site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वर्षा यामको जन्डिस
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
प्रा.डा. सुधांशु केसी
 
हाम्रो देशमा वर्षा यामसँग एउटा किसिमको जन्डिस सधैँ जोडिने गर्छ । देशमा खानेपानी र ढलको समस्या समाधान नभएसम्म यस्तो भई नै रहन्छ । वर्षाको आगमनसँगै झाडा पखालाको बिरामी बढेजस्तै जन्डिस भएर आउने बिरामी पनि बढ्ने गर्छन् । कुनै पनि रोग नलागेको व्यक्ति एक्कासी जन्डिस भएर यस समयमा आए भने जन्डिसको कारण हिपाटाइटिस "ई" अथवा "ए" भएको हुनसक्छ ।  हिपाटाइटिस "ई" र "ए" आँफै निको हुने जन्डिस गराउने रोग हुन् तर विशेष अवस्थामा यी रोग गम्भीर पनि हुनसक्छन् । हाम्रो देशमा यी दुवै रोगका अधिकांश बिरामीले गलत उपचारका कारणबाट दु:ख त पाउँछन् नै यदाकदा  ज्यानै पनि गुमाउने गर्छन् ।
 
कसरी सर्दछ ?
 
हिपाटाइटिस ई र ए जीवाणु (भाइरस) हुन् । सङ्क्रमित व्यक्तिको दिसामा पाइने जीवाणुबाट प्रदूषित खाने कुरा र पानी खानाले यो रोग सर्न सक्छ । बिरामीले चर्पी गएपछि साबुन पानीले हाथ नधोई खानेकुरा छुँदा अरूलाई सजिलै सर्न सक्छ । हाम्रो देशमा खानेपानीका पाइप र ढल सँगसँगै भएकाले पनि पानी प्रदूषित हुने जोखिम सधैँ भइरहन्छ । खाने पानी ठीकसँग प्रशोधन नगरी खानाले हामी सजिलै यस रोगको सिकार बन्न सक्छौँ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा छोएर, बोलेर, सँगै बसेर वा सँगै सुतेर सर्दैन ।
 
यसका लक्षण 
 
यी दुवै रोगका लक्षण धेरै मिल्छन् । सामान्यतया हिपाटाइटिस ए १५ वर्षभन्दा मुनि र हिपाटाइटिस ई १५ वर्षभन्दा माथिकालाई लाग्ने गर्छ । झाडा पखालाजस्तै यो रोग प्रदूषित खानेकुरा खाएको भोलिपल्टै लागिहाल्दैन । हिपाटाइटिस ए शरीरभित्र छिरेको १५ देखि ५० दिनपछि यो रोग लाग्छ भने हिपाटाइटिस ई २० देखि ४० दिनपछि लाग्छ । 
 
