्ड होइन, लाइसेन्स, नागरिकता, कतिपय ठाउँमा राहदानी, त्यस्तै पर्दा ई–पेइमेन्टसम्मको काम गरोस् भन्ने हाम्रो अभिप्राय छ ।

अब एक महिनाभित्र मुख्यमन्त्रीसँग सम्वाद भएन भन्ने नै सुन्नुपर्दैन । प्रधानमन्त्री कार्यालयमा एक्सन रूम राख्छौँ, सिधै भिडियो कन्फ्रेन्सद्वारा मुख्यमन्त्रीहरूसँग सम्वाद हुन्छ । राष्ट्रिय गौरवका आयोजना आईपी क्यामेरामार्फत् एक्सन रूममार्फत् नै सुपरिवेक्षण अनुगमनको काम हुन्छ । हेलिकप्टर चढेर जानुपर्दैन ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC