site stats
बाह्रखरी :: Baahrakhari
खेल
महिला खेलाडीलाई आकर्षक पुरस्कार दिन्छौं – एन्फा अध्यक्ष शेर्पा

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले म्यानमारमा सम्पन्न ओलम्पिक छनोटको पहिलो चरणमा ऐतिहासिक सफलता हासिल गरेर फर्किएको नेपाली महिला टोलीलाई आकर्षक पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेका छन् । 

दरबारमार्गस्थित किङस लाउन्जले ओलम्पिक छनोटको दोस्रो चरण प्रवेश गर्न सफल महिला टोलीको सम्मान तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिनाको स्वागतमा गरेको रात्रिभोज कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले यस्तो घोषणा गरेका हुन् । ‘म अहिलेनै सम्मानको विषयमा धेरै कुरा बोल्न चाहन्न । तर केही दिनभित्रै एन्फा कार्यसमितिको वैठकबाट निर्णय गरेर नेपाली फुटबलको शान बढाउने तपाईहरुलाई ठूलै सम्मानको घोषणा गर्नेछु,’ अध्यक्ष शेर्पाले भने, ‘तपाईहरुले पहिलो पटक नेपाललाई ओलम्पिक छनोटको दोस्रो चरण पु¥याउनुभएको छ । आउँदो अप्रिलमा हुने दोस्रो चरणमा पनि तपाईहरुले सफलता हासिल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एन्फा अध्यक्ष शेर्पाले मुख्य प्रशिक्षक हरि खड्कासहित सम्पूर्ण टिमलाई अर्को महिना हुने महिला साफ च्याम्पियनसिपको तयारीमा जुट्न निर्देशन दिए । साफ च्याम्पियनसिपको तयारीलाई परिणाममुखि बनाउन एन्फाले कुनै सम्झौता नगर्ने बताउँदै अध्यक्ष शेर्पाले थपे, ‘ओलम्पिक छनोटमा जस्तै साफ च्याम्पियनसिपको तयारीलाई पनि विशेष महत्व  दिइनेछ । यसपाली तपाईहरु साफ च्याम्पियन बन्ने उदेश्यमा तयारी गर्नुस । त्यसका लागि एन्फाले इन्टेन्स प्रिपरेसनको व्यवस्था मिलाउनेछ ।’

२०२० मा जापानमा हुने ओलम्पिकको महिला फुटबल छनोटको पहिलो चरणका लागि म्यानमार जानुअघि नेपाली टोलीले चीनमा एक साताको अभ्यास भ्रमण गरेको थियो । चीनको अभ्यास भ्रमणमा नेपालले स्थानीय टोलीहरुसँग तीन अभ्यास खेल खेलेको थियो । प्रशिक्षक खड्काले चीनको अभ्यास खेलहरुबाट टिमका कमजोरी पत्ता लगाउँदै सुधारका साथ योजना बनाउन सहयोग पुगेको बताएका थिए । 

म्यानमारमा अपराजित रहँदै भ्रमणको अन्त्य गर्ने क्रममा नेपालले आफूभन्दा बलियो भनिएका भारत र आयोजक म्यानमार तथा बंगलादेशसँग बराबरी नतिजा निकाल्दै छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको थियो । 

महिला टोलीको उपलब्धिमा राज्यले गौरव गर्नुपर्ने बताउँदै राखेप उपाध्यक्ष तिम्सिनाले राज्यकै तर्फबाट सम्मानको वातावरण मिलाउन प्रयास गर्ने बताए । ‘म प्रधानमन्त्रीकै ध्यानाकर्षण गराएर खेलाडीहरुको हितका लागि केही गर्ने प्रयास गर्नेछु । राखेपमा उपाध्यक्षको अधिकार हुँदैन भनिन्छ । तर मलाई खेलाडीसँग सहकार्य गर्न, खेलकुदको विकासमा काम गर्न अधिकार चाहिन्न । हरेक नागरिकसँग सुचनाको अधिकार छ, म त खेलकुदमा लामो समय विताएको मानिस हुँ,’ उपाध्यक्ष तिम्सिनाले भने, ‘खेलाडीको दुरावस्था सुधार्न, नेपाली खेलकुदलाई वर्तमान दयनीय अवस्थाबाट मुक्ति दिलाउनका साथै राखेप तथा विभिन्न खेल संघहरुमा भइरहेका बेथितिको अन्त्य गर्न मलाई विशेष अधिकार चाहिन्न । युवा तथा खेलकुद मन्त्री र राखेपका सदस्यसचिवसँग बसेर म यस्ता सबै बेथिति अन्त्यमा ठोष कदम चाल्ने वचन दिन चाहन्छु ।’

खेलाडीको भत्ता, खेल पोशाक तथा खेल सामाग्रीमा अनियमितता भइरहेको शंकेत गर्दै उपाध्यक्ष तिम्सिनाले थपे, ‘म मेरी आमा र मात्रृभुमिको कसम खाएर भन्न चाहन्छु की म खेलाडीको भत्ता, ट्रयाकसुट र अन्य खेल सामाग्री खान्न । यो मेरो प्रतिबद्धता भयो ।’
 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  १६:१७
प्रतिक्रिया दिनुहोस्