यो रोग लागेपछि खान मन नलाग्ने, पेट ढुख्ने, वाकवाक आउन खोज्ने, वान्ता हुने गर्छ । खानामा रुची घट्दै जान्छ र खाना गन्हाउने, खान देख्नेबित्तिकै बान्ता आउने पनि हुन सक्छ । कुनै पनि खानामा रुचि हुँदैन । हुँदाहुँदा चुरोटको अम्मलीले चुरोटसम्म पनि छोडिदिन सक्छ । यति लक्षण देखिन थालेपछि बिस्तारै आँखा पहेँलो देखिन थाल्छ अथवा "जन्डिस" देखा पर्छ । त्यसैले पनि हामीहरू धेरै झुक्किन्छौँ - जन्डिस भएर "खान मन नलाग्ने, पेट ढुख्ने, वाकवाक आउन खोज्ने, वान्ता हुने" लक्षण देखापरेको भनेर । तर, सही कुरा के हो भने यो हिपाटाइटिस रोगमा जन्डिससँगै अरू लक्षणहरू खान मन नलाग्ने, पेट ढुख्ने, वाकवाक आउन खोज्ने, वान्ता हुने देखा पर्छन् । सामान्य अवस्थामा खाना मन नलाग्ने, पेट दुख्ने तथा वाकवाक हुने लक्षण ५ देखि ७ दिनसम्म रहन्छ ।  जन्डिस देखा पर्न थालेपछि अरू लक्षण  कम हुँदै जान्छन् । जन्डिस पूरै हराउन २-३ साता लाग्छ । आँखा पहेँलो भएसँगै पिसाबको रंग पनि गाढा हुँदैजान्छ र बिलिरुबिनको मात्राअनुसार पूरा शरीर पहेँलो देखिन सक्छ । यस रोगमा उपचार गर्दागर्दै पनि जन्डिस देखिन थालेको ७-१० दिन सम्म जन्डिस बढ्दै जान्छ । जन्डिस बढ्यो भनेर डाक्टर फेर्ने र एउटा उपचार पद्धतिबाट अर्कोमा जाने चलन हाम्रोमा धेरै छ । यसले गर्दा बिरामीले दु:ख पाउने र आर्थिक भार पनि थपिने हुन्छ । सायद यही कारणले होला हिपाटाइटिस लागेर जन्डिस भएका व्यक्ति डाक्टरको उपचार भएन भएर जडिबुटी तिर लाग्ने गर्छन् ।
 
यस रोगका दुईवटा झुक्क्याउने लक्षण  छन् - ती हुन्, ज्वरो र शरीर चिलाउने । प्रायः बच्चा हरूमा सुरुका दिनमा ज्वरो देखा पर्छ र धेरै जनाको टाइफाइड भनेर उपचार सुरु गरेको देख्न पाइन्छ । त्यसैले ज्वरो आएर बच्चाले खाना नखाने, वाकवाक गर्ने र पेट दुख्यो भनेमा हिपाटाइटिस ए रोगको शंका गर्न पर्ने हुन्छ । हिपाटाइटिस ई बाट सङ्क्रमित १०% बिरामीलाई चिलाउने सम्स्या हुन सक्छ । जन्डिस र चिलाउने समस्या भएमा अब्स्ट्रक्टिभ जन्डिस (पित्तको नली बन्द हुनु) सँग झुक्किने सम्भावना रहन्छ । यो चिलाउने समस्या विभिन्न जडीबुटी, आयुर्वेदिक औषधि सेवन गरेर आउने बिरामीमा बढी देखिने गर्छ । 
 
सधारणतया यी दुवै आँफै निको हुने रोग हुन् । हिपाटाइटिस ई निको हुन ३५ देखि ५५ दिन लाग्छ भने हिपाटाइटिस ए निको हुन २५ देखि ४५ दिन लाग्छ । तर, सकैकसैमा यो रोग असामान्य हुन्छ र बिरामी लाई बेहोश गराउने, रक्तश्राव गराउने हुन सक्छ । यस अवस्थालाई 'एक्युट लिभर फेल्युर' भनिन्छ । यस अवस्थामा बिरामीको उपचार सघन उपचार कक्षमा राखेर गर्नुपर्ने हुन्छ । रोगले च्याप्दै गएमा कलेजो प्रत्यापरोपण गर्नुपर्ने समेत हुनसक्छ । गर्भवती महिला, पहिल्यै लिभर सिरोसिस भएका व्यक्ति, अन्य दीर्घ रोग लागेका बिरामीलाई यसले लिभर फेल्युर गराउने जोखिम बढी हुन्छ । यो रोग एकचोटि लागेर निको भई सकेपछि दोहरिने सम्भावना कम हुन्छ। साथै,  यस रोगको हिपाटाइटिस बी र सीको जस्तै दीर्घकालीन असर (क्रोनिक हिपाटाइटिस) हुँदैन ।
 
रोगको निदान 
 
जन्डिस देखिन थालेपछि जन्डिस र अन्य लक्षणबाटै यो रोगको निदान करिब करिब हुन्छ । तर, रोगको किटान गर्न र रोगको अवस्था थाहा पाउन रगतको जाँच र अल्ट्रासाउन्ड (भिडियो एक्स्-रे) गराउन जरुरी हुछ । बिरामीको जाँच गर्दा आँखाको सेतो भाग पहँलो देखिनुका साथै कलेजोको सुजन र पेटको माथिल्लो भागमा दुखाइ हुनसक्छ । छाती मुनि, करंगका बीचमा दुख्ने हुनाले कतिपय त मुटुको दुखाइ हो कि भनेर पनि झुक्किन्छन् । खानाको अरुचि र बान्ताले गर्दा बिरामीहरू प्रायः थकित र गलेका देखिन्छन् । कसैकसैमा धेरै चिलाउँदा कन्याउने गरेका कारण घाउका दाग पनि देखिन सक्छन् ।
 
रगतको जाँच गर्दा लिभर फंक्सन टेस्ट गर्न जरुरी हुन्छ । धेरै बिरामी बिलिरुबिन मात्रै जाँचेर त्यसको रिपोर्ट लिएर आउने गर्छन् । यो ठीक होइन । बिलिरुबिनको मात्रा जचाउन आएको बेला हेरी फरक पर्ने गर्छ । सामान्यतया ५ देखि १० को बिचमा हुनेगर्छ तर कहिलेकहीँ २०-२५ सम्म पनि पुग्न सक्छ । रगतकै अर्को जाँच एलानिन ट्रन्सामाइनेज (ALT) र एसपार्टेट् ट्रन्सामाइनेज (AST) निकै बढ्छ र मात्रा  २०००-३००० IU/mL पनि पुग्नसक्छ । रोगको किटान भने रगतमा एन्टी एचएभी आइजीएम (Anti HAV IgM) र एन्टी एचाईभी आइजीएम (Anti HEV IgM) भए नभएको हेरेर पनि गरिन्छ ।
 
यसको उपचार 
यी दुवै रोगमा रोगको कारक तत्व जीवाणुको कुनै उपचार गर्न पर्दैन । जन्डिस देखिए पनि जन्डिसको छुट्टै उपचार पनि गर्नु पर्दैन । एक देखि डेढ महिनाभित्र जीवाणु  आँफै शरीरबाट बाहिरिन्छन् । यस रोगमा औषधिको प्रयोग लक्षण कम गर्नका लागि मात्र हुन्छ । वास्तवमा यस रोगमा डाक्टरले औषधि धेरै प्रयोग नगरी भिटामिन बीमात्र लेखिदिनाले पनि कतिपय बिरामी बिच्किएर आयुर्वेदमा जाने गर्छन् । भिटामिन बीबाहेक अरू प्रयोग गरिने औषधिमा बान्ता रोक्ने, पेट नदुख्ने औषधि पर्छन् । जनमानसमा भिजेको लिभर टनिक (जुन वस्तवमा हुँदै हुँदैन) भन्ने कुनै पनि चिज सेवन गर्न हुँदैन । राम्रो खाना नै यसको मूल उपचार हो । कलेजोको सुजन हुने र कलेजोले चिल्लो पचाउन मद्दत गर्ने भएकोले चिल्लो कम खाँदा राम्रो हुने कुरालाई चिल्लो, पिरो, अमिलो खानै हुँदैन भनेर भन्ने गरिएको छ र समाजमा यही धारणा व्याप्त छ । कार्बोहाइड्रेट युक्त खाना धेरै र प्रोटिन, चिल्लो अलि कम गर्नेमात्र हो ।  उमालेको खानामात्र खानाले पोषण कम हुने भएकोले शरीर साह्रै कमजोर हुने गर्छ र अन्य रोगले सताउने जोखिम पनि रहन्छ । जन्डिसमा खने भनिएका गाजर, मुला, काँक्रो, उखुको रस र मेवा पनि खानै पर्छ भन्ने केही छैन । बाटोमा बनाएर बेचेको प्रदूषित उखुको रस पिउनुभन्दा चिनी पानी अथवा मिश्री पानी पिउनु बेस हुन्छ । बेमौसममा पनि मेवा खोजेर खानु सट्टा मौसमअनुसारको फलफूल खानु उत्तम हुन्छ ।  बेसार त खानै हुँदैन भन्ने कुरा कहाँबाट र कसरी आयो थाहा छैन तर समाजमा व्याप्त छ । बेसारमा एन्टिसेप्टिक गुण हुने र यसले खाना हेर्दा पनि राम्रो देखिने भएकोले बार्नेभन्दा खाँदा बेसहुन्छ । दूधदही  जति पनि खान सकिन्छ । माछा मासु पनि खान सकिन्छ र यसले केही खराब गर्दैन । बार्ने हो भने  जाँड, रक्सी तथा अन्य अम्मलमात्र बारे हुन्छ । हिपाटाइटिस भएर कलेजो खराब भएको अवस्थामा रक्सी तथा रक्सीजन्य पदार्थ पिउनाले ज्यान जानसक्ने जोखिम हुन्छ । 
 
घरमै बसेर उपचार गरिने यस रोगमा एक साता जति धेरै परिश्रम नगर्ने, धेरै व्यायाम नगर्ने सल्लाह दिइन्छ । तर, रोग निको नहुँदासम्म घरै बस्नुपर्ने हुँदैन । अत्यधिक बान्ता भएर खान असमर्थ भएमा, धेरै र लामो समयसम्म ज्वरो आएमा, गर्भावस्थामा (विशेषगरी ३ महिना पछि) यो रोग लागेमा, लिभर सिरोसिस भएका बिरामीमा यो रोग थपिएमा, रक्तश्राव अथवा बेहोसीको अवस्था भएमा अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ ।
   
जडिबुटी, आयुर्वेदी र अन्य उपचार विधि
  
हाम्रो समाजमा जन्डिस भन्नेबित्तिकै जडिबुटी र आयुर्वेदी उपचारको कुरा आइहाल्छ । मानौ जन्डिस भएको बेलामा डाक्टरी उपचार गर्नु गराउनु अपराध हो । यी दुवै रोग आँफै निको हुने रोग भएकोले कुनै विशेष उपचार जरुरी हुँदैन । आयुर्वेदिक उपचार पद्धतिमा  खानेकुरा धेरै बार्न लगाउने भएकोले रोग ढिलो निको हुने अथवा बिग्रने जोखिम  हुन्छ । यस रोगमा कलेजोको सुजन हुन्छ र कलेजोले ठीकसँग काम गर्न नसकेर जन्डिस हुन्छ । यस्तो बेलामा अप्रशोधित औषधि सेवन गर्नाले यस्ता औषधि कलेजोमा जम्मा भएर अरू क्षति हुनसक्ने जोखिम बढ्छ । धेरैजसो बिरामीमा निको हुनुको सट्टा जन्डिस बढ्दै जाने र अत्यधिक चिलाउने समस्या आउन सक्छ । नाकमा औषधि हालेर जन्डिस झार्ने चलन पनि हाम्रो देशमा पाइन्छ । यसले केही मात्रा जन्डिस कम गर्ला तर रोगको उपचार हुँदैन । मुटु र मिर्गौलाका रोगीलाई यो विधि त प्राणघातक पनि हुनसक्छ । नाइटोमा औषधिको लेप लगाएर उपचार गर्ने अर्को अनौठो चलन पनि देख्न पाइन्छ । यस्तो गर्नाले जन्डिस निको पार्ने दाबि गरे पनि, निको भएकोजस्तो देखे पनि यसले रोग निको पार्ने होइन । आँफै निको हुने रोगलाई मेरो औषधिले ठीक पारेको हो भन्नु झुटो दाबी गर्नुमात्र हो ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २, २०७३  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC