(सामाजिक लोकतन्त्र अध्ययन केन्द्र नेपालले मंगलबार राजधानीमा राजनीतिलार्इ कसरी सम्मानित बनाउन सकिन्छ भन्ने बारेमा अन्तरक्रिया अायाेजना गरेकाे थियाे । अन्तरक्रियामा व्यक्त भएका विचारमध्ये हामीले बुधबार कांग्रेस नेता प्रदिप गिरिकाे विचार राखेका थियाैं । साेही कार्यक्रममा प्राध्यापक कृष्ण खनालले राखेकाे विचारको सम्पादित अंश विहीबार प्रकाशित गरेका छाैं )
कृष्ण खनाल
राजनीति सम्मानित पेसा हो । उहाँ रामचन्द्र पौडेल कुनै बेलामा सम्माननीय सभामुख हुनुहुन्थ्यो, राजनीतिकै कारणले गर्दा। आज पनि कुनै मान्छे राजनीतिकै कारणले सम्माननीय छन्, माननीय छन् । किन चिन्ता गर्नु ? चिन्ता गर्नुपर्ने म देख्दिन । मेरा अगाडिका रामचन्द्र पौडेल माननीय रामचन्द्र पौडेल हो कि माननीय सांसद रामचन्द्र पौडेल हो । छुट्याउन गाह्रो भएको छ । हो हामीले छुट्ट्याउनुपर्ने कुरा यही हो । हामीले कसलाई सम्मान गर्दैछौं ? माननीय सांसद भन्दा जनता आफैँ सम्मानति हुन्छन् । किनभने त्यो जनताको प्रतिनिधि हो । राजनीतिले जनताको प्रतिनिधित्व गर्छ । त्यसैले राजनीति जहिल्यै पनि सम्मानित छ भन्ने बुझाइ हो । बेलायतले संसदीय लोकतन्त्रको विकासका बेलामा त्यो अभ्यास प्रारम्भ गरेको हो । त्यसमा सत्ता पक्षका हुन् वा सत्ता बाहिरका दुवै सम्मानित हुन् । म राजनीतिको भिडबाट पन्छिसकेको मान्छे हुँ । धेरै आडम्वर देखेँ । धेरै ढोंग देखेँ । व्यवहारको मात्र हैन, विचारको पनि ढोंग देखेँ । त्यसले राजनीतिलाई प्रदूषित गरेको छ ।
यथास्थितिमा राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सकिदैँन । तर नसकिने नै चाहिँ हैन । अठोट गरेदेखि सकिन्छ । जुन द्वन्द्व हामीबिच छ त्यो आजको होइन । यो नेपालको मात्र द्वन्द्व पनि होइन । जुन बेला मानव सभ्यता राजनीतिमा अथवा राजनीति युगमा प्रवेश गरेको थियो । त्यही बेलादेखिको हो । यही मञ्चमा प्रदीप गिरि हुनुहुन्छ । मैले यो कुरा गरेर के गर्ने । रामायण र महाभारतमा जानुस् । रामायणमा अलि कम होला सायद । महाभारत भनेपछि राजनीति गर्ने व्यक्तिको उद्देश्य, मूल्य, मान्यतालाई देखाएको छ । सत्तामा बस्दाखेरि को के कोणमा, के मान्यतामा बस्नुपर्छ भन्ने मान्यता स्थापित गर्न नसक्दाको परिणाम हो महाभारत हो । महाभारत त्यही मान्यता स्थापित गर्नको लागि जन्मिएको हो । रामायणमा अलि हामी रामराज्यको कुरा गर्छौं । रामायणको कुरा अलि आदर्श भयो । व्यक्ति र समाजबीचको द्वन्द्व आज नेपालमा मात्र देखिएको होइन । यो मानव सभ्यताको राजनीति सुरु भएदेखि हो । चाहे पूर्वी दर्शन हेर्नुस्र या पश्चिमी दर्शन हेर्नुस् । पश्चिममा सोक्रेटस वा प्लेटोको कुरा गर्नुस् । सोक्रोटसले के गर्न खोजेका हुन् ? उनले त सत्ता चलाउन के के कुराबाट अलग हुनुपर्छ भनेका छन् । त्यसका लागि तालिम दिन खोजे । प्लेटोले वर्ग निर्माण गर्न खोजे । खबरदार तिमी समाजमा बस्छौ, तिम्रो आमा को हो, बाबु को हो, दाजु को हो,दिदी को हो भनेपछि राज्यले तिमीमाथि विभेद गर्छ । त्यसैले बाबु, आमाबाट मुक्त एउटा वर्ग बनाउन खोजे । तपाईँ हामी आदिम कालको साम्यवादको कुरा गर्छौ । आजभन्दा २५ सय वर्षगाडिको सम्पतिबाट परिवारको मुक्तिको साम्यवादको कुरा गर्छौ । भिन्न भिन्न तरिका धेरै अगाडिदेखि आइरहेको छ । तर यसो भन्दैमा जे भने पनि ठीक छ भनेर तालि पिट्ने काम चाहिँ हुँदैन । हामी धेरै बिग्रियौं । हिजो समाज आदर्शमुखी थियो होला । आजको समाज २ हजार २५ सय वर्ष पछाडिको समाज धेरै भिन्न भइसकेको छ । धेरै स्वार्थी भइसकेको छ । धेरै व्यक्तिवादी भइसकेको छ ।
भर्खरै नेपाली कांग्रेसको महाधिवेशन सकिएको छ । मैलै कांग्रेसको मात्र कुरा हैन नेपालका सबै पार्टीको कुरा गर्न चाहेको हो । तर यहाँ कांग्रेसी माहोल देखिरहेको छु त्यसैले कांग्रेसको कुरा गर्न चाहेँ । भर्खरै महाधिवेशनबाट आएको नेतृत्व छ । हो भाषण गरेर पुग्दैन त के गर्नुहुन्छ ? राजनीतिमा अर्को समस्या छ । राजनीति अति आकर्षक छ । त्यो मुम्बईको बलिउडभन्दा पनि आकर्षक छ । ग्ल्यामर्स फिल्ड हो । यहाँ के छैन ? यहाँ सबै कुरा आइपुग्छन् । यहाँ सत्ता छ, शक्ति छ, यहाँ सम्मान छ, स्टाटस छ, यहाँ मान्छे तुरुन्तै पछि लागि हाल्छन् । उ रामचन्द्रजी आउनेबित्तिकै कतिजना मान्छे पछि लागे ? प्रकाशमान सिंहको पछि कति लाग्छन् मान्छे ? राजनिति नगर्नेको पछाडि त लाग्दैनन् मान्छे । किन पछि लाग्छन्भन्दा त्यहाँ पावर छ । कांग्रेस प्रधानमन्त्री बन्नु पर्दैन । त्यो सत्तारुढ दल हुनै पर्दैन । तर कांग्रेससँग सत्ता चलाउने हैसियत छ । त्यसो भएको हुनाले मान्छे पछि लाग्छन् । कांग्रेसको पछि लाग्दा कसैलाई पद प्राप्ति हुन्छ, कसैलाई सम्मान प्राप्त हुन्छ, कसैलाई के प्राप्त हुन्छ, कसैलाई ठेक्कापट्टै प्राप्त हुन्छ । विभिन्न कुरा प्राप्त हुन्छन् त्यसैले उनीहरु पछि लाग्छन् । हो यहीँबाट साँच्चैको सम्मानले पछि लागेका छन् कि स्वार्थले पछि लागेका छन् छुट्याउन सकिन्छ र यो छुट्याउने बेला आएको छ । चुरो कुरो त्यही हो । राजनीतिलाई सम्मानित बनाउन स्वार्थबाट अलग भएर कति मान्छे पछि लागेका छन् यो हेर्नु जरुरी छ । अब आजदेखि राजनीतिमा छैन भन्दाखेरि पछाडि कति जना मान्छे आउँछन् यो एकपल्ट विचार गर्नुहोला । अनि थाहा हुन्छ राजनीतिलाई आफ्नो जीवनकालमा कुनै राजनीति गर्ने मान्छेले कति सम्मानित बनाएको रहेछ भनेर । नत्र भने यो बाहिर ढोंगको कुरामा धेरै अल्मलिन हुँदैन ।
अब राजनीति कहाँकहाँबाट बदनाम हुन्छ ? यहीँ नै भनु न । बीपी कोइराला कांग्रेसकै आदरणीय नेता । कांग्रेसको संस्थापक नेता । उहाँको नामविना कांग्रेस अगाडि बढ्नै सक्दैन । बीपी कोइरालाले के भन्नु भएको थियो जीवनको अन्तिम कालमा ? भोलि आइपुग्छन् है माथिल्लो वर्ग, सुकिलामुकिला वर्ग आइपुग्छन् है भन्नुभएको थियो । उहाँ सत्ताको राजनीतिमा हुनुहुन्नथ्यो । मैले बीपीलाई सम्झन चाहेको छु । नेतृत्वमा बस्नेले भोलि आउने संकटलाई अगाडि नै अनुमान गर्छ । त्यस समयमा बीपीले कार्यकर्ताका कुरा सुन्नुभयो । त्यसपछि बीपीले अनुमान गर्नुभयो, लोकतन्त्र आइसकेपछि के होला त ? कार्यकर्तामा कस्तो खालको आकांक्षा बढ्ला त ?
अब केले बदनाम गर्दैछ त राजनीतिला ? किन बद्नाम हुँदैछ त राजनीति ? तीन ओटा कुरा प्रमुख छन् जस्तो लाग्छ ।
पहिलो, त राजनीति गर्ने व्यक्ति आफैँ । उसैको कमजोरीले नै राजनीतिलाई बदनाम गर्ने हो । भाषण गरेर सफलता प्राप्त हुँदैन । राजनीति गर्नेहरू समाजको अगाडि हुनुहुन्छ । तपाईँहरुको गतिविधि समाजले हेरिरहेको हुन्छ । समाज आफैं ऐना हो । तपाईँ ऐनाको अगाडि हुनुहुन्छ । ऐनाको अगाडि तपाईँ आफैँ देखिनुहुन्छ । समाजले आफैँ हेर्छ । समाजलाई ऐना चाहिँदैन । मैले संगत गरेका, सँगै काम गरेका कतिपय आदरणीय नेताले मलाई भनेको सुनेको छु – तैँले राजनीति गरेर खाँदैनस् । नियुक्ति गर्न सक्दैनस्र, तैँले दैनिक पैसा खर्च गर्न सक्दैनस् । त्यसैले तैँले राजनीति गरेर खाँदैनस् भने । हामीले राजनीति केका लागि गर्छौं । सद्दे मानिस राजनीतिमा हुनुपर्ने हो तर राजनीतिमा असल मान्छे छँदैछैनन् । कसैले केही मिलाउन, केही कमाउन सक्दैन, नियुक्ति दिलाउन सक्दैन भनेर राजनीतिमा गर्न सक्दैनस् भन्ने अनि राजनीतिलाई सम्मानित बनाउँ भनेर हुन्छ र ? कुरा बाझियो ।
राजनीतिलाई कमजोर बनाउने अर्को कारण परिवार हो । केही मानिस राजनीतिमा असल छन् । तर असल हुँदाहुँदै पनि परिवारको स्वार्थबाट चोखिन नसकेका थुप्रै मानिसहरु छन् । अर्को परिवेश पनि हो । राजनीति गर्न पैसा चाहिन्छ । भिडभाड चाहिन्छ । धेरै भिड जम्मा गर्न सकियो भने जितिन्छ चुनाव । पार्टीमा धेरै भिड जम्मा गर्न सक्नुभएको भए रामचन्द्रजीले चुनाव जित्नुहुन्थ्यो । आज हामीले सभापति रामचन्द्र जी भनेर सम्बोधन गर्नुपर्थ्यो । पैसा पनि चाहिन्छ, भिड पनि चाहिन्छ । पैसा र भिडबीचको सम्बन्ध अत्यन्त नजिक छ । पैसाविना भिड जम्मा हुने अवस्था छैन । त्यसैले भिडबाट मुक्त कसरी हुने ? कांग्रेस अधिवेशनमा आफ्नै पार्टीभित्र चुनाव लड्न १० करोडसम्म खर्च गर्नुपर्ने अवस्था छ भने हामी कसरी समाधान गर्न सक्छौँ ।
अब कसरी सम्मानित बनाउन सकिन्छ त ? तर मैले यसो भन्दैमा हरेस खानै पर्ने अवस्था छैन । सम्मानित गर्न सकिन्छ । सफा राजनीतिक अभियान चलाऔं । ‘क्लीन क्याम्पेन’ चलाऔं । यसका लागि सत्ता बाहिर पनि बस्नुपर्ने हुन्छ । कांग्रेसको कति वर्ष बाहिर बस्न तयार छ? १० वर्ष ५ वर्ष बाहिर बसे सत्तालाई सफा गर्न सकिन्छ । अनिमात्र राजनीतिलाई सम्मानित बनाउन सकिन्छ ।
अर्को विचार र व्यक्तिमा एकत्मकता हुनुपर्छ । कांग्रेसको विचार राम्रो छ त्यसमा मलाई केही भन्नु छैन । कांग्रेसका व्यक्ति पनि राम्रा छन् । तर पदमा पुगेपछि व्यक्तिले गर्ने व्यवहार ठीक छैन । व्यक्तिसँग मेरो कुनै गुनासो छैन । व्यक्तिले गर्ने व्यवहारको कुरा हो । यसलाई हामी कसरी सच्याउन सक्छौं ? सबै राजनीतिक दललाई संगठित कार्यकर्ता बनाउने होड छ । सबैलाई पदको होड छ । नाममात्र फरक छन् तर कार्यकर्ता बनाउने होड छ ।
अर्को अघि पनि मैले भने असल मान्छे बीपी कोईरालालाई हामी महामानव भन्छौं । उहाँ पनि मान्छेभन्दा माथिको महामानव त पक्कै होइन होला । मान्छेहरुका बीचकै महान् हो । मान्छेभन्दा माथि नेतालाई दैवीकरण गर्न मिल्दैन । आज हामी राजनीतिमा लागेकाहरू कांग्रेसमा लागेकाहरू ठूलो हुन चाहन्छौं कि असल हुन चाहन्छौं ? ती कुरा हामीले लिन्छौं, यही कुरा हो ।
अब अर्को कुरा मेरो ६० वर्षको अध्ययन बुझाइमा कार्यकर्ता र प्रजातन्त्र एकैपटक अघि बढ्न सक्दैन । प्रजातन्त्र एकैपटक मासमा जान्छ । कार्यकर्तामा जाँदैन । होलटाइमर कार्यकर्ता पाल्दा एक दुई जना सकिन्छ तर ५० जना त सकिँदैन । तिनीहरू जनताले तिरेको करबाट पालिने कुरा हुँदैन । राजनीति स्वयंसेवीले चल्छ । कार्यकर्ताले चल्दैन । संगठन हुन्छ तर स्वयंसेवीले पार्टी चल्छ ।
(सामाजिक लोकतन्त्र अध्ययन केन्द्र नेपालले मंगलबार राजधानीमा गरेको कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)