site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
आर्थिक स्तरोन्नतिको अन्तर्वस्तु

आर्थिक स्तरोन्नति कुनै पनि मुलुकको सपना र दीर्घकालीन लक्ष्य मानिन्छ । तथापि, आर्थिक स्तरोन्नतिका निश्चित अन्र्तवस्तु हुन्छन् । धेरै विषयको तारतम्यमा मात्र आर्थिक स्तरोन्नति हुन सक्छ । मुलुुकको भौैगोलिक बनावट, प्राकृतिक स्रोत साधनको उपलब्धता, नेतृत्व, राज्यको कार्यसंस्कृति,  शान्तिसुरक्षाको स्थिति, ऐननियमको परिपालनाजस्ता तत्त्वले आर्थिक उन्नतिको स्तर निर्धारण गर्छ । आर्थिक उन्नतिको गति तीव्र पार्न यी केही पक्ष सबल हुनु वाञ्छनीय हुन्छ ।

राजनीतिक स्थायित्व

राजनीतिक स्थायित्व आर्थिक स्तरोन्नतिको प्रथम अन्तर्वस्तु हो । कुनै कुनै शासन व्यवस्था लामो समयसम्म चलिरहनु नै राजनीतिक स्थायित्व हो ।  राजनीतिक स्थायित्व भनेको नीतिगत स्थायित्व पनि हो । राजनीतिक स्थायित्व कायम हुन सरकारले अगाडि सारेको नीति, योजना र कार्यक्रमले दीर्घजीवन प्राप्त गर्नुपर्छ । राजनीतिक स्थायित्वको अभावमा न त सरकारले आफ्नो कार्य क्षमता प्रस्तुत गर्न सक्छ न त लगानीकर्ता नै आकर्षित हुन्छन् । 

Agni Group

नेपाल आर्थिकरुपमा समृद्ध हुन नसक्नुको मूल कारण पनि राजनीतिक अस्थिरता नै हो । किनभने प्रजातन्त्रपछि कुनै पनि सरकार ३ वर्षसम्म पनि टिकेकोे छैन । प्रजातन्त्र प्राप्त भएको ३२ औं वर्षमा २८ पटक प्रधानमन्त्री फेरिएका छन् । आर्थिक समृद्धिको सपना देख्ने मुलुकले राजनीतिक स्थायित्व कामय गर्न पनि सक्नुपर्छ । 

सुशासन

Global Ime bank

सुशासन, आर्थिक स्तरोन्नतिको दोस्रो अन्तर्वस्तु हो । विधी, पद्धतिअनुरुप मुलुक चल्नु, ऐनकानून लागु हुनु, भ्रष्टाचार निरुत्साहित हुनु नै सुशासन हो । सुशासन भएको मुलुकमा आन्तरिक तथा वाह्य लगानीकर्ता आकर्षित हुन्छन् । लगानीकर्ता आकर्षित हँुदा  उत्पादन, रोजगारी र राजस्वमा वृद्धि हुन्छ । सुशासन नहुनु भनेको भ्रष्टाचार व्याप्त हुनु हो । विकास निर्माण कार्यमा मोलाहिजा हुनु हो ।  गुणस्तरहीन कार्यले प्रश्रय पाउनु हो । नेपालमा सुशासन उपयुक्त अवस्थामा छैन । 

आर्थिक योजना

आर्थिक योजना आर्थिक स्तरोन्नतिको तेस्रो अन्तर्वस्तु हो । मुलुको समृद्धिका लागि बुनिएको सपना नै आर्थिक योजना हो । यसै पनि दूरदृष्टियुक्त योजनाविना आर्थिक विकास असम्भव हुन्छ । आर्थिक समृद्धिको निमित्त कृषि, जलविद्युत्, पर्यटन, आधारभूत उद्योग, पूर्वाधार, मानवविकासजस्ता अर्थतन्त्रका आधारभूत क्षेत्रमा के कस्ता नीति, योजना र कार्यक्रम तय गर्ने, ती क्षेत्रको उठानका निमित्त के कस्ता कार्यनीति, रणनीति अङ्गीकार गर्ने आर्थिक योजनामा प्रष्ट चित्र झल्कनुपर्छ । आर्थिक योजनामा सरकारको भूमिका, सरकारबाट उपलब्ध गराइने सेवा सुविधा, ऐन, कानुन, शान्तिसुरक्षा, बैंक तथावित्तीय संस्थाहरुको अवस्था के कस्तो हुने हो भन्ने स्पष्ट खुल्नुपर्छ । नेपालमा आर्थिक योजना तय हुने गरे पनि कार्यान्वय पक्ष अत्यन्त फितलो छ । आर्थिक समृद्धिको चाहना राख्ने मुलुकले वैज्ञानिक आर्थिक योजना तयार गरी क्रियान्वयन गर्ने क्षमता वृद्धि गर्न सक्नुपर्छ । 

मानव संसाधन

मानव संसाधन परिचालन आर्थिक स्तरोन्नतिको चौथो अन्तर्वस्तु हो । आर्थिक समृद्धिमा काँध थाप्न सक्ने, मुलुकको समष्ठिगत उत्पादन र उत्पादकत्व फराकिलो पार्न सक्ने पौरखी जनशक्ति नै मानव संसाधन हो । मानव संसाधन  आर्थिक समृद्धिको जीवन्त साधन पनि हो । पुँजी र प्राकृतिक साधन उत्पादन कार्यमा लगाउन मानव संसाधन सुचालक हो । मानवीय साधनको गुणस्तर, आकार, कार्यक्षमता, सरचना, वृद्धि दर आर्थिक विकासको गति निर्धारक हो । मेहनती, सृजनशील, धैर्यवान, कटिबद्ध र साहसी मानव संसाधन पैदा गर्न सक्ने मुलुक अगाडि बढ्न समय लाग्दैन । जापान, चीन, सिंगापुर, दक्षिण कोरिया यस्तै गुणवत्ताको कारण समृद्धिमा पुग्न सकेका हुन । नेपालमा मानव संसाधनको समुचित उपयोग हुन सकिरहेको छैन । शिक्षा, तालिम, सिकाइका माध्यमबाट मानव संसाधन चुस्त बनाउन सकिन्छ । यसर्थ मानव संसाधन योग्य बनाउन गुणस्तरीय, व्यावसायिक र वैज्ञानिक शैक्षिक प्रणलीमा जोड दिनुपर्छ ।

भौतिक पूर्वाधार

भौतिक पूर्वाधार आर्थिक स्तरोन्नतिको पाचांै अन्तर्वस्तु हो । आर्थिक समृद्धिका लागि आवश्यक पर्ने आधारभूत तत्त्व अर्थात् बाटोघाटो, रणनीतिक सडक, रेल्बे, पुलपुलेसा, सुख्खाबन्दगाह, बिजुली, टेलिफोन, हवाई मैदान, ठूला सिंचाइ आयोजनाआदि भौतिक पूर्वाधार हुन् । पूर्वाधार मजबुत भए उद्योगधन्दा कलकारखाना खुल्ने वातावरण सिर्जना हन्छ । पूर्वाधार मजबुत भए विद्यमान वस्तु तथा सेवाको लागत न्यून हन्छ । वस्तु तथा सेवाको लागत न्यून भएमा प्रतिस्पर्धात्मक क्षमता बलियो हुन्छ । स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता मजबुत भएपछि रोजगारी सिजर्ना, राजस्व आर्जन, बचत तथा लगानीमा टेवा मिल्छ । नेपालमा भौतिक पूर्वाधारको अवस्था अझै कमजोर छ । यसर्थ आर्थिक समृद्धिका निमित्त भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्न वा सुदृढ मौतिक पूर्वाधार निर्माण गर्न हिचकिचाउनु हुँदैन ।

कर प्रणाली

कर प्रणाली आर्थिक स्तरोन्नतिको छैठौं अन्तर्वस्तु हो । राज्य सञ्चालनको निमित्त तिरिने अनिवार्य तिरो नै कर हो । आर्थिक समृद्धिका लागि कर प्रणाली, करको दर, करको आयतन महत्त्वपूर्ण पक्ष हुन् । त्यसो त विकासोन्मुख मुलुकमा कर चुहावटको मात्रा अधिक हुन्छ र कर तिर्न रुचाइँदैन ।  करको औचित्य बुुझाउन नसक्दा करदाता उदासीन बनेका हुन्छन् । नेपालमा कर प्रणाली अझै सुदृढ हुन सकेको छैन । यसर्थ, आर्थिक समृद्धि चाहने मुलुकले कर संकलन संयन्त्र चुस्त पार्नुपर्छ । संकलित रकम करदाताको हितका लागि उपयोग भइरहेको छ भन्ने पुष्टि गर्न सक्नुपर्छ । कर चुहावटका छिद्रहरु थुनिनुपर्छ । आयकर लगानीकर्ता अपेक्षाभित्र ( १०– १५ प्रतिशत) हुनुपर्छ । करको डालो फराकिलो बनाई डालोमा धेरैभन्दा धेरै करदाता समेट्नुपर्छ ।  

आर्थिक संगठन

आर्थिक संगठन आर्थिक स्तरोन्नतिको सातौं अन्तर्वस्तु हो । मुलुको अर्थ व्यवस्था सञ्चालन गर्ने निकायहरुको समुच्च रुप नै आर्थिक संगठन हो ।  आर्थिक समृद्धिको खातिर आर्थिक प्रणाली, अर्थनीति, विकाससम्बन्धी मन्त्रालयहरु, सार्वजनिक वित्त, सुशासन कायम गर्ने निकायहरुको भूमिका महत्त्वपूर्ण हुन्छ । अल्प विकसित मुलुकमा आर्थिक संगठनहरु नाजुक हुने हुँदा आर्थिक अनुशासन कायम हुन सकिरहेको हुँदैन । हाम्रा आर्थिक संगठनहरुको कार्यक्षमता दयनीय अवस्थामा छ । आर्थिक समृद्धिको सपना देख्ने जुनसुकै मुलुकले आर्थिक संगठनका सबै इकाइलाई चुस्त, दुरुस्त र सफल तुल्याउन सक्नुपर्छ ।

उद्यमशीलता

उद्यमशीलता आर्थिक उन्नतिको आठौं अन्तर्वस्तु हो । । नयाँ नयाँ उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय फैलाउनु नै उद्यमशीलता हो । उद्यमशीलताविना औद्योगिक विकास हुन सक्दैन । तथापि, उद्यमशीलता मौलाउनका निमित्त लगानीकर्ताको लगानीको सुरक्षा, लगानीकर्ताको ज्युधनको सुरक्षा, लगानीकर्ताको सम्पत्तिको सुरक्षाको प्रत्याभूति अपरिहार्य पक्ष हो । उद्यमशीलता बढ्न नसक्दा नेपालले गरिबीमा रहनु परेको हो । यसर्थ आर्थिक समृद्धि चाहने मुलुकले महिनाको तीसै दिन ढुक्कसँग व्यापार व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्न सक्नुपर्छ ।  राज्यले लगानी मैत्री कानुन निर्माण गरिदिनुपर्छ । उद्यमी व्यवसायीलाई ऊर्जा संकट, चन्दा आतंक, चक्काजाम, बन्दहडतालको हर्कतबाट मुक्ति दिलाउनुपर्छ ।

प्रत्यक्ष वैदेशिक लगानी

प्रत्यक्ष वैदेशिक लगानी आर्थिक स्तरोन्नतिको नवौं अन्तर्वस्तु हो । अर्को मुलुकको धनराशि आफ्नो मुलुकमा लगानी हुनु नै प्रत्यक्ष वैदेशिक लगानी हो । अविकसित मुलुकमा उत्पादन र बचत अत्यन्त न्यून हुने हुदा पूँजी निर्माणको अवस्था कमजोर हुन्छ । यसैले ठूला लगानीका निमित्त प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउनु पर्ने ठानिन्छ । वैदेशिक लगानी भित्रँदा साथमा अविसित मुलुकको लागि आवश्यक प्रविधि पनि भित्रिन्छ । विकसित भनिएका क्यानडा, अस्ट्रेलिया, जापान, चीनको आर्थिक विकासमा वैदेशिक लगानीको ठूलो हात रहेको, वैदेशिक पुँजीका बलमा भारतले उन्नति गरिरहेको स्मरणीय छ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नेपाल पछाडि परिरहेको छ । वैदेशिक लगानी त्यत्तिकै भित्रिँदैन पनि । आर्थिक समृद्धिको सपना भएको कुनै पनि मुलुकले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन घरेलु वातावरण लगानी मैत्री बनाउने क्षमता देखाउनुपर्छ । 

पुँजी निर्माण 
    
पुँजी निर्माण आर्थिक स्तरोन्नतिको दसौं अन्तर्वस्तु हो । । लगानी योग्य धनको वृद्धि पुँजी निर्माण हो । यसै पनि पुँजी आर्थिक विकासको सुचालक हो । साधनको उचित उपयोग, उपभोग कटौती, अनिवार्य बचत, घाटा बजेट, सार्वजनिक ऋण संकलन, वैदेशिक ऋण तथा अनुदान पुँजी निर्माणका विधि हुन् । तथापि पुँजी निर्माण त्यति सहज काम होइन । नेपालको लागि त्यो झनै मुस्किल भइरहेको छ । पुँजी निर्माणका निमित्त आर्थिक क्रियाकलाप वृद्धि हुनुपर्छ । नागरिकमा फजुल खर्च कटौती र  बचत गर्ने बानी बसेको हुनुपर्छ । बचत तथा लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरु प्रवद्र्धित हुुनुपर्छ ।  

प्राकृतिक साधनको उपयोग 

प्राकृतिक साधनको उपयोग आर्थिक स्तरोन्नतिको एघारौं अन्तर्वस्तु हो । सृष्टिकालदेखि प्रकृतिले निःशुल्क दिँदै आएको जल, जमिन, जंगल, जलवायु, खनिज प्राकृतिक साधन हुन् । कुनै पनि मुलुकलाई प्रकृतिले कुनै न कुनै साधन उपहारस्वरुप सुम्पिएको हुन्छ ।  प्राकृतिक साधनको उपलब्धताबाट मात्र कुनै मुलुक समृद्ध भने भइहाल्दैन । किनभने प्राकृतिक साधन स्वयं सक्रिय साधन होइनन् र तिनले स्वतः आर्थिक समृद्धिको आ।म्भ गर्न सक्दैनन् । वैज्ञानिक प्रविधि, मानवीय प्रयास र पुँजी लगानीबाट तिनको सदुपयोग अपरिहार्य हुन्छ । अफ्रिकी मुलुक कंगो प्राकृतिक साधनमा सम्पन्न र्भर पनि गरिब हुनुको कारण उपयोगको गर्न नसक्नु हो । हामी पनि त्यस्तै अर्को दृष्टान्त बनेका छौँ । आर्थिक समृद्धि चाहने मुलुकले प्राकृतिक साधनको समुचित उपयोग गर्ने सामथ्र्य पनि जुटाउन सक्नुपर्छ ।  


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC