site stats
बाह्रखरी :: Baahrakhari
देश
निर्मला हत्या प्रकरणः एसपी विष्टका छोरा किरणले लेखे प्रधानमन्त्रीलाई खुलापत्र 

काठमाडौं । निर्मला हत्याकाण्ड प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला हत्या प्रकरणमा आफू निर्दोष हुँदाहुँदै अनाहकमा मानसिक यातना दिइएको दुखेसो गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेका छन् । पत्रमा किरणले आफू निर्दोष रहेको र निर्मलाले न्याय पाउनुपर्ने पक्षमा रहेको पनि बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा 'सञ्चारमाध्यमले पनि कतिपय अवस्थामा अपुष्ट खबर लेखिदिँदा आफ्नो चरित्रहत्या हुन पुगेको' उल्लेख गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले पत्रमा भनेका छन्, "निर्मला पन्त बैनीलाई न्याय दिलाउनका लागि अनुसन्धान कार्यमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहेको छ तर सहयोग गर्दागर्दै पनि केही व्यक्तिले सुनियोजित रुपमा मलाई र मेरो परिवारलाई गम्भीर तनाव र पीडा हुने गरी चरित्र हत्या गर्ने कार्य भइरहेकाले एउटा निर्दोष नागरिकलाई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार यो देशमा छ भने मलाई अनाहकमा सामाजिक सञ्जालबाट यस्तो मानसिक यातना किन ?"

निर्मला हत्या प्रकरणमा डीएनए परीक्षणबाट पनि आफू निर्दोष भइसकेको प्रमाणित हुँदा पनि डीएनए नतिजा नै गलत भनेर आएको विषयमा पनि किरणले दुखेसो पोखेका छन् । उनले राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनप्रति असहमति जनाउँदै लेखेका छन्, "राष्ट्रिय मानवअधिकार आयोग र उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन पेस तथा सार्वजनिक गर्दा सबै पक्षलाई समेटेर प्रतिवेदनमा उल्लेख गर्नुपर्नेमा मलगायत मेरो परिवार र उक्त दिनमा मसँग कार्यक्रममा सहभागी रहेका व्यक्तिहरु कसैसँग पनि सोधपुछ तथा बुझ्ने कार्य नगरी एकपक्षीय रुपमा प्रतिवेदन तयार गरेको देखिएको छ । यसमा मेरो मानवअधिकार अटाएन र ?"

गत साउन १० गते साथी रोशनी बमको घरमा जान हिँडेकी कञ्चनपुर भीमदत्तनगरपालिका–२ की निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि अझै हत्यारा पहिचान हुन सकेको छैन ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  ०९:३९
प्रतिक्रिया दिनुहोस